आज शुक्रवार (४ फेब्रुअरी) देखि चीनको राजधानी बेइजिङमा शीतकालीन ओलम्पिक शुरू हुन गइरहेको छ । सन् २००८ मा ग्रीष्मकालीन ओलम्पिक आयोजना गरेको बेइजिङले १४ वर्षको अन्तरालमै शीतकालीन ओलम्पिक पनि आयोजना गरेर कीर्तिमान बनाएको छ ।
यस १४ वर्षमा चीनको राजनीति तथा रणनीतिमा आएको परिवर्तन रोमाञ्चक छ । सन् २००८ विश्व राजनीतिमा देखिन थालेको परिवर्तनको सूचक वर्ष हो । चीनका लागि भारतका पूर्व राजदूत विजय गोखलेका अनुसार, त्यस वर्ष दुईवटा महत्त्वपूर्ण घटना भए जसबाट चीन विश्व मञ्चमा सशक्त रूपमा उभिएको सन्देश गयो ।
पहिलो, तङ स्याओपिङको सुधार तथा खुलापनको नीतिका कारण चीनले दुई दशक लगातार दोहोरो अंकको आर्थिक वृद्धि गर्न सकेको थियो । त्यही वृद्धिका कारण बलियो र धनी बनेको चीनको सम्मानलाई ओलम्पिकको भव्य आयोजनले थप उचाइमा पुर्यायो ।
दोस्रो, त्यही वर्ष विश्वव्यापी आर्थिक मन्दीले पश्चिमको अर्थतन्त्रलाई डामाडोल बनाइदियो र पश्चिमप्रति बाँकी विश्वको भरोसा पनि तोडिदियो ।
त्यसो त आर्थिक मन्दीले चीनलाई पनि नकारात्मक असर पारेको थियो । बैंकिङ क्षेत्रमा खासै असर नपरेको भए पनि बेरोजगारीमा व्यापक वृद्धि भएको थियो । तर त्यसबाट विचलित नभई चीनले विश्व अर्थतन्त्रलाई चलायमान राख्नका लागि लगभग १० खर्ब डलरका रूपमा विशाल लगानी गर्यो ।
चीनले आर्थिक वृद्धिको बलमा यसरी विश्वमा सशक्त हस्तक्षेप गर्न सकिएको र सफ्ट पावर पनि बढेको थाहा पाएपछि अब आफ्नो युग शुरू भएको अनुभव गर्न थाल्यो । अनि सन् २०१२ मा सी चिनपिङ राष्ट्रपति बनेपछि चीनले आफ्नो उदयको घोषणा विश्व मञ्चमा सशक्त रूपमा गर्न थाल्यो ।
तङको ‘शक्ति लुकाऊ, समयलाई पर्ख’ नीतिलाई परित्याग गर्दै चीनले आफ्नो जायज अडान राख्न थालेपछि चीनका विरोधीहरूले यसलाई आक्रामकता तथा ‘वुल्फ वारियर डिप्लोमसी’को संज्ञा दिन थाले ।
ग्रीष्मकालीन ओलम्पिकबाट शीतकालीन ओलम्पिकसम्म आइपुग्दा चीनको कुल गार्हस्थ्य उत्पादनमा दोब्बर वृद्धि भएको छ । पश्चिमी सञ्चारमाध्यमहरूले चीनको आक्रामकताका कारण उसप्रतिको दृष्टिकोण नकारात्मक रहेको भनी दाबी गरे पनि वास्तविकता त्यसभन्दा फरक देखिन्छ ।
पश्चिमको आपूर्ति प्रणालीमा निर्भर रहेको बाँकी विश्वले पश्चिमका विभिन्न बाध्यकारी शर्त पालन गर्नुपर्ने अवस्थामा चीनले त्यसभन्दा राम्रो विकल्प उपलब्ध गराइरहेकाले चीनप्रति बहुसंख्यक राष्ट्रको छवि सकारात्मक नै देखिन्छ । चीनको बेल्ट यान्ड रोड इनिसिएटिभमा १३८ मुलुकहरू सहभागी हुनु त्यसैको उदाहरण हो ।
अनि विरोधीहरूले जतिसुकै गिल्ला गरे पनि चीनले आन्तरिक तथा बाह्य व्यवस्थापनमा लगातार सफलता पाउँदै गएको देखिन्छ जसबाट उसको छवि थप चम्किलो बनेको छ । कोभिडको छायाँमा हुन लागेको शीतकालीन ओलम्पिकमार्फत चीनले आफ्नो उदयको थप दाबीलाई विश्वसामु प्रस्तुत गर्ने अवसर पाएको छ ।
कोभिड व्यवस्थापनमा चीनले अपनाएको लकडाउन र व्यापक परीक्षण मोडल संसारभरि लागू गरिनु चीनको सफलताको अर्को उदाहरण हो । पश्चिमी मुलुक, विशेषगरी अमेरिकामा कोभिडका कारण व्यापक मानवीय क्षति हुँदा चीनले संक्रमण तथा मृत्युदरलाई नियन्त्रणमा राख्न सक्यो । अहिले ऊ ‘जिरो कोभिड’ नीतिका साथ अघि बढिरहेको छ ।
त्यसमाथि चीनले कोभिडकालमा संसारभरि स्वास्थ्य सामग्री र खोपहरू उदारतापूर्वक वितरण गरेको छ । अमेरिका र पश्चिमले खोपप्रति संशय गर्ने आफ्ना जनतालाई विश्वस्त तुल्याउन चाहिँ नसक्ने तर खोप सञ्चय गरेर राख्ने निर्णय लिएर ‘खोप विभेद’ (भ्याक्सिन अपार्टहाइड) नीति लिइरहँदा चीनले एसिया, अफ्रिका र दक्षिण अमेरिकामा आफ्ना खोपहरू वितरण गरेको थियो । यसरी चीनले निःशर्त रूपमा खोप उपलब्ध गराएर सफ्ट पावरको उम्दा उदाहरण प्रस्तुत गर्यो ।
कोभिड व्यवस्थापनकै सिलसिलामा शीतकालीन ओलम्पिकमा ‘क्लोज्ड लूप’ प्रणाली अपनाएर खेलाडीहरूलाई सर्वसाधारणको पहुँचबाहिर राखिएको छ । ओलम्पिकका विषयमा चाइना इन्टरनेसनल कम्युनिकेसन्स ग्रुपद्वारा आयोजित कल्चरल स्यालूनमा सहभागी हुने अवसर पंक्तिकारले पाएको थियो ।
जसरी सन् २००८ को ओलम्पिकले विश्व मञ्चमा चीनको सशक्त उपस्थितिको घोषणा गरेको थियो, त्यसैगरी सन् २०२२ को ओलम्पिकले एकध्रुवीय विश्वको पतनको सन्देश दिने देखिन्छ । विगत १४ वर्षमा चीन लगातार बलियो बन्दै गएको र बहुध्रुवीय विश्वको अपरिहार्य केन्द्र बन्दै गएको उदाहरण ओलम्पिक आयोजनले दिने देखिन्छ ।
उक्त भर्चुअल स्यालूनमा बेइजिङ आयोजक समितिका मिडिया यान्ड कम्युनिकेसन्स डिपार्टमेन्टका अधिकारी सुन बिनले क्लोज्ड लूपका बारेमा विस्तृत वर्णन गरेका थिए जसबाट शीतकालीन ओलम्पिकमा खेलाडीको स्वास्थ्यलाई उच्च प्राथमिकता दिइने स्पष्ट हुन्छ ।
केही महिनाअघि मात्र जापानको राजधानी टोक्योमा आयोजित ग्रीष्मकालीन ओलम्पिक पनि कोभिडकै छायाँमा भएको थियो र कुनै दुर्भाग्यपूर्ण घटना विना नै सफलतापूर्वक सम्पन्न भएको थियो र बेइजिङले पनि त्यस्तै सफलता हात पार्ने विश्वास गर्न सकिन्छ ।
यति हुँदाहुँदै पनि बेइजिङमा केही खेलाडी र अधिकारीलाई कोभिड लागेको खबर पनि आएको छ । तर त्यसको समुचित व्यवस्थापन गर्दै खोप अभियान र नियमित परीक्षणमा जोड दिएको चीन सरकारले शीतकालीन ओलम्पिक पनि निर्विघ्नतापूर्वक सम्पन्न गर्न सक्ने आकलन छ ।
कोभिडको चुनौतीसँगै पश्चिमले गरेको कूटनीतिक बहिष्कारको चुनौती पनि बेइजिङ ओलम्पिकलाई आइलागेको छ । चीन सरकारले सिन्च्याङका वीगर मुुसलमानहरूको मानवअधिकार उल्लंघन गरेको आरोप लगाउँदै अमेरिका नेतृत्वको पश्चिमले कूटनीतिक बहिष्कारको घोषणा गरेको हो । त्यो भनेको पश्चिमले ओलम्पिकमा खेलाडीहरू पठाउने तर कूटनीतिकर्मी तथा अधिकारी नपठाउने भनेको हो ।
बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार, के हासिल गर्न खोज्दैछ पश्चिम ?
तर कूटनीतिक बहिष्कार सांकेतिक मात्र भएको र यसले कुनै परिणाम हासिल नहुने धारणा अमेरिकाको बोस्टन युनिभर्सिटी पार्डी स्कूलमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा राजनीतिशास्त्रका प्राध्यापक जोसेफ फ्युस्मिथको मत छ । उनका अनुसार, ओलम्पिकको पूर्ण बहिष्कारले पनि चीनलाई कुनै फरक पार्दैन ।
उल्टो यसले चिनियाँहरूसँग ‘डील’ गर्न अमेरिकालाई गाह्रो पार्छ । अनि अमेरिकाले आफूलाई कमजोर बनाउन खोजेको भन्ने भाव चिनियाँहरूमा आउँछ र राष्ट्रवादी भाव जगाउन चिनियाँ कम्युनिस्ट पार्टीलाई सहज हुन्छ ।
चीनले ओलम्पिक खेललाई यसरी राजनीतीकरण गरिन नहुने बताएको छ । रुसले पनि बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कारको विरोध गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले बहिष्कार अत्यन्तै गलत भएको र ओलम्पिक बडापत्रको बर्खिलाप समेत भएको बताएका छन् ।
ओलम्पिकको उद्घाटन समारोहमा पुटिन सहभागी हुनेछन् । समारोहमा पुटिन र सीबीच हुने वार्ताले दुई देशबीचको सम्बन्धलाई एक खुड्किलो माथि उकाल्ने अनि त्यसले विश्व राजनीतिमा बेग्लै तरंग ल्याउने कतिपय विश्लेषकहरूको मत छ ।
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले यसको संकेत दिएका छन् । उनका अनुसार, चीन र रुसबीचको पारस्परिक विश्वासमा कुनै छेकबार छैन, रणनीतिक सहकार्यमा कुनै निषेधित क्षेत्र छैन र दीर्घकालीन सम्बन्ध कतिसम्म चल्छ भन्ने कुनै सीमा छैन । उनको भनाइबाट पुटिन र सीबीच दीर्घकालीन परिणाम ल्याउने सहमति बन्न सक्ने आशय झल्किन्छ ।
अमेरिकाले बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार गर्ने अनि रुसका राष्ट्रपति चाहिँ त्यहाँ सशरीर उपस्थित हुने घटनाक्रमले विश्व राजनीतिमा आएको क्रान्तिकारी परिवर्तनलाई झल्काउँछ । अमेरिकाको एकध्रुवीयतालाई चुनौती दिन रुस र चीनबीचको सहकार्य थप बलियो बनेको संकेत यसले दिन्छ ।
अमेरिकालाई चीन र रुस दुई मोर्चाबाट एकैपटक यसरी चुनौती दिलाउने बाइडन प्रशासनको रणनीतिलाई विश्लेषकहरूले आलोचना गरेका छन् ।
जसरी सन् २००८ को ओलम्पिकले विश्व मञ्चमा चीनको सशक्त उपस्थितिको घोषणा गरेको थियो, त्यसैगरी सन् २०२२ को ओलम्पिकले एकध्रुवीय विश्वको पतनको सन्देश दिने देखिन्छ । विगत १४ वर्षमा चीन लगातार बलियो बन्दै गएको र बहुध्रुवीय विश्वको अपरिहार्य केन्द्र बन्दै गएको उदाहरण ओलम्पिक आयोजनले दिने देखिन्छ । पश्चिमको अर्थहीन बहिष्कारका बावजूद यस आयोजनले चीनको सफ्ट पावरलाई थप उचाइ दिने विश्वास गर्न सकिन्छ ।
-लोकान्तर
FOUNDER/CHIEF EDITOR :