चीनका अतिशक्तिशाली राष्ट्रपति सीका यस्ता छन् नयाँ सारथिहरु

चीनका अतिशक्तिशाली राष्ट्रपति सीका यस्ता छन् नयाँ सारथिहरु
www.europenepalikhabar.com २०७९ फागुन २९ गते सोमबार, 13-03-2023


चिनियाँ जनकंग्रेसले आगामी ५ वर्षका लागि मन्त्रिपरिषद्‍ गठन गरेको छ । शुक्रबार सी चिनफिङलाई तेस्रो पटक राष्ट्रपति निर्वाचित गरेको जनकंग्रेसले प्रधानमन्त्रीसहित बाँकी महत्त्वपूर्ण पदहरुको नियुक्तिलाई अनुमोदन गरेको छ । चीनमा मन्त्रालय, आयोग र लेखा परीक्षण कार्यालयसहित २७ वटा निकाय रहेका छन् ।

त्यसैगरी चार उपप्रधानमन्त्रीमा डिङ सुइसिआङ, हे लिफेङ, झाङ गुइचिङ र लिउ गुओझोङ रहेका छन् । त्यसैगरी स्टेट काउन्सिलरमा ली सङफु, वाङ सिआओहोङ, यु झेङलोङ, सेन यिचिन, चिन गङ रहेका छन् । उपप्रधानमन्त्री बराबरको हैसियतमा रहने स्टेट काउन्सिलरमा रक्षामन्त्री ली सङफु र विदेशमन्त्री चिन गङलाई नियुक्त गरिएको छ ।

चिनियाँ पत्रिका ग्लोबल टाइम्सले मन्त्रिपरिषद्‍मा नियुक्त गरिएका व्यक्तिहरु विभिन्न कर्पोरेटहरुको कार्यकारी पदमा काम गरिसकेको जनाएको छ । चीनले ५ वर्षे कार्यकालमा विज्ञान तथा प्रविधिको क्षेत्रलाई जोड दिने भएको छ । जसका लागि विज्ञान तथा प्रविधि मन्त्रालयको संरचनागत सुधारमा केन्द्रित भएर सुधार कार्यक्रको घोषणा गरेको छ ।

त्यसैगरी वित्तीय नियमनका राष्ट्रिय प्रशासन स्थापना गर्ने भएको छ । कृषि क्षेत्र र अन्य मन्त्रालयमा प्रविधि नीतिहरुको सञ्चालनलाई रुपान्तरण गर्ने बताइएको छ । त्यसैगरी देशभित्र प्राविधिक क्षेत्रमा सफलता दिलाउन भूमिका खेल्ने बताइएको छ ।

प्रधानमन्त्री ली

प्रधानमन्त्रीमा ली छ्यान नियुक्त भएका छन् । गत अक्टोबरमा भएको कम्युनिस्ट पार्टीको महाधिवेशनले लीलाई पोलिटब्युरो स्ट्यान्डिङ कमिटीको दोस्रो वरियतामा नियुक्त गरेदेखि नै प्रधानमन्त्री हुने निश्चित भइसकेको थियो । जसलाई त्यहाँको संसद्‍ले शनिबार अनुमोदन गरेको हो ।

प्नधानमन्त्री ली सन् २००० को मध्यतिर राष्ट्रपति सी झेजिआङ प्रान्तको प्रमुख हुँदा प्रधानमन्त्री ली प्रमुख स्टाफ थिए । प्रधानमन्त्री बन्नुअघि ली झेजिआङको गभर्नर साथै जिआङसु र संघाईको पार्टी प्रमुख बने । त्यस क्षेत्रमा काम गर्दा उनले उद्यम र निजी क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेलेका थिए । उनी चाउ एन लाई पछिका त्यस्तो नेता हुन्, जो उपप्रधानमन्त्री नभइ प्रधानमन्त्री बनेका हुन् । १९४९ मा चीनमा जनवादी गणतन्त्र स्थापना भएपछि चाउ पहिलो प्रधानमन्त्री बनेका थिए । ली पार्टीभित्र दोस्रो वरियतामा रहेका छन् ।

लीको छनोटलाई कोभिड महामारी तथा अमेरिकासँगको बढ्दो टकरावको कारण आर्थिक क्षेत्रमा देखिएको समस्या समाधान गर्नसक्ने नेताको रुपमा अर्थ्याइएको छ ।

अर्थतन्त्रको बारेमा महत्वपूर्ण भूमिका हुने अर्थमन्त्री र केन्द्रीय बैंकको गभर्नरमा पुरानैलाई निरन्तरता दिइएको छ । अर्थमा लिउ कुन र गभर्नरमा होउ काइ रहेका छन् । उनीहरु दुवैको निरन्तरता वित्तीय स्थायीत्वका लागि भएको ग्लोबल टाइम्सले जनाएको छ ।

उपप्रधानमन्त्री दिङ सुइसिआङ

पार्टी जनरल अफिसका प्रमुखको रुपमा दिङ पछिल्लो केही समयदेखि राष्ट्रपति सीको चिफ अफ स्टाफ रहेका थिए । पछिल्लो केही वर्षयता राष्ट्रपति सीको निकटमा रहँदै आएका थिए । उनी सीसँग फोटोहरुमा देखिन्थे र सीको काम कारबाहीमा उनको नाम आउने गरेको थियो । दिङले आफ्नो राजनीतिक जीवन संघाईबाट सुरु गरेका हुन् । जहाँ राष्ट्रपति सी २००७ मा छोटो समयमा पार्टी प्रमुखको भूमिकामा रहेका थिए । त्यस समयमा दिङ सीको सचिव थिए । नयाँ भूमिकामा दिङले अर्थतन्त्र हेर्ने पाउने छन् । दिङ पार्टीभित्र छैटौं स्थानमा छन् ।

हे लिफेङ उपप्रधानमन्त्री

हे लिफेङ अमेरिकासँगको व्यापार तथा लगानीको विषयमा हुने संवादका सम्पर्क व्यक्ति थिए । पछिल्लो समयमा हे राष्ट्रिय विकास तथा पुनर्संरचना आयोग प्रमुख पनि बने । जसले चीनको आर्थिक योजना तयार पर्ने काम गर्छन् । तटीय क्षेत्र फुजियानमा सी र हे ८० र ९० को दशकमा सँगै काम गरेका थिए । उनी २४ सदस्यीय पोलिटब्युरो सदस्य हुन् ।

हान झेङ उपप्रधानमन्त्री

विश्लेषकहरु हानलाई सीको कोटरी बाहिरका नेता भएको बताउँछन् । तर राष्ट्रपति सीसँग उनको सम्बन्ध संघाईको पार्टी कमिटीदेखिकै हो । संघाई जिआङ जमिन समूहको राजनीतिक प्रभाव क्षेत्र पनि मानिन्छ । हानले संकटको समयमा हङकङ मामिलामा राष्ट्रपति सीलाई सघाएका थिए । गत अक्टोबरमा भएको पार्टी महाधिवेशनमा पार्टीको पोलिटब्युरो स्ट्यान्डिङ कमिटीबाट उमेर हदका कारण ६८ वर्षका हान बिदा भएका थिए ।

चिन काङ - स्टेट काउन्सिलर तथा विदेशमन्त्री

डिसेम्बरमै विदेशमन्त्री भएका चिन काङलाई संसदले स्टेट काउन्सिलरको भूमिकामा नियुक्त गरेको हो । विदेशमन्त्रीमा नियुक्त हुनअघि उनी अमेरिकाका लागि चिनियाँ राजदूत थिए । विश्लेषकहरु उनी राष्ट्रपति सीको विश्वासपात्र भएको बताउँछन् । सन् २०१४ देखि २०१८ सम्म उनी शिष्टाचारको प्रमुख रहेका थिए र सीका विदेश भ्रमणमा संलग्न हुने गरेका थिए । यसै वर्ष ५६ वर्ष पुगेका चिन चिनियाँ नेताहरुमध्ये सबैभन्दा कान्छा सदस्य हुन् । कतिपयले विदेशमन्त्रीलाई स्टेट काउन्सिलर बनाउने गरी संरचनागत परिवर्तन हुनसक्ने पनि बताएका छन् ।

लि साङफु स्टेट काउन्सिलर तथा रक्षामन्त्री

चीनका नवनियुक्त रक्षामन्त्री लि साङफु २०१८ देखि अमेरिकाको प्रतिबन्धित व्यक्तिको सूचीमा रहेका छन् । चीनले रुसबाट लडाकु विमान र उपकरण किनेपछि अमेरिकाले लि साङफुमाथि प्रतिबन्ध घोषणा गरेको थियो । लिले चिनियाँ सेनाको अन्तरीक्ष कार्यक्रमको पनि जिम्मेवारी सम्हाल्दै आएका थिए । अमेरिकासँग तनाव बढ्दै गएको समयमा चीनले रक्षामन्त्रीमा लिलाई गरेको नियुक्तिले संवादको सम्भावना कम हुने पनि बताइन्छ ।

यी काङ - केन्द्रीय बैंकको गभर्नर

यी काङको केन्द्रीय बैंकको गभर्नरको रुपमा दोस्रो कार्यकाल हो । ५ वर्षअघि पनि उनी नियुक्त भएका थिए । धेरैले मन्त्रिपरिषद पुनर्गठनमा उनी फालिने धेरैले अनुमान गरेका थिए । यीले अमेरिकामा अध्ययन गरेका हुन् । उनले इलिनोए विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । प्राध्यापकका रुपमा इन्डियाना र प्रड्यु विश्वविद्यालयमा अध्यापन गरेका थिए । उनी सन् १९९० देखि केन्द्रीय बैंकमा काम गर्दै आएका छन् । उनी सन् २०१८ मा केन्द्रीय बैंकको गभर्नरमा नियुक्त भएका थिए । राष्ट्रपति सीले विश्वास गरेकै कारण उनको कार्यकाल दोहोरिएको बताइन्छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित