संसारकै गरिबमध्येको एक देश अफगानिस्तानमा १० खर्ब डलर बराबरको खजाना ! के छ त्यस्तो चीज ?

संसारकै गरिबमध्येको एक देश अफगानिस्तानमा १० खर्ब डलर बराबरको खजाना ! के छ त्यस्तो चीज ?
युरोपनेपाली खबर २०७८ पुष ७ बुधबार, 22-12-2021


अफगानिस्तानमा हत्या, हिंसा, आतंक र तालिबान मात्रै छैन । संसारकै सबैभन्दा गरिब देशहरुमा गणना हुने यो देश अकूत खजानाको पनि मालिक हो । अफगानिस्तानको खानी तथा पेट्रोलियम मन्त्रालयको एक रिपोर्टअनुसार उनीहरुको देशमा १ ट्रिलियन डलर अर्थात १ हजार २ सय ८ खर्ब नेपाली रुपैयाँ बराबरको खजाना छ । यो नेपालको चालु आर्थिक वर्षको बजेटको हिसाबले नेपालको ७५ वर्षको बजेटभन्दा धेरै हो ।

रिपोर्टका अनुसार ३ करोड ८० लाख जनसंख्या भएको यो देशमा २ अर्ब २० करोड टन लौह अयस्क, १ अर्ब ३० करोड टन मार्बल र १ अर्ब ४० करोड टन दुर्लभ धातु छ । अफगानिस्तानमा खनिज र धातुहरुको स्रोतको अध्ययन गर्ने जियोलोजिस्ट स्कट मन्टगोमेरीका अनुसार यो देशमा यदि ७ देखि १० वर्षसम्म ठूलो परिमाणमा खनिजको उत्खननको काम गर्ने हो भने यो देशको आर्थिक स्थिति निकै सुधार हुन सक्छ । तर, यहाँ सुरक्षाको कमी, कमजोर कानुन र भ्रष्टाचारका कारण यो देशको विमास र उत्खनन क्षेत्रको विस्तारको सम्भावना कम छ ।

सन् १९६० देखि ७० को बीचमा सोभियत संघ र पूर्वी युरोपेली देशहरुले मिलेर यो देशको भौगर्भिक स्रोतको सर्वेक्षण गरेका थिए । तर, दशकौंदेखि चलिरहेको गृहयुद्ध र आतंकवादका कारण अफगानिस्तानको खजाना जमिनभित्र नै गाडिएको छ । सन् २०१० मा युनाइटेड स्टेट्स जियोलोजिकल सर्वे (युएसजीएस) र अफगानिस्तान जियोलोजिक सर्वे (एजीएस)ले मिलेर ३४ राज्यमा २४ स्थान पत्ता लगाएका थिए जहाँ प्राकृतिक संसाधनको अकूत भण्डार छ । त्यतिबेला थाहा भएको थियो कि यो देशमा १ ट्रिलियन डलरको प्राकृतिक सम्पदा छ ।

अल जजीरामा प्रकाशित रिपोर्टका अनुसार हालै सार्वजनिक यो अध्ययनमा अफगानिस्तानमा १५ करोड ३९ लाख किलो लेड जिंग, १० करोड किलो सेलेसटाइट र २६९८ किलो सुन छ । अफगानिस्तानमा सबैभन्दा धेरै लौह अयस्क छ । २ अर्ब २२ करोड टन लौह अयस्क अर्थात फलामबाट फ्रान्सको पेरिसमा रहेको एफिल टावरजत्रा २ लाखवटा टावर निर्माण गर्न सकिन्छ । १८८९ मा बनेको १ हजार ६३ फिट अग्लो एफिल टावर बनाउन ७३ लाख किलो फलाम लागेको थियो ।

यसका अलावा अफगानिस्तानको बडकशान र कान्दाहार प्रान्तमा आल्मुनियमको भण्डार छ । यहाँ १८३ मिलियन टन आल्मुनियम छ । यो विश्वमा दोस्रो सबैभन्दा धेरै प्रयोग गरिने धातु हो । यो यति धेरै छ कि यसबाट ५ खर्ब वटा म्याकबुक कम्प्युटर केस बनाउन सकिन्छ । अफगानिस्तानमा २६९८ किलो सुनको भण्डार छ । यो बडकशानदेखि ताखर र गजनी देखि जाबुलसम्म फैलिएको छ । यहाँको सुनबाट ८ ग्रामका ३ लाख सुनका सिक्का बनाउन सकिन्छ । अफगानिस्तानमा १२.४ मिलियन टन तामा छ ।

अफगानिस्तान विश्वमै आठौं सबैभन्दा धेरै पहाड भएको देश हो । यहाँ हिन्दकुश हिमालय रेन्ज छ जसका कारण देशका कैयौं भागमा जान निकै कठिन छ । तर, यहाँ मार्बल, चुनढुंगा र स्याण्डस्टोनको मात्रा निकै धेरै छ । अफगानिस्तानमा १.३ बिलियन टन मार्बल छ । लाइमस्टोन र स्याण्डस्टोनको मात्रा पनि निकै धेरै छ । लाइमस्टोनको प्रयोग सिमेन्ट बनाउन गरिन्छ । यसका अलावा टुथपेस्ट र पेन्ट बनाउन पनि यसको प्रयोग गरिन्छ ।

बडकशान, हेरात र बाघलान प्रान्तमा ५०३ मिलियन टन लाइमस्टोन छ । ६ लाख ५० हजार टन स्याण्डस्टोन छ । यसबाहेक अफगानिस्तानमा औद्योगिक खनिजको भण्डार छ । यहाँ १.४ बिलियन टन रेयर अर्थ मेटल अर्थात दुर्लभ धातु छ । यसमा ल्यापिस लाजुली, पन्ना र मणिक पनि छन् । सबैभन्दा धेरै १५२ मिलियन टन बेराइट छ । यो तेल र ग्यास उद्योगमा ड्रिलिङमा उपयोग गरिन्छ । यसबाहेक यी दुर्लभ खनिज पदार्थहरु इलेक्ट्रोनिक सामानदेखि आणविक हतियारहरुमा प्रयोग गरिन्छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित