दिल्लीका उपमुख्यमन्त्री सिसोदिया पक्राउ, भारतभर विरोध प्रदर्शन

दिल्लीका उपमुख्यमन्त्री सिसोदिया पक्राउ, भारतभर विरोध प्रदर्शन
www.europenepalikhabar.com २०७९ फागुन १५ गते सोमबार, 27-02-2023


आफूविरुद्ध झुटा मुद्दा लगाइएको दाबी गर्दै सिसोदिया भन्छन्, 'आगामी दिनमा आम आदमी पार्टीले नै भाजपालाई देशभरबाट हराउने छ । आगामी दिनमा आम आदमी पार्टीले नै देशलाई भाजपाको अत्याचारबाट मुक्ति दिलाउनेछ । '

दिल्ली सरकारका उपमुख्यमन्त्री तथा शिक्षा मन्त्री मनीष सिसोदियालाई केन्द्रीय जाँच ब्युरो(सीबीआई) ले गिरफ्तार गरेपछि आम आदमी पार्टी(आप)ले भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरेको छ । सीबीआईले सिसोदियामाथि सन् २०२१ मा राज्य सरकारले बनाएको मदिरासम्बन्धी नीतिमा अनियमितता भएको आरोप लगाएको छ ।

सिसोदियालाई आइतबार करिब ८ घण्टाको सोधपुछपछि सीबीआईले पक्राउ गरेको हो । गत वर्ष अगस्टमा सीबीआईका तर्फबाट दायर गरिएको ११ पन्ने अभियोगपत्रमा सिसोदियालाई मुख्य अभियुक्त बनाइएको छ । साथै सिसोदिया र अन्य आरोपित व्यक्तिविरुद्ध भारतीय दण्ड संहिताको धारा १२० बी, ४७७ ए र भ्रष्टाचारविरोधी कानुनका धारा लगाइएको छ । आरोप प्रमाणित भएमा उनीहरूलाई ६ महिनादेखि आजीवन कैदसम्मको सजाय हुन सक्ने छ ।

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालका सबैभन्दा नजिकका विश्वासपात्र मानिएका सिसोदिया पक्राउ परेपछि सत्तारुढ भारतीय जनता पार्टी(भाजपा) र आपबीच आरोपप्रत्यारोप चलिरहेको छ । मुख्यमन्त्री केजरीवालले सिसोदियाविरुद्ध कुनै प्रमाण नभए पनि सीबीआईले राजनीतिक दबाबमा आएर पक्राउ गरेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्, 'मलाई यो बताइएको छ कि मनीषलाई पक्राउ गर्ने विषयमा सीबीआईका अधिकांश अधिकारीले विरोध जनाएका थिए । सबैको मनमा उनीप्रति सम्मान थियो । उनीविरुद्ध कुनै प्रमाण थिए । तर पनि पक्राउ गर्न यति ठूलो राजनीतिक दबाब थियो कि उनीहरू आफ्ना राजनीतिक मालिकका आदेश मान्न बाध्य भए ।'

दिल्ली सरकारका कामकारबाही नै मनीष सिसोदियाका कामले चर्चामा आएको थियो । मुख्यमन्त्री केजरीवाल पनि दिल्ली मोडेलको शिक्षा नीति देशभरमा प्रचार गर्ने गर्छन् । देशभरमा पार्टीको संगठन विस्तारमा समेत उनकै कामको सहारा लिने गरिएको छ । गत अगस्टमा दिल्लीको शिक्षा मोडेलको चर्चा गर्दै न्युयोर्क टाइम्सले रिपोर्टसमेत प्रकाशित गरेको थियो ।

सिसोदिया पक्राउ परेपछि समाजवादी पार्टीका प्रमुख तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवले पनि भाजपा सरकारको कडा आलोचना गरेका छन् । दिल्लीका बालबालिकाको भविष्यको विरोधमा भाजपा सरकार रहेको उल्लेख गर्दै उनले भनेका छन्, 'दिल्लीको शिक्षा क्षेत्रका क्रान्तिकारी परिवर्तन ल्याउने मनीय सिसोदियालाई पक्राउ गरेर भाजपाले यो प्रमाणित गरेको छ कि भाजपा शिक्षा नभएर दिल्लीका बालबालिकाको भविष्यको विरुद्धमा छ । दिल्लीका जनताले आगामी लोकसभा चुनावमा ७ वटै सिटमा भाजपालाई हराएर यसको जवाफ दिनेछन् ।'

सीबीआईले सोमबार नै सिसोदियालाई अदालतमा पेस गरेर म्याद थपको अनुमति लिने जनाएको छ । यसअघि गत वर्ष अक्टोबरमा पनि सीबीआईले सिसोदियासँग सोधपुछ गरेको थियो । उक्त सोधपुछको एक महिनापछि सीबीआईले अभियोगपत्र दर्ता गरेको थियो तर उक्त आरोपपत्रमा उनको नाम भने थिएन ।

त्यसपछि १७ अगस्टमा भने सिसोदिया र अन्य १४ जनाविरुद्ध गृह मन्त्रालयको हवाला दिँदै मुद्दा दर्ता गरिएको थियो । सीबीआईले सिसोदियाले मदिरा व्यवसायीको पक्षमा नीति परिवर्तन गरेको आरोप लगाएको हो । यसमा लाइसेन्स शुल्क मिनाहा गरेको आरोपसमेत लागेको छ । यो मुद्दामा सीबीआईका साथै प्रवर्तन निर्देशनालय(ईडी) ले पनि मुद्रा अपचलनमा अनुसन्धान गरिरहेको छ ।

केजरीवाल सरकारका मुख्य चेहरा भएकाले पनि सिसोदियाको गिरफ्तारीपछि आपलाई धक्का पुग्ने बताइएको छ । यद्यपि आरोप पुष्टि नभएमा भने सन् २०२४ को लोकसभा चुनाव र विभिन्न राज्यमा हुने विधानसभा चुनावमा आपले यसलाई चुनावी मुद्दा बनाउने देखिएको छ । सिसोदियाले दिल्ली सरकारका विभिन्न १८ वटा विभाग सम्हाल्दै आएका छन् । केजरीवाल सरकारका मन्त्री सत्येन्द्र जैन पक्राउ परेपछि कैयौं विभाग सिसोदियाले सम्हालेका छन् । सिसोदियाले आगामी मार्चको दोस्रो हप्ता दिल्ली सरकारको बजेट पेस गर्नेसमेत तयारी गरेका छन् । सिसोदियाले दिल्लीमा पार्टीको सरकार बनेसँगै नै बजेट पेस गर्दै आएका छन् । उनलाई केजरीवालले देशकै सर्वोत्कृष्ट शिक्षामन्त्रीको उपमासमेत दिँदै आएका थिए । यहाँसम्म कि दिल्ली सरकार नै सिसोदियाको भरमा चलेको छ समेत भन्ने गरिन्छ ।

सिसोदियाको गिरफ्तारीविरुद्ध आम आदमी पार्टीले जमानत याचिका दर्ता गर्ने तयारी गरेको छ । सिसोदियालाई धरौटीमा रिहा गरिए मुख्यमन्त्री केजरीवालका साथै पार्टीलाई ठूलो राहत हुने छ ।

के भन्छन् सिसोदिया ?

सिसोदियाले आफूविरुद्ध झुटो आरोप लगाएको बताएका छन् । सीबीआई कार्यालयमा बयानका लागि जानुभन्दा अघि उनले सामाजिक सञ्जालमा लेखेका थिए 'यिनीहरू मलाई आज पक्राउ गर्दैछन् । मविरुद्ध यिनीहरूले झुटो आरोप लगाएका छन् । तर मलाई विश्वास छ कि यी सबै मुद्दा अदालतबाटै समाप्त हुनेछन् । तर समय लाग्न सक्छ, हुन सक्छ केही महिना म जेलमा बस्नुपर्ने हुन्छ । यसको मलाई रत्तिभर पनि परवाह छैन ।'

दिल्लीका विद्यार्थीलाई सम्बोधन गर्दै उनले अगाडि भनेका छन्, 'तपाईंको मनीष अंकल जाँदैछन् भन्नुको मतलब अब छुट्टी भन्ने होइन । म नभए पनि मन लगाएर पढ्नू । फर्केर आउँदा एक-एकको खबर ल्याउनेछु । यदि कुनै विद्यार्थीले पढेको छैन, बदमासी गरेको छ, बुवाआमालाई सताएका छन् भने मलाई जेलमा नै थाहा हुनेछ । त्यसदिन मैले जेलमा खाना खाँदिनँ । के तपाईं मनीष अंकलले तपाईंका कारण दु:ख पाओस् भन्ने चाहनुहुन्छ ? चाहनुहुन्न नि । त्यसैले सबैले मन लगाएर पढ्नुहोला ।'

त्यस्तै उनले ७/८ महिना जेलमा बस्नुपर्ने अवस्था आउन पनि सक्ने बताएका छन् । केजरीवालबाट जीवनमा निकै माया पाएको उल्लेख गर्दै उनले भनेका छन्, 'सर, मेरो कुनै चिन्ता नलिनू । यसैगरी तपाईंले देशका लागि काम गर्दै रहनू । देशका लागि जेल जानुलाई मैले सौभाग्य ठानेको छु ।' आफूलाई झुटा मुद्दाबाट डर नलाग्नेसमेत उनले बताएका छन् । आउने समयमा आम आदमी पार्टी भाजपाको 'काल' सावित हुने पनि उनले दाबी गरेका छन् । 'आगामी दिनमा आम आदमी पार्टीले नै भाजपालाई देशभरबाट हराउने छ । आगामी दिनमा आम आदमी पार्टीले नै देशलाई भाजपाको अत्याचारबाट मुक्ति दिलाउनेछ । आगामी दिनमा आम आदमी पार्टीले नै देशलाई दुनियाँको १ नम्बर देश बनाउनेछ । पूरा देशलाई आम आदमी पार्टीप्रति मात्र भरोसा छ,' उनले भनेका छन् ।

सीबीआई र ईडीको 'दुरुपयोग'

विपक्षी दलहरूले भने सीबीआई र ईडीलाई भाजपाले गोटी बनाएको आरोप लगाउँदै आएका छन् । केन्द्रमै बीजेपी नेतृत्वको सरकार करिब ९ वर्षदेखि रहेको छ । तर सीबीआईले अनुसन्धान गरिरहेका व्यक्ति भने विपक्षी दलका धेरै रहेका छन् । भारतीय सञ्चारमाध्यम क्विन्टका अनुसार सीबीआईले अनुसन्धान गरिरहेका १२४ मुख्य नेतामध्ये ११८ जना त विपक्षी दलकै रहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित