सी जिनपिङलाई पुनः चिनिया कम्युनिष्ट पार्टीको महासचिव

सी जिनपिङलाई पुनः चिनिया कम्युनिष्ट पार्टीको महासचिव
www.europenepalikhabar.com २०७९ कार्तिक ६ गते शनिबार, 22-10-2022


पोर्चुगल । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २०औं महाधिवेशन सी जिनपिङलाई पुनः महासचिवमा चयन गर्दै शनिबार सम्पन्न भएको छ । सर्वोच्च नेता सी जिनपिङ सीपीसीको महासचिवमा तेस्रो कार्यकालका लागि चयन हुनुभएको हो ।

गत १६ अक्टोबरदेखि चीनको राजधानी बेइजिङमा सुरु भएको महाधिवेशनले ‘सी विचारधारा’ लाई थप मजबुत बनाउने निर्णय पनि गरेको छ । सी विचारधारालाई सीपीसीले सन् २०१७ मा सम्पन्न १९औं राष्ट्रिय महाधिवेशनबाट स्वीकृत गरिसकेको थियो । यसमा सीले चिनियाँ विशेषता अनुसारको नयाँ चिनियाँ समाजवादी समाज निर्माण गर्ने अवधारणा राख्नुभएको छ ।

महाधिवेशनले २०५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको छ । महाधिवेशनबाट उच्च तहका चारजना नेताले अवकाश लिएको चिनियाँ सरकारी सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ । अवकाश पाउनेमा नेताहरूमा यसअघि पोलिटब्यूरो स्थायी समितिमा रहेका ली खछ्याङ, ली चान्सु, वाङ याङ र हान झेन रहनुभएको छ ।

अवकाश लिएका लि खछ्याङ प्रधानमन्त्री समेत हुनुहुन्छ भने वाङ याङ चीनको पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फरेन्सको अध्यक्ष हुनुहुन्छ । त्यस्तै ली चान्सु चिनियाँ जन कांग्रेसका अध्यक्ष हुन भने भने हान झेन उपप्रधानमन्त्री हुन । आइतबार बस्ने नवनिर्वाचित केन्द्रीय कमिटी बैठकबाट पोलिटब्यूरो र पोलिटब्यूरो स्थायी समिति चयन गर्ने कार्यसूची रहेको छ ।

पूर्वराष्ट्रपति हु जिन्ताओलाई सम्मेलनबाटै हटाइयो

चिनियाँ कम्युनिस्ट पार्टीको शनिबार सम्पन्न समारोहबाट पूर्वराष्ट्रपति हु जिन्ताओलाई अप्रत्यासितरुपमा बाहिर निकालिएको छ । भव्यरुपमा सजाइएको उक्त समारोहबाट हु जिन्ताओलाई हटाइएको दृश्यबारे अनेक टिप्पणी हुन थालेको छ ।

यद्यपि यसबारे चिनियाँ पक्षबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन । अग्रभागमा बसिरहेका ७९ वर्षीय नेता हु भने आफू बसेको सिटबाट हट्न तयार देखिएका थिएनन् । राष्ट्रपति सी चिनफिङकै छेउमा रहेका हु लाई एक नेताले पाखुरामा समातेरै हटाउन खोजेको दृश्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले देखाएका छन् । ती नेताले पाखुरामा समात्न खोज्दा हु उठ्न तयार नदेखिएपछि दुवै हातले समातेर उचाल्दै गरेको दृश्य सामाजिक सञ्जालमा पनि सेयर गरिएका छन् ।

केही बेरसम्म सिटबाट उठ्न आनाकानी गरेका हु ले राष्ट्रपति सी र प्रधानमन्त्री ली खछ्याङसँग केही भन्दै गरेको पनि दृश्यमा देखिएको छ । त्यसलगत्तै उनलाई हलबाट बाहिर निकालियो हो। जहाँ सी ले केही प्रतिक्रिया दिएका छैनन् ।

आइतबार साँझ चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाले भने नेता हु बिरामी भएको र पूर्ण रुपमा निको नभइसकेकाले उनलाई आराम गर्नका लागि हलबाट अन्यत्र पठाइएको जनाएको छ ।

एक साताको उक्त सम्मेलन प्रायः बन्द ढोकाभित्र गरिएको थियो । समापन समारोहमा भने पत्रकारहरूलाई अनुमति दिइएको थियो । त्यसको केही बेरमै हु प्रवेश गरेका थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको यस्तो अनपेक्षित र अनौठो कदमलाई लिएर टिकाटिप्पणी पनि हुन थालेको छ ।

यद्यपि अधिकारीहरूले यसबारे कुनै प्रतिक्रिया दिएका छैनन् । सी जिनफिङलाई पुन: महासचिवमा चयन गर्दै चिनियाँ कम्युनिस्ट पार्टीको २०औं महाधिवेशन सम्पन्न भएको छ । सी यसपटक तेस्रो कार्यकालका लागि महासचिवमा सर्वसम्मत रुपमा चयन भएका हुन् । १० वर्षअघि हु जिन्ताओको पदभार ग्रहण गरेका सी चीनमा माओ त्सेतुङपछिकै शक्तिशाली नेताको रुपमा स्थापित भएका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित