पुटिनले युक्रेन युद्धका लागि नियुक्त गरेका नयाँ सैन्य जनरल को हुन् ?

पुटिनले युक्रेन युद्धका लागि नियुक्त गरेका नयाँ सैन्य जनरल को हुन् ?
www.europenepalikhabar.com २०७८ चैत २७ गते आइतबार, 10-04-2022


रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा कमान्डका लागि नयाँ सैन्य जनरल नियुक्त गरेका छन् । 

युक्रेनको राजधानी किएभ हात पार्न नसकेपछि पुटिनले यो कदम चालेको अमेरिकी तथा युरोपेली अधिकारीहरूले बताएका छन् ।

जनरल अलेक्जेन्डर द्भोर्निकोभ रुसको सदर्न मिलिटरी डिस्ट्रिक्टका कमान्डर हुन् । उनलाई युक्रेनमा रुसले चलाएको सैन्य अभियानको थिएटर कमान्डर बनाइएको छ । 

‘रुसको सैन्य कारवाही विफल बनेको कुरा ऊ आफैंले स्वीकार गरेको र अब केही फरक काम गर्नुपर्ने आवश्यकता उनीहरूले अनुभव गरेको देखिन्छ,’ ती युरोपेली अधिकारीले बताए । 

युद्धको लामो अनुभव बटुलेका थिएटर कमान्डरले सैन्य कारवाहीमा संयोजन मिलाउन सक्ने अपेक्षा छ । रुसले अब विभिन्न मोर्चामा नभई डोनबास क्षेत्रमा आक्रमण केन्द्रित गर्ने देखिन्छ । 

साठी वर्षीय द्भोर्निकोभ सिरियामा रुसले चलाएको सैन्य कारवाहीका प्रथम कमान्डर थिए । सन् २०१५ मा सिरियाका राष्ट्रपत बशर अल असदको सरकार बचाउनका लागि पुटिनले त्यहाँ रुसी सेना पठाएका थिए । 

सन् २०१५ को सेप्टेम्बरदेखि सन् २०१६ को जुनसम्म द्भोर्निकोभले सिरियामा कमान्ड सम्हाल्दा रुसले विद्रोहीहरूको कब्जामा रहेको पूर्वी अलेप्पोमा आक्रमण गरेको थियो । सन् २०१६ को डिसेम्बर महिनामा सिरियाली सरकारी फौजहरूले उक्त शहर नियन्त्रणमा लिएका थिए । 

सैन्य विश्लेषक तथा गुप्तचरी सूचना पाएका अमेरिकी अधिकारीहरूले मे ९ सम्ममा युक्रेन युद्धमा भएको प्रगतिको खबर पुटिनलाई दिन चाहेको अनुमान गरेका छन् । मे ९ मा रुसले नाजी जर्मनीको पराजयको वार्षिकोत्सव मनाउने गरेको छ । त्यस दिन मस्कोको रेड स्क्वेयरमा परेड गर्ने गरेको छ । 

युक्रेनमा रुसले गरेको युद्धमा नयाँ कमान्डर नियुक्त गरेर लडाइँलाई रणनीतिक रूपमा सुसंगत बनाउन खोजेका हुन सक्छन् । युक्रेनी सैन्य कारवाहीमा थिएटर स्तरको कमान्डर नभएकाले रुसी सैन्य डिस्ट्रिक्टका विभिन्न इकाइहरूले समन्वय नमिलाइकन कारवाही चलाएका छन् । 

रुसले किएभ नियन्त्रणमा लिने भन्दा पनि युक्रेनको पूर्वी भागमा थप भूभाग नियन्त्रणमा लिने योजना बनाएको देखिन्छ । रुसी सैनिकहरू युक्रेनको उत्तरी सुमी क्षेत्रबाट पूरै हटेको अनि देशको पूर्वी भाग केन्द्रित भएको युक्रेनी अधिकारीहरू बताउँछन् । 

एजेन्सी

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित