नेपाली अभियन्ता हरि न्यौपाने कोपनहेगन महानगरपालिकामा चुनाव लड्दै

नेपाली अभियन्ता हरि न्यौपाने कोपनहेगन महानगरपालिकामा चुनाव लड्दै
युरोपनेपाली खबर २०७८ बैशाख २० सोमबार, 03-05-2021

 

महेशकुमार खाती, कोपनहेगन । डेनमार्कको राजधानी कोपनहेगन कम्युन (महानगर पालिका)को स्थानीय निर्वाचनमा चर्चित नेपाली अभियन्ता हरि न्यौपाने प्रतिस्पर्धा गर्दै छन् । 

आउने नोभेम्बर १६ तारिखमा हुने निर्वाचनमा लोकल पोल्टिसियन (स्थानीय नेता) पदमा उम्मेदवार बनेका हुन् । उनी सत्तारुढ सोसियल डेमोक्रेट पार्टीबाट कोपनहेगनको बिस्पबिया क्षेत्रबाट उम्मेदवार छन् ।

आइतबार कोपनहेगनमा पत्रकार सम्मेलन गरि सो बारेमा न्यौपानेले विस्तृतमा जानकारी गराए । नेपाली समुदायबाट पहिलो उम्मेदवार रहेका उनले जिताउनको लागि सबैसमक्ष अनुरोध समेत गरेका छन् । 

‘म चुनावी प्रतिस्पर्धामा होमिए, सबै नेपाली दाजुभाइ दिदी बहिनी समक्ष विजयी गराउन अनुरोध गर्दछु’ न्यौपानेले भने, ‘नेपाली समुदायको आवाज़ बोल्नका लागि पनि हामी कोही पुग्नै पर्छ ।’ उनी डेनमार्कको नेपाली समुदायका एक सक्रिय अगुवा समेत हुन् ।

कोपनहेगन महानगरपालिका भित्र १० वटा क्षेत्र छन् । जसमध्ये १ बिस्पबिया हो । कोपनहेगनभरिबाट जम्मा विजयी हुनुपर्ने ५५ जना हो । न्यौपानेको क्षेत्रबाट ५ जना मात्रै विजयी हुनेछन् । 

चुनावी प्रतिस्पर्धामा भने डेनमार्कका सबै राजनीतिक पार्टीबाट १ हजार जनाभन्दा बढी उम्मेदवार छन् । जसमध्ये १ जना न्यौपाने हुन् । विजयी हुने ५५ जनाबाट कोपनहेगन महानगर पालिकामा १ लर्ड मेयर, ६ जना मेयर र बाँकी सबै स्थानीय नेता हुने छन् ।  

‘निर्वाचन नोभेम्वर १६ मा हुने भएपनि यहाँ त अहिलेबाटै चुनाव लाग्छ, नोमिनेसन भइसक्यो,’ चुनावी तयारीको पहिलो चरणमा व्यस्त न्यौपानेले भने, ‘अहिले आन्तरिक तयारीमा पार्टी र साथी सर्कलमा इलेक्सनकै लागि खटिरहेको छु,  प्रचारप्रसारमा छु ।’ 

मार्च ७ तारिखमा उम्मेदवारहरुको अन्तिम लिष्ट आइसक्यो । डेनमार्कको सत्तारुढ सबैभन्दा ठूलो पार्टीबाट उम्मेदवार बनेकाले न्यौपाने विजयी हुने सम्भावना यसपालि धेरै छ । उनले झन्डै १ हजार मत प्राप्त गरेको खण्डमा पदमा पुग्नेछन् । कोपनहेगन निर्वाचन क्षेत्र नम्वर १ र २ का सबैले भोट हाल्न पाइन्छ । 

डेनमार्कमा स्थानीय चुनाव हरेक ४ वर्षमा हुन्छ । सन् २०१७ मा भएको स्थानीय निर्वाचनमा पनि न्यौपाने उम्मेदवार बनेका थिए । त्यतिबेला झण्डै २ सय मत नपुगेकाले न्यौपाने विजयी हुन सकेनन् । त्यतिबेला करिब ७ यस मत पाएका थिए । 

पार्टीको बिस्पबिया क्षेत्रका उपाध्यक्ष समेत रहेका न्यौपानेको नाम लिष्टको २८ नम्बरमा छ । स्थानीय चुनाबमा दुइ तरिकाले भोट हाल्न सकिने यहाँको व्यवस्था छ । पत्रमार्फत र मतदानबाट ।

कोपनहेगन क्षेत्रको १ र २ मा बस्दै आएका नेपाली तथा विदेश सबैले भोट हाल्न पाउने अधिकार छ । यो क्षेत्रमा नेपालीहरुको बाक्लो बसाई छ । आगामी नोभेम्बर १६ तारिखमा हुने चुनावमा पत्रमार्फत भोट हाल्न अक्टोबर १० तारिखदेखि खुल्ने छ । अन्तिम मतदान १६ नोभेम्वरमा हुनेछ । 

बैधानिक रुपमा जुनसुकै ‘स्ट्याटस’ मा डेनमार्क बसेका १८ वर्ष माथिका नेपाली र विदेशीले मतदानमा भाग लिन पाउनेछन् ।  सन् २००८ मा डेनमार्क आएका ४३ वर्षीय न्यौपाने चितवनका हुन् ।

‘नीति नियम पनि स्थानिय तहबाटै नै तय गरिन्छ, यसैले यसको महत्व रहन्छ,’ न्यौपानेले प्रष्ट पारे । स्थानीय नेता पदमा विजयी भएमा स्थानीय नीति निर्माण तह, संस्कृति र वातावरण संरक्षणका साथै डेनिस समाजको विकासका लागि काम गर्नुपर्ने छ ।

विजयी भएमा सेवा सुविधामा राम्रै तलब भत्ता र छुट्टै कार्यकक्ष प्राप्त हुन्छ । स्थानीय चुनावलाई डेनिस राजनीतिमा धेरै महत्वका साथ हेरिन्छ । यसमा ठूलो बजेट हुन्छ । उनले आप्रावासीको हक हितमा काम गर्ने भन्दै राजनीतिक पाइला अघि बढाएको बताए । र आप्राबासीको पक्षमा मुख्य मुद्दा बनाएर चुनावमा होमिएका हुन् । 

डेनमार्कमा करिव ५ हजार नेपालीहरु रहेको अनुमान छ । न्यौपाने उम्मेदवार बनेको क्षेत्रमा नेपालीहरुको बाक्लो बसोबास छ । धेरै नेपालीले भोट हालेमा जित्न सहज हुनेछ । 

कानुनी प्रक्रिया, भिसा समस्या र भाषामा उनले सक्दो सहयोग गर्दै आएका छन् । कोरोना महामारीको बेलामा पनि उनले सूचना आदानप्रदान र सरकारले प्रदान गरेका राहात सहयोग लगायतमा पनि राम्रो सहयोग पुर्याएको भन्दै नेपाली तथा अन्य देशका आप्रावासीले न्यौपानेको खुलेर तारिफ गर्ने गर्छन् । 

सन् २०१२ मा पार्टीको सदस्यता लिएर डेनिस भाषा राम्रो बुझ्न थालेपछि राजनीतिमा होमिएका उनी यसपछी सांसदको चुनाव हुँदै युरोपियन युनियन संसदसम्म पुग्ने उद्देश्य रहेको योजना सुनाए ।

संसारभर आप्रवासी नीतिमा कडाइ हुँदै गएको सन्दर्भमा डेनमार्कको सोसियल डेमोक्रेट्सले पनि आप्रवासीप्रतिको दृष्टिकोणमा केही साँघुरोपना अपनाउन थालेपछि खरो विरोधमा उत्रेको दाबी उनले गरे । ‘पार्टीभित्र आप्रवासीका पक्षमा खुलेर लाग्ने गरेको छु ।’ पत्रकार सम्मेलनमा उनले थपे ।

आप्रवासीको हक र हितका मुद्दा प्रमुख रुपमा उठाएका न्यौपानेले जितेमा पार्टीले विदेशीलाई हेर्ने नीति आप्रवासीमैत्री बनाउनेमा विशेष भूमिका निर्वाह गर्ने बताउछन् । विकास निर्माण, वातावरण संरक्षण, शिक्षा, स्वास्थ्य लगायतका नीति निर्माण गर्न सक्रियतापूर्वक लाग्ने उनको भनाइ छ । 

कोपनहेगनमा प्रत्येक वर्ष १० हजार भन्दा बढी व्यक्तिहरुको आगमन भएकाले भाडामा बस्ने सस्ता अपार्टमेन्ट बनाउने, सोसल कन्ट्रोलले आफ्नो बच्चा र परिवारका सदस्यहरुमा नराम्रो असर पर्ने भएकाले यसको विषयमा आफ्ना मुद्दाहरुलाई अगाडि दमदार हिसाबले अघि बढाउने योजना रहेको सुनाए ।  

नेपालीहरुको पक्षमा पनि थुप्रै काम गर्ने उनले सूची तयार पारेका छन् । जसमा नेपाली समाजका लागि एउटा साझा घर नेपाली साँस्कृतिक केन्द्र र बुद्ध पार्क बनाउन पहल गर्ने,  नेपाली दोश्रो पुस्ताको लागि विशेष योजना बनाएर अघि बढ्ने बताएका छन् । ‘शिक्षा, स्वास्थ्य लगायतमा समुदायको विकाशका लागि ल्याइएका परियोजनाहरू नेपाली समुदायतिर तान्न पनि कोसिस गर्नेछु ।’ न्यौपानेले भने ।

डेनमार्कको स्थानीय निर्वाचनमा विगतमा ६० प्रतिशतभन्दा बढी मत खस्ने गरेको इतिहास छ । संसदीय निर्वाचनमा भने ८० प्रतिशत  माथि मत खस्ने गरेको छ । 

पत्रकार सम्मेलनमा हरि जिताऊँ अभियान निर्वाचन समितिका संयोजकद्वय यमलाल सुवेदी र शिव कार्की तथा निर्वाचन म्यानेजर राजेन्द्र पौडेलको समेत उपस्थिति थियो । उनिहरुले न्यौपानेलाई यसपाली जसै गरि विजयी गराउँनको लागि आफुहरु अग्रसर भएर लागेको बताए । 

संयोजक तथा एनआरएनए डेनमार्कका पूर्व अध्यक्ष सुवेदीले आफुहरु योजना बनाएरै अभियानमा होमिएको र जित हुने दाबी गरे । अर्का संयोजक कार्कीले सबै नेपाली एकजुट भएर जिताउनुपर्ने आवश्यकता आौंल्याए । 

पौडेलले निश्चित खाका बनाइ कोपनहेगन क्षेत्रभित्र बस्ने नेपालीहरुको नामावली तयार गरी अगाडि बढिरहेको र विजयी हुनेमा ढुक्क रहेको बताए । उनीहरुले सबै नेपालीलाई सहयोगको लागि अनुरोध समेत गरे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित