पोर्चुगलको राष्ट्रिय क्रिकेट टीममा पहिलो पटक नेपाली खेलाडी थापा समावेश, को हुन् उनी ?

पोर्चुगलको राष्ट्रिय क्रिकेट टीममा पहिलो पटक नेपाली खेलाडी थापा समावेश, को हुन् उनी ?
www.europenepalikhabar.com २०७९ भदौ २५ गते शनिबार, 10-09-2022

 

-राजकुमार थापा, युरोपनेपाली खबर ।

लिस्बन/१० सेप्टेम्बर । आफ्नो काम र पेशामा इमानदारीतापूर्वक निरन्तर  कडा मेहनत, परिश्रम र अठोटका साथ लागिरह्यो भने असम्भव भन्ने केही छैन, एकदिन त्यो सफल र सम्भव हुन्छ भन्ने एक उदाहरण बनेका छन् पोर्चुगलको राष्ट्रिय क्रिकेट टीममा पहिलो पटक  समावेश हुन सफल ३७ बर्षिय नेपाली खेलाडी मधुकर थापा । १२ बर्षको लगातार संघर्षपछि उनी राष्ट्रिय टीममा पर्न सफल भएका हुन् । यसभन्दा अगाडि पोर्चुगलको कुनैपनि खेलको राष्ट्रिय टीममा कोही पनि नेपाली खेलाडी पुग्न सकेका थिएनन् । यस अर्थमा मधुकरले नेपाली समुदायका लागि इतिहास रचेका छन् ।

 युरोप फुटबलको उर्वरभूमि हो, अर्थात जननी नै हो भन्दा फरक नपर्ला, नेपालमा बच्चाहरुलाई भविष्यमा के बन्छौ भनेर सोध्यो भने सामान्यतया डाक्टर, इन्जिनियर भन्छन्, तर युरोपका बच्चाहरु भने फुटबलर बन्छु भन्छन्, यसबाट युरोपियनहरुमा खेलप्रतिको आकर्षण र क्रेज सजिलै अनुमान गर्न सकिन्छ। अझ विश्व स्टार फुटबलर रोनाल्डोको पोर्चुगल त युरोपमा फुटबलको महारथी । तर अब विस्तारै युरोपको माहोल फेरिएको छ, अब युरोपियन देशहरु फुटबलमा मात्र रमेको छैनन्,  क्रिकेटमा पनि जम्दै गएका छन्  ।

युरोपमा क्रिकेटमा तीब्र विकास र प्रगति गर्दै अग्रसर रहेको देश हो पोर्चुगल । उसले क्रिकेट युरोकपका लागि राष्ट्रिय क्रिकेट टीम केही समय अघि पुनर्संरचना गरेको छ । १३ सदस्यीय राष्ट्रिय टीममा नेपाली खेलाडी मधुकर थापा पनि समेटिएका छन् । यस टुर्नामेन्टका लागि राष्ट्रिय टीमका कोच जेराल्ड ओस्तुइजेन र म्यानेजर पाउलो बुस्सेमाजा रहेका छन् ।

अहिले युरोपियन  क्रिकेटमा लिगको युरो कप सुरु हुन लागेको छ । युरोपका २१ वटा देशले सहभागिता जनाइरहेको युरोकप लिग टुर्नामेन्टमा मधुकर पनि पोर्चुगलको राष्ट्रिय टोलीबाट खेल्न छनौट भएका हुन् ।

नेपालको सर्लाही जिल्लामा जन्मिएका थापा सानैदेखि क्रिकेट खेल्दै, रम्दै र जम्दै आएका थिए । उनले नेपालमा रहँदा  क्रिकेटको उर्वर क्षेत्र नम्बर २ वीरगन्ज क्रिकेट टीम र बालुवाटार क्रिकेट एकेडेमीबाट खेलेका थिए । विदेशिने क्रममा इजरायल पुगेका उनले त्यहाँ पनि आफ्नो क्रिकेटप्रतिको लगाव मर्न दिएनन् । इजरायलमा उनले ५ बर्ष लगातार लिग क्रिकेट खेलेका थिए । त्यसपछि पोर्चुगल आइपुगेका थापाले ओयरस क्रिकेट क्लबबाट ६ बर्ष निरन्तर खेली रहे । केन्डल कपका लागि पनि उनले खेलिसकेका छन् ।

पोर्चुगलमा नेपाली खेलाडीहरुको आफ्नै  गोर्खा  इलेभेन नामको क्रिकेट क्लब पनि रहेको थापाले युरोप नेपाली खबरलाई बताए । यस क्लबमा नेपालका राष्ट्रिय खेलाडीहरु राहुल विश्वकर्मा, सुमन घिमिरे समेत रहेका छन् । थापा यो क्लबको टीम क्याप्टेन हुन् । थापाले आफ्नो संघर्षको कथा सुनाउँदै युरोपनेपाली खबरसंग भने, "३७ बर्षको उमेरमा पनि खेल क्षेत्रमा मेरो परिश्रम र अठोटले नयाँ पुस्तालाई उत्प्रेरणा र हौसला मिलोस, नेपाली खेलाडीहरुमा उत्साह थपियोस भन्ने अपेक्षा र विश्वास लिएको छु।"

क्रिकेटर थापा श्रीमती र एक छोराकासाथ १३ बर्षदेखि पोर्चुगलमा बस्दै आएका छन् । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित