ओलम्पिकमा फेरि शीतयुद्धको धङधङी, किन भइरहेछ बहिष्कार ?

ओलम्पिकमा फेरि शीतयुद्धको धङधङी, किन भइरहेछ बहिष्कार ?
www.europenepalikhabar.com २०७८ माघ १८ गते मंगलबार, 1-02-2022


शीतयुद्ध समाप्तिसँगै रोकिएको अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता बहिस्कारको राजनीति बेइजिङ शीतकालीन ओलम्पिकसँगै फेरि सुरु भएको छ । 

शुक्रबारबाट सुरु हुने २४ औं शीतकालीन ओलम्पिकमा अमेरिकासहित विभिन्न देशहरुले ‘कूनीतिक बहिस्कार’को घोषणा गरेका छन् । १७ दिनसम्म चल्ने ओलम्पिकमा बहिस्कार गर्ने देशका खेलाडीहरु सहभागी भए पनि सरकारी अधिकारी हुने छैनन् । ९१ देशको करिब २९ सय खेलाडीको सहभागी हुने ओलम्पिकमा अमेरिकासहितका देशहरुले ‘कूटनीतिक बहिस्कार’ गर्ने जनाएका छन् । बहिस्कार गर्नेहरुले सिन्जियानसहित चीनमा भएको मानवअधिकार उल्लंघन गरेको आरोप लगाएका छन् ।

विभिन्न मानवाधिकारवादी संस्थाहरुले ‘बेइजिङ विन्टर ओलम्पिक’ बहिस्कारको मुद्दा महिनौं पहिलेदेखि उठेको भए पनि गत नोभेम्बर महिनामा चिनियाँ टेनिस खेलाडी पेङ सुआइले चिनियाँ कम्युनिस्ट पार्टीका एक वरिष्ठ अधिकारीमाथि लगाएको यौन दुर्व्यहारको आरोपपछि यसले जोडबल पाएको थियो ।

डिसेम्बरको सुरुमै बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले बेइजिङ ओलम्पिकको ‘प्रभावकारी कूटनीतिक बहिस्कार’ गर्न आह्वान गरेका थिए । क्यानडा, अस्ट्रेलिया, लिथुवानिया र कोसोभोसहितका देशहरुले ‘कूटनीतिक बहिस्कार’ को घोषणा गरेका छन् । जापानले उच्च सरकारी अधिकारी सहभागी नहुने बताए पनि कूटनीतिक बहिस्कार भनेको छैन ।

चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्कीले अहिले अमेरिका र चीनबीच चलिरहेको द्वन्द्वको सहउत्पादन बहिस्कार भएको बताउँछन् । ‘चीन अमेरिकाबीच चलिरहेको द्वन्द्वको सहउत्पादन शीतकालीन ओलम्पिकको बहिस्कार हो,’ कार्कीले भने, ‘पश्चिमा सबै देशहरु यसमा अहिले देखिँदैनन् । युरोपमा यस विषयमा विभाजन देखिएको छ ।’ कार्की २००८ को ग्रिष्मकालीन ओलम्पिकको समयमा पनि केही विषयहरु उठेको बताउँछन् । त्यस समयमा कार्की चीनमा राजदूत रहेका थिए ।

फ्रान्स र दक्षिण कोरियाले कूटनीतिक बहिस्कार नगर्ने बताएका छन् । कोरियाली सभामुख पार्क बाइङ सेउग शुक्रबार हुने ओलम्पिक उद्घाटन कार्यक्रममा सहभागी हुनेछन् ।

चीनका विदेश मन्त्रालय प्रवक्ताले पत्रकार सम्मेलनमा सभामुख पार्कको उद्घाटन समारोहमा हुने सहभागितालाई जोड दिएका थिए । चीनले विदेशमन्त्री वाङ यीले ओलम्पिकाको विषयमा हस्तक्षेप अन्त्य गर्न अमेरिकासँग माग गरेका थिए ।

सामरिक प्रतिद्वन्द्वमा रहेकाे चीनमा हुन लागेको ओलम्पिक बहिस्कार गर्न अमेरिकाका दुवै दलभित्र सहमति छ । केही सिनेटरले खेलाडीसमेत पठाउन नहुने माग गर्दै आएका छन् । सीमाको विषयमा तनाव बढेको भए पनि भारतले ओलम्पिकमा कुनै प्रकारको बहिस्कार नगर्ने भएको छ ।

यसपटकको शीतकालीन ओलम्पिकमा नेपालको तर्फबाट खेलाडी र अधिकारीहरुको सहभागिता हुने छैन । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले कुनै पनि खेलाडी हिउँदे ओलम्पिकका लागि छनोट नभएको कारण खेलाडी र अधिकारीहरु सहभागी नहुने बताएका छन् ।

‘खेलकुद र राजनीतिलाई एकै ठाउँमा राख्रेर हेर्नु हुँदैन भन्ने नेपालको स्पष्ट र दृढ धारणा हो । यसलाई एकै ठाउँमा राख्नु हुँदैन । राजनीतिको कारण खेलकुदमा कुनै प्रकारको अवरोध आउनु हुँदैन,’ अध्यक्ष श्रेष्ठले भने, ‘यसपटक हाम्रो कुनै पनि खेलाडीहरु विन्टर ओलम्पिकमा छनोट हुन सक्नुभएन । खेलाडी सहभागी नभएपछि अन्य अधिकारीहरुलाई सहभागिताका लागि ओलम्पिक कमिटीले निम्तो पठाउँदैन । खेलाडी नभएकोले मात्रै हाम्रो सहभागिता नहुने भएको हो । हामीले ओलम्पिकको सफलताको कामना गर्दै शुभकामना पठाएका छौं ।’

श्रेष्ठका अनुसार कोभिडको नभएको भए बेइजिङ शीतकालीन ओलम्पिक सफलताको शुभकामना दिन नेपालमा विशेष कार्यक्रम आयोजना हुने बताए । श्रेष्ठले दुई जना खेलाडीलाई बेइजिङ ओलम्पिकमा पठाउने तयारी भए पनि कोभिडको कारणले पर्याप्त मात्रामा प्रतियोगितामा सहभागी हुन र अभ्यास गर्न नपाएको कारण छनोट हुन नसकेको बताए ।

‘तालिम र प्रतियोगिता सबै युरोपतिर हुन्छ । कोभिडको कारण पर्याप्त मात्रामा सहभागी हुन सक्नुभएन त्यसैले तोकिएको मापदण्ड पूरा गर्न नसकेपछि यसपटक छनोट हुन सकेन,’ श्रेष्ठले भने ।

चीनले ओलम्पिकामा सहभागी हुन आउनेका लागि कोभिडका कारण कडा स्वास्थ्य सुरक्षाका मापदण्डको व्यवस्था गरेको छ । १४ दिन अनिवार्यरुपमा क्वारेन्टिनमा बस्नु पर्ने व्यवस्था गरेको छ ।

२००८ मा बेइजिङमा आयोजना गरिएको ग्रिष्मकालीन ओलम्पिकको समापन समारोहमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित भएका थिए । प्रधानमन्त्री हुनेबित्तिकै दाहालले उत्तरी छिमेकी देश चीनतर्फ गरेको पहिलो भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको थियो । नेपाली नेताहरुको ओलम्पिकको शुभकामना व्यक्त गर्दै सन्देश पठाएका छन् ।

बहिस्कार श्रृ‌ंखला-

सन् १९९१ मा सोभियत संघको पतनपछि खेलकुद बहिस्कार रोकिएको थियो ।

सन् १९८० मा अमेरिकाको नेतृत्वमा मस्को ओलम्पिक बहिस्कार गरिएको थियो । सोभियत संघको नेतृत्वले अफगानिस्तानमा गरेको सैनिक आक्रमणको विरुद्धमा अमेरिका र चीनसहित ४४ वटा देशले बहिस्कार गरेका थिए ।

त्यसको प्रतिउत्तरमा सोभियत संघ र सो निकट रहेका एक दर्जन देशले सन् १९८४ को लस एन्जलस ओलम्पिक बहिस्कार गरेका थिए । त्यस समयमा रुससहितका देशले बहिस्कार गर्दा सुरक्षाको प्रमुख कारण देखाएका थिए ।

बहिस्कारको कारण सयौं खेलाडीहरुको प्रतियोगिता सहभागी हुन बञ्चित भए पनि त्यसबाट परिणाम भने निस्केको थिएन । १९८० को मस्को ओलम्पिक बहिस्कार गरे पनि त्यसले रुसी विदेश नीतिमा कुनै प्रकारको परिवर्तन ल्याउन सकेको थिए । अफगानिस्तानबाट रुसी सेना फर्किन ९ वर्ष लागेको थियो ।

यसअघि २००८ मा बेइजिङमा ग्रिष्मकालीन ओलम्पिक भएको थियो । ओलम्पिक उद्घाटन कार्यक्रममा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस सहभागी भएका थिए ।

गत वर्ष भएको टोकियो ओलम्पिकाको उद्घाटन कार्यक्रममा अमेरिकाकी प्रथम महिला जिल बेइडन सहभागी भएकी थिइन् भनेे सन् २०१८ मा दक्षिण कोरियाको प्योङचाङमा भएको शीतकालीन ओलम्पिकको उद्घाटनमा तत्कालीन अमेरिकी उपराष्ट्रपति माइक पेन्स उपस्थित भएका थिए ।

नेपाल इन्स्टिच्युट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्गेजमेन्टका अनुसन्धान निर्देशक प्रमोद जैसवाल अन्तर्राष्ट्रिय चासो भएको समयमा उठ्ने गरेको यस्तो बहिस्कारको विषयले प्रभाव पार्ने बताउँछन् ।

‘विभिन्न कुराहरु उठाएर चीनलाई एक्ल्याउन कोसिस हुँदै आएको छ । ओलम्पिक जस्तो अन्तर्राष्ट्रिय चासो हुने अवस्थामा त्यस्तो यस्तो निर्णयको प्रभाव विश्वभर पर्छ’, जैसवालले भने, ‘२००८ को ग्रिष्मकालीन ओलम्पिकमा पनि त्यस्तै भएको थियो । यस्तो अर्थ क-कसले साथ दिन्छन वा दिँदैनन भनेर हेर्नका लागि हुनेगर्छ ।’

त्यस समयमा कुनै पनि सरकारीतर्फबाट नभई अन्य संस्थाहरुमार्फत बहिस्कार र विरोधका कार्यक्रम आयोजना गरिएको थियो । निर्वासनमा रहेका तिब्बतीहरुले काठमाडौंमा प्रदर्शन गरेका थिए ।

ओलम्पिकको टर्च विभिन्न सहरहरुको भ्रमण गराउने क्रममा निर्वासनमा रहेका तिब्बती समर्थकहरुले विरोध प्रदेश गरेका थिए । फ्रान्सको पेरिसमा ओलम्पिक टर्च र्‍यालीमा ठूलो अवरोध उत्पन्न भएको थियो । त्यसको विरोधमा चिनियाँहरुले फ्रान्स भ्रमण रद्द गर्ने र चीनमा रहेको फ्रान्सेली डिपार्टमेन्टल स्ट्रोरबाट सामान खरिद गर्न छाडेका थिए ।

अमेरिकाको नेतृत्वमा अहिले भएको बहिस्कारलाई प्रतिउत्तरमा २०२८ मा लस एन्जलसमा हुने ओलम्पिक चीनले बहिस्कार गर्नुपर्ने माग चीनमा उठ्न थालेको छ ।

 मणि दाहाल, इकान्तिपुर ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित