प्रा. डा. सूर्य सुवेदीलाई प्रसिद्ध प्रवल जनसेवा श्री को उच्च पदवी प्रदान

प्रा. डा. सूर्य सुवेदीलाई प्रसिद्ध प्रवल जनसेवा श्री को उच्च पदवी प्रदान
www.europenepalikhabar.com २०७९ असोज ३ गते सोमबार, 19-09-2022

लिस्बन । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तिहरुलाई विभूषण प्रदान गर्ने घोषणा बमोजिम प्रा. डा. सूर्यप्रसाद सुवेदी लाई ‘प्रसिद्ध प्रवल जनसेवा श्री’ प्रदान गरिएको छ।

अहिलेसम्म गैर आवासीय नेपालीहरुले पाएका मान पदवीहरुमध्ये यस्तो उपल्लो तहको मान पदवी पाउने प्रा. सुवेदी पहिलो व्यक्ति हुन्।

भौतिक रूपमा विदेशमा रहेपनि निरन्तर मुलुकको सेवा गर्दै आएका प्रा सुवेदीले आफ्नो योगदानको मूल्यांकन भएकोमा नेपाल राष्ट्रप्रति आभार ब्यक्त गरे।

सरकारमा जो आएपनि परि आउँदा राष्ट्रहितका लागि अन्तर्राष्ट्रिय र राष्ट्रिय कानूनका महत्वपूर्ण विषयमा सबैका साझा व्यक्तिको रूपमा नेपालका सबै प्रकारका सरकारलाई प्रा सुवेदीले सल्लाह दिंदै आएका छन्।

नेपालको नंया नक्सा समावेश गरेर संविधान संसोधन गर्दा र त्यसपछिको नीति निर्माण गर्न सन् २०२० मा प्रधानमन्त्री केपी ओलीको समयमा नेपाल सरकारले गठन गरेको नेपाल–भारत सिमा सम्बन्धि विज्ञ समूहको सदस्यको रूपमा र त्यसपछि नेपालको नीति प्रतिष्ठानको परराष्ट्र विषयको विशिष्ट सल्लाहकार भएर समेत प्रा सुवेदीले आफ्नो भूमिका निर्वाह गरेका छन्। सन् २०२२ मा अमेरिकासंगको एमसीसी सम्झौता संसदले अनुमोदन गर्ने कार्यमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

अक्सफोर्ड विश्वविद्यालयबाट विद्यावारिधि गर्ने पहिलो नेपाली र अक्सफोर्डबाटै कानूनमा महाविद्यावारिधि जस्तो प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि पाउने प्राध्यापक सुवेदी संसारकै प्रतिष्ठित विद्वत व्यक्तित्व भित्र पर्दछन् ।

विशेषज्ञको हिसाबले संयुक्त राष्ट्रसंघको सबैभन्दा उपल्लो विज्ञतहमा पुगेको नेपाली हुनुका साथै उनले नेपालमा विभिन्न सरकारी क्षेत्रमा सेवा गरेका छन्। उनले लामो समयसम्म नेपालको अन्तरराष्ट्रिय अनुहारको रूपमा संसारमा नेपालको परिचय गराएका छन्।

प्राध्यापक सुवेदीले नेपाल सरकारको प्रतिनिधि मण्डलको सदस्य भएर संयुक्त राष्ट्रसंघ र असंलग्न राष्ट्रहरुको शिखर सम्मेलनमा भाग लिएका छन् भने अन्य धेरै अन्तरराष्ट्रिय मञ्चमा नेपालको सशक्त प्रतिनिधित्व गरेका छन् । अन्तरराष्ट्रिय प्रकृति संरक्षण कोषको फ्रान्समा भएको विश्व सम्मेलनको कानूनी सल्लाहकारको रूपमा पनि उनले काम गरेका थिए ।

बेलायत, अमेरिका लगायत पांचवटा देशका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा सुवेदीका कृतिहरु विभिन्न देशका भाषामा अनुदित भइ प्रकाशन भएका छन्। उनको “पूर्वीय सभ्यतामा मानव अधिकार“ भन्ने ग्रन्थ अन्तरराष्ट्रिय रूपमै चर्चित ग्रन्थ हो ।

उनले मानव अधिकार र अन्तरराष्ट्रिय कानूनको क्षेत्रमा उत्कृष्ट योगदान दिएको भन्दै बेलायतकी महारानीबाट मानार्थ ओबीई र मानार्थ कुइन्स काउन्सेल जस्ता विशिष्ट कानूनविदहरुलाई दिइने उच्च उपाधि प्राप्त गरेका थिए ।

प्रा सुवेदीको उत्कृष्ट प्राज्ञिक योगदानको कदर गर्दै अक्सफोर्ड विश्वविद्यालयले उनको नाममा वार्षिक स्थायी पुरस्कार स्थापना गरेको छ। क्याम्बोडियामा महत्वपूर्ण राजनीतिक सुधारमा गरेको योगदानका लागि उनलाई नोवेल शान्ति पुरस्कारका लागि मनोनयन समेत गरिएको थियो।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित