धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ र उपाध्यक्ष कुञ्जना घिमिरे ‘सुन्तली’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । भरतपुर महानगरपालिका–१५ मा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका क्रममा व्यापाक अनियमितता भएको भन्दै उनीहरूविरुद्ध छानबिन गर्न माग गर्दै उजुरी परेको हो ।
बागमती प्रदेश क्रिकेट संघका कोषाध्यक्ष तथा क्रिकेट राष्ट्रिय प्रशिक्षक अनिल अधिकारीले उनीहरूविरुद्ध आर्थिक अपचलन र ठगी गरेको भन्दै पक्राउ गरी छानबिन गर्न मागसमेत गरेर अख्तियारमा उजुरी गरेका छन् । अधिकारीले दुई पृष्ठ लामो निवेदनसहित आइतबार बिहान अख्तियार आयोग टंगाल काठमाडौंमा निवेदन दर्ता गराएका छन् ।
‘देश–विदेशमा रहेका नेपालीहरूबाट चन्दा संकलन र भरतपुर महानगरपालिकालगायतका सरकारी कार्यालयबाट ५७ करोडभन्दा बढी रकम उठाई हाल सो रंगशालाको सरकारी इञ्जिनियरहरूबाट मूल्यांकन गर्दा १७ प्रतिशत पनि निर्माण कार्य नगरी उल्टै १७ करोड ऋण तिर्नुपर्ने रकम देखाई परियोजना अलपत्र पारेर फरार रहेकोमा निजहरूलाई पक्राउ गरी आर्थिक अपचलन र ठगी मुद्दामा छानबिन गर्न माग गर्दर्छु’, उनले निवेदनमा लेखेका छन् ।
क्रिकेटको अभिभावक संस्था नेपाल क्रिकेट संघलाई नजरअन्दाज गर्दै रंगशाला निर्माण गरी भारत र पाकिस्तानबीच खेल गराउँछु भन्दै सामाजिक अभियन्ता बनेर करोडौँ रकम उठाएको उनले आरोप लगाएका छन् । उनले निवेदनमा भनेका छन्, ‘उनीहरूको निजी सम्पत्ति र जीवनशैलीका बारेमा विभिन्न टिकाटिप्पणी हुँदै गर्दा पनि कुनै सरोकारवाला निकायहरूले ध्यान नदिएर नेपालमा समाज सेवा भन्ने शब्द नै विकृत बन्दै गएको अवस्थामा निजहरूमाथि अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याइयोस् ।’
निवेदक अनिल अधिकारीले आफू एक्लैले नभई आमचितवनवासी, आमक्रिकेट खेलाडी र आमचन्दादाताको तर्फबाट उजुरी हालेको बताएका छन् । सामाजिक सञ्जालको दुरुप्रयोग गर्दै मोटो रकम उठाएर व्यापक भष्टाचार गरेकाले कारबाही गर्न माग गर्दे आफू अगाडि सरेको उनको भनाइ छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले उजुरी परेको पुष्टि गरे ।
FOUNDER/CHIEF EDITOR :