नेपालमा रेमिट्यान्स २३ प्रतिशत बढ्यो, यस्तो छ अर्थतन्त्रको ताजा अवस्था

नेपालमा रेमिट्यान्स २३ प्रतिशत बढ्यो, यस्तो छ अर्थतन्त्रको ताजा अवस्था
www.europenepalikhabar.com २०७९ पुष ३० गते शनिबार, 14-01-2023

  

अर्थतन्त्रका बाह्य सूचकहरूमा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको वित्तीय स्थिति प्रतिवेदन अनुसार मुलुकको शोधनान्तर (भुक्तानी) स्थिति, विदेशी मुद्रा सञ्चिति, रेमिट्यान्सलगायतका सूचकमा सुधार देखिएको हो ।

साउनदेखि मंसिर मसान्तसम्म मुलुकमा कुल ४ खर्ब ८० अर्ब ५० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रेमिट्यान्स गत वर्षको यसै अवधिको तुलनामा २३ प्रतिशत बढी हो । गत वर्ष यसै अवधिमा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

रेमिट्यान्स बढ्नुको मुख्य कारण कामका लागि बिदेसिएका नेपालीको संख्या वृद्धि हुनु, कतिपय मुलुकमा श्रमिकको ज्याला बढ्नु र अमेरिकी डलरको मूल्य बढ्दाको प्रभाव रहेको राष्ट्र बैंक अनुसन्धान विभाग प्रमुख प्रकाशकुमार श्रेष्ठ बताउँछन् ।

रेमिट्यान्समा उल्लेख्य वृद्धि हुँदा त्यसले शोधनान्तर स्थितिसमेत बचतमा गएको छ । मंसिर मसान्तसम्म मुलुकको शोधनान्तर स्थिति ४५ अर्ब ८७ करोडले बचतमा छ । जब कि गत वर्षको सोही अवधिमा १ खर्ब ९५ अर्ब घाटामा थियो । शोधनान्तर स्थिति बचतमा गएसँगै मुलुकको विदेशी मुद्रा सञ्चिति बढेको छ । मंसिर मसान्तसम्म विदेशी मुद्रा सञ्चिति १२ खर्ब ९२ अर्ब ५६ करोड रुपैयाँ छ । गत असार मसान्तसम्मको तुलनामा अहिले भएको सञ्चिति ६.३ प्रतिशतले बढी रहेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा भने असार मसान्तको तुलनामा सञ्चिति ३ प्रतिशतले मात्रै वृद्धि भई ९ अर्ब ८२ करोड डलर कायम भएको छ । डलरसँग नेपाली मुद्रा अवमूल्यन भएकाले नै डलरमा मुद्रा सञ्चितिको वृद्धिदर कम रहेको श्रेष्ठले बताए । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.९ प्रतिशत रहेको राष्ट्र बैंकको भनाइ छ । हालको विदेशी मुद्रा सञ्चितिले ८.७ महिनाको वस्तु तथा सेवा आयात धान्ने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले महँगा मोबाइल, गाडीहरूमा मंसिर मसान्तसम्म गरेको आयात प्रतिबन्धको असरले पनि मुद्रा सञ्चिति बढाउन टेवा पुग्यो । तर पुसदेखि आयात पूर्ण रूपमा खुलेको छ भने माघदेखि ब्याजदर घट्ने भएको छ । यसले गर्दा आगामी दिनमा सञ्चितिमा दबाब पर्न सक्ने श्रेष्ठ बताउँछन् । ‘रेमिट्यान्स तथा आयात ट्रेन्ड कसरी जान्छ भन्ने विषयले सञ्चितिलाई प्रभाव देखिने हो, अहिले सुधार देखिएको छ तर सजगता त अपनाउनैपर्छ,’ श्रेष्ठले भने । हाल सवारीसाधन आयातका लागि खोलिने प्रतीतपत्र (एलसी) को संख्या ज्यादै न्यून रहेकाले तत्कालै आयात बढ्ने अवस्था नदेखिएको उनको भनाइ छ ।

प्रतिबन्धका कारण वस्तु आयात र व्यापार घाटा घटेको छ । साउनदेखि मंसिरसम्म ६ खर्ब ६४ अर्ब ७५ करोड रुपैयाँको वस्तु आयात भएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा २०.७ प्रतिशतले कमी हो । आयात घट्दा समग्र व्यापार घाटामा कमी आएको छ । ५ महिनामा मुलुकको व्यापार घाटा ५ खर्ब ९७ अर्ब ४४ करोड छ । जुन गत वर्षको सोही अवधिको तुलनामा १८.८ प्रतिशतले कमी हो ।


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित