बालबालिकामा मोबाइलको लत, कस्ता छन् असर, कसरी समाधान गर्ने ?

बालबालिकामा मोबाइलको लत, कस्ता छन् असर, कसरी समाधान गर्ने ?
युरोपनेपाली खबर २०७८ पुष २९ बिहीवार, 13-01-2022


हामी अभिभावक आफ्नो बच्चाले 'जोनी जोनी एस पापा इटिङ सुगर नो पापा' गाउँदै गर्दा खुसी भएको पक्कै देखेका छौं । तर, यो परिवेश सायद गाउँघरमाभन्दा सहरी क्षेत्र अथवा मोबाइल र इन्टरनेटको पहुँच भएको स्थानमा बढी छ ।

सहज उपलब्ध हुने इन्टरनेट जडित मोबाइल र टिभीले हाल बालबालिकालाई खेलाउन, खुवाउन र भुलाउन निकै सजिलो त गरेको छ । तर, मोबाइल र टिभीको अत्यधिक प्रयोगले बालबालिकाको विकास र मानसिक स्वास्थ्यमा हुनसक्ने ढिलाइ र समस्याबारे सचेत हुनुका साथै यसको चेतना अभिभावकमा हुन पनि आवश्यक छ ।

स्क्रिन भएका इलेक्ट्रोनिक वस्तुभन्दा बालबालिकाको विकासका लागि भौतिक क्रियाकलाप, अन्तरक्रिया र सामूहिक भौतिक खेल धेरै महत्त्वपूर्ण छन् । दुई वर्षभन्दा मुनिका बालबालिकामा सिक्ने जान्ने र बुझ्ने सिप विकास चाँडो र धेरै हुने विज्ञानले बताउँछ । बालबालिकालाई विभिन्न जीवन उपयोगी सिपहरु सिक्न धेरै दृश्य, आवाज, स्वाद र बनावटको अनुभव हुन महत्त्वपूर्ण हुन्छ । स्क्रिन भएका वस्तुले बालबालिकालाई मनोरञ्जन, सिकाउन र व्यस्त राख्न सक्ने भएतापनि यसको धेरै प्रयोगले विभिन्न किसिमका शारीरिक, मानसिक तथा व्यवहारिक समस्या निम्त्याउन सक्छ । त्यसैले बाल विशेषज्ञहरू बालबालिकाले स्क्रिनको अगाडि बिताउने समय उमेर अनुरुप सीमित गर्न सिफारिस गर्छन् ।

स्क्रिन टाइम भन्नाले के बुझ्ने ?

'स्क्रिन टाइम' भन्नाले टिभी, मोबाइल, ट्याबलेट, कम्प्युटर आदिको स्क्रिनमा हेरी वा प्रयोग गरी बिताउने समय हो ।

विश्व स्वास्थय संगठन (डब्लूएचओ) तथा अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्सले (एएपी) ले स्क्रिन टाइमबारे धेरै सुझाव दिएका छन् ।

विश्व स्वास्थ्य संगठनले उमेर अनुसार स्क्रिन टाइम सिफारिस गरेको छ । जसमा शिशुले (१ वर्ष भन्दा कम उमेर) स्क्रिन हेर्नै नहुने बताउँछ भने दुई वर्षका बालबालिकाका लागि बढीमा एक घन्टा वा त्योभन्दा कम र ३ देखि ४ वर्षका बालबालिकामा एक घण्टासम्म हेर्न मिल्ने बताउँछ ।

यस्तै, अमेरिकन एकेडेमी अफ पेडियाट्रिक्स (एएपी) ले १८ महिनाभन्दा कम उमेरका बच्चालाई स्क्रिन हेर्नै नदिन सिफारिस गर्छ । अभिभावक टाढा भएको अवस्थामा भिडियो च्याट गर्न छोटो समय भिडियो च्याटका लागि मात्र प्रयोग गर्न सक्ने बताउँछ । १८ महिनादेखि २४ महिनासम्मका बालबालिकाले अभिभावक वा हेरचाहकर्तासँग ज्ञानमूलक स्क्रिन समय सुरु गर्न सक्छन् भने २ देखि ५ वर्ष सम्मका बालबालिकाले स्क्रिन समय बढीमा दिनको एक घण्टा र छुट्टीको दिनमा ३ घण्टासम्म गर्नसक्ने बताउँछ ।

स्क्रिन टाइम धेरै भए बालबालिकामा निम्न समस्या हुन सक्छ :

ढिलो बोल्ने, सुनेका कुरा मात्र बोल्ने, खाना चपाएर नखाने, खाना मुखमा हालिरहने, व्यवहारमा परिवर्तन आउने, जिद्दी स्वाभाव हुने, अरुसँग घुलमिल हुन अप्ठ्यारो मान्ने, वजन बढ्ने, बाहिर खेल्न जान नरुचाउने, लेख्न गाह्रो हुने, पढनमा ध्यान दिन नसक्ने, शैक्षिक प्रदर्शनमा कमी आउने, सामाजिक अन्तरक्रिया कम हुने, निदाउन गाह्रो हुने, कम समय सुत्ने, परिवार र साथीहरूप्रति प्रेम र संलग्नता कम हुने आदि ।

सन् २०१८ मा नेसनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) को अध्ययनको प्रारम्भिक तथ्याङ्कले स्क्रिन टाइम दिनमा दुई घण्टाभन्दा बढी भएका बालबालिकामा भाषा र सोच परीक्षणमा गर्दा कम अंक आएको देखिएको थियो । यस्तै सात घण्टाभन्दा बढी स्क्रिन टाइम भएका बालबालिकामा मस्तिष्कको कर्टेक्ससमेत पातलो भएको तथ्यांकमा देखिएको जनाएको छ ।

बालबालिकाको स्क्रिन टाइम व्यवस्थापन गर्नु परिवारका लागि चुनौतीपूर्ण छ । यद्यपि यसको व्यवस्थापन गर्न ढिला हुँदा समस्याहरु अझ थपिँदै जान सक्छ । यसबारे सजक रही समाधान गर्न पहल गर्नु उपयुक्त हुन्छ । यो एकै दिन वा हप्तामा सम्भव हुँदैन । यसका लागि धैर्यता र निरन्तर कोसिस आवश्यक पर्छ ।

स्क्रिन समय कम गर्न के गर्ने ?

बालबालिकाको अगाडि फोन आएको बेला बोल्न बाहेक मोबाइल प्रयोग नगर्ने । हामीले जे गर्‍यौं उनीहरुले त्यही सिक्छन् ।खाना खाँदा वा बच्चालाई खुवाउँदा मोबाइल प्रयोग नगर्ने । भिडियो देखाएर खाना खुवाउने बानी एकै पटकमा बन्द गर्न गाह्रो हुन्छ । विस्तारै कम गर्दै जाने ।बालबालिकाले स्क्रिनमा हेर्ने कार्यक्रम वा खेलबारे जान्ने र निरीक्षण गर्ने । गलत गतिविधि देखाउने वा हिंसात्मक गतिविधि प्रोत्साहन गर्ने जस्ता कार्यक्रमले बाल मनोविज्ञानमा असर गर्छ यसलाई बन्द गर्ने ।बालबालिकालाई सुत्नका लागि स्क्रिनको प्रयोग नगर्ने । यसको साटोमा गीत वा कथा सुनाउनु उपयुक्त हुन्छ ।छुट्टीको दिन घरमै बसी मोबाइल टिभी हेर्नुभन्दा बाहिर घुम्न लाने । अरु मानिस, जनावर, चराचुरुंगीसँग एक्सपोजर हुनु राम्रो हो । बालबालिकालाई भौतिक प्रकृतिमा रमाउन, खेल्न मौका दिने ।पठनपाठनका लागि ल्यापटप, मोबाइलभन्दा किताब-कापीको बढी प्रयोग गर्ने ।बालबालिकालाई खेलकुद, संगीत र कला सिक्न प्रोत्साहन दिने जसमा स्क्रिन समावेश नहुन् ।बालबालिका स्कुलबाट आएपछि कुराकानी गरेर केही समय बिताउने । उनीहरुलाई आफ्नो पूर्ण ध्यान दिने ।बालबलिकाले सजिलै देख्ने वा लिन सक्ने ठाउँमा मोबाइल, ट्याबलेट नराख्ने ।बालबालिकालाई रुटिन जस्तो बनाइ कुनै क्रियाकलापमा व्यस्त राख्न सकेपनि उनीहरुको स्क्रिन समय स्वतः घट्छ । लेगो मिलाउने, बाजा बजाउने, रंग लगाउने, चित्र कोर्ने, माटोको घर बनाउने जस्ता क्रियाकलापमा उनीहरु बढी रमाउँछन् ।५ वर्षभन्दा ठूला बालबालिकालाई अनलाइन गोपनीयता र सुरक्षाबारे सिकाउने । यसले पनि उनीहरुलाई सचेत हुन मद्दत गर्छ ।

यदि तपाईं आफ्नो बालबालिकाको स्क्रिन समयको बारेमा चिन्तित हुनुहुन्छ वा उनीहरूको व्यवहार फरक लाग्छ भने बालरोग विशेषज्ञ वा सम्बन्धित चिकित्सकसँग परामर्श गर्नुहोस् ।

हाल कोरोना संक्रमण बढिरहेको हुँदा बालबालिकालाई बाहिर लानु उपयुक्त नहुन सक्छ । तर, घरमै राख्दा पनि स्क्रिन समय बाहेकका यस्ता धेरै वैकल्पिक क्रियाकलाप छन जुन प्राथमिकता साथ प्रयोग गर्नुपर्छ ।

समिद कतिला श्रेष्ठ, इकान्तिपुर ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित