राजा चार्ल्स तृतीयद्वारा ऋषि सुनक बेलायतको ५७ औँ प्रधानमन्त्री नियुक्त

राजा चार्ल्स तृतीयद्वारा ऋषि सुनक बेलायतको ५७ औँ प्रधानमन्त्री नियुक्त
www.europenepalikhabar.com २०७९ कार्तिक ८ गते मंगलबार, 25-10-2022


युरोप। बेलायतको ५७ औँ प्रधामन्त्रीमा ऋषि सुनक नियुक्त भएका छन् ।

सत्तारुढ कञ्जरभेटिभ पार्टीको नेतामा सोमबार चुनिएका सुनकलाई आज बेलायतका राजा चार्ल्स तृतीयले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि सुनकले सो प्रस्तावलाई स्वीकार्दै नयाँ प्रधानमन्त्री नियुक्त भएका हुन् ।

उनी बेलायतको पहिलो गैर श्वेत प्रधानमन्त्री हुन् । ४२ वर्षीय सुनक बेलायतको पहिलो हिन्दू प्रधानमन्त्री पनि हुन् ।

आज बिहान नै पूर्व प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्रीको कार्यालय छोडी राजा चार्ल्स तृतीय समक्ष राजिनामा दिएकी थिइन् । उनको राजिनामा राजदरबारले तत्काल स्वीकृत गरेको छ ।  

को हुन ऋषि सुनक ?

४२ वर्षीय सुनकको जन्म सन् १९८० मा बेलातको साउथह्याम्पटनमा भएको हो । भारतीय पारिवारिक विरासत भएका उनका पिता पारिवारिक चिकित्सक थिए भने आमा औषधि पसल सञ्चालक थिइन् । सुनक तीन सन्तानमध्ये सबैभन्दा जेठा हुन् ।

उनले बेलायतमा कुलीनहरुले पढ्ने विञ्चेष्टर कलेजमा पढ्ने मौका पाए जहाँ उनी हेड व्वाइ र पत्रिकाको सम्पादक पनि रहे । उनले अक्सफोर्ड विश्वविद्यालयमा दर्शनशास्त्र, राजनीतिशास्त्र र अर्थशास्त्र अध्ययन गरे । त्यसपछि अमेरिकाको स्टानफोर्ड युनिभर्सिटीमा फुलब्राइट छात्रवृत्ति पाई एमबीए गरे ।

अध्ययनपश्चात उनले गोल्डम्यान साक्स बैँकमा काम गरे भने हेज फेण्डमा पनि काम गरे । उनले केही व्यवसाय पनि शुरु गरेका थिए । उनी २० वर्ष नकट्दै मिलिनियर बनेका थिए ।

सन् २०१५ मा उनी पहिलोपटक रिच्मण्ड योर्कसायर निर्वाचन क्षेत्रबाट सांसद चुनिए । यो निर्वाचन क्षेत्र कञ्जरभेटिभ पार्टीका पूर्व नेता तथा बेलायतका पूर्व विदेश मन्त्री विलियम हेगको क्षेत्र थियो । हेग हाउस अफ लर्डस्मा गएपछि सुनकले मौका पाए । उनी सोही निर्वाचन क्षेत्रबाट सन् २०१७ र २०१९ मा पनि निर्वाचित भए । उनी बेलायत युरोपियन युनियनबाट बाहिरिने बारेमा भएको जनमत संग्रहमा बाहिरिने पक्षमा उभिएका थिए ।

हिन्दू धर्ममा आस्था राख्ने सुनकले सांसदमा निर्वाचित हुँदा गीता छोएर कसम खाएका थिए ।

सुनककी श्रीमती अक्षता मूर्ति र उनीहरुका दुई छोरी छन् । उनका ससुरा इन्फोसिसका संस्थापक नारायण मूर्ति भारतका धनाढ्य हुन् । सुनक बेलायतको धनी सांसदहरुमध्ये पर्छन् । उनकी श्रीमतीले आफ्नो आम्दानीवापत तिर्नुपर्ने करमा बेलायतको गैरआवासीय नागरिकले लिनुपर्ने सहुलियत लिइरहेको समाचार आएपछि उनीहरुले बेलायतबासी नागरिकले तिर्नुपर्ने सरह कर तिर्ने बताएका थिए ।

सन् २०१८ मा स्थानीय सरकार मन्त्रीबाट सुनक बेलायतको मन्त्रिपरिषदमा प्रवेश गरेका हुन् । उनी सन् २०१९ को जुलाईमा ट्रेजरीको चिफ सेक्रेटरी र २०२० फेब्रुअरीमा अर्थमन्त्री नियुक्त भए । कोरोना महामारीको समयमा उनले ल्याएको ‘इट आउट हेल्प आउट’ र ‘फर्लो’ योजना बेलायतमा लोकप्रिय रह्यो । जसका कारण उनलाई बोरिस जोन्सनको उत्तराधिकारीको रुपमा हेरिएको थियो । तर बोरिस जोन्सन विभिन्न काण्डमा फसेपछि उनले गत जुलाईमा मन्त्रिपरिषद्बाट राजिनामा दिएका थिए । जसका कारण जोन्सनको सरकार ढलेको थियो ।

त्यसपछि भएको नयाँ प्रधानमन्त्रीको चुनावमा सांसदहरु बीच सधैँ लोकप्रिय रहेका सुनक कञ्जरभेटिभ पार्टीका सदस्यहरुबीच भएको मतदानमा लिज ट्रससँग हारेका थिए । उनले त्यतिबेलाको बहसमा ट्रसको आर्थिक नीतिले अर्थतन्त्रमा गम्भीर असर पार्ने चेतावनी दिएका थिए । जुन अहिले सत्य ठहरियो र सोही कारण प्रधानमन्त्री नियुक्त भएको ४४ दिनमै ट्रसको सरकार ढल्यो ।

तन्दुरुस्त रहनुका साथै क्रिकेट, फुटबल र फिल्म हेर्न मन पराउने सुनकले बेलायतको अर्थमन्त्री हुँदासम्म अमेरिकाको ग्रीन कार्ड लिएका थिए । तर यसबारेमा पनि समाचार छापिएपछि उनले अहिले ग्रीनकार्ड त्यागेका छन् ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित