एनआरएनए विश्वभरका नेपालीको साझा छहारी, कसैलै विकल्प नसोचे हुन्छ : अध्यक्ष डा. केसी

एनआरएनए विश्वभरका नेपालीको साझा छहारी, कसैलै विकल्प नसोचे हुन्छ : अध्यक्ष डा. केसी
www.europenepalikhabar.com २०७९ भदौ ११ गते शनिबार, 27-08-2022


युरोपनेपाली खबर । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा बद्री केसीले  एनआरएनए विश्वभरका नेपालीको साझा छहारी भएको र कसैलै विकल्प नसोचे पनि हुने बताएका छन् । एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय "मिलाप" सम्मेलनको उद्घाटन समारोहमा उनले यस्तो धारणा राखेका हुन् ।

डा केसीले मन्तव्यको क्रममा भने, "स्थापनाको दुई दशकीय अनुभवसहित अहिले हामी तमाम प्रवासी नेपालीहरु विशिष्ट अवसर, चुनौती र सन्तुष्टिको संगममा एकत्रित भएका छौं।

एनआरएन अभियानलाई जुनसुकै कोणबाट हेर्दा पनि उत्कर्षमा पुगेको देख्न सकिन्छ। सकरात्मक, रचनात्मक र अग्रमुखी भएर हेर्दा यस्तो समय फेरि कहिले आउला भन्न कठीन छ–हो, यस्तो समय जतिखेर हामी प्रवासीले नेपालित्वको पहिचानसहित नेपाल र नेपाली समाजको वृह्तर विकासमा भूमिका खेल्न पाउनेवाला छौं। नकरात्मक, शंकालु र खण्डित भएर सोच्ने हो भने यो अभियानको अस्तित्व र औचित्यमाथि प्रश्न गर्नेहरुको जमात पनि ठूलो बन्दै गइरहेको छ। हामी दुर्गति खोज्ने जातका होइनौं, परेनौं। हामीलाई त्यो छुट छैन। हामी ढिलो होस्, चाँडो होस्, सम्पूर्ण नेपालीहरुको हित र उन्नयन चाहन्छौं। म सम्पूर्ण एनआरएन सहयात्रीहरुको मानसपटलमा यो भावना अभेद्य र अमिट ढंगले अंकित भइसकेको महसुस गर्छु। यसै कारण यो ‘मिलाप’ भेला यहाँ सम्भव भएको हो।

म आज अलि ‘स्ट्रेट फरवर्ड’ भएर आफ्नो सम्वोधन सुरु गर्ने अवस्थामा रहेछु। यसको पछाडि कारण छ। त्यो कारण भनेको एउटा साधारण प्रश्न हो–तपाईं अहिले एनआरएन अभियानको कुनै अझ राम्रो विकल्प दिनसक्नुहुन्छ ? अर्थात्, दुई दशक यो संस्थाले गरेको संघर्ष, मेहनत र चेष्टाको मूल्यलाई भविष्यमा अर्को कुनै अपर्झट बन्ने संयन्त्रले विस्थापित गर्न सक्छ ?

हामी जहाँ जाउँ, जति नै पुरुषार्थ गरौं, हाम्रा सनातन मूल्य र मौलिक सँस्कृतिलाई विस्थापित गर्ने अर्को कुनै कृति बोकेर कतिन्जेल हिंड्न सकुँला? म त सक्दिन। म रसिया पढ्न गएँ, कामधाम र घरजमले म त्यतैको नागरिकता लिने जीवनचक्रमा परें। त्यसैमा म एनआरएन अभियानको सदस्य र सिपाही बन्न पुगें। म केका लागि आज दुई दशक लामो यो आवद्धताको पैरवी गरिरहेको छु त? मैले आफैंलाई दिने उत्तर हो–एनआरएन अभियान मेरो नितान्त नेपाली संस्कृतिको संवाहक हो, जसमार्फत् मेरो मातृभूमिप्रतिको अभिभारा र मेरो नेपाली जातिप्रतिको अपनत्व साकार हुन सक्छ।

त्यसैले, साथीहरु, म यहाँहरु सबैलाई यो ‘मिलाप’ भेला आयोजना गर्नु भएकामा एउटा एनआरएन सदस्यका नाताले ह्रदयदेखि नै आभार भन्न चाहन्छु।

हामीले एनआरएन अभियानअन्तर्गत निर्माण गरेको विश्वव्यापी सन्जाल र संयन्त्रले नेपालीहरुबीच व्यापक अन्तरक्रिया गर्ने सुविधा दिएको छ। मानवीय मामिलाहरुमा अन्तरक्रिया नै त्यो औषधि हो, जसले जस्तासुकै गुरुत्वको समस्यालाई समाधान गर्नसक्छ। मिलापले एनआरएन अभियानमा अगाडि आएको एकताको मामिलालाई सल्टाउने सवालमा म हजार प्रतिशत ढुक्क छु।

हामीले यसअघि पटक पटक क्षेत्रीय वैठकहरु आयोजना गरेका छौं। हरेक वैठकले रचनात्मक मूल्य राखेकै कारण एनआरएन संगठन र यसको उपादेयता आजको अवस्थामा आइपुगेको हो। मिलापको सारमा उभिएको यो वैठकले चाहिं आजसम्मकै विशिष्ट मूल्य राख्नेमा म विश्वस्त छु।

यो भेलासँग एउटा ऐतिहासिक उपलब्धिको ताजा पृष्ठभूमि जोडिनु निकै गर्विला विषय हो। अब प्रवासी नेपालीहरुले नेपाली नागरिकता पाउने व्यवहारमै निश्चित भएको छ। त्यसका निम्ति हामी सबैले अनवरत गरेको मेहनतको म सरहना गर्न चाहन्छु। एनआरएन अभियानका अगुवाहरुलाई म फेरि पनि यो मन्चबाटै धन्यवाद भन्न चाहन्छु।

नागरिकतासँग जोडिने मताधिकारको विषयमा हामी अबका दिनमा निरन्तर चिन्तनशील र लगावपूर्ण रहनुपर्छ। म यति मात्र भन्छु–प्रवासमा पसिना बगाइरहेका, राष्ट्रिय अर्थतन्त्रलाई धानिरहेका नेपालीहरुको समेत मतादेश जोडिंदा साँच्चै नेपाली राजनीतिले कोल्टे फेर्न सक्छ। परिवार पाल्न विदेशिएका जनतालाई मताधिकारबाट विमुख गर्नु आधारभूत मानवअधिकारको पनि वर्खिलाप हो। सम्मानित सर्वोच्च अदालतले समेत यो अधिकार सुनिश्चित गर्न आदेश दिइसकेको छ। नेपाली राजनीतिको शीर्षतहले पनि अनौपचारिक तवरमा यसको आवश्यकता स्वीकारिसकेको छ। थप मेहनत गरौं, केही वर्षभित्रै कोही साथीले साउदी अरवको गाइफार्ममा काम गर्दागर्दै संखुवासभामा आफूलाई मनपर्ने उम्मेदवारलाई मत दिन सक्नुहोला। इटालीमा पिज्जा बनाउने साथीले हालेको मतबाट इलाममा एउटा राम्रो उम्मेदवारले विजय प्राप्त गर्नसक्ला।

हामी आज भेला भइरहेको देश थाइल्याण्डलाई नै हेरौं। त्यसो त कुनै समाज समस्यामुक्त छैन, थाइल्याण्डका पनि होलान। तर, यो देशले गरेको आर्थिक प्रगति र यहाँ कायम सामाजिक अनुशासन हेरौं। खै थाहा छैन, प्रवासी थाइहरु के कसरी गोलवन्द छन्? हामी नेपाली त विश्वकै सबैभन्दा ठूलो प्रवास संस्था बनाएर बसेका छौं। हाम्रो देश नेपाल कुनै हिसावले कमजोर छ र ? के हामीले नेपाललाई पनि कम्तिमा थाइल्याण्डजतिकै उन्नतिशील बनाउन नसकुंला र ?

आज हामी यहाँ मिलौं, एकजुट होउँ, अनि नेपाल जाउँ र अबका केही वर्षमा नेपाललाई विकासका हकमा थाइल्याण्डको मानकसँग मिल्ने बनाउन कसरत सुरु गरौं।

अन्तमा सबै सहभागी साथीहरुलाई स्नेहपूर्ण वसाइ र अर्थपूर्ण अन्तरसंवादनिम्ति शुभकामना दिन चाहन्छु। र, मिलाप भेलालाई ऐतिहासिक बनाउन खातिर यहाँहरु सबैको योगदानप्रति आभार प्रकट गर्न चाहन्छु।"

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित