यसरी बिक्री भइरहेका छन् ट्रम्पका मुर्ति, मेक योर कम्पनी ग्रेट अगेन

यसरी बिक्री भइरहेका छन्  ट्रम्पका मुर्ति, मेक योर कम्पनी ग्रेट अगेन
युरोपनेपाली खबर २०७७ फागुन २८ शुक्रबार, 12-03-2021


एजेन्सी । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइटहाउस छोडेको दुई महिना हुन थाल्यो। राष्ट्रपति भवनबाट बाहिरिएपछि स्वभाविक रूपमा उनी विश्व राजनीतिको दृश्यमा छैनन्।

तर चिनियाँ नागरिकमा भने उनको क्रेज अझै सकिएको छैन। राष्ट्रपति हुँदा ट्रम्पले चीनसँग व्यापार युद्ध छेडेका थिए जुन अहिले पनि जारी छ। 

चिनियाँहरू तिनै ट्रम्पको मूर्ति अहिले सयौं डलर तिरेर किनिरेहका छन्।

साउथ चाइना मर्निङ पोष्ट समाचार पत्रका अनुसार भगवान बुद्ध बसेको जसरी बसेको ट्रम्पको मूर्तिको अहिले चिनियाँ अनलाइन बजारमा चर्चा चुलिएको छ।

ताओवाओ भन्ने अनलाइन सपिङ प्लेटफर्ममा यस्ता मूर्तिहरू बिक्रीका लागि राखिएका छन्। ट्रम्पका मूर्तिको डिस्क्रिप्सनमा लेखिएको हुन्छ- मेक योर कम्पनी ग्रेट अगेन अर्थात् तपाईंको कम्पनीलाई फेरि महान बनाउनुस्।

सियामेनमा रहेको एक फर्निचर बनाउने कम्पनीले ट्रम्पको मूर्ति बिक्रीमा राखेको हो।

सेरामिक्सबाट बनेको उक्त मूर्तिमा ट्रम्प शान्त मुद्रामा दुबै हात काखमा राखेर बसेका छन्। मूर्तिको बिक्री डिस्क्रिप्सनमा 'ट्रम्प, जसले बुद्धिज्मलाई अरूले भन्दा राम्ररी जानेका छन्' पनि लेखिएको छ।  

ट्रम्पसँग सम्बन्धित सामानहरू बेच्ने चिनियाँ अनलाइन कम्पनीहरूका लागि यो नयाँ सामान हो। यसअघ ट्रम्पको ट्वाइलेट ब्रसले बिक्रीमा रेकर्ड राखेको थियो।

ग्लोबल टाइम्सले ट्रम्पका यस्ता मूर्ति बेच्न राख्ने एक जनासँग कुरा गरेको थियो। उनले ट्रम्पको 'मेक अमेरिका ग्रेट अगेन' भन्ने नारा र 'मैले सबैकुरा अरूले भन्दा धेरै जानेको छु' भन्ने दाबी सुनेर यस्तो मूर्ति बनाउने सोच आएको बताएका छन्।

'धेरै मानिसले रमाइलोका लागि यो मूर्ति किनिरहेका छन्,’ उनले भने,‘मैले एक सय वटा मूर्ति बेच्न राखेको थिएँ तर अहिले धेरै नै अर्डर आइरहेको छ।’

ट्रम्पका मूर्ति दुई प्रकारका छन्। पाँच फिटको मूर्तिलाई १५३ डलर पर्छ भने  १४ फिट अग्लो मूर्तिलाई ६१३ डलर तिर्नुपर्छ।

बेइजिङमा निर्माण कम्पनी चलाउने ली गुवाछिङले पनि सानो आकारको ट्रम्पको मूर्ति मगाएका  छन्।

'मैले सोचें यो अफिसमा राख्ने सबैभन्दा हाँसो उठ्ने चिज हो। म ट्रम्पको फ्यान होइन तर त्यो मूर्तिमा उनी साँच्चै शान्त देखिन्छन्,' उनले भने,‘मैले यसलाई राख्ने ठाउँ पनि बनाइसकेको छु। के थाहा उनले मेरो कम्पनीलाई फेरि महान बनाई पो दिन्छन् कि!'

सांघाईका एक जना अर्का खरिदकर्ताले ट्रम्पबाट शिक्षा लिन उनको मूर्ति राखेको बताए।

'ट्रम्पलाई एउटा युग र अत्याधिक अहमको प्रतिनिधि मान्न सकिन्छ,’ उनले भने,'अहिले त्यो युग छैन तर यो मूर्तिले मलाई धेरै ट्रम्पजस्तो बन्नुहुन्न भनेर सम्झाउने छ।'

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित