माओवादी महाधिवेशन उद्घाटन समारोहका अर्थपूर्ण ५ परिदृष्य

माओवादी महाधिवेशन उद्घाटन समारोहका अर्थपूर्ण  ५ परिदृष्य
युरोपनेपाली खबर २०७८ पुष ११ आइतबार, 26-12-2021


काठमाडौं- नेकपा माओवादी केन्द्रले रातारात आठौं महाधिवेशनमा परिणत गरेको प्रथम भनिएको राष्ट्रिय सम्मेलन आइतबार काठमाडौंमा सुरु भएको छ।  पहिले राष्ट्रिय सम्मेलन भनेर कसैलाई आमन्त्रण नगरिए पनि रातारात महाधिवेशनमा परिणत भएपछि माओवादीले प्रमुख दलहरुका नेतालाई आइतबार बिहान मात्र महाधिवेशन उद्घाटनका लागि निमन्त्रणा गरेको थियो।

निमन्त्रणाअनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायत शुभकामना मन्तव्य दिन माओवादी महाधिवेशन उद्घाटन समारोहमा पुगे। तर, एमाले अध्यक्ष केपी शर्मा ओली भने उपस्थित भएनन्। उनले आफू झापामा रहेकाले आउन नपाउने भन्दै पार्टी महासचिव शंकर पोखरेललाई पठाएका थिए। एउटा संयोग, एक महिना पहिले चितवनमा सम्पन्न एमालेको दशौं महाधिवेशनमा पनि प्रचण्ड सहभागी भएका थिएनन्। उनले माओवादी स्थायी समिति सदस्य लीलामणि पोखरेललाई चितवन पठाएका थिए।

जे होस्, माओवादीले रातारात महाधिवेशनमा परिणत गरेकै कारण उद्घाटन समारोह राष्ट्रिय राजनीतिका पेचिला प्रश्नमा नेताहरु मुखर भएर बोल्ने मञ्च बनिदियो। राजनीतिक घटनाक्रम नेताहरुले बोलेको बाटोमै अघि बढ्लान् या नबढ्लान् भन्ने फरक पाटो हो, तर यसले पछिल्ला मुद्दा र राजनीतिक परिघटनाबारे प्रमुख दलहरुको मनस्थिति र मनोदशा प्रष्ट्याइदिएको छ। यहाँ माओवादी महाधिवेशन उद्घाटन समारोहमा प्रमुख दलका नेताहरुले व्यक्त गरेका धारणाका अर्थपूर्ण पाँच सन्देशलाई केलाउने प्रयास गरिएको छ।


१. एमसीसीबारे गठबन्धनभित्र अर्थपूर्ण मतभिन्नता

प्रधानमन्त्री देउवाले माओवादी महाधिवेशनको उद्घाटन समारोहलाई अहिले मुलुकको राजनीतिकै सर्वाधिक पेचिलो विषय बन्न पुगेको अमेरिकी अनुदान सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताका निम्ति आफ्नो धारणा राख्ने मञ्चका रुपमा प्रयोग गरे। माओवादीको यही मञ्चबाट प्रधानमन्त्री देउवा सम्भवतः एमसीसीबारे सार्वजनिक रुपमा यति मुखर पहिलोपटक देखिए। अरुले चुनावी मुद्दा बन्ने डरले मनमा भए पनि बाहिर समर्थन गर्नै नसकिरहेका बेला देउवाले देउवाले राष्ट्रहितमा रहेको दाबी गरे। यसलाई राष्ट्रघाती भन्नेहरुलाई सम्झौता पढ्न आग्रह गरे। देउवाको भनाई थियो, ‘एमसीसीको बारेमा बोल्नैपर्ने भयो। यसलाई राष्ट्रघाती भन्नेले पढेका छन् कि छैनन्? मैले कहीँ राष्ट्रघात देखेको छैन। यो नेपालको हितमा छ। यसमा सहमति भएर हामी छिटै पास गराउनेछौं।’

खासगरी प्रमुख दलहरुबीच र कतिपय दलहरुभित्रै पनि तीब्र मतभिन्नता देखिएकाले एमसीसी सम्झौता संसदबाट अनुमोदन हुनसकेको छैन। माओवादी महाधिवेशन उद्घाटन समारोहमा सत्तारुढ गठबन्धनभित्रै यसबारे अर्थपूर्ण मतभिन्नता रहेको प्रष्ट भयो। देउवापछि बोलेका माओवादी अध्यक्ष माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनस्तरमा भइरहेको विरोधको आकलन गरेर हुनसक्छ, एमसीसीबारे जोखिम लिन चाहेनन्। उनले एमसीसीबारे देउवाको विचार व्यक्तिगत भएको टिप्पणी गरे। 

देउवापछि बोलेका प्रचण्डले भने, ‘प्रधानमन्त्रीजीले एमसीसीबारे आफ्नो विचार भन्नुभयो। तर, उहाँले कहाँ हो राष्ट्रघाती भएको देखाइ दिनु भन्नुभयो। छलफल गर्दैछौं भनेर पनि भन्नुभएको छ। प्रधानमन्त्रीको यो अभिव्यक्ति पनि राम्रो नै आएको छ।’ यसअघि नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले एमसीसीविरुद्ध सबै कम्युनिस्ट एक ठाउँ उभिए कम्युनिस्ट एकताको आधार तयार हुने बताएका थिए।

२. गठबन्धनभित्र संशय चिर्ने देउवाको प्रयास 

पछिल्ला दिनमा खासगरी एमसीसीलाई लिएर सत्तारुढ गठबन्धन, त्यसमा पनि कांग्रेस र माओवादीबीच संशय बढाउने चर्चा चुलिएका छन्। त्यो के भने एमसीसी सम्झौता अनुमोदनका लागि देउवाले एमालेको सहयोग खोजेको, एमालेले गठबन्धन नजोगिने सर्तमा सघाउने आश्वासन दिएको, अनि उस्तै परे एमालेको सहयोग लिएर सरकार चलाउनेगरी देउवा अघि बढ्न खोजेको चर्चा केही दिनयता भइरहेको छ। यसले सत्तारुढ गठबन्धनभित्रै संशय पैदा हुने बुझेरै हुनुपर्छ, प्रधानमन्त्री देउवाले माओवादी महाधिवेशनको मञ्चबाट त्यसलाई चिर्ने भरमग्दुर प्रयत्न गरे। त्यहीकारण उनले प्रचण्डको प्रशंशामा धेरै शब्दहरु खर्चिए। यतिसम्म कि प्रचण्डकै कारण संविधानसभाबाट संविधान जारी हुनसकेको बताए। 

३. गठबन्धन चुनावसम्मै

माओवादी महाधिवेशन उद्घाटनमा प्रवेश पाएको अर्को महत्वपूर्ण विषय थियो, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरुद्ध खडा भएको पाँचदलीय गठबन्धन के होला भन्ने। अहिले त्यही नै सत्तारुढ गठबन्धन हो, गठबन्धनको एक घटक राष्ट्रिय जनमोर्चा सरकारमा सामेल नभएपनि। गठबन्धनका प्रमुख नेता प्रधानमन्त्री देउवा हुन्। यहीकारण पनि देउवाले गठबन्धनको भविष्यबारे केही प्रष्टता दिने प्रयत्न गरे। उनले गठबन्धन संविधान बचाउनका लागि भएकाले यो चुनावसम्मै जानुपर्ने पक्षमा आफू रहेको बताए। यसअघि राष्ट्रिय जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले पनि गठबन्धनलाई निरन्तरता दिन माओवादीको महाधिवेशनले महत्वपूर्ण भूमिका बहन गर्नुपर्ने उल्लेख गरेकी थिइन्। 

४. एमाले–माओवादी घोचपेच होइन, हार्दिकता

जसरी एमालेको महाधिवेशनमा प्रचण्ड पुगेका थिएनन्, ठिक त्यसैगरी माओवादी महाधिवेशनमा एमाले अध्यक्ष केपी शर्मा ओली आएनन्। प्रचण्ड एमाले महाधिवेशनमा नपुग्नुलाई अरुले जति ठूलो टिप्पणीको विषय बनाए, ओलीले त्यसबारे एक शब्द पनि खर्चेका थिएनन्। तर, माओवादी महाधिवेशनमा ओली नआउनुलाई प्रचण्डले फरक रुपमा प्रस्तुत गरे। उनले उद्घाटन भाषणमै आफ्नो ओलीसँग कुरा भएको तर, आउने चाहना भए पनि आफू झापामा रहेकाले उपस्थित हुन नसक्ने जानकारी ओलीले आफूलाई गराएको बताए।

ओलीले एमालेको प्रतिनिधिका रुपमा महासचिव शंकर पोखरेललाई माओवादी महाधिवेशनमा पठाएका थिए। त्यसक्रममा माओवादी अध्यक्ष प्रचण्ड र पोखरेल दुबैको सम्बोधनमा एकअर्काप्रति घोचपेच होइन, अनौठो तवरबाट हार्दिकता झल्कियो। पहिले सम्बोधन गरेका पोखरेलले एमाले र माओवादीबीचको एकता जोगाउन नसकेकोमा आफूलाई पछुतो लागेको बताएका थिए। पछि बोलेका प्रचण्ड त्यसभन्दा पनि अघि बढे। उनले भने, ‘महासचिवको हैसियतले शंकरजीले जे कुरा राख्नुभयो, सबभन्दा मलाई मन परेको कुरो के हो भने हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ। म कमरेड शंकर पोखरेल र उहाँमार्फत् सिङ्गो नेकपा एमालेका साथीहरूलाई भन्न चाहन्छु– हामीले गल्ती गरेका थिएनौँ। फेरि एकचोटि आत्मसमीक्षा गरौँ।’

५. र, माओवादीकै पुनर्जीवनका कुरा

माओवादी महाधिवेशनमा गठबन्धनका दलहरुबीच सहकार्यको कुरा मात्र भएन, खासगरी वाम दलहरुबीच एकताको विषयले समेत ठूलै महत्व पायो। सम्बोधन गर्नेक्रममा संसद भित्र र बाहिर सबैतिरका दलहरुले यसमा जोड दिए। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालदेखि क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलसम्मबाट त्यो व्यक्त भयो। तर, माओवादीकै लागि अर्थपूर्ण सम्बोधन सीपी मैनालीको भाषणमा व्यक्त भयो।

मैनालीले सम्बोधनका क्रममा कम्युनिस्ट आन्दोलन र दललक्ष्यित कैयौं प्रश्न तेस्र्याउँदै माओवादीलाई नवजीवनको शुभकामना दिएका थिए। त्यो एक किसिमले माओवादीको पुनर्जीवनकै कुरा थियो। त्यहीकारण पनि हुनसक्छ, प्रचण्डले अन्तिममा बोल्नेक्रममा सीपी मैनालीसँग आफूले त्यो भाषण नोट नै मागेको बताए। माओवादीका कैयौं नेता र कार्यकर्ताले यो महाधिवेशन नै माओवादीको अग्निपरीक्षा हुने बताइरहेका छन्। उनीहरुले यहाँबाट पार्टी रुपान्तरण हुनसके पुनर्जीवित हुनसक्ने नभए सिद्धिने बाटोतिर जाने टिप्पणी पनि गरिरहेका छन्। सम्भवतः प्रचण्डले त्यसकै केही खाका मैनालीको भाषण नोटमा देखे।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित