श्रीलंकामा संकट गहिरियो, २६ जना मन्त्रीले दिए राजीनमा

श्रीलंकामा संकट गहिरियो, २६ जना मन्त्रीले दिए राजीनमा
www.europenepalikhabar.com २०७८ चैत २१ गते सोमबार, 04-04-2022


चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएपछि श्रीलंकामा सबै मन्त्रीले राजीनामा दिएका छन् । सोमबार श्रीलंकाका सबै २६ जना मन्त्रीले राजीनामा दिएको शिक्षामन्त्री दिनेश गुणवर्देनाले जानकारी दिएका छन् ।

उनका अनुसार सबै मन्त्रीले राजीनामा दिए पनि प्रधानमन्त्री र राष्ट्रपतिमा भने महिन्दा राजापाक्ष र गोटाभाया राजापाक्ष भने पदमै कायम रहनेछन् । राष्ट्रपति गोटाभायाले रक्षा, प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् भने प्रधानमन्त्री महिन्दाले धार्मिक तथा सांस्कृतिक, आर्थिक नीति तथा योजना कार्यान्वयन र सहरी विकास तथा भवन निर्माण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन् ।

राजीनामा दिने मन्त्रीहरूमा प्रधानमन्त्री महिन्दाका छोरा नमलसमेत रहेका छन् । उनी खेलकुद मन्त्रीको जिम्मेवारीमा थिए । ट्विटमार्फत राजीनामाबारे जानकारी दिँदै नमलले आफूहरूको निर्णयले सरकार र नागरिकका लागि स्थायित्व ल्याउने बताएका छन् ।

सरकारविरोधी प्रदर्शन रोक्न सरकारले कर्फ्यु आदेश जारी गरे पनि कैयौं सहरमा उल्लंघन भएको छ । राजधानी कोलम्बोमा प्रदर्शनकारी र सरकारी फौजबीच झडपहरू भएका छन् । कन्डी सहरमा प्रहरीले दर्जनौं अश्रुग्यास र पानीको फोहरा प्रहार गरेको बीबीसीले जनाएको छ । सरकारविरोधी प्रदर्शन अनियन्त्रित बन्दै गएपछि राष्ट्रपति गोटाबाय राजापाक्षले ३६ घण्टाका लागि जारी गरेको कर्फ्यु अवधि स्थानीय समयअनुसार सोमबार बिहान ६ बजे सकिएको छ ।

सम्बन्धित निकायबाट लिखित अनुमतिबिना सडक, उद्यान, रेल वा समुद्री क्षेत्रमा जान रोक लगाइएको छ भने फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सन्जाल बन्द गराइएको छ ।

यसअघि राजधानी कोलम्बोस्थित राष्ट्रपति निवासबाहिर विरोध प्रदर्शन गरिएपछि देशभर संकटकाल लागू गरिएको छ । पक्राउपुर्जीबिना नै जोकोहीलाई पक्राउ गर्न सक्ने अधिकार सेनालाई दिइएको छ । राष्ट्रपतिको राजीनामा माग्दै निवासबाहिर गरिएकाले प्रदर्शनका क्रममा भएका झडपमा कम्तीमा दुई दर्जन सुरक्षाकर्मी घाइते भएको जनाइएको छ । सुरक्षाफौजले हिंसात्मक गतिविधिमा संलग्न र कर्फ्यु आदेश उल्लंघन गर्ने कम्तीमा ६ सय जनालाई नियन्त्रणमा लिएको जनाएको छ । राष्ट्रपति निवासबाहिर विरोधका क्रममा पक्राउ परेका पाँच जना फोटो पत्रकार र अन्य दर्जनौं प्रदर्शनकारीलाई प्रहरीले यातना दिएको सूचना बाहिरिएसँगै देशका अन्य भागमा पनि हिंसा फैलिएको हो 

श्रीलंकाले पछिल्लो समय स्वतन्त्रतायताकै सबैभन्दा ठूलो आर्थिक संकट सामना गरिरहेको छ । विदेशी मुद्राको अभावसँगै इन्धन आपूर्ति लगभग ठप्प भएको छ भने खाद्यान्न तथा औषधिको चरम अभाव देखिएको छ । दैनिक उपभोग्य वस्तुको भाउ अकासिएका कारण जनजीवन कष्टकर बन्दै गएको छ । त्यस्तै, पछिल्लो समय विद्युत् आपूर्तिमा समेत समस्या देखिएपछि जनतामा आक्रोश बढेको छ ।

कोरोनासँगै श्रीलंकाली अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प छ । केही अर्थशास्त्रीले भने ठूलो मात्राको वैदेशिक ऋण र व्यवस्थापन कमजोरीका कारण अर्थतन्त्र धर्मराएको बताएका छन् । श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मुद्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो, जसका कारण खाद्यान्न तथा औषधि अभाव भएको हो ।

विदेशी मुद्राका लागि मुख्यस्रोत रहेको पर्यटन क्षेत्र सन् २०१९ मा भएको आतंकवादी आक्रमण तथा कोरोना महामारीका कारण ठप्प हुँदा २ लाख ५० हजार जनाभन्दा बढीले रोजगारी गुमाएका छन् । त्यस्तै, चीनलगायत देशबाट ऋण लिएर सञ्चालन गरिएका विभिन्न परियोजना पनि महामारीकै कारण संकटमा परेका छन् । विदेशी मुद्रा सञ्चितिमा परेको दबाब घटाउन सरकारले गाडी र मल आयातमा रोक लगायो तर त्यसले चियालगायत अन्य उत्पादनमूलक क्षेत्रमा नकारात्मक प्रभाव पर्‍यो ।

पछिल्लो समय रुसले युक्रेनमाथि गरेको आक्रमणले श्रीलंकाको अर्थतन्त्र थप ब्रिगिएको हो । पर्यटन तथा उत्पादनमूलक क्षेत्र धराशायी भएपछि कतिपय परियोजना बनाउन लिएको ऋणको वार्षिक किस्ता तिर्न मुस्किल भयो । अर्थतन्त्र ओरालो लाग्दै गएपछि श्रीलंकाले अमेरिकी डलरसँग आफ्नो मुद्रालाई अवमूल्यन गर्‍यो । त्यही कारण आयातीत वस्तुको भाउ निकै महँगिएपछि सरकारविरोधी प्रदर्शनहरू सुरु भएका हुन् ।

प्रदर्शन चर्किएसँगै राष्ट्रपति राजापाक्षको लोकप्रियता घटेको छ भने सत्ता संकटमा पर्ने देखिएको छ । ‘राजनीतिक स्थायित्व र शासन सञ्चालनका सबल नेतृत्व’ को वाचासहित उनले सन् २०१९ को चुनावमा बहुमत ल्याएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित