ऐतिहासिक जीत संगै यूएईलाई ९ रनले हराउँदै नेपाल पुग्यो विश्वकप छनोट चरणमा

ऐतिहासिक जीत संगै यूएईलाई ९ रनले हराउँदै नेपाल पुग्यो विश्वकप छनोट चरणमा
www.europenepalikhabar.com २०७९ चैत २ गते बिहीबार, 16-03-2023

 

काठमाडौँ — आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै जित हासिल गरेको छ । ‘ब्याड लाइट’का कारण डीएल (डकवर्थ लेविस) नियमअनुसार नेपालले ९ रनको जित हासिल गरेको हो ।

बिहीबार काठमाडौंको त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले यूएईमाथि जित हासिल गरेको हो । योसँगै नेपाल विश्वकप छनोट चरणमा प्रवेश गरेको छ । बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेपछि नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाएको छ ।

कुशल भुर्तेल‚ भीम सार्की‚ आरिफ सेख र गुल्शन झाको अर्धशतकको मद्दतले नेपाल विश्वकप क्वालिफायरमा पुगेको हो ।

बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रनको लक्ष्य दिएको थियो ।

यसअघि लिग-२ कै खेलमा गत फेब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो । नेपालले उक्त खेल ८ विकेट गुमाउँदै जितेको थियो ।

त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका थिए । त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौकासहित उक्त योगफल तयार गरेका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिए । सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए । ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए ।

पछिल्लो समय नेपाल उत्कृष्ट लयमा रहेको छ । यो सँगै नेपालले खेलेका १२ खेलमध्ये ११ मा जित हात पारेको छ ।

आईसीसी विश्वकप लीग-२: यूएईविरुद्ध रोमाञ्चक जितसँगै नेपाल विश्वकप क्वालिफायरमा

अत्यन्तै रोमाञ्चक खेलमा नेपालले डक वर्थ लुइस प्रणाली (डीएलएस) को आधारमा यूएईलाई ९ रनले पराजित गरेको छ।

४४ ओभरको खेलको समाप्तिपछि खराब प्रकाशका कारण खेल सञ्चालन गर्न नसक्ने भएपछि अम्पायरद्वयले खेल सकिएको घोषणा गरेका थिए।

खेल रोकिएको बेला नेपाललाई ३६ बलमा ४२ रनको आवश्यकता थियो।

त्यतिबेला नेपाल ६ विकेटको क्षतिमा २६९ रन बनाएर खेलिरहेको थियो।

तर डीएलएसमा नेपाल अगाडि पुगिसकेको थियो।

कीर्तिपुर क्रिकेट मैदानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमध्येको यो अति रोचक खेलमा पर्दछ।

फराकिलो रन पछ्याउने क्रममा आकाश बादलले ढाकिन थालेपछि दुवै टोली डीएलएस लक्ष्य हेर्दै रणनीतिक रूपमा खेलिरहेका थिए।

बीचमा केही बेर पानीले हल्का मैदान पनि भिज्यो। तर पानी नपरेपछि खेललाई निरन्तरता दिइएको थियो।

त्यतिबेला खेल रोकिएको भए डीएलएसमा नेपाल पराजित हुने थियो।

त्यसपछि ४२औँ ओभरमा गुलशन झाले तीन चौका र एक छक्काको मदतले २० रन जोडेपछि डीएलएसमा नेपालको स्थिति एकाएक सुधारियो।

र जब खराब प्रकाशले खेल हुन सकेन। नेपालले जित हात पारिसकेको थियो।

खेल सकिएको घोषणा गर्दा यूएईका खेलाडीहरूले भने अम्पायरसँग विमति जनाएका थिए।

पछि यूएई र नेपाली टोलीका खेलाडीले हात मिलाएका थिए।

यो जितसँगै आईसीसी विश्वकप लीग-२ को तेस्रो स्थानमा उक्लिँदै नेपाली राष्ट्रिय क्रिकेट टोली विश्वकपको ग्लोबल क्वालिफायरमा सिधै छनोट भएको छ।

बिहीवार यूएईलाई एक रोमाञ्चक खेलमा पराजित गरेपछि नेपालले सो उपलब्धि हात पारेको हो।

नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा अहिलेसम्मकै उच्च स्कोर पछ्याएको हो।

यसअघि कीर्तिपुर मैदानमा एक महिनाअगाडि नेपालले नामिबियाविरुद्ध २८६ रन पछ्याएको थियो।

जितसँगै नेपालको अङ्क ४० पुगेको छ। ३९ अङ्कका साथ तेस्रो स्थानमा बसिरहेको नामिबिया भने चौथो स्थानमा रहँदै प्ले अफ क्वालिफायरमा झरेको छ।

टस जितेर पहिलो ब्याटिङ रोजेको यूएईले पूरा ओभर खेलेर ६ विकेटको क्षतिमा ३१० रन जोडेको थियो।

विशाल रन पछ्याउन आएको नेपालले खराब सुरुआत गर्‍यो। इनिङको तेस्रो बलमा नै ओपनर आशिफ शेख खाता नखोली आउट हुन पुगे।

दोस्रो बलको सामना गर्ने क्रममा अगाडि बढेर खेल्न खोज्दा उनी स्टम्पिङ हुन पुगेका थिए। उनको स्थानमा आएका कुशल मल्ल पनि दोस्रो ओभरको तेस्रो बलमा आउट भए।

पाँच बलको सामना गरेका उनले एक चौकाको मद्दतमा ५ रन मात्र बनाउन सके। त्यसपछि गहन जिम्मेवारीका साथ कप्तान रोहित पौडेल इनिङ सम्हाल्न आएका थिए।

तर उनी पनि लामो समय टिक्न सकेनन्। सातौँ ओभरमा उनी १६ रन बनाएर पवेलियन फर्किए। यति बेला नेपालले ३७ रनमा तीन खेलाडी गुमाइसकेको थियो।

त्यसपछि भीम सार्कीले महत्त्वपूर्ण रूपमा ६७ रन जोडेर नेपाली पारी उकासेका थिए। जुनेद सिद्दीकीको बलमा एलबीडब्लू आउट हुनुअगाडि उनले नौ चौका प्रहार गरे।

सार्कीले आरिफ शेखसँग मिलेर पाँचौँ विकेटका लागि ८३ रनको साझेदारी गरे। धैर्यपूर्ण रूपमा क्रिजमा टिकेका आरिफले अर्ध शतक पूरा गरे।

वर्षाका कारण डक वर्थ लुइसको लक्ष्य पूरा गर्ने क्रममा ठूलो शट् खेल्दा उनी ५२ रनमा आउट भएका थिए।

यूएईको समेत शानदार ब्याटिङ

बिहीवार नेपालका लागि ३१० रनको लक्ष्य प्रस्तुत गरेको यूएईलाई चार दिनअगाडि मात्र नेपालले यही मैदानमा यूएईलाई ७१ रनमा अल आउट गरेको थियो।

जुन यूएईको इतिहासको दोस्रो न्यून स्कोर थियो।

कीर्तिपुर मैदानमा खचाखच भरिएको दर्शकहरू माझ यूएईका खेलाडीहरूले छक्काको वर्षा नै गरे।

५० ओभरमा यूएईका खेलाडीहरूले कुल १९ छक्का प्रहार गरेका थिए।

आसिफ खानले ४१ बलमा शतक प्रहार गरे। जुन घरेलु मैदानबाहिर सबैभन्दा कम बलमा बनेको शतकको कीर्तिमान हो।

उनी सर्वाधिक छिटो शतक हान्ने चौथा खेलाडी पनि बने।

१०१ रन बनाएका खान एक्लैले ११ छक्का प्रहार गरे। जसमा उनले सन्दीप लामिछानेलाई एक ओभरमा लगातार ४ छक्का प्रहार गरेका थिए।

ओपनरका रूपमा आएका वृत्य अरविन्द अन्तिम बलसम्म खेले। अन्तिम बलमा शतक हान्ने धुनमा उनी ९४ रनमा आउट भएका थिए।

त्यसअघि कप्तान मोहम्मद वासिमले ६३ रनको पारी खेलेका थिए।

खेलको दोस्रो ओभरको पाँचौँ बलमा स्पिनर ललित नारायण राजवंशीले आर्यन लाक्राको विकेट लिँदै नेपाललाई गतिलो सुरुआत दिलाएका थिए।

त्यसपछि कप्तान मोहम्मद वासिम र भ्रित्या अरविन्दले सम्हालिएर ब्याटिङ गर्दै आफ्नो टोलीलाई स्थिर बनाए।

यी दुईले मिलेर दोस्रो विकेटका लागि ७९ रनको बलियो साझेदारी गरेका थिए। उक्त साझेदारीलाई सन्दीप लामिछानेले तोडे।

लामिछानेले ६३ रन बनाएर आक्रामक पारी खेल्दै गरेका वासिमलाई एलबीडब्लूको धरापमा पारेका थिए। वासिमले ६ छक्का प्रहार गर्न भ्याए। त्यसपछि सीपी रिजवान ७ रनमा रन आउट भए।

यूएईका अर्का भरपर्दा खेलाडी आयान खान दीपेन्द्र सिंह ऐरीको बलमा क्याच आउट भएका थिए। उक्त क्याच गुलशन झाले लिएका थिए।

नेपालमा निकै चर्चा कमाइरहेका रोहन मुस्तफा (२० रन)लाई पनि ऐरीले नै एलबीडब्लूको सिकार बनाएका थिए।

तर अर्को एन्डमा अरविन्दले पारीलाई निरन्तर सम्हालिरहे भने उनलाई आसिफ खानले दरिलो साथ दिए।

यी दुईले छैटौँ विकेटका लागि १३५ रनको शानदार साझेदारी गरेका थिए।

अरविन्दले आठ चौका र दुई छक्का प्रहार गरे। सोमपाल कामीले गरेको बलमा छक्का प्रहार गर्न खोज्दा दीपेन्द्र सिंह ऐरीले अरविन्दलाई क्याच आउट गर्न सहयोगी भूमिका निर्वाह गरेका थिए।

नेपालका लागि लामिछाने सबैभन्दा महँगो बलर साबित भए। १० ओभर बलिङ गर्दा उनले ८० रन खाए। उनीपछि सोमपाल कामीले नौ ओभरमा ७४ रन खाएका थिए।

नेपालले टोलीमा कुनै परिवर्तन गरेको थिएन। अघिल्लो खेलमा जस्तै ज्ञानेन्द्र मल्ल, करण केसी र प्रतिश जिसी टिममा समावेश गरिएको थिएन।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित