क्रिप्टोकरेन्सी र हाइपर फण्ड लगायतका नेटवर्किङ कारोबार गरे नीजि बैंकले पनि कारबाही गर्ने : बैंकर्स संघ

क्रिप्टोकरेन्सी र हाइपर फण्ड लगायतका नेटवर्किङ कारोबार गरे नीजि बैंकले पनि कारबाही गर्ने  : बैंकर्स संघ
www.europenepalikhabar.com २०७८ माघ १२ गते बुधबार, 26-01-2022


काठमाडौँ — क्रिप्टोकरेन्सी/भर्चुअल करेन्सी र हाइपर फण्ड लगायतका नेटवर्किङ मार्केटिङ कारोबार नगर्न, नगराउन बैंकर्स संघले आग्रह गरेको छ । बुधबार एक सूचना जारी गरेर संघले नेपालभित्र बस्ने नेपाली र विदेशीले मात्र नभई विदेशमा बस्ने नेपालीले पनि त्यस्तो कारोबार गर्न नहुने स्पष्ट पारेको छ । गत आइतबार राष्ट्र बैंकले जारी गरेको सूचनाका आधारमा संघले बुधबार उक्त सूचना निकालेको हो ।

यस्तो कारोबार गैर कानुनी हुनुका साथै सर्वसाधारण ठगिने र अवैधानिक तरिकाले पुँजी पलायन हुने भएकाले सचेत बन्न संघले सबैलाई आग्रह गरेको छ । ‘नेपालमा विदेशी विनिमय वा मुद्राका रुपमा क्रिप्टो/भर्चुअल करेन्सीले मान्यता नपाएको सन्दर्भमा क्रिप्टो/भर्चुअल तथा नेटर्वक मार्केटिङ्ग लगायतका गैरकानूनी वित्तीय औजारमा आवद्ध भई कारोबार गर्दा सर्वसाधारण ठगिने, अवैधानिक तरिकाले रकम बाहिरिई स्वदेशी पुँजी पलायन हुने सम्भावना रहन्छ,’ संघको सूचनामा भनिएको छ, ‘त्यस्ता कारोबार तथा व्यवसायमा संलग्न भई नेपालभित्र बसोबास गर्ने नेपाली तथा विदेशी नागरिक र विदेशमा बस्ने नेपाली नागरिक समेतले त्यस्तो कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही हुने व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।’

राष्ट्र बैंकले गत आइतबार सूचना जारी गरेर विदेशमा रहेका नेपाली र नेपालमा बसोबास गर्ने विदेशीले समेत क्रिप्टोकरेन्सीको कारोबारमा गर्न नपाउने निर्देशन दिएको थियो । राष्ट्र बैंकले गत भदौमा निर्देशन जारी गरेर नेपालमा क्रिप्टोकरेन्सीका कारोबार, प्रयोग र माइनिङजस्ता कार्य नगर्न नगराउन निर्देशन दिएको थियो । उक्त निर्देशन विदेशमा बस्ने नेपाली र नेपालमा बसोबास गर्ने विदेशीको सम्बन्धमा मौन थियो । अहिले विदेशमा बस्ने नेपाली र नेपालमा बस्ने विदेशीले पनि क्रिप्टोकरेन्सी कारोबारमा संलग्न हुन नपाउने र त्यस्तो कारोबार गैरकानुनी भएको राष्ट्र बैंकले प्रस्ट्याएको छ ।

राष्ट्र बैंकले २०७४ साउन ३० मा निर्देशन जारी गरेर नेपालमा बिटक्वाइनको कारोबारमा बन्देज गरेको थियो । पछिल्ला वर्षमा बिटक्वाइनजस्तै प्रकृतिका अन्य धेरै करेन्सीको विभिन्न नाममा कारोबार भइरहेका छन् । सोही कारण त्यस्ता प्रकृतिका सबै करेन्सीको कारोबारमा बन्देज लगाइएको सूचनामा उल्लेख छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को व्यवस्थाबमोजिम भन्दै राष्ट्र बैंकले यसअघि नेपालमा सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र निर्माण (माइनिङ) कार्य नगर्नु/नगराउनुहुन राष्ट्र बैंकले सो निर्देशन जारी गरेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित