पोर्चुगलमा बुद्ध जयन्ती भव्यरूपमा मनाउन महाबाणिज्य दूतावासको संयोजकत्वमा मूलसमिति र अन्य विभिन्न उपसमिति गठन

पोर्चुगलमा बुद्ध जयन्ती भव्यरूपमा मनाउन महाबाणिज्य दूतावासको संयोजकत्वमा मूलसमिति र अन्य विभिन्न उपसमिति गठन
www.europenepalikhabar.com २०८१ बैशाख ११ गते मंगलबार, 23- 04-2024


युरोपनेपाली खबर, २३ अप्रिल,लिस्वन । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित भगवान् गौतम बुद्धको २५६८ औँ जयन्ती पोर्चुगलमा आगामी जेठ १०(मे २३ तारिख) गते बिहीबार धुमधामका साथ मनाउने तयारी थालिएको छ । पोर्चुगलस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावास आयोजक र गैरआवासीय नेपाली संघ, आदिवासी जनजाति महासंघ तथा नेप्लीज वुमेन एसोसिएसन सह-आयोजक रहेर सो कार्यक्रम गर्न लागिएको हो । 

मंगलबार अवैतनिक नेपाली महाबाणिज्य दूत मकरबहादुर हमालको संयोजकत्वमा बसेको बैठकले यसपटक विशेष कार्यक्रम गरी बुद्धजयन्ती मनाउने निर्णय गरेको छ । बैठकले मुख्य आयोजकमा महाबाणिज्य दूतावास र यहाँस्थित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, आदिवासी जनजाति महासंघ र नेप्लिज वोमन एशोसिएशनलाई सह–आयोजक रहने गरि निर्णय गरेको छ ।

यस्तै पोर्चुगलमा रहेका सबै संघ-संस्था, बैचारिक संघ संगठन सबै सदस्य रहने गरी मूल आयोजक समिति गठन भएको जनाइएको छ । 

बैठकले बुद्धजयन्तीको दिन पूजा व्यवस्थानका लागि जनजाति महासंघलाई जिम्मा दिएको छ भने साँस्कृतिक एवं भेषभूषा लगायतको संयोजन गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलले गर्नेछ । यसैगरी प्रचारप्रसार संयोजन लागि एनआरएनए आइसिसी सदस्य तथा संचारकर्मी समेत रहेका राजकुमार थापालाई तोकेको छ । यस्तै कार्यक्रमलाई भव्य र सभ्य बनाउका लागि जनपरिचालनको जिम्मा सबै बैचारिक संगठनहरुलाई दिइएको छ । बैठकले फलफूल एवं पानी व्यवस्थापनको जिम्मा नेप्लिज वोमन एशोसिएशनलाई दिएको छ । 

विश्व शान्तिका अग्रदूत गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले ‘त्रि–संयोग दिवस’ का नामले महत्वपूर्ण दिनका रूपमा पनि लिने गरेका छन् । यसैले पनि सो दिन प्रासा दि कमर्सियलबाट र्‍याली सुरु भई रोसियोको भित्री सडक र रेष्टुरादोरेस हुँदै मार्टिममुनिजमा आएर कोणसभामा परिणत कार्यतालिका रहेको महाबाणिज्य दूतावासले जनाएको छ । 

विश्व जगतमा शान्तिका अग्रदूत र एसियाका ताराका रूपमा भगवान गौतम बुद्धलाई चिनिएको भन्दै महाबाणिज्यदूत मकरबहादुर हमालले हामीले बुद्ध नेपालमा जन्मिएको सत्यलाई विदेशीमाझ छर्लङ्ग पार्नुपर्नेमा जोड दिनुभयो । ‘बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिनुभएको छ । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रूप धारण गरेको छ ।’ उहाँले भन्नुभयो, ‘यो नै नेपाल र हामी नेपालीको पहिचान हो ।’ उहाँले कार्यक्रममा सहभागि भएर सहयोग गर्न सबै नेपाली समुदायमा आग्रह गर्नुभएको छ । यस्तै आदिवासी जनजाति महासंघका उपाध्यक्ष सोनम योञ्जन लामाले पनि गौतम बुद्धले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको बताउनुभयो । उता एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले पनि बुद्ध राष्ट्रिय विभूती भएकोले कार्यक्रम सफल बनाउन सबैको उत्तिकै भूमिका रहेको जोड दिए । 

बैठकमा सहभागीहरुले ‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’ भन्दै यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६८ औँ जयन्तीमा विश्व शान्तिको कामना गर्दै धुमधामका साथ मनाउनुपर्नेमा जोड दिएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित