खुँखार डाँकुहुँदै क्रुर लडाकु बनेका रुसको वागनर समूहका नाइके प्रिगोजिन चडेको विमान कसले खसाल्यो ?

खुँखार डाँकुहुँदै क्रुर लडाकु बनेका   रुसको वागनर समूहका नाइके प्रिगोजिन चडेको विमान कसले खसाल्यो ?
www.europenepalikhabar.com २०८० भाद्र ७ गते बिहीबार, 24-08-2023


रुसले पालेको लडाकु दस्ता वागनर समूहका कमाण्डर हुन् येवगेनी प्रिगोजिन । उनको विगत र वर्तमान खुंखार छ ।

विगतमा क्रुर डाँकु उनी वर्तमानमा क्रुर लडाकु थिए । मस्कोले युक्रेन हान्न खटाएका भाडाका लडाकु समूहका कमाण्डर प्रिगोजिनले गत मस्कोनै हल्लाउन खोज्ने दुस्साहस गरेका थिए । वागनर समूहले मस्कोमा सशस्त्र हमला गरेको थियो ।

पुटिनको निकट भएर उनलाई नै चुनौती दिएका प्रिगोजिनको हवाइ दुर्घटनामा निधन भएको छ । रुसको तेवेर सहरमा उनी सवार जहाज दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यो दुर्घटनालाई लिएर विभिन्न अड्कलबाजीहरु भएका छन् ।

बीबीसी मोनिटरिङ्ग रुसका सम्पादक विटाली शेवचेन्कोले आफूसँग केही प्रत्यक्षदर्शी हुँ भन्नेले विमानलाई खसालिएको दाबी गरेको बताएका छन् । तर उनीहरुको भनाइलाई पुष्टि गर्ने प्रमाण भने फेला परेको छैन ।

को हुन् त प्रिगोजिन ?

सन् १९६१ मा रूसको पिटर्सबर्गमा जन्मिएका थिए  येवगेनी प्रिगोजिन । २० को दशकको अधिकांश उमेर उनले जेलमै विताए । क्रुर डकैतीका कारण उनी पटक-पटक जेल परेका थिए । सोभियत युनियनको अन्त्यको अवधितिर उनले फास्टफुड रेस्टुरेन्ट खोले । विस्तारै उनले चेन सुपरमार्केट र रेस्टुरेन्ट चलाए । व्यापारी भएपछि उनले प्रभावशाली व्यक्तिसँग साँठगाँठ बनाए । त्यसमध्ये एक थिए पुटिन ।

एक दशकसम्म उनले हाइप्रोफाइलका क्याटरिङ चलाए । उनले वेलायती राजकुमार चार्ल्सका साथै अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुससम्मलाई क्याटरिङ सेवा दिएका थिए । सरकारी र उच्चपदस्थबाट क्याटरिङ सम्बन्धी ठेक्का लिएर उनले राम्रै सम्पत्ति कमाए ।

पुटिनसँग सन् २०१४  प्रिगोजिन निकट भएका थिए । त्यसबखत प्रिगोजिनले लडाकु दस्ता खडा गरे वागनर समूह । उसकै सहयोगमा त्यहाँ सशक्त सैन्य हस्तक्षेप भएको थियो । पुटिनलाई सहयोग गरिरहेको वागनर कहिल्यै पनि कमजोर भएको छैन ।

वागनरले रूसका लागि अफ्रिका, मध्यपूर्वपछि युक्रेनमा लडेको छ । सिरियामा बसर-अल असदको सत्ता जोगाउनका लागि वागनरनै लडेको थियो । वागनरले कुनै पनि युद्ध कानुन मान्दैन । उनीहरू धेरैनै आक्रामक र हिंस्रक ढंगबाट लड्दै विपक्षीलाई हायलकायल पार्छन् । आफ्नो लक्ष्य पूरा गर्नका लागि आफ्नो समूहका सदस्य गुमाउन पनि उनीहरू पछि पर्देनन् । वागनर असाध्यै खुंकार र सीपले पोख्त लडाकुमा गणना हुन्छ ।

बख्मुत आक्रमणका लागि पठाएको हुनाले वागनरसँग असाध्यै अत्याधुनिक हतियार र बख्तरबन्द सवारीसाधन छन् । वागरनको लडाकु सदस्यप्रति प्रिगोजिन निकै संवेदनशील थिए । युक्रेनको लडाइँमा अग्रपंक्तिमा रहेको वागनरलाई रुसको रक्षामन्त्रालयले पर्याप्त हतियार उपलब्ध नगराउँदा आफ्ना धेरै सदस्य मारिएको भन्दै त्यसको मूल्य रुसले चुकाउनुपर्ने उनले चेतावनी दिएका थिए ।

मस्को लक्षित आक्रमणको दौरान रक्षा मन्त्री सर्गेइ लाभ्रोभलाई ललकार्दै प्रिगोजिनले भनेका थिए,’मेरा लडाकु तिमीहरुले हतियार नदिएको कारण मरे । रुसको लागि  म निकै लडेँ अब मेरो लडाकुको अधिकारका निम्ति लड्दैछु । लडाइँ मैदानको अग्रभूमिमा खटाएर हतियार नदिने रक्षा मन्त्रीको हत्या बाहेक वागर समूहको अर्को उद्देश्य छैन ।’

वागर समूहको आक्रमण २४ घण्टामै साम्य भएको थियो । बेलारुसका राष्ट्रपति अलेक्सजेण्डर लुकासेन्कोको मध्यस्थतामा प्रिगोजिन र पुटिनबीच वार्ता समेत भएको थियो । केही समय निर्वासनपछि प्रिगोजिन मध्ये अफ्रिकातिर पुगेका थिए । गत साता त्यहाँबाट भिडिओ सार्वजनिक गर्दै उनले रुसलाई बलियो बनाउनका लागि अझै लड्ने बताएका थिए ।

‘हामी ५० डिग्री सेल्सियस भन्दा बढीको तापक्रममा काम गरिरहेका छौं । हामीलाई विश्वास छ यो कर्मले रुसलाई यस महाद्वीपमा अझै बलियो बनाउनेछ  भने अफ्रिकालाई इस्लामिक लडाकुको प्रभावबाट मुक्त गराउँदै थप स्वतन्त्र बनाउनेछ ।’

उनको मृत्युसँगै अब वागनर समूह के होला ?

यस हवाइ दुर्घटनालाई विभिन्न कोणबाट विश्लेषण गरिएको छ । कतिपयले रूसलेनै उक्त विमान खसालेको बताएका छन् । अमेरिकी जासुरी संयन्त्र सीआईएका प्रमुख विलियम बर्नसले भनेका छन्, ‘प्रिगोजिनले पुटिनसँग बदला लिन खोजे । पहिले स्थिति साम्य पारेर अहिले पुटिनले उनीसँग बदला लिए ।’

यो घटनाको पछाडी पुटिनकै हात रहेको उनको जिकिर छ । वागनर समूहले मस्को लक्षित आक्रमण गरेसँगै त्यस लडाकु दस्तालाई युक्रेनमा कमै जिम्मेवारी दिइएको थियो । युक्रेनपछि वागनर समूह अफ्रिकाको मिसनमा केन्द्रित थियो ।

दुर्घटनामा वागनरका कमाण्डर प्रिगोजिन मात्रै नभएर सिरियामा वागनरबाट लडेका प्रभावशाली लडाकु दिमित्री उत्किन पनि परेका छन् । उनकै उक्साहटमा प्रिगोजिनले मस्को लक्षित आक्रमण थालेको बताइन्छ । वागनर समूहले आफ्नो लडाकु दस्ताबाट एक तिहाइ संख्या कटौती गरेको  थियो ।

उनको मृत्युपछि त्यस समूहलाई अरुले हाँक्नै नसक्ने टिप्पणी भइरहेको छ । पूर्व हवाइ मार्सल तथा सैन्य विश्लेषकले प्रिगोजिनको मृत्यु र वागनरको भविष्यबारे टिप्पणी गर्दै भनेका छन्, ‘प्रिगोजिनको उपस्थिति बिना वागनर समूह केही पनि होइन । प्रिगोजिनबिना वागनर दाह्रा र नंग्रा भाँच्चिएको बाघझैँ हुनेछ । अब त्यस लडाकु दस्ताको पतन हुनेछ ।’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित