आखिर कहाँ बेपत्ता भइरहेका छन् मध्य एसियाका सबैभन्दा शक्तिशाली राजनेता ?

आखिर कहाँ बेपत्ता भइरहेका छन् मध्य एसियाका सबैभन्दा शक्तिशाली राजनेता ?
युरोपनेपाली खबर २०७८ पुष २५ आइतबार, 09-01-2022


कजाखस्तानमा ग्यासको मूल्य वृद्धिका कारण सुरु भएको प्रदर्शनले अब हिंस्रक रुप लिएको छ । स्थिति अनियन्त्रित हुन लागेपछि यसलाई नियन्त्रण गर्न रुसी सेना बोलाइएको छ । तर, यो सबका बीच त्यहाँका सबैभन्दा ठूला नेता तथा २९ वर्षसम्म राष्ट्रपति रहिसककेका नूरसुल्तान नजरबायेब देखिएका छैनन् र उनी कहाँ छन् भन्ने प्रश्न गम्भीर रुपमा उठेको छ ।

नूरसुल्तान नजरबायेब स्वतन्त्र कजाखस्तानका प्रथम राष्ट्रपति थिए । आफ्नो लामो शासनकालमा उनले जनताको अगाडि आफूलाई देशका राष्ट्रपिताको रुपमा पेश गरे । यद्यपि नयाँ वर्षमा सुरु भएको हिंसामा दर्जनौं जनता मारिँदा पनि नजरबायेब कहीँ देखिएका छैनन् । अहिले कजाखस्तानका केवल उनका मूर्ति र उनको नामबाट बनेका सडकहरु देखिएका छन् ।

यी प्रदर्शन र हिंसाले कजाखस्तानको सत्ता पूर्ण हस्तान्तरण गर्ने प्रक्रिया तीब्र बनाएका छन् । पूर्व राष्ट्रपति नजरबायेबबाट सुरक्षा परिषदको प्रमुखको रुपमा सत्ताको एकमात्र औपचारिक भूमिका पनि खोसिएको छ । अब राष्ट्रपति कासिम जोमार्त तोकायेभले आफूलाई सुरक्षा परिषदको प्रमुख घोषित गरेका छन् । तोकायेभ उनै हुन् जसलाई २०१९ मा नजरबायेब हटेपछि राष्ट्रपति बनाइएको थियो ।

गत वर्ष अर्थात २०२१ मा नजरबायेबले आफूसँग बाँकी भएका २ अहम जिम्मेवारी तोकायेभलाई सुम्पिएका थिए । उनले असेम्बली अफ द पिपुल्स अफ कजाखस्तानको अध्यक्ष पद र नूर ओटान पार्टीको नेता पद तोकायेभलाई सुम्पिएका थिए । कजाखस्तानमा नजरबायेबको कदको अनुमान यो कुराले पनि लगाउन सकिन्छ कि उनी राष्ट्रपतिबाट हटेको ३ वर्षपछि पनि त्यहाँ हुने हरेक घटनालाई उनी, उनको परिवार वा सहयोगीसँग जोडेर हेरिन्छ ।

अहिले भइरहेका प्रदर्शनमा पनि प्रदर्शनकारीहरुले उनको विरुद्ध नारा लगाइरहेको सुनिन्छ । साथमा कैयौं स्थानबाट उनका मूर्तिहरु पनि हटाइएका छन् । जनतामा नजरबायेकप्रति यस्तो असन्तुष्टिको पनि कारण छ । खासमा कजाखस्तान पहिले सोभियत संघमा थियो । संघ विघटन भएदेखि २०१९ सम्म नजरबायेब कजाखस्तानका राष्ट्रपति रहे । त्यसैले त्यहाँका जनता देशको परिस्थितिको लागि नजरबायेबलाई नै जिम्मेवार मान्छन् ।

संसाधन सम्पन्न यो देशको क्षेत्रफल करिब २७ लाख वर्ग किलोमिटर छ । यति ठूलो देशको जनसंख्या भने २ करोडभन्दा पनि कम छ । डेढ लाख वर्ग किलोमिटरभन्दा पनि केही कम क्षेत्रफल रहेको हाम्रै देश नेपालको जनसंख्या कजाखस्तानको भन्दा धेरै बढी अर्थात ३ करोडभन्दा बढी छ । नजरबायेबले आफ्नो शासनकालमा जनताको असन्तुष्टि र नागरिक समाज दुवैलाई मौलाउन दिएनन् । सम्पत्तिको वितरण पनि असमान ढंगले बढ्दै गयो ।

कजाखस्तानमा केवल २ सय जना मानिससँग देशको आधाभन्दा धेरै सम्पत्ति छ । देशमा करिब ४ सय करोडपति छन् जो विदेशमा खासगरी लण्डनमा बस्न मन पराउँछन् । २००८ देखि २०१५ को दौरान बेलायतले लगानी गर्नेहरुलाई आफ्नो देशमा स्थायी रुपमा बसोबासको अनुमति दिइरहेको थियो । त्यतिबेला कजाखस्तानका धनाढ्यहरु गोल्डेन भिसा लिने लाइनमा सबैभन्दा अगाडि थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित