को हुन् धरानका मेयर हर्कराज राई साम्पाङ ?

को  हुन् धरानका  मेयर हर्कराज राई साम्पाङ ?
www.europenepalikhabar.com २०७९ जेठ ७ गते शनिबार, 21-05-2022


नपत्याउने खोलाले बगाउँछ भन्ने नेपाली उखान धरानको स्थानीय तह निर्वाचनमा चरितार्थ हुँदै गइरहेको छ। वैशाख ३० गते भएको मतदानको मतगणना सुरुवात भएको दिनदेखि सत्ता गठबन्धन र नेकपा एमाले जस्ता ठूलो दलका उम्मेदवारलाई कडा टक्कर दिएका मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ २ दिनयता निरन्तर अग्रता लिइरहेका छन्।

एमाले र कांग्रेसको पकड वडामा पनि मेयरमा भने स्वतन्त्र उम्मेदवार साम्पाङले अत्यधिक भोट पाएका छन्। दुई दिन यता निरन्तर अग्रता हासिल गरिरहेका साम्पाङ आफैं पनि मतदाताले गरेको विश्वास देखेर चकित छन्। न कुनै संगठन, न राजनीतिक दलहरूको जस्तो अघिपछि हिंड्ने ठूलो संख्यामा कार्यकर्ता वा समर्थक छन्।

तर, जनसरोकारको विषय र समसामयिक मुद्दामा निरन्तर खबरदारी गरिरहने साम्पाङको परिचय सामाजिक अभियन्ताको मात्र थियो। अहिले भने उनलाई धरानेहरूले ‘वेटिङ मेयर’को रूपमा हेर्न थालिसकेका छन्। मतगणना भइसकेको वडामा अधिकांशमा एमाले र कांग्रेसले जितेको छ।

तर, ती ठाउँबाट पनि गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका किशोर राई र एमाले उम्मेदवार मञ्जु भण्डारीको भन्दा बढी भोट साम्पाङले पाएका छन्। धरानको २० वटा वडामध्ये १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, १२, १४, १८ र १९ वडाको मतगणना सम्पन्न भइसकेको छ। ती अधिकांश वडामा चुनावको बेला भोट माग्न नपुगेको भए पनि साम्पाङले अचम्म हुने गरी भोट पाएका छन्।

वडा नं ११ र १३ को मतगणना लगभग सकिएको छ। त्यहाँ पनि उनकै भोट धेरै छ। मतदाता धेरै भएको वडा १५, १६ र १७ को पनि उनले उछिनेका छन् । 

एमाले र कांग्रेसकै पकड क्षेत्रमा पनि हर्कले बढी भोट पाएका छन्। गठबन्धन र एमालेका नेता र कार्यकर्ताहरूले मेयरमा हरेस खाइसकेका छन्। मतगणनास्थलमा कांग्रेस र एमाले कार्यकर्ताहरूको उपस्थिति एकदमै टिठलाग्दो देखिन्छ। उपमेयरमा भने गठबन्धनबाट अइन्द्रविक्रम बेघाको पहिलो दिनदेखिकै अग्रता कायमै छ।

मतगणना सम्पन्न भइसकेको वडामा साम्पाङले कुल ९६८३ मत पाएका छन् भने गठबन्धनका उम्मेदवार राईले ८९६३ मत पाएका छन्। एमालेकी उम्मेदवार भण्डारीले ७५१६ मत पाएकी छिन्। एमालेले जितेको वडामध्ये ७, ८, १०, १२ र १९ मा एमालेकी उम्मेदवार भण्डारीभन्दा बढी मत साम्पाङले पाएका छन्।

यस्तै कांग्रेसले जितेको वडामध्ये ९ र १८ मा पनि उनले कांग्रेसकै मेयरभन्दा बढी मत पाएका छन्। राजनीतिक विश्लेषक सहप्रध्यापक डा.राजेन्द्र शर्मा धरानेहरूको धरानका मतदाताहरूले पुराना पार्टीका पुराना अनुहारहरूलाई नरुचाएर सामाजिक अभियन्ता साम्पाङलाई विश्वास गरेको बताउँछन्।

एक्सन ओरिएन्टेट व्यवहार मन पराउने धरानेहरूको प्रवृत्तिले यसपालि लौरो चुनाव चिह्न छानेको डा.शर्माको भनाइ छ। ‘धराने एक्सन ओरिएन्टेड छन्। तुरुन्त एक्सन भएको मन पराउँछन्, हाताहाती मन पराउँछन्,’डा.शर्माले भने,‘पार्टीहरूले झुलाए मात्रै। भ्रष्टाचार पनि अत्यधिक बढेको छ। त्यसकारण मतदाताले हाताहाती काम गर्ने सामाजिक अभियन्ता र उनको चुनाव चिह्न लौरो छाने।’

साम्पाङले निरन्तर जनचासोका विषय, बेथिति र भ्रष्टचारविरुद्ध आवाज उठाइरहेकाले पनि जनताको विश्वास जितेको र यसपालि उनलाई मत दिएको शर्माको भनाइ छ। सर्दु जलाधार अतिक्रमणविरुद्ध, खानेपानी, बसपार्क, सर्दु उत्खननमा भएको अनियमितता, विपी प्रतिष्ठानको बेथिति र नगरपालिकाको भ्रष्टाचारविरुद्ध साम्पाङले निरन्तर आवाज उठाउँदै खबरदारी गरेको र जनताले त्यही रुचाएको शर्माले बताए।

‘जनताले यो मान्छे आयो भने गर्छ भनेर विश्वास गरे। पार्टीहरूले उठाएका पुराना अनुहार मन पराएनन्, भ्रष्टचारको जालो र सेटिङको कारण जनताले विकल्प खोज्दा परिणाममुखी व्यक्तित्व हर्क साम्पाङ भेटे,’ शर्मा भन्छन्।

सामाजिक अभियन्ताबाट राजनीतिमा आएका साम्पाङ

खोटाङको खार्तम्छामा २०३९ सालमा जन्मिएका हुन् उनी। शुक्रबारे माविबाट एसएलसी दिएर उनी २०५५ सालतिर उच्च शिक्षाका लागि धरान झरेका हुन्। उनले महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका छन्।


पूर्व ब्रिटिस लाहुरेका छोरा हर्कले केही समय धरानमा ट्युसन सेन्टरमा अंग्रेजी र कम्प्युटर पढाए र रोजगारीको लागि ६ वर्षसम्म इराक र अफगानिस्तानमा पनि बिताए। साहित्यमा रुचि भएका उनी गीत लेख्छन् र  गाउँछन् पनि। एक दशकअघि ‘मिसिङ हर्ट’ नामको एलबम पनि निकालेका छन्।

उनमा देशलाई केही गरौ भन्ने भावना थियो। कुनै काम सुरु गरेपछि निरन्तर लागिरहने जिद्दी र विद्रोही स्वभाव छ उनको। २०७२ सालतिर धरान हुँदै जाने १०५ मिटरको मदन भण्डारी राजमार्गले धनकुटे रोड किनारका सयौं परिवारलाई उठिबास लगाउने भएपछि संघर्ष समिति बनेर आन्दोलन भएको थियो। समितिमा उनी सहसंयोजक थिए।

उनको ‘टर्निङ पोइन्ट’ त्यही धनकुटे रोड विस्तारविरुद्धको संघर्ष बन्यो। त्यसपछि नै साम्पाङ धरानको सामाजिक मुद्दाहरूमा आवाज उठाउन थाले। भ्रष्टचार र बेथितिविरुद्ध निरन्तर बोल्न थाले। जनजीविकाको ससानो विषयमा आवाज उठाइरहँदा नै आफूलाई विश्वास गरेको साम्पाङ ठान्छन्। ‘मैले ठूलो मुद्दा उठाएको होइन,जनजीविकाको विषयमा आवाज उठाएको हो। जनतालाई ठूलो कुरा चाहिएको पनि होइन रहेछ,’उनी भन्छन्,‘खानेपानीको विषय उठाएँ, नगरपालिका र विपी प्रतिष्ठानको भ्रष्टचारबारे बोलें, सुकुम्बासी संरक्षण र व्यवस्थानबारे बोलें, सडकको खाल्डाखुल्डी र महँगी नियन्त्रणबारे पनि आवाज उठाएँ। त्यसैले जनताले मलाई नियालिरहनुभएको रहेछ।’

स्थानीय मुद्दा मात्र होइन,  सीमा अतिक्रमण र एमसिसिविरुद्ध पनि उनी कहिले एक्लै प्रर्दशनमा हिंड्थे, कहिले सीमित संख्यामा आफ्नो समर्थकहरूको साथमा विरोध प्रर्दशन गर्थे। सीमा अतिक्रमणको मुद्दा चर्किंदा उनले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनाअघि पनि पुगेर सेनालाई ब्यारेकमा होइन, सिमानामा खटाऊ भन्दै प्रर्दशन समेत गरेका थिए।

सर्दु खोला जथाभावी उत्खनन भएको विरोधमा जाँदा ठेकेदारको समूहले उनका समर्थकहरूलाई घाइते समेत बनाएको थियो। पछि प्रहरीले उल्टै उनी र उनका साथीहरूलाई मुद्दा चलाएको थियो। खानेपानी पाइप तोडफोड गरेको आरोपमा पनि उनी पक्राउ परेका थिए। उनी जे गर्छन्, सामाजिक सञ्जाल फेसबुकबाट लाइभ गर्छन्।

धरान र विदेशमा रहेका हजारौं मानिस उनीसँग त्यसरी जोडिएका छन् र उनको अभियानबारे जानकार छन्। उनले चुनाव चिह्न लौरो पाएपछि सबै वडामा घरदैलो गर्न पाएनन्। फेसबुकबाट नै चुनावी अभियान गरेका थिए। साम्पाङ आफ्नो शक्तिको स्रोत निष्ठा र निरन्तरता भएको बताउँछन्। उनी २०७६ को धरानको मेयरको उपनिर्वाचनमा पनि उठेका थिए।

त्यसबेला मात्र उनले ४२२ मत पाए। त्यसबेला पनि धरानेहरूले परिवर्तनको पक्षमा मत दिंदै कम्युनिष्ट गढमा पहिलोपटक काँग्रेसका उम्मेदवार तिलक राईलाई जिताए। कम्युनिस्टले जित्दै आएको धरानमा कांग्रेसलाई जिताउँदा पनि आश गरे जस्तो काम हुन नसक्दा धरानेहरू निराश थिए। यसपालि उनीहरूले उपयुक्त पात्रको रूपमा आफूलाई मत दिएको साम्पाङको भनाइ छ।

‘राजनीतिक दलहरूले धेरै लापर्वाही गरे। खानेपानी माग्न जाँदा प्रहरी लगाउने, मुद्दा लगाउने गरेपछि जनतामा वितृष्णा बढेर गयो। जनप्रतिनिधिहरू जो सत्तामा पुगे पनि दुरूपयोग गरे र चुनावी मैदानमा मैले टक्कर दिने स्थिति बन्यो,’ जनताले विश्वास गर्नुको कारणबारे उनी भन्छन्,‘उपनिर्वाचनमा हारें पनि म सधैं जनताको माझमा थिएँ। टोलटोलमा समस्याहरू बुझ्दै हिंडिरहें, मेरो त्यो निष्ठा देखेर पनि मलाई मत दिनुभयो। राजनीतिक दलहरू चुनावको बेला मात्र घरदैलो गर्दै जान्छन्।’

उनले निरन्तर खानेपानीको मुद्दा उठाइरहेका छन्। आफू मेयर भएखानेपानीको चुहावट र कालाबजारी तत्काल रोक्ने कामलाई प्राथमिकता दिने उनले बताए। राजनीतिक दलहरूले अपराधलाई लुकाउने गरेकोले आफू कुनै पार्टीमा नजाने उनको भनाइ छ। तर, आस्था र सिद्धान्तको हिसाबले आफू कम्युनिज्म मन पराउने साम्पाङ बताउँछन्।

‘सैद्धान्तिक हिसाबले कम्युनिज्म मन पराउँछु तर कुनै पार्टीको सदस्यता लिएको छैन। गरीब-दुःखीहरूकै हितमा काम गर्छु, उनीहरूको संरक्षण गर्छु,’उनले भने,‘म राजनीतिमा रहिरहँदिन। राजनीतिक दलका नेताहरू राम्रो नभएर मात्र हामी आउनुपरेको हो। सेवाप्रवाह राम्रो हुनुपर्छ।  एक कार्यकाल गर्छु। पछि फेरि आवश्यकता पफ्यो भने निरन्तरता हुनसक्छ।’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित