प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशन काठमाडौमा अध्यक्ष ओलीले उद्घाटन गर्ने, तीन सय प्रतिनिधि सहभागी हुँदै

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशन काठमाडौमा अध्यक्ष ओलीले उद्घाटन गर्ने, तीन सय प्रतिनिधि सहभागी हुँदै
www.europenepalikhabar.com २०७९ कार्तिक १६ गते बुधबार, 2-11-2022


युरोपनेपाली खबर, पोर्चुगल ।

 प्रवासी नेपाली मञ्च (ओएनएफ) अन्तराष्ट्रिय कमिटीको प्रथम अन्तराष्ट्रिय अधिवेशनको तयारी पूरा भएको आयोजकले जनाएको छ । मञ्चले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी प्रथम अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।

प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशन यही कात्तिक १९–२० गते (नोभेम्बर ५–६) काठमाडौंमा आयोजना हुँदैछ । अधिवेशनको उदघाटन नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

प्रवासी नेपाली मञ्चका इञ्चार्ज नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्यतामा भएको पत्रकार सम्मेलनमा प्रचार बिभाग प्रमुख प्रभुराम थापाले प्रथम अधिवेशनको तयारी पूरा भएको र बिश्वभरबाट प्रतिनिधिहरु काठमाडौं आउने क्रम जारी रहेको बताउनु भयो ।

‘अधिवेशनको तयारी लगभग पूरा भएको छ, प्रतिनिधिहरु आउने क्रम जारी रहेको छ,’ पत्रकार सम्मेलनमा थापाले भन्नुभयो । पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार अधिवेशनका लागि ‘सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने मुल नारा तय तय गरिएको छ । सो नारासहितको लोगो यसअघि नै नेकपा एमालेका उपमहासचिव बिष्णु रिमालले गरिसक्नु भएको छ ।

पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार अधिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्यीय आयोजक कमिटी, पाँच वटै महादेश कमिटीबाट ५ जनाको दरले २५ जना र हरेक राष्ट्रिय कमिटीबाट गरी ३ सय जना प्रतिनिधिहरु सहभागी हुनेछन । अधिवेशनमा राजनीतिक, सांगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची रहेको छ ।

बर्तमान आयोजक समितिमा अध्यक्ष भक्त गुरुङ (बेलायत), सचिव रमेश पाण्डे (अष्ट्रेलिया), सचिवालय सदस्यहरु प्रभुराम थापा (अमेरिका), चानक पोखरेल (कतार), विमला भण्डारी (रसिया), भक्त गुरुङ (हङकङ),  सन्जय थापा सल्लाहकार प्रमुख (अमेरिका) तथा केन्द्रीय सदस्यहरु बिनोद श्रेष्ठ (अष्ट्रेलिया), भक्त वाग्ले (फ्रान्स), कुन्ती थापा (अमेरिका), हेम शेर्पा (स्पेन), कर्ण शाही (बेलायत), रमेश थापा (क्यानडा), शिव बरुवाल (बेल्जियम) र तीर्थ गौतम (इजरायल) हुनुहुन्छ ।

पत्रकार सम्मेलनमा प्रवास इञ्चार्ज  तथा पार्टी स्थायी समिति सदस्य डा. राजन भट्टराईले प्रवासी नेपालीको मुद्धाप्रति नेकपा एमाले गम्भीर रहेको र आगामी निर्वाचनपछि एमाले नेतृत्वको सरकार बनेपछि मागहरु सम्बोधन गर्ने बताउनु भयो ।

प्रेस विज्ञप्तीको पूर्णपाठ

प्रिय पत्रकार मित्रहरु

बिश्वभर छरिएर रहेका प्रवासी नेपालीहरुको साझा संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ)अन्तराष्ट्रिय कमिटीको पहिलो अधिवेशन यही कात्तिक १९–२० ( नोभेम्बर ५–६) काठमाडौंमा आयोजना गर्न लागेको जानकारी गराउन पाउँदा हामीलाई अत्यन्तै खुसी लागेको छ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री आदरणीय केपी शर्मा ओलीज्यूबाट समुदघाटन हुने यस सम्मेलन काठमाडौंको पार्क भिलेज रिशोर्ट बुढानिलकण्ठमा आयोजना हुने जानकारी गराउन चाहन्छौं ।

यस प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको मुल नारा “सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली” तय गरिएको छ । यस अघिवेशनमा प्रवासी नेपाली मञ्चको १५ सदस्यीय आयोजक कमिटी, पाँच वटै महादेश कमिटीबाट ५ जनाको दरले २५ जना र हरेक राष्ट्रिय कमिटीबाट गरी ३ सय जना प्रतिनिधिहरु सहभागी हुनेछन । अधिवेशनमा राजनीतिक, साँगठानिक र आर्थिक प्रतिवेदन प्रस्तुत हुनेछन भने अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई जना उपसचिवसहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने कार्यसूची रहेको छ ।

प्रिय मित्रहरु,

नेपालबाट भारतबाहेकका विश्वका मुलुकहरुमा रोजगारी, पेसा, व्यवसाय र अध्ययन गर्ने सिलसिलामा स्थायी वा अस्थायी रुपले बसोबास गरिरहेका नेपालीहरुवीच आपसी एकता, सद्भाव र मैत्रीपूर्ण सम्बन्धको विकास र विस्तार गर्न तथा नेपाली समुदायको सामूहिक हकहितका लागि एकिकृत रुपमा संगठित भई आवाज बुलन्द गर्न, आपूm बसेको राष्ट्रका स्थानीय जनसमुदायसँग सुमधुर र प्रगाढ सम्बन्ध बनाई त्यहाँको सरकार तथा सरोकारवाला निकायसंगको सम्पर्क र सम्बन्धलाई विस्तार गरी नेपाली समुदाय र नेपाल राष्ट्रको हितमा प्रभावकारी ढंगले काम गर्न तथा नेपालीहरुले विदेशमा आर्जन गरेका पुँजी, ज्ञान, प्रविधि, सीप र अनुभवहरुलाई नेपालमा भित्र्याई देशभित्रै रोजगारीको अवसर सिर्जना गरी मुलुकको साझा संकल्प ‘समृद्ध नेपाल : सुखी नेपाली’ लाई सफल र सार्थक बनाउन सहयोग पुर्याउने उद्देश्यले प्रवासमा एउटा प्रगतिशील, लोकतान्त्रिक र देशभक्त संगठनको आवश्यकता भएकोले ‘प्रवासी नेपाली मञ्च’ – छोटकरीमा ‘प्रनेमञ्च’ को गठन गरिएको हो । यसलाई अंग्रेजीमा Overseas Nepali Forum र छोटकरीमा ONF भनिन्छ ।

प्रनेमञ्च सन् १९९४ देखि प्रवासमा क्रियाशिल छ । सुरुमा युएनडिएफ/एनडिएफ हुँदै सन २०१२ बाट बिश्वब्यापी रुपमा एउटै नाम प्रवासी नेपाली मञ्चको स्पमा यो संगठन क्रियाशिल रहेको छ । विश्वव्यापी संरचनाबाट परिचालन गर्ने उद्देश्यले सन् २०२१ फेब्रुवरी २६ मा बसेको अन्तर्राष्ट्रिय बैठकले भक्त गुरुङ (बेलायत)सञ्जय थापा (अमेरिका) पुष्प तिमिल्सिना (स्पेन) कमलमणी गुराँगाई (कतार) र डा बिनोद श्रेष्ठ (अष्ट्रेलिया) रहेको पाँच सदस्यीय अवधारणा निर्माण कार्यदल गठन गरी सोही कार्यदलले दिएको रिपोर्टको आधारमा आजको अन्तर्राष्ट्रिय स्वरुपको प्रनेमञ्चको निर्माण भएको हो ।

प्रनेमञ्चले सन् २०२२ मा आफ्नो विधान जारी गरी सोही विधानअनुसार आफ्ना गतिविधिहरु विश्वव्यापीरुपमा सञ्चालन गर्दै आएको छ । प्रनेमञ्च यसरी आज ५–६ नोभेम्बर २०२२ कात्तिक १९–२०, २०७९) को यस ऐतिहासिक प्रथम अन्तर्राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने बिन्दुसम्म आईपुगेको छ ।

प्रवासी नेपालीहरुको एकता, प्रगति, अग्रगति, रुपान्तरण र मातृभूमिप्रतिको देशभक्ति मञ्चका लक्ष्यहरु हुन् । प्रवासी नेपालीहरुलाई सुसंगठित गर्ने, उनीहरुको हित र अधिकारको लागि परिचालित रहने, र उनीहरुले आर्जन गरेका सीप, ज्ञान, पुँजी, प्रविधि र अनुभवलाई नेपालको समृद्धि र विकासमा परिचालन गर्ने यस मञ्चको मूल उद्देश्य रहेको छ । यसै लक्ष्य र उद्देश्य प्राप्तिका लागि यस प्रथम अन्तर्राष्ट्रिय अधिवेशनको प्रमुख नारा “सबल प्रवासीः समृद्ध नेपाल, सुखी नेपाली” तय भएको हो । यो नेकपा (एमाले) को प्रवास संगठन समेत भएकोले उसको निर्दिष्ट आदर्श, सिद्धान्त, नीति र कार्यक्रमको आलोकमा संगठनको विधानभित्र रही स्वतन्त्ररुपले आफ्ना गतिविधिहरु सञ्चालन गर्दछ । यसले जनताको बहुदलीय जनवादलाई आफ्नो आदर्श मार्गदर्शक सिद्धान्त मान्दछ ।

उल्लेखित लक्ष्य र उद्देश्यहरु प्राप्तिको लागि मञ्चले गर्ने कार्यक्रमहरुमा प्रवासमा मञ्चको काम सञ्चालन गर्ने, मञ्चको सदस्य बनाउने, बढाउने र संगठन विस्तार गर्ने, प्रवासी नेपालीहरुको हक, हित र अधिकारको पक्षमा काम गर्ने, प्रवासी नेपालीहरुबीच आपसी मित्रता र भातृत्वको सम्बन्ध अभिवृद्धिको काम गर्ने, प्रवासमा नेपाली भाषा, भेषभूषा, साहित्य, कला तथा संस्कृतिको प्रचार–प्रसार तथा प्रवद्र्धन गर्ने, प्रवासमा नेपाली उत्पादनहरुको प्रवद्र्धन, उपभोग र बिक्री–वितरण गर्ने, प्रवासमा समस्यामा परेका नेपालीहरुलाई सहयोग गर्न आवश्यक काम गर्ने, प्रवासका अन्य संघसंस्थासंग समन्वय गरी काम गर्दै आएको छ ।

यसैगरी नेपाली नागरिकताको निरन्तरता एवं बिदेसी नागरिकता नलिएका बिदेशमा बस्ने नेपालीहरुले नेपालको आवधिक निर्वाचनहरुमा प्रवासबाटै मतदाता नामावलीमा नाम समावेश गरी प्रवासी नेपालीहरुलाई मतदानको व्यबस्था गर्न नेपालसंग आवश्यक समन्वय गर्ने, प्रवासबाट नेपाललाई नीतिगत क्षेत्रहरुमा अनुसन्धान र खोजमूलक ज्ञानहरु उपलब्ध गराई आवश्यक सहयोग गर्ने, प्रवासमा आर्जन गरेका पुँजी, ज्ञान, प्रविधि, सीप र अनुभवलाई नेपालमा आदान–प्रदान गर्ने, नेपालमा आइपर्ने प्राकृतिक प्रकोपजन्य विपत्तिमा सहयोग गर्ने र अन्य परोपकारका कामहरु गर्ने, अन्य देशका आप्रवासीहरुसंग सुमधुर सम्बन्ध बनाउने, प्रवासमा नेपाल, नेपाली र प्रवासी नेपालीको प्रतिभा, प्रतिष्ठा र गौरव बढाउन अग्रसर रहने, र नेपालको राष्ट्रिय संकल्प ‘समृद्ध नेपाल, सुखी नेपाली’ हासिल गर्न एकाकार भई काम गर्ने हाम्रो मुख्य लक्ष्य रहेको छ ।

मञ्चको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय अधिवेशन हो । प्रत्येक ४ वर्षमा आयोजना हुने अन्तर्राष्ट्रिय अधिवेशनले मञ्चको अन्तर्राष्ट्रिय कमिटी गठन गर्दछ । मञ्चको अन्तर्राष्ट्रिय कमिटी मातहत मञ्चका सदस्यहरु भएको अमेरिकी महादेश, यूरोप महादेश, मध्यपुर्वी महादेश, पुर्वी एशिया महादेश र ओसिनिया महादेश कमिटीहरु, संसारका ४० भन्दा बढी मुलुकहरुमा गठन भएका राष्ट्रिय कमिटीहरु र राष्ट्रिय कमिटी मातहतका क्षेत्रीय कमिटीहरु, राज्य र नगर कमिटीहरु रहेका छन ।

प्रवासी नेपाली मञ्चको इञ्चार्जको रुपमा नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवं बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईले संगठनलाई नेतृत्व प्रदान गरिरहनु भएको छ । संगठनको हाल १४ सदस्यीय अन्तराष्ट्रिय कमिटी र ६ सदस्यीय सचिवालय रहेको छ । जुन निम्नानुसार छन:

अध्यक्ष: भक्त गुरुङ(बेलायत)

सचिव: रमेश पाण्डे (अष्ट्रेलिया)

सचिवालय सदस्य 

प्रभुराम थापा (अमेरिका)

चानक पोखरेल (कतार)

बिमाला भण्डारी (रसिया)

भक्त गुरुङ (हङकङ)

सञ्जय थापा, सल्लाहकार प्रमुख

सदस्यहरु

बिनोद श्रेष्ठ (अष्ट्रेलिया)

भक्त वाग्ले (फ्रान्स)

कुन्ती थापा (अमेरिका)

हेम शेर्पा (स्पेन)

कर्ण शाही (बेलायत)

रमेश थापा (क्यानडा)

शिव बरुवाल (बेल्जियम)

तीर्थ गौतम (इजरायल)

मञ्चका विश्वव्यापी गतिविधिहरुलाई नेपालसंग समन्वय गर्न काठमाडौंमा ‘नेपाल सम्पर्क विभाग’ को कार्यालय रहेको छ । नेपाल सम्पर्क विभागमा प्रमुख, सचिव र सदस्यहरु रहेका छन्, र कार्यालयको आवश्यकताअनुसार कर्मचारीहरुको व्यवस्था गरिएको छ ।

अधिवेशनको लोगो यसप्रकार रहेको जानकारी दिन चाहन्छौं ।

प्रभुराम थापा

प्रमुख, प्रचार बिभाग

प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटी


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित