गोली हान्दै गर्दा आफ्नो बुबा बचाउन दुईतला माथिबाट हामफाल्ने ती साहसी छोरी

गोली हान्दै गर्दा आफ्नो बुबा बचाउन दुईतला माथिबाट हामफाल्ने ती साहसी छोरी
www.europenepalikhabar.com २०७९ असोज ४ गते मंगलबार, 20-09-2022


गोठाटारमा बस्ने गार्मेन्ट व्यवसायी लाल मोहम्मदमाथि गोली हानिएको भिडिओ फुटेज सामाजिक सञ्जालमा धेरैले हेरे । सीसीटीभीमा कैद भएको उक्त भीडीओ फुटेजमा गोली चल्दाचल्दै एक व्यक्ति घरको माथिल्लो तल्लाबाट जमिनमा हाम्फालेको देखिन्छ ।

यसरी हाम्फाल्ने व्यक्ति अरु कोही नभएर मोहम्मदकी छोरी हुन्, जो उमेरले कलिलै छिन् । बुवामाथि गोली प्रहार भएको थाहा पाउनासाथ उनी आफ्नो ज्यानको परवाहै नगरी घरको दुई तल्लामाथिबाट हाम्फालेकी थिइन् । भीडीओमा कैद भएको दृष्यमा स्पष्ट देखिएको छैन । तर, घटनाका प्रत्यक्षदर्शीका अनुसार ती किशोरी घरको दोस्रो तल्लामा थिइन् । तल गोली चल्नासाथ उनी पहिलो तल्लामा रहेको टिनको छानोमा हाम्फालिन् । त्यसपछि फेरि भुईंमा खसिन् ।

भुईंमा बजारिएपछि तत्काल उठेर उनले गोली चलाइरहेका आक्रमणकारीलाई झम्टिएकी थिइन् । उनले लखेटेपछि आक्रमणकारी भागेको भीडीओमा देखिन्छ । भीडीओ हेरेका सबैले उनको बहादुरीको तारिफ गरिरहेका छन् । तर, आफ्नै ज्यान जोखिममा हालेर पनि उनले बुबालार्ई बचाउन भने सकिनन् । गोली लागेर घाइते भएका मोहम्मदको अस्पतालमा निधन भएको थियो ।

 घटनास्थलमा पुग्दा ती किशोरी घरको छतमा रेलिङ समातेर उदास मुद्रामा टोलाइरहेकी थिइन् । सँगै थिए परिवारका अन्य सदस्यहरु । उनीहरु सबै मोहम्मदको शवको प्रतिक्षामा बसिरहेका रहेछन् ।

केहीबेरपछि शव घरमा नआउने खबर आयो र उनीहरु सबै तल ओर्लिए । किशोरी खुट्टा खोच्याइरहेकी थिइन् । हिजो हाम्फाल्दा उनको एउटा खुट्टा फ्याक्चर भएको रहेछ । दाइले उनलाई पाखुरामा समातेर हिँडाइरहेका थिए । उनी मिडियासँग कुरा गर्न सक्ने अवस्थामा थिइनन् ।

छरछिमेकीहरुलाई पनि यी किशोरीको बारेमा धेरै जानकारी छैन । उनी बाहिर कमै निस्कने गरेको एक छिमेकीले बताए । उनका अनुसार किशोरीको उमेर त्यस्तै १६-१७ वर्षको हुनुपर्छ । उनी मोहम्मदकी दोस्रो श्रीमतीतर्फकी जेठी छोरी हुन् ।

मोहम्मदका दुई श्रीमतीका ६ सन्तान छन् । पहिलो श्रीमतीबाट एक छोरा र एक छोरी । दोस्रोबाट दुई छोरा र दुई छोरी । उनीहरु सबै गोठाटारमा भाडाको घरमा एकसाथ बस्दै आएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित