ऋषि सुनक बेलायतको पहिलो गैरश्वेत, गैर क्रिष्चियन हिन्दु प्रधानमन्त्री

ऋषि सुनक बेलायतको पहिलो गैरश्वेत, गैर क्रिष्चियन हिन्दु प्रधानमन्त्री
www.europenepalikhabar.com २०७९ कार्तिक ८ गते सोमबार, 24-10-2022


युरोप । सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सर्वसम्मत रुपमा चयन भएपछि ऋषि सुनक बेलायतको आगामी प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।

पार्टी नेताका लागि मनोनयन गर्न आज दिउँसो २ बजे सम्मको समय दिइएकोमा पेन्नी मोर्डन्टले उम्मेदवारी नदिने घोषणा गरेपछि सुनक निर्विरोध नेता चयन भएका हुन् ।

१९२२ कमिटीका संयोजक सर ग्राहक ब्राडीले ऋषि सुनकको मात्र उम्मेदवारी परेको र उनी निर्विरोध निर्वाचित भएको बताए ।

सुनकलाई बेलायतका राजा चार्ल्स तृतीयले अब सरकार गठनका लागि आमन्त्रण गर्नेछन् । उनी बेलायतको प्रधानमन्त्री बन्ने पहिलो गैरश्वेत, गैरक्रिष्चियन नेता हुने छन् भने पहिलो हिन्दू प्रधानमन्त्री पनि ।

को हुन ऋषि सुनक ?

४२ वर्षीय सुनकको जन्म सन् १९८० मा साउथह्याम्पटनमा भएको हो । भारतबाट आएका उनका पिता पारिवारिक चिकित्सक थिए भने आमा औषधि पसल सञ्चालक थिइन् । सुनक तीन सन्तानमध्ये सबैभन्दा जेठा हुन् ।

उनले बेलायतमा कुलीनहरुले पढ्ने विञ्चेष्टर कलेजमा पढ्ने मौका पाए जहाँ उनी हेड व्वाइ र पत्रिकाका सम्पादक पनि रहे । उनले अक्सफोर्ड विश्वविद्यालयमा दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्र अध्ययन गरे । त्यसपछि अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीमा फुलब्राइट छात्रवृत्ति पाई एमबीए गरे ।

अध्ययनपश्चात उनले गोल्डम्यान साक्स बैँकमा काम गरे भने हेज फेण्डमा पनि काम गरे । उनले केही व्यवसाय पनि शुरु गरेका थिए ।

सन् २०१५ मा उनी पहिलोपटक रिच्मण्ड योर्कसायर निर्वाचन क्षेत्रबाट सांसद चुनिए । यो निर्वाचन क्षेत्र कञ्जरभेटिभ पार्टीका पूर्व नेता तथा बेलायतका पूर्व विदेश मन्त्री विलियम हेगको क्षेत्र थियो । हेग हाउस अफ लर्डस्मा गएपछि सुनकले मौका पाए । उनी सोही निर्वाचन क्षेत्रबाट सन् २०१७ र २०१९ मा पनि निर्वाचित भए । उनी बेलायत युरोपियन युनियनबाट बाहिरिने बारेमा भएको जनमत संग्रहमा बाहिरिने पक्षमा उभिएका थिए ।

हिन्दू धर्ममा आस्था राख्ने सुनकले सांसदमा निर्वाचित हुँदा गीता छोएर कसम खाएका थिए ।

सुनककी श्रीमती अक्षता मूर्ति र उनीहरुका दुई छोरी छन् । उनका ससुरा इन्फोसिसका संस्थापक नारायण मूर्ति भारतका धनाढ्य हुन् । सुनक बेलायतको धनी सांसदहरुमध्ये पर्छन् । उनकी श्रीमतीले आफ्नो आम्दानीवापत तिर्नुपर्ने करमा बेलायतको गैरआवासीय नागरिकले लिनुपर्ने सहुलियत लिइरहेको समाचार आएपछि उनीहरुले बेलायतबासी नागरिकले तिर्नुपर्ने सरह कर तिर्ने बताएका थिए ।

सन् २०१८ मा स्थानीय सरकार मन्त्रीबाट सुनक बेलायतको मन्त्रिपरिषदमा प्रवेश गरेका हुन् । उनी सन् २०१९ को जुलाईमा ट्रेजरीको चिफ सेक्रेटरी र २०२० फेब्रुअरीमा अर्थमन्त्री नियुक्त भए । कोरोना महामारीको समयमा उनले ल्याएको इट आउट हेल्प आउट र फर्लो योजना बेलायतमा लोकप्रिय रह्यो । जसका कारण उनलाई बोरिस जोन्सनको उत्तराधिकारीको रुपमा हेरिएको थियो । तर बोरिस जोन्सन विभिन्न काण्डमा फसेपछि उनले गत जुलाईमा मन्त्रिपरिषद्बाट राजिनामा दिएका थिए । जसका कारण जोन्सनको सरकार ढलेको थियो ।

त्यसपछि भएको नयाँ प्रधानमन्त्रीको चुनावमा सांसदहरु बीच सधैँ लोकप्रिय रहेका सुनक कञ्जरभेटिभ पार्टीका सदस्यहरुबीच भएको मतदानमा लिज ट्रससँग हारेका थिए । उनले त्यतिबेलाको बहसमा ट्रसको आर्थिक नीतिले अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएका थिए । जुन अहिले सत्य ठहरियो र सोही कारण प्रधानमन्त्री नियुक्त भएको ४४ दिनमै ट्रसको सरकार ढल्यो ।

तन्दुरुस्त रहनुका साथै क्रिकेट, फुटबल र फिल्म हेर्न मन पराउने सुनकले बेलायतको अर्थमन्त्री हुँदासम्म अमेरिकाको ग्रीन कार्ड लिएका थिए । तर यसबारेमा पनि समाचार छापिएपछि उनले अहिले ग्रीनकार्ड त्यागेका छन् ।

करिब सात दशककै उच्च मुद्रास्फितिको कठिन रापमा प्रधानमन्त्री चुनिएका सुनक पहिले मुद्रास्फितिलाई नियन्त्रण गरेर मात्र कर कटौती गर्न चाहन्छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित