संखुवासभामा राजनैतिक निष्ठा र संघर्षको पर्याय भविश्वर गुरुङ एमालेबाट प्रदेशसभा सदस्य क कालागि सर्वसम्मत उम्मेदवार सिफारिस

संखुवासभामा राजनैतिक निष्ठा र संघर्षको पर्याय भविश्वर गुरुङ एमालेबाट प्रदेशसभा सदस्य क कालागि सर्वसम्मत उम्मेदवार सिफारिस
www.europenepalikhabar.com २०७९ भदौ २१ गते मंगलबार, 6-09-2022


By- राजकुमार थापा, खाँदवारी नपा -१०, चन्दनपुर::

२१ भदौ, मंगलबार । ४० बर्षदेखि अनवरत रूपमा आफ्नो आस्था र निष्ठामा अविचलित भएर लागिरहनु चानचुने कुरा होइन । जस्तोसुकै अप्ठेरो, कठिनाई र प्रतिकूलतामा पनि जेलनेल भोग्दै, संघर्ष गर्दै, सामाजिक मुक्ति र श्रमजीवी जनताको पक्षमा खरो उत्रिएको संखुवासभाली जनताको बीचमा एउटा प्रिय नाम हो भविश्वर गुरुङ । गुरुङ संखुवासभामा राजनैतिक निष्ठा र संघर्षको पर्याय हुन् भन्दा अतिशयोक्ति नहोला । उनलाई आजै बसेको नेकपा एमालेको संखुवासभा जिल्ला कमिटी बैठकले  प्रदेशसभा सदस्य  "क" बाट प्रत्यक्षतर्फको उम्मेदवारमा सर्वसम्मत सिफारिस गरेको छ । गुरुङ सर्वसम्मत सिफारिस भएसंगै एमालेको प्रदेशसभा सदस्य उम्मेदवार बन्ने निश्चित भएको छ ।

२०३८ सालमा नेपाली विद्यार्थी आन्दोलनको अग्रगामी योद्धा र मूल प्रवाह अनेरास्ववियुमा संगठित भएर चेतनाको बीउ रोप्दै आफ्नो राजनैतिक जीवन सुरु गरेका गुरुङ वि. सं. २०४७ देखि नेकपा एमालेका विभिन्न कमिटी र निकायमा संगठित हुँदै, जिम्मेवारी निर्वाह गर्दै हाल एमाले प्रदेश नम्बर १ का प्रदेश कमिटी सदस्य छन् ।

पन्चायती निरंकुश शासनले राजनैतिक अभियोग समेत लगाएर २०४०-४३ सालसम्म उनलाई जेल हालेको थियोे । कठोर यातना सहितको जेल जीवनले उनको आस्था र निष्ठालाइ कमजोर होइन झन् दृढ र स्पातिलो बनायो । २०४६ सालको जनआन्दोलनमा अनेरास्ववियुको मोर्चाबाट सक्रिय रहेका गुरुङ अखिलको आन्दोलनमा मात्रै झण्डै दुई दसक विताएका छन् ।

अधिवक्ता अर्थात वकिल समेत रहेका गुरुङ कानुनमा स्नातकोत्तर(LLM) गरेका नेपालको संविधान र कानुनमा गहिरो ज्ञान राख्ने एकजना कानुनवेत्ता पनि हुन् ।

२०५१ सालमा काठमाडौको नेपाल ल क्याम्पसका स्ववियु सदस्य निर्वाचित भएर प्रतिस्पर्धाको राजनीतिमा होमिएका गुरुङ २०५३ सालमा सोही क्याम्पसमा नै लोकप्रिय मतका साथ स्ववियु निर्वाचनमा उपसभापति निर्वाचित भएका थिए । सो बेलाका उनका समकालीन स्ववियु सभापति हिक्मत कार्की अहिले नेकपा एमाले स्थायी समिति सदस्य,  तथा १ नम्बर प्रदेशसभा सदस्य छन् । २०५५ सालमा  गुरुङ अनेरास्ववियुको केन्द्रीय सदस्य र केन्द्रीय अतिरिक्त क्रियाकलाप विभागको सचिव चयन भएका थिए ।

गुरुङले वकिलहरुको छाता संगठन नेपाल बार एसोसिएसनको केन्द्रीय सदस्यको रूपमा २०६३ सालमा निर्वाचित भएर एक कार्यकाल सफलतापूर्वक आफ्नो जिम्मेवारी निर्वाह गरिसकेका छन् । उनी एमाले र वामपन्थीहरुको प्रगतिशील कानुन व्यवसायी संघ (PPLA)को संस्थापक केन्द्रीय सदस्य समेत भइसकेका  छन् । विभिन्न संघ-संगठनलाई नि:शुल्क कानुनी सल्लाहकारको रूपमा पनि उनले आफ्नो भूमिका निर्वाह गरेका छन् । 

आफ्नो जन्मस्थान संखुवासभालाई नै सर्वस्व ठान्ने गुरुङ अध्ययनको शिलशिलामा काठमाडौमा रहँदा संखुवासभा काठमाडौ सम्पर्क मंचको अध्यक्ष, संखुवासभा मंचको महासचिव र संखुवासभाका विविध सामाजिक अभियान र गतिविधिमा एकजना सक्रिय अगुवाको रूपमा भूमिका खेलिसकेका छन् ।

राजनीति संगसंगै सामाजिक र जातीय मुक्ति आन्दोलनमा पनि उत्तिकै क्रियाशील गुरुङले  उपत्यका तमु गुरुङ संघको सदस्य, संखुवासभा तमु समाज समिति काठमाडौको महासचिव, गुरूङ (तमु) राष्ट्रिय परिषदको केन्द्रीय सचिव र  तमु ह्युल छाेँज धीँ, गुरूङ राष्ट्रिय परिषदको केन्द्रीय कानुनी सल्लाहकार र आदिवासी जनजाति महासंघ,संखुवासभाको सल्लाहकारको रूपमा पनि आफ्नो सामाजिक जिम्मेवारी पूरा गरिसकेका छन्।

जननेता मदन भण्डारीलाई आफ्नो आदर्श नेता मान्ने र  जनताको बहुदलीय जनवादमा पनि गहिरो दख्खल र राम्रो व्याख्या गर्ने वैचारिक नेता गुरुङ नेकपा एमालेको संगठन निर्माण र सुदृढीकरणको क्रममा जिल्लाका सबै नगर र गाउँपालिकाका वडा-वडा पुगेका छन् । उनले एमाले जिल्ला कमिटीको सचिवालय सदस्य, स्कुल विभाग प्रमुखको भूमिका पनि निर्वाह गरिसकेका छन् । पार्टीलाई अनुशासनहीन र अवसरवादी तत्वहरुले कब्जा र विभाजन गर्न खोज्दा संखुवासभामा बसेर डटेर मुकाबिला गर्दै विभाजनकारीहरुलाई निस्तेज बनाएका गुरुङ ६ महिना एमालेको केन्द्रीय र प्रतिनिधि परिषद सदस्यको रूपमा पनि जिम्मेवारी निर्वाह गरेका थिए ।

अधिवक्ता गुरुङ हाल नेकपा एमाले प्रदेश नम्बर १ का प्रदेश कमिटी सदस्य छन् ।  संखुवासभाली जनताबीच भिजेका र मन पराइएका जुझारु, संघर्षशील, निष्ठावान, विकासवादी भिजन बोकेका श्रमजीवी जनताका एकजना भरोसायोग्य र लोकप्रिय नेता गुरुङलाई नेकपा एमाले संखुवासभाले आगामी मंसीर ४ गते हुने आम निर्वाचनमा प्रदेशसभा सदस्यको रूपमा संखुवासभाको प्रदेश "क" बाट प्रत्यक्ष तर्फ उम्मेदवारको लागि सर्वसम्मत सिफारिस गरेको छ । एउटा इमानदार व्यक्ति उम्मेदवार बन्ने निश्चित भएपछि सिङ्गो पार्टी पंक्ति र संखुवासभाली जनतामा उत्साहको माहोल छाएको छ ।

-राजकुमार थापा, खाँदवारी नपा -१०, चन्दनपुर ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित