ल्याटिन अमेरिकाभरि वामपन्थी पुनरोदय भएकै हो ? यसले विश्व राजनीतिलाई कता लैजाला ?

ल्याटिन अमेरिकाभरि वामपन्थी पुनरोदय भएकै हो ? यसले विश्व राजनीतिलाई कता लैजाला ?
२०७८ पुष २३ शुक्रबार, 07-01-2022


वर्ष २०२१ ल्याटिन अमेरिकामा वामपन्थीहरुको उदयको वर्ष जस्तै रह्यो। गत वर्ष नोभेम्बर २१ मा राष्ट्रपतीय, संसदीय र क्षेत्रीय निर्वाचनमा वामपन्थीहरुको पुनरोदय भयो। चार वर्षे कार्यकालका लागि ग्यावरियल बोरिच राष्ट्रपतिमा निर्वाचित भए। त्यहाँको वामपन्थी दल सोसल कन्भर्जेन्सका ३५ वर्षे बोरिच राष्ट्रपतिमा निर्वाचित भए।

पूर्व विद्यार्थी नेता बोरिचले दक्षिणपन्थी प्रतिस्पर्धी जोसे एन्टोनियो कासलाइलाई १० प्रतिशत मतले पछाडि पार्दै राष्ट्रपतिमा विजयी भए। बोरिचको पक्षमा ५६ प्रतिशत मत पर्दा कास्टले ४४ प्रतिशत मत हात पारेका थिए।

पहिलो चरणमा भएको निर्वाचनमा कास्टले बोरिचले भन्दा दुई प्रतिशत बढी मत प्राप्त गरेका थिए। बोरिचले २५.८२ प्रतिशत मत प्राप्त गर्दा कास्टले २७.९१ प्रतिशत मत प्राप्त गरेका थिए।

दोस्रो चरणको निर्वाचनमा न्यू सोसल प्याक्ट र प्रोग्रेसिभ पार्टीले उनलाई बोरिचलाई समर्थन गरेसँगै बोरिचले सहज विजय हात पारे।

सन् २०१८ मा स्थापना भएको सोसल कन्भर्जेन्स पार्टीका नेता हुन् बोरिच। यो पार्टीका अध्यक्ष हुन् प्रमुख अलोन्ड्रा अरेल्लानो। उनी पुग नपुग २४ वर्षकी भइन्।

विद्यार्थी आन्दोलनबाट यस पार्टीको उदय भएको हो। मध्ये २०१९ मा यसका आन्दोलनकर्ताले नोभेम्बरमा पार्टी दर्ता गराएका हुन्। २०१९-२०२१ चिली आन्दोलन जसलाई अक्टोभर मुभमेन्टका रुपमा पनि चिनिन्छ। यही आन्दोलनले यो पार्टीलाई जनतामाझ पुर्‍याएको थियो।

२०१९ को अक्टोबर २५ मा १० लाख बढी मानिसहरु सान्टियागोमा भेला भएर सरकारविरुद्ध प्रदर्शन गरे। यो चिलीको इतिहासकै सबैभन्दा ठूलो प्रदर्शन मानिन्छ।

यस प्रदर्शनका क्रममा २९ जनाको मृत्यु हुनुका साथै २५ सय बढी मानिसहरु घाइते भएका थिए। प्रदर्शनकै क्रममा २ हजार ८ सय ४० जना पक्राउ परेका थिए।

सन् २०१९ को नोभेम्बर १५ मा चिलीको नेशनल कंग्रेसले आवश्यक परे संविधान संशोधनका लागि राष्ट्रिय जनमत संग्रह गर्ने सहमतिमा हस्ताक्षर गर्‍यो। जुन २०२० को अप्रिलका लागि तोकिएको थियो। कोभिड-१९ का कारण अक्टोबरमा भएको जनमत संग्रहमा ७८.२८ प्रतिशतले संविधान संशोधनको पक्षमा मतदान गरे।

सन् २०२१ को संविधानसभाको निर्वाचन भयो १ सय ५५ जना सदस्य रहेको सभालाई संविधान संशोधनको अधिकार दिइयो। त्यस संविधानसभामा २१ वर्षदेखि ७८ वर्ष सम्मका सरदर ४४.५ वर्षका सदस्यहरु रहेका छन्। ७८ पुरुष र ७७ महिला रहेका छन्। निर्वाचित ५९ विभिन्न पेशाका व्यक्तिहरु छन्। जसमध्ये ७ जना कानुनका विद्यार्थी, २० शिक्षक, ९ इन्जिनियर, ५ पत्रकार लगायत छन्। त्यस्तै ७ जना लैंगिक अल्पसंख्यक रहेका छन्।

यही आन्दोलनबाट स्थापित भएका नेता संवैधानिक सहमतिका समन्वयकर्ता ३५ वर्षीय वामपन्थी विचारधारका बोरिच डिसेम्बर २१ मा चिलीको राष्ट्रपतिमा निर्वाचित भएका छन्।

बोरिच राजनीतिमा २०११ देखि चिनिन थालेका हुन्। त्यतिबेलादेखि उनले चिलीमा नि:शुल्क तथा उच्च गुणस्तरको शिक्षाका पक्षमा वकालत गरेका थिए। उनी २०१३ मा त्यहाँको तल्लो सदनको डेपुटी बनेका थिए। पुन: उनी अर्को कार्यकालका लागि पनि विजयी भएका थिए।

बोरिचले अहिले चिलीमा वामपन्थी दलहरुको गठबन्धन अप्रुभ डिग्निटीको नेतृत्व गर्दै राष्ट्रपति भएका छन्। जुन गठबन्धन सन् २०११ मा बनेको हो।

उनले ११ मार्च २०२२ मा त्यहाँको राष्ट्रपतिको रुपमा कार्यभार ग्रहण गर्दैछन्।

पछिल्लो समय ल्याटिन अमेरिकामा वामपन्थीहरु शक्तिमा आउन थालेका छन्।

हाल ल्याटिन अमेरिकाका कम्तिमा १५ देशमा वामपन्थी, वा वामपन्थी विचारधारमा झुकाव राख्ने  नेताहरूले सत्ता सञ्चालन गरिरहेका छन्।

२०२१ मा मात्र चिलीसहित पेरु र होन्डुरसमा पनि वामपन्थी नेताहरु निर्वाचित भएका छन्। त्यस अगाडि पनि अर्जेटिना, बोलिभिया र मेक्सिकोमा पनि वामपन्थी नेताहरुले जित हासिल गरेका छन्।

२०२१ मै भएको निर्वाचनमा त्यहाँको सत्तारुढ दलको उम्मेदवारलाई पराजित गर्दै विपक्षी वामपन्थी नेत्री सिओमारा कास्ट्रो विजयी भइन्।

१२ वर्षसम्म सत्तामा रहेकी नास्री अस्फुरा पराजित भए। कास्ट्रोले राष्ट्रपतिको शपथ लिँदैछिन्। १९८२ मा होण्डुरस स्वतन्त्र भएपछि लिवरल पार्टी र नेशनल पार्टी बाहिरबाट राष्ट्रपतिमा निर्वाचित हुने उनी एक मात्र नेतृ हुन्। सन् २०१३ र २०२१ मा राष्ट्रपतिको उम्मेदवार थिइन्। त्यस्तै, २०१७ मा उपराष्ट्रपतिको उम्मेदवार बनेकी थिइन्। उनी लिवर्टी एण्ड रिफाउन्डेशन पार्टीकी सदस्य हुन्। यो पार्टी २०११ मा गठन भएको वामपन्थी पार्टी हो। यो पार्टीको गठन २००९ मा भएको ‘कू’को विरोधमा बनेको त्यहाँको वामपन्थी गठबन्धन नेशनल पपुलर रेसिस्टेन्स फ्रन्टले गठन गरेको हो।

२०२१ को राष्ट्रपतीय निर्वाचनका क्रममा कास्ट्रोले आफू निर्वाचित भए प्रजातान्त्रिक समाजवादको प्रवर्द्धन गर्ने र नेशनल कंग्रेसलाई नयाँ संविधानको मस्यौदा कोर्न लगाउने बताएकी थिइन्।

निर्वाचनमा लिवर्टी एण्ड रिफाउन्डेशनकी उम्मेदवार कास्ट्रोले ५३ प्रतिशत मत हासिल गरेर निर्वाचित भएकी हुन्।

सन् २०२१ मै भएको निर्वाचनमा पेरुमा पूर्वशिक्षक तथा युनियन लिडर पेड्रो कास्टिल्लो राष्ट्रपतिमा निर्वाचित भए। अप्रिल ११ मा भएको पहिलो चरणको निर्वाचनमा फ्रि पेरुका कास्टिल्लो र पपुलर फोर्सकी केइको फुजिमोरी दोस्रो चरणको निर्वाचनमा अगाडि बढेका थिए। दोस्रो चरणको निर्वाचनमा कास्टिल्लोले ५०.१३ मत प्राप्त गरे भने फुजिमोरीले ४९.८७ मत प्राप्त गरिन्।

२०२१ को जुलाइ २८ मा उनले पेरुको १३० औं राष्ट्रपतिको रुपमा शपथ लिए। फ्रि पेरु त्यहाँको मार्क्सवादी पार्टी हो जसको स्थापना २००८ मा फ्रि पेरु पोलिटिकल रिजनल मोभमेन्टको रुपमा स्थापना भएको थियो भने २०१२ मा राजनीतिक दलमा रुपान्तरण भएको थियो। सन् २०१६ को जनवरीमा विधिवत रुपमा रुपमा राजनीतिक दलको रुपमा दर्ता भएको थियो।  फ्रि पेरु साओ पाओलो फोरमको सदस्य राष्ट्र हो। यो संस्था ल्याटिन अमेरिका र क्यारेवियन क्षेत्रका वामपन्थी पार्टीहरुको संस्था हो। साओ पाओलोमा सन् १९९० मा ब्राजिलको वर्कर्स पार्टीले यसको स्थापना गरेको थियो।

यद्यपि, राष्ट्रपतिमा निर्वाचित भएपछि उनले विचारधारा परिवर्तन गर्दै दक्षिणपन्थी विचारमा झुकाव राख्दै गएका छन्। अर्कोतिर फ्रि पेरुबाट अलग भएका छन्।

अर्जेन्टिनामा पनि सेन्टर-लेफ्ट (वामपन्थी) नेता अल्वर्टो फर्नान्डेज २०१९ मा राष्ट्रपतिमा विजयी भएका छन्। उनले सत्तारुढ राष्ट्रपतिलाई नै पराजित गर्दै राष्ट्रपतिमा विजयी हासिल गरेका हुन्। त्यस्तै बोलिभियामा समाजवादी आन्दोलनबाट उदाएका लुइस अल्वर्टो आर्क काताकोरा राष्ट्रपतिमा निर्वाचित भएका छन्। २०२० को निर्वाचनमा उनी त्यहाँको वामपन्थी पार्टी मुभमेन्ट फर सोसियलिज्मका सदस्य हुन्। मेक्सिकोमा वामपन्थी नेता आन्ड्रेस म्यानुअल लोपेज ओवारडर २०१८ देखि राष्ट्रपति छन्। सन् त्यस्तै निकारागुवामा पनि वामपन्थी नेता ड्यानियल ओर्तेगा नेतृत्वमा छन्।

एन्टिगुवा एण्ड बर्बुडा, बार्वाडोस, डोमिनिका, डोमिनिक रिपव्लिक, फ्रेन्च गुयना, गुयना, पानमा, सेन्ट भिन्सेन्ट एण्ड ग्रेनाडिनेसमा पनि वामपन्थी सरकार रहेका छन्।

ल्याटिन अमेरिकी देश भेनेजुएला र क्युवामा पनि वामपन्थी सरकार रहेको छ।

ब्राजिलमा २०२२ को अक्टोवर २ मा आम निर्वाचन हुँदैछ। त्यस निर्वाचनमा वामपन्थी नेता लुला दा सिल्भाले जित हात पार्ने सर्वेक्षणहरु सार्वजनिक भइरहेका छन्। ब्राजिलको न्युज अर्गनाइजेसन जी १ ले सार्वजनिक गरेको सर्वेक्षण रिपोर्टमा लुलाको पक्षमा ४८ प्रतिशत र वर्तमान राष्ट्रपति जायर बोल्सोनारोको पक्षमा २१ प्रतिशत मात्र मतदाता देखिएको उल्लेख छ। वामपन्थी नेता लुलालाई जेल पठाउने पूर्वन्यायाधीश सर्जियो मोरोको पक्षमा जम्मा ६ प्रतिशतले मत दिने बताएका छन्। त्यस्तै अर्को एक सर्वेक्षणमा पनि उस्तै अवस्था देखाएको छ। बोल्सोनारो शासनमा कोभिड-१९ को कारण ६ लाख नागरिकहरु मारिएको भन्दै यसको दोष बोल्सोनारो सरकारको खराव व्यवस्थापनलाई नागरिकहरुले दोष दिँदै आएका छन्।

२००३ देखि २०११ सम्म ब्राजिलको राष्ट्रपति भएका लुला भ्रष्टाचारको अभियोगमा जेल गएका थिए। त्यहाँको सर्वोच्च अदालतले उनलाई आरोप मुक्त गर्दै राष्ट्रपतिमा निर्वाचन लड्न सक्ने फैसला गरेको छ।

विश्व दुई ध्रुवमा विभाजित हुँदै गर्दा ल्याटिन अमेरिकामा ‘पिंक टाइड’को नयाँ वेभ देखिन थालेको विश्लेषण गरिएको छ। ‘पिंक टाइड’को अर्थ ल्याटिन अमेरिकामा २१औं शताब्दीको सुरुवातमा वामपन्थी नेतृत्वको सरकार निर्माणलाई बुझाउँछ। १९९० को अन्त्यतिरदेखि २००० को दशकमा ल्याटिन अमेरिकामा वामपन्थी पार्टीले सत्ता सञ्चालन गरिरहेका थिए। सन् २०१० को दशकमा यो क्रम भंग हुँदै गएको थियो।

फेरि २०२० को दशक सुरु हुनासाथ पिंक टाइडको दोस्रो वेभको सुरुवात भएको विश्लेषण गर्न थालिएको छ।

२०१० को दशकमा ल्याटिन अमेरिकामा गुम्दै गएको वामपन्थीहरुको सत्ता २०२० को दशकमा पुन: हात पार्दै गएको पेरु, होन्डुरस, चिलीको निर्वाचनले देखाएको विश्लेषकहरुले जनाएका छन्।

‘पछिल्ला निर्वाचन परिणामहरुले नयाँ पुस्ताका वामपन्थीहरुले आफ्नो पुरानो वर्चस्व स्थापित गर्दै गएको देखाउँछ,’ वासिङट्नस्थित इन्स्टिच्युट फर पोलिसी स्टडिजका वरिष्ठ विश्लेषक जोन काभानागले भनेका छन्।

गत नोभेम्बर मा डज मल्टिनेशनल बैंक आईएनजीले एउटा अनुसन्धान वक्तव्य जारी गर्दै भनेको थियो- ‘ल्याटिन अमेरिकाको राजनीति २०२१ मा वामपन्थतर्फ निर्णायक परिवर्तन भइरहेको देखिएको छ। अझै यो रोकिने अवस्था छैन।’

त्यो वक्तव्यमा २०२२ ल्याटिन अमेरिकाका लागि ठूलो राजनीतिक वर्ष हुने भन्दै कोलम्बिया र ब्राजिलमा दक्षिणपन्थी सत्त्ता चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख छ।

गत सेप्टेम्बरमा मात्र मेक्सिकोका राष्ट्रपतिले ‘पिंक टाइड’ नेताहरुको सम्मेलन आयोजना गरे। सम्मेलनमा निकोलस मादुरोदेखि कम्युनिस्ट नेताहरुसम्म पुगेका थिए। 

ल्याटिन अमेरिकामा बदलिँदै गएको पछिल्लो राजनीतिले अमेरिका र चीनबीचको कूटनीतिक सन्तुलनमा असर पार्ने विश्लेषण पनि गरिएको छ।

ल्याटिन अमेरिकी राजनीति सधैँ वामपन्थी-दक्षिणपन्थी राजनीतिमा ‘पेन्डुलम’ जस्तै भइरहेको भन्दै पछिल्लो ‘लेफ्ट-टु-राइट’ सिफ्ट अपेक्षा गरेभन्दा अगाडि नै आएको चाइनिज एकेडेमी अफ सोसल साइन्सको ल्याटिन अमेरिकन स्टडिजका विज्ञ चोउ चिवेइले बताएका छन्।

ल्याटिन अमेरिकाको यो ‘पिंक टाइड सिफ्ट’ले चीनलाई आर्थिक लगानीका साथै राजनीतिक साझेदारीमा सहयोग सिद्ध हुने देखिन्छ।  अमेरिकी तथा युरोपियन केही देशहरुले चीनमा हुने शीतकालीन ओलम्पिकमा कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको अवस्थामा अर्जेन्टिनका वामपन्थी नेता तथा राष्ट्रपति अल्वेर्टो फर्नान्डेजले ओलम्पिकमा सहभागी हुन चीन भ्रमण गर्ने घोषणा गरिसकेका छन्।  

चीनबीचको कूटनीतिक सन्तुलनमा असर परिरहँदा पनि अमेरिकाले पनि त्यहाँका वामपन्थी सरकारसँग सम्बन्धलाई अगाडि बढाउने प्रयास भने गरिरहेको छ। बाइडेन प्रशासनले त्यहाँ गरिबी निवारणदेखि वातावरण संरक्षाका क्षेत्रमा साझेदारीको हात अगाडि बढाइरहेका छन्।

अहिले देखिएको परिवर्तन ल्याटिन अमेरिकामा पुराना कम्युनिस्ट नेता भन्दा नयाँ पुस्ताका कम्युनिस्टको बाहुल्यता देखिएको छ। सामाजिक सञ्जालमा युवाहरुको सहभागीतात्मक प्रदर्शन तथा आन्दोलनबाट वामपन्थी सत्ता फर्किँदै गएको आभाष हुन्छ।

यद्यपि, यस्तो वामपन्थी उभारलाई ल्याटिन अमेरिकी देशका नयाँ पुस्ताका नेताहरुले कसरी संरक्षण गर्छन्? भन्ने प्रश्न भने कायम छ। नयाँ पुस्ताका वामपन्थी नेताहरुले वामपन्थी विचारसँगै दक्षिणपन्थी विचार समूहलाई पनि सन्तुलित रुपमा लिएर अगाडि बढ्नुपर्ने देखिन्छ। यसको सुरुवात चिलीमा हालै निर्वाचित राष्ट्रपति बोरिचले आफ्नो सम्बोधनका क्रमबाट थालेका छन्।

विधुर ढकाल, पहिलो पोस्ट ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित