एनआरएनए, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच अन्तरक्रिया

एनआरएनए, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच अन्तरक्रिया
www.europenepalikhabar.com २०७९ पुष २४ गते आइतबार, 08-01-2023


युरोपनेपाली खबर, पोर्चुगल ।

गैरआवासीय नेपाली संघ एनआरएनए उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघका प्रतिनिधिबीच, नेपालमा उत्पादित मौलिक हस्तकलाका सामाग्री विदेशमा निर्यात तथा प्रवद्र्धनका लागि अन्तरक्रिया भएको छ । मन्त्रालयको सहजीकरणमा एनआरएनए र हस्तकला महासघका प्रतिनिधिहरुबीच छलफल भएको हो । काठमाडौंको सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा तोया नारायण ज्ञवालीले नेपालमा उत्पादन गरिने सामाग्रीको प्रवद्र्धनका लागि गुणस्तर, उत्पादन प्रक्रिया, उत्पादनपूर्वको अध्ययन र वैदशिक बजारको माग लगायतमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । त्यसका लागि एनआरएनएले विश्वका विभिन्न देशमा नेपालका सामाग्रीको प्रवद्र्धनमा सहजीकरण गरिदिन सक्ने सचिव ज्ञवालीको भनाई थियो । उहाँले भन्नुभयो, ‘नेपालका मौलिक हस्तकलाका सामाग्री एनआरएनले आफू बसेको सम्बन्धित देशमा प्रवद्र्धन गर्न मद्दत गर्न सक्नेछन् ।‘ ‘तर, ती सामाग्रीको गुणस्तरीता, प्याकिङ, उत्पादन प्रक्रिया, मापदण्ड, उत्पादन पूर्वको अध्ययन तथा अनुसन्धान तथा त्यसको  मूल्य तथा बजार मागको मूल्यांकन लगायतमा महासंघमा आबद्ध सबैले ध्यान दिनुपर्छ ।’   

गैरआवासीय नेपाली संघका अध्यक्ष डा बद्री केसीले गुणस्तरितालाई ध्यान दिने हो भने विश्वका कुनैपनि देशमा नेपाली मौलिक सामाग्रीको प्रवद्र्धन गर्न सकिने बताउनुभयो । एनआरएनएमा सन् २००९ देखि नै गैरआवासीय नेपाली संघले नेपाल प्रवद्र्धन समितिको स्थापना गरेर नेपाली उत्पादनलाई विदेशी बजारमा लैजान पहल गरिरहेको बताउनुभयो ।   

अध्यक्ष केसीले विश्वभर ६० लाख बढी नेपाली भएको र एनआरएनएकै सञ्जाल ८५ देशमा पुगिसकेकोले पनि नेपालको मौलिक उत्पादनलाई विदेशी बजारमा लैजान कुनै समस्या नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाली हस्तकला वा जुनसुकै मौलिक सामाग्री प्रवद्र्धनमा कुनै समस्या छैन, तर तपाईहरुले गुणस्तर, प्याकेजिङ, नेपाली उत्पादनबारे अध्ययन अनुसन्धान, लगायतका विषयमा गहन रुपमा काम गर्नैपर्छ, नेपालका सामाग्री विदेशी बजारमा बेच्ने हो भने, त्यहीको गुणस्तर र मापदण्ड अपनाउन सक्नुपर्छ ।’   

नेपालमा रहेका हस्तकला उद्योगमा लगानीका लागि विदेशमा नेपालीहरु पनि इच्छुक भएको भन्दै अध्यक्ष डा केसीले सरकारलाई लगानीका लागि सहजीकरण गरिदिन समेत आग्रह गर्नुभएको छ । नेपाली कला र मौलिक सामाग्रीलाई प्रवद्र्धन गर्न हाल कतिपय देशमा नेपाली हाउस सञ्चालनमा रहेकोले आगामी दिनमा पनि गैरआवासीय नेपाली संघको सञ्जाल रहेका देशहरुमा समेत नेपाली हाउसको स्थापनाका लागि पहल जारी रहेको अध्यक्ष डा केसीले बताउनुभयो ।   

गैरआवासीय नेपाल संघ अन्तर्गतको नेपाल प्रवद्र्धन समितिका उपसंयोजक तथा एनसिसि हङकंगका अध्यक्ष गोकर्ण ढकालले  नेपालमा  उत्पादनको विदेशमा माग भएपनि सो मागअनुसारको गुणस्तर र मापदण्ड अनुसार सामाग्री सप्लाई गर्न नसक्दा समस्या हुने गरेको  बताउनुभयो ।  आगामी दिनमा त्यस्ता सामाग्री उत्पादनपछि संकलन र निर्यात तथा प्रवद्र्धनका लागि संयुक्त संकलन केन्द्र बनाएर भएपनि विदेशी बजारको माग अनुरुपको बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

यस्तै, संघका युवा संयोजक अब्दूल वासिद्ले नेपाली हस्तकलाका सामाग्रीको प्रवद्र्धनका लागि नेपाल सरकारले सहजीकरण गरिदिनुपर्नेमा जोड दिनुभयो । उहाँले आफूले कुन देशमा सो सामाग्री प्रवद्र्धन गर्ने हो त्यसपूर्व सम्बन्धित देशको  मापदण्ड, गुणस्तर लगायतका विषयमा पनि सचेत हुनुपर्ने बताउनुभयो । त्यसका लागि सम्बन्धित देशको सरकारसँग पनि नेपाल सरकारले समन्वय गर्नुपर्नेमा उहाँको भनाई थियो ।   

कार्यक्रममा नेपाल हस्तकला महासंघका उपाध्यक्ष किरण कुमार स्थापितले विदेशमा रहेका नेपालीहरुकै उत्पादनसँगै सहकार्य गरेर नेपालका हस्तकलाका सामाग्रीहरुलाई पनि समेटेर सँगसंगै प्रवद्र्धन गर्न आग्रह गर्नुभयो ।  

 महासंघका सदस्य स्वयम्भूरत्न तुलाधरले विदेशमा नेपाली मौलिक सामाग्रीको प्रवद्र्धनका लागि एनआरएनले  अहम भूमिका निर्वाह गर्न सक्ने भन्दै सहयोग र सहकार्यका लागि आग्रह गर्नुभयो । महासंघका प्रतिनिधिहरु, सुनिता श्रेष्ठ डा, सुनिल चित्रकार, रेशम पोखरेल लगायतका प्रतिनिधिले नेपाली हाउस स्थापनाका लागि जोड दिँदै नेपाली हस्तकलाका सामाग्री प्रवद्र्धनका लागि आग्रह गर्नुभयो ।   

कार्यक्रममा मन्त्रालयका सचिवसहित प्रतिनिधिहरु, हस्तकला महासंघका प्रतिनिधि र गैरआवासीय नेपाली संघका तर्फबाट अध्यक्ष केसीसहितको प्रतिनिधि टोलीको उपस्थिति थियो ।  

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित