अस्तायो एउटा विचार र निष्ठा धरोहर,अनगिन्ती श्रद्धासुमन प्रदीप गिरीलाई

अस्तायो एउटा विचार र निष्ठा धरोहर,अनगिन्ती  श्रद्धासुमन प्रदीप गिरीलाई
www.europenepalikhabar.com २०७९ भदौ ४ गते शनिबार, 20-08-2022


अहिले राजनीति सेवा कम, व्यवसाय ज्यादा बनेको छ । राजनीतिमा लागेर पद र शक्ति आर्जनको सपना नदेख्ने नेता कमै छन् । त्यस्तैमध्ये एक नेता थिए- प्रदीप गिरी । उनले नेपाली राजनीतिमा करिब पाँच दशकसम्म प्रभावशाली भूमिका निभाए । तर, पद र सत्ता प्राप्तिका लागि आशक्ति कहिल्यै देखाएनन् ।

दर्शनमा आधारित राजनीतिको विश्लेषण गर्ने विशिष्ट क्षमता राख्ने नेता गिरी अब सधैँका लागि अस्ताएका छन् । तर नेपाली राजनीतिमा उनले छोडेका केही असामान्य यादहरुले भने उनलाई सम्झाइरहनेछन् ।

दलको राजनीति गर्ने तर सही र गलत छुट्याएर मात्रै कसैको समर्थन र विरोध गर्ने । कार्यकर्ताले भनेको सबै काम नगर्ने, तर दु:ख र अन्यायमा परेकाहरुलाई दिल खोलेर सहयोग पुर्‍याउने । पार्टीको ह्वीपभन्दा आफ्नो इमान् र निष्ठालाई महत्व दिएर निर्णय लिने । यी र यस्ता थुप्रै प्रसंगहरु छन्, जो उनले नेपाली राजनीतिक इतिहासमा छोडेर गएका छन् ।

भारतका चर्चित समाजवादी चिन्तक डा.राममनोहर लोहियाका विचार र चिन्तनबाट प्रभावित गिरी नेपाली राजनीतिमा एउटा राजनीतिज्ञ मात्रै थिएनन् । उनले आफूलाई एउटा विचारक, दार्शनिक र त्योभन्दा धेरै समाजवादी चिन्तकको रुपमा स्थापित गरेका थिए । धेरैले उनलाई उनलाई गान्धीवादी समेत भन्छन् ।

लामो समय नेपाली कांग्रेसमा रहेर राजनीति गरे पनि बौद्धिक नेताको छवि बनाएका गिरीलाई कम्युनिष्ट राजनीतिक दर्शन बोक्ने नेता र दलहरुले पनि उत्तिकै सम्मान गर्छन् । त्यसो त उनले कम्युनिष्ट नेता कार्यकर्ताका अघिल्तिर उभिएर कम्युनिष्ट विचार र दर्शनको ज्ञान समेत बाँडे । जीवनभर कांग्रेसको राजनीति गरेका उनलाई पार्टीभित्र नेताहरुको नेपालमा कम्युनिष्ट फैलाउन सघाएको आरोप समेत लगाउँथे ।

एकदमै साधारण र एकांकी जीवनशैलीमा रमाउने गिरी पटक–पटक कांग्रेसको केन्द्रीय सदस्य भए, सांसद भए । तर, उनी न कहिल्यै पार्टीको नेतृत्वमा जान चाहे, न मन्त्री, प्रधानमन्त्री पदको लोभ देखाए । उनले जीवनभर काठमाडौंमा आफ्नै घर बनाएनन्, बरु डेराको जीवन बाँचे ।

उनलाई लामो समय आफ्नै घरमा बसाएकामध्ये एक पूर्वराजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्यायले गिरीलाई असंगठित र घरबारमा रुचि नभएजस्तो व्यक्ति भनेका छन् । 'काठमाडौंमा प्रायः भाडावालकै रूपमा रहनुभयो । समयमा भाडा नतिर्ने वा आफूसँग भएको बेला भने घरबेटीलाई जति पनि पैसा दिने स्वभाव उहाँमा थियो । तर, भाडा तिरेको वा बाँकी रहेको हिसाब नराख्ने । घरबेटीले महिनौंमहिनाको बिजुलीको बिल, पानीको बिल के–के जोड्छ; अधिकांशतः हिसाब मिलिरहेको हुँदैन; प्रदीपजी ‘मैले सबै भाडा चुक्ता गरिसकेको छु’ भन्ने, घरधनी भने विवादमा उत्रिरहने,' उपाध्यायले लेखेका छन् ।

उनले गिरीबारेको अघि लेखेका छन्, 'सधैंको त्यस्तो कचकच देखेर मैले ‘होइन प्रदीपजी, मेरो त्रिपुरेश्वरको घरमा बस्नुहोस्’ भनें र २०५० सालपछि करिब ८–१० वर्ष उहाँ मकहाँ नै बस्नुभयो । कहिलेकाहीँ किशुनजीले मलाई भन्नुहुन्थ्यो, ‘बाबु, प्रदीपलाई लगेर आफ्नो घरमा त राख्यौ तर यो त जोगी हो, तिमीलाई पनि जोगी बनाउला नि !’ कांग्रेसका कतिपय नेताहरुले गिरीको राजनीतिक स्वभाव किसुनजीसँग मिल्दो भनेर चिनाउँछन् ।

नेपालका सबैजसो राजनीतिक आन्दोलनलाई नजिकबाट नियालेका गिरी कांग्रेसका संस्थापक नेता वीपी कोइरालाकासमेत सहयात्री हुन् । गिरी र कोइरालाहरूबीच बनारसमा छात्र संघमा चुनाव लड्दादेखिको राजनीतिक उठबस थियो । गिरीले २०२४ सालमै बनारसमा नेपाल छात्र संघको चुनाव जितेका थिए ।

सिरहाको बस्तीपुरमा २००४ सालमा बुवा मित्रलाल गिरी र पुण्यप्रभा गिरीको कोखबाट जन्मिएका गिरीले भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नातकोत्तर गरेका थिए । विभिन्न राजनीतिक आन्दोलनमा सहभागी हुँदा गिरीले करिब चार वर्ष जेल जीवन बिताए ।

संसदीय राजनीतिमा भने गिरी २०५१ सालपछि मात्रै सत्रिय भए । उनले २०५१ सालको संसदीय निर्वाचनमा सिरहा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भए । ०५६ मा भने उनी पराजित भए । २०६४ र ०७० सालको संविधानसभा सदस्य निर्वाचनमा उनी समानुपातिक तर्फबाट संविधान निर्माणको काममा संलग्न भए ।

२०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा भने गिरीले सिरहा क्षेत्र नं. १ बाट चुनाव लडे । बाम गठबन्धनका बीच पनि उनले चुनाव जिते । उनी प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा सदस्य थिए ।

संसद्मा मधेशी, महिला, दलित र पिछडिएको समुदायको पक्षमा निरन्तर बोल्ने नेता गिरी मधेस आन्दोलनको भाष्य निर्माण गर्ने नेतामध्ये पर्छन् । मधेसी जनताको भावनालाई नजिकबाट बुझेका उनले संविधान निर्माणमा भूमिका खेलेपनि २०७२ सालमा संविधान जारी हुँदा संविधानमा हस्ताक्षर भने गरेनन् ।

अध्ययन, अनुसन्धान र लेखनमा रुचि राख्ने गिरीका लेलिनको जीवनी, नारी, माक्र्सवाद र अर्थशास्त्र लगायत विषयमा एक दर्जनभन्दा बढी पुस्तक प्रकाशित छन् ।

राजनीति गर्ने, तर जिम्मेवार पदमा नबस्ने नेता गिरी भूमिका पाउने डरले भाग्ने गर्थे ।

०५६ सालको प्रतिनिधिसभा निर्वाचनमा गिरीलाई जिताउन सिरहा पुगेका तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले खुला सभामै भनेका थिए, ‘तपाईंहरू प्रदीप गिरीलाई जिताएर पठाउनुस्, म उहाँलाई शक्तिशाली मन्त्रीसहित प्रधानमन्त्री बनाउँछु ।’

तर, चुनाव नै हारेपछि गिरीको अनौठो प्रतिक्रिया चर्चित भएको थियो । त्यो बेला गिरीले भनेका थिए– ‘मलाई मन्त्री बन्नबाट भगवानले बचाउनुभयो, म किसुनजीको आग्रह टार्न सक्दिनथेँ । तर भगवानले चुनाव हराएर त्यो अवस्थाबाट मुक्त गरिदिए ।’

चार पटक सम्म सांसद बनेका गिरीलाई ०६२/६३ पछि मन्त्री पदका अफर पाए । तर, स्वीकारेनन् । खास उनी मन्त्री बन्नबाट भाग्नुको कारण भने स्वतन्त्रता गुम्छ भन्ने डर रहेछ ।

उनी भन्थे– ‘मन्त्री भएपछि मनमौजी गर्न मिल्दैन, स्वतन्त्र जीवन गुम्छ । मन्त्री भएपछि सुत्ने, उठ्ने, हिँड्ने, भेटघाट गर्ने जीवनशैली नियमित हुन्छ, फुटपाथमा हिँड्दै त्यहाँका पुस्तक पढ्न पाइँदैन, व्यक्तिगत जीवनमा हस्तक्षेप हुन्छ, मन्त्री पद व्यवस्थापन गर्दा आफु सकिने डर हुन्छ ।’

नेता गिरीसँग लामो सहकार्य र संवाद गरेका वरिष्ठ पत्रकार किशोर नेपालको नजरमा नेता गिरी सत्ताको लोभ नगर्ने नेता हुन् । उसो त 'राजनीति' गिरीको प्राथमिक रुचि नै होइन ।

'प्रदीप दाइको प्राथमिक रुचि साहित्य हो । त्यसपछि उहाँको झुकाव अध्यात्ममा थियो । राजनीति त उहाँको तेस्रो रुचि हो,' गिरीसँगको वार्ताबारे नेपालले केही साताअघि लेखेका छन्- उहाँको चर्चा राजनीतिकै कारण बढी हुने गर्छ। राजनीतिमा घुमाइफिराइ कुरा नगर्ने, मन्त्री हुने मोह कहिल्यै नराख्ने, पार्टीको ह्विपको चिन्ता नगरी आफ्नो अन्तरआत्माको आवाज बोल्ने को होला र आजको राजनीतिमा ? तर, प्रदीप दाइमा मैले सत्ताको लोभ देखेको छैन। त्यसबाट उत्पन्न हुने विकारबाट उहाँ निकै टाढा हुनुहुन्छ।'

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित