गर्भवती महिलाले पुस्तक पढ्दा शिशुलाई के फाइदा पुग्छ ?

गर्भवती महिलाले पुस्तक पढ्दा शिशुलाई के फाइदा पुग्छ ?
तस्वीर : गुगल
युरोपनेपाली खबर २०७८ माघ २ गते आइतबार, 16-01-2022


मातृत्व एक महिलाको जिन्दगीको सबैभन्दा सुन्दर पक्ष हो । गर्भमा आफ्नो सन्तान हुर्काइरहँदा एउटी आमाले जुन अनुभूति गर्छिन्, त्यसको तुलना संसारका कुनै पनि वस्तुसँग हुन सक्दैन । गर्भवती भएको बेला महिलाका मनमा अनेक भावना र तरंग पनि पैदा भइरहेका हुन्छन् । खुशीसँगै तनाव पनि यस्तो बेला मनमा उब्जिन सक्छ ।

गर्भवती अवस्थामा मनलाई शान्त, खुशी र सकारात्मक बनाइराख्न चिकित्सकहरु सुझाव दिइरहेका हुन्छन् । यस्तो बेला खुशीको दायरा बढाउन विभिन्न मनोरञ्जनका माध्यम प्रयोग गर्न सकिन्छ । गर्भवती महिलाका लागि पुस्तक पनि खुशी र सकारात्मक ऊर्जा भर्ने माध्यम हो ।

गर्भावस्थामा आफूलाई रुचि लागेको तर, सकारात्मक ऊर्जा दिने पुस्तक पढ्न मनोविद्हरु सुझाव दिन्छन् । पुस्तकले मस्तिष्कलाई स्वच्छ र सन्तुलित बनाउने भएकाले यसको प्रभाव बाल मस्तिष्कमा पनि पर्ने बाल मनोविद् डा. विजय ज्ञवाली बताउँछन् ।

‘गर्भमा रहेको शिशुलाई लिएर महिलामा विभिन्न भावना जोडिएका हुन्छन्,’ डा. ज्ञवाली भन्छन्, ‘मानसिक रुपमा खुशी बनाउने, मनोरञ्जन दिने र सकारात्मक सन्देश दिने पुस्तकले आमा तथा गर्भको शिशु दुवैलाई फाइदा गर्छ ।’

यद्यपि पुस्तक पढ्दा गर्भमा रहेको शिशुको मस्तिष्कमा पार्ने प्रभावबारे त्यति अनुसन्धान नभएपनि  पुस्तक दुवैको मानसिक स्वास्थ्यका लागि फाइदाजनक हुने उनको भनाइ छ । यसैगरी गर्भवती अवस्थामा गीत–संगीत सुन्ने, भजन तथा मन्त्र पढ्ने कार्य गर्दा पनि आन्द र खुशी मिल्ने डा. ज्ञवाली बताउँछन् ।

‘गर्भवती महिलाले आफू र आफ्नो शिशुको लागि उपयुक्त पुस्तक पढ्नु निकै फाइदाजनक हुन्छ,’ उनी भन्छन्, ‘शिशुको मानसिक विकास गर्भबाटै विकसित हने भएकाले सकारात्मक ऊर्जा दिने र उत्प्रेरणा दिने पुस्तक पढ्नु निकै प्रभावकारी हुन्छ ।’

गर्भवती महिलाले पुस्तक छान्दा भने निक्कै ध्यान पुर्‍याउनुपर्छ । गलत सूचना भएका पुस्तकहरुबाट टाढै रहनुपर्ने डा. ज्ञवाली सुझाउँछन् । ‘केही सकारात्मक ज्ञान दिने पुस्तक पढ्दा आमा तथा शिशु दुवैका लागि प्रभावकारी मानिन्छ ।’

गर्भावस्थामा पुस्तक पढ्नुका फाइदा

गर्भवती महिलाले सकारात्मक सोचको विकास गर्ने र सकारात्मक भाव पैदा गर्ने पुस्तक पढे गर्भमा रहेको बच्चाभित्र पनि सकारात्मक सोचको विकास हुने गुण आउन सक्छ । यस्तै गर्भभित्र बच्चा हुर्कारहेकी महिलाको दिमागका कुनै अशान्त तथा भड्किलो कुरा खेलिरहेको भएमा पुस्तक पढ्दा मनलाई शान्ति मिल्छ । महिलाले नवजात शिशुसम्बन्धी किताब पढेमा डेलिभरीका लागि आफूलाई मानसिक रुपमा तयार हुन पनि मद्दत पुग्छ । यसैगरी पुस्तक अध्ययनले गर्भभित्रको शिशुको मस्तिष्क बलियो बनाउन सहयोग पुर्‍याउँछ ।

गर्भावस्थामा महिलाले पुस्तक पढ्दा गर्भमा रहेको शिशुको भाषा कौशल क्षमतामा वृद्धि हुन सघाउ पुग्ने मनोविद्हरुको भनाइ छ ।

महिलाले गर्भावस्थामा शिशुको हेरचाह र रेखदेख सम्बन्धी पुस्तक, गर्भावस्थासँग सम्बन्धित पुस्तक, धार्मिक लगायतका पुस्तक पढ्नु उपयुक्त मानिन्छ ।

हत्या हिंसा, अपराध तथा भूतप्रेत सम्बन्धी पुस्तकबाट भने गर्भवती महिलाले टाढै रहनुपर्छ ।

-अंगद सिंह

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित