मेस्सी, नेयमार, एम्बाप्पे जस्ता स्टारको सुपर टिम पिएसजीले भोग्यो लज्जास्पद हार !

मेस्सी, नेयमार, एम्बाप्पे जस्ता स्टारको सुपर टिम पिएसजीले भोग्यो लज्जास्पद हार !
www.europenepalikhabar.com २०७८ फागुन ७ गते शनिबार, 19-02-2022


१९ फेब्रुअरी, पोर्चुगल । फ्रेन्च लिग १ फुटबल प्रतियोगितामा लिग लिडर पिएसजीले लज्जास्पद पराजय भोगेको छ । आज साँझ भएको सिजनको २५औं साताको खेलमा पिएसजीलाई १०औं स्थानको नान्टेसले ३–१ को नमिठो हारको सिकार बनाएको हो । पाहुना टोली बनेर नान्टेसको घरमा पुगेको पिएसजीले अप्रत्यासित हार पन्छाउन सकेन । पिएसजीका लागि यो यस सिजनको दोस्रो हार हो ।

नान्टेसको घरेलु मैदानमा पहिलो हाफमै पाहुना टोली पिएसजी ३–० ले पछि परेको थियो । नान्टेसले सुरुआतबाटै बडा आक्रामक खेल खेल्दै पहिलो हाफभित्रै पिएसजीको पोस्टमा ३ गोल ठोकेको थियो । सुरुआतबाटै नान्टेसले पिएसजीलाई लगातार तनाव र दबाबमा राखेको थियो । पिएसजीको रक्षापंक्तिले पटक–पटक गल्ती गर्दा नान्टेसका खेलाडीले भरपुर त्यसको फाइदा उठाउन सफल भए ।

नान्टेसका लागि खेल सुरु भएको ४ मिनेटमै रान्डाल कोेलो मुआनीले शानदार गोल गरेर पिएसजीलाई ठूलो झट्का दिएका थिए । नान्टेसले आक्रामक मुभमा सो गोल गरेको थियो । जसमा पिएसजीका गोलकिपर केलर नाभासले बल रोक्ने कुनै चान्स नै पाएनन् । त्यसपछि नान्टेसले १२ मिनेटपछि नै दोस्रो गोल पनि ठोक्यो । यसपटक बक्स लाइन नजिकैबाट क्विनटिन मर्लिनले रकेट सटमा खतरनाक गोल ठोके ।

उनको सट यति शक्तिशाली थियो कि, पिएसजीका गोलकिपर नाभासले सो बल कताबाट आयो भनेर पत्तो समेत पाउन सकेनन् । सो गोलपछि पिएसजी १६ मिनेटभित्र २–० ले पछि परेको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा नान्टेसले तेस्रो गोल पनि हान्यो । बक्समा पिएसजीका खेलाडीले ह्यान्ड बल गरेपछि रेफ्रीले भिएआर जाँच गरेर नान्टेसलाई पेनाल्टी दिने निर्णय गरेका थिए । जसमा लुडोभिच ब्लासले कडा सटमा गोल गरेपछि पिएसजी पहिलो हाफमै ३–० ले पछि गर्न गयो ।

पहिलो हाफमा नान्टेसले थप २ गोलका राम्रा अवसर बनाए पनि सदुपयोग गर्न सकेन । उता, पिएसजीका नेइमारले वान भर्सेस वानमा पाएको अवसर खेर फाल्दा पिएसजी पहिलो हाफमा गोलविहीन बन्न पुगेको हो । पहिलो हाफमा ३ गोल खाएको पिएसजीले दोस्रो हाफमा १ गोल फर्कायो । दोस्रो हाफ सुरु भएको २ मिनेटमै नेइमारले बक्स भित्रबाट लिओनल मेस्सीको पासमा सुन्दर गोल गरेका थिए । त्यसपछि बाँकी समयभरि नै पिएसजीले थप गोल गर्न नसक्दा नान्टेसले खेल ३–१ ले जित्यो ।

आजको खेलमा पिएसजीका प्रमुख खेलाडी नेइमारले पेनाल्टी मिस गरे । उनले ५९औं मिनेटमा प्रहार गरेको पेनाल्टी नान्टेसका गोलकिपरले सहजै बचाउ गरेका थिए । यदि सो पेनाल्टीमा गोल भएको थियो भने सम्भवतः पिएसजीले खेलमा पुनरागमन गर्न सक्थ्यो पनि होला । तर, नेइमारको पेनाल्टी मिसपछि पिएसजी हतास देखिएको थियो । उसले पटक–पटक अवसर बनायो । तर, खेलाडीले लगातार चुकिरहे ।

आजको खेलमा फ्रन्ट लाइनमा सुरुआतबाटै नेइमार, मेस्सी र केलियन एमबाप्पे उत्रिएका थिए । यो ३ जनाको सेटलाई आज युरोपको सबसे खतरनाक र धारिलो फ्रन्ट सेट मानिन्छ । तर, आजको खेलमा यो खतरनाक र धारिलो सेट कामै नदिने पूरै बेकामे देखियो । नान्टेसका गोलकिपरले शानदार प्रदर्शन गर्नु पनि पिएसजीका लागि समस्या बनिदियो । उता, मेस्सी र एमबाप्पेले पटक–पटक गोलका अवसर खेर फालेका थिए ।

खेलभरिमा पिएसजीले कूल ७२ प्रतिशत बल आफ्नो पकडमा राखेर खेल्दा उसले १६ पटक विपक्षीको पोस्टमा प्रहार गरेको थियो । त्यसमध्ये ९ सट अन टार्गेट थिए । बाँकी ८ सट गोलकिपरले बचाएका थिए । उता, नान्टेसले पिएसजीको पोस्टमा कूल १३ पटक सट हान्दा ७ वटा सट अन टार्गेट हानेको थियो । आजको खेलमा पिएसजीका गोलकिपर नाभासको प्रदर्शन निकै फितलो रह्यो । उनले मात्रै ४ बचाउ गरेका थिए ।

अब यो हारपछि पनि पिएसजी २५ खेलपछि ५९ अंकका साथ शीर्ष स्थानमा यथावत रहेको छ । ऊ अझै पनि दोस्रो स्थानको मार्सेइल्लीभन्दा १३ अंकले अघि नै रहेको छ । यता, विजयी नान्टेस भने पिएसजीलाई हराएर ३ अंक जोडे्दै १०औं स्थानबाट एकैपटक पाँचौं स्थानमा उक्लिएको छ । उसको खातामा ३८ अंक छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित