एनआरएनएको उद्दारमा साउदीबाट अर्धचेत अवस्थामा फर्किएका प्रकाशले पाए नयाँ जीवन (भिडियो रिपोर्टसहित)

एनआरएनएको उद्दारमा साउदीबाट अर्धचेत अवस्थामा फर्किएका प्रकाशले पाए नयाँ जीवन (भिडियो रिपोर्टसहित)
www.europenepalikhabar.com २०७८ फागुन ८ गते आइतबार, 20-02-2022


महानहमीको दिन अर्थात २०७७ कार्तिक ९ गते । त्रिभुवन विमानस्थलमा एक सहयोगीसहित अर्धचेत अवस्थामा आएका थिए झापा विर्तामोडका प्रकाश गुरुङ । साउदी अरवबाट ह्वील चियरमा आएका प्रकाशको स्वास्थ्य एकदमै कमजोर थियो । टाउको उठाउनसमेत नसक्ने अवस्थामा रहेका प्रकाशका दुवै आँखा बन्द थिए । लामो समय कोमामा पुगेका प्रकाश सास मात्र बोकेर स्वदेश आएका थिए ।

उनै प्रकाश गुरुङको अहिले स्वास्थ्यमा चमत्कारिक सुधार आएको छ । उनी अहिले आफै हिडडुल गर्न सक्छन् । आफै खान सक्छन् अनि अरुका कुरा सुनेर मन्द मुस्कान छर्दछन् । उनको यो हाँसो सबैका लागि उर्जा बनेको छ ।

प्रकाश घर आइपुगेपछि परिवारको मायारुपी ओखतिले काम गर्न थाल्यो । मानसिकरुपमा उनी दरिलो बन्दै गए । घरेलु तथा अन्य उपचारले उनलार्ई आफ्नो काम आफै गर्न सक्ने बनाएको छ ।

घरमा बुवा,आमा, भाईबुहारी तथा दिदिको प्रत्यक्ष माया पाइरहेका प्रकाशको पुरा बोलि भने अझै आइसकेको छैन ।

इच्छालाल र विष्णुमाया गुरुङको साइलो छोरा हुन् ३९ बर्षका प्रकाश । ७५ बर्ष पुगेका इच्छालाल आफै बिरामी छन् तर छोराको स्वास्थ्यमा आएको सुधारले भने मख्ख छन् ।

‘आउँदा सास मात्र आइपुगेको थियो, हातखुट्टा हड्डी र छाला मात्र लिएर आएको मान्छे अहिले यत्तिको राम्रो भएको छ । त्यतिबेला पानीसम्म नखाने मान्छे लिएर आएको बाँच्छ भन्ने पनि आश राखेका थिएनौ । भगवान् भरोसा छोडिदिएका थियौ । दवाई ,पानी आयुर्वेदिक गरेर बिस्तारै हिड्ने डुल्ने भएको छ’ इच्छालाल खुशी व्यक्त गर्दछन् । पहिला देख्दा सास मात्र थियो, बाँच्लाजस्तो पनि लागेको थिएन तर अहिले हिड्न सक्ने भयो’ उनी खुशी व्यक्त गर्दछन् ।

आमा विष्णुमाया छोराको औधी माया गर्दछिन् । समयमा औषधी खुवाउन होस् या उनको साहारामा आमा २४ घण्टा तैनाथ हुन्छिन् । उही छोरो सुम्सुम्याएर बस्छिन् । आमा भन्छिन्–‘छोरालाई त्यस्तो अवस्थामा देख्दा हेर्नै सकिनँ, अहिले पहिलाको भन्दा धेरै राम्रो भयो, हामीले उपचार ग¥यौ, अहिले यतिको हुँदा खुशी लाग्छ ।’

प्रकाश वैदेशिक रोजगारका लागि ९ बर्ष अगाडि साउदी अरव गएका थिए । गएको केही बर्षदेखि नै उनी घरपरिवारसँग सम्पर्कबिहीन भए । प्रकाश कसरी यो अवस्थामा आइपुगे भन्नेबारे परिवारले उनी आउनुभन्दा एक साताअघि मात्रै थाहा पाएका थिए ।

इच्छालाल भन्छन्–‘छोरा सम्पर्कविहीन भएको ९ वर्ष भएको थियो, हामीले माया मारिसकेका थियौ तर धेरै खोजी गरेपछि अस्पतालमा भएको थाहा भयो, कति वर्ष देखि अस्पताल बस्यो, किन बस्यो केही थाहा छैन ।’

प्रकाशले साउदी गएको एक बर्षपछि कम्पनी छोडेर काम गर्न थाले । बिरामी भएपछि भने उनको सम्पर्क सबैसँग टुट्यो । परिवारले प्रकाशको खोजी गरिरहयो तर उनी भेटिएनन् ।

‘साउदीमा रहेका आफन्तले धेरै खोज्नुभयो तर भेट्न सकिएन’ प्रकाशका भाई सन्तोष भन्छन्–‘हामीले त माया मारिसकेका थियौ कतै आफै आउँछ कि भन्ने झिनो आशा चै थियो, दाई साउदी गएको ९ बर्षपछि घर आयो ।’

प्रकाशको परिवारको खोजीमा नेपाली दूतावास साउदी अरवले पनि धेरै प्रयास ग¥यो । अन्नत प्रकाश अस्पतालमा भेटिए त्यो पनि अर्धचेत अवस्थामा । अस्पतालले डिस्चार्ज गरेर पठाउन ताकेता गरेपछि भने प्रकाश दूतावासको आग्रहमा गैरआवासीय नेपाली संघ (एनआरएनए) मार्फत स्वदेश आउन सफल भए ।

जव एनआरएनएले उद्धार गरी घर पु-यायो

साउदीको अस्पतालमा प्रकाश बर्षौ बस्दा उनलाई पठाउनका लागि नेपाली दूतावासमा तोकेता भइरहेको थियो । जव प्रकाशको परिवार दूतावासको सम्पर्कमा आयो अनि दूतावासले एनआरएनएलाई घरसम्म पु¥याउनका लागि सहयोग गर्न अनुरोध ग¥यो ।

एनआरएनएले कोभिड १९ आप्रवासी कामदार : राहत तथा घरफिर्ती कार्यक्रम अन्तर्गत प्रकाशलाई परिवारसम्म पु¥याउन सहयोग ग¥यो । एनआरएनएले साउदीदेखि काठमाडौं र काठमाडौंदेखि भद्रपुरसम्मको हवाई टिकट, ह्विलचियरलगायतको प्रबन्ध गरेपछि उनी घर पुग्न सफल भएका हुन् ।

प्रकाशलाई लिन उनका मामाको छोरा सविन गुरुङ र एक दाई काठमाडौं आएका थिए । ‘ हामी गाडी रिर्जब गरेर एयरपोर्टमा लिन गएका थियौ, तर प्रकाश धेरै विरामी भएकाले एनआरएनएले झापासम्म प्लेन टिकट काटेर पठाइदियो’ सविनले भने ।

सात समुन्द्र पारि रहेको छोरालाई एनआरएनएले सहयोग नगरेको भए प्रकाश बाँच्ने नै थिएनन् वा भेट्न पनि पाइने थिएन भन्ने आंकलन परिवारको छ । ‘एनआरएनए संस्था नभएको भए सायद छोरा घरसम्म आइपुग्ने थिएन, हामी ल्याउन सक्दैन थियौ, सात समुन्द्रपारी भनेको हामीले सम्झिने मात्रै कुरो हो’ प्रकाशका बुवा इच्छालाल भन्छन्–‘ एनआरएनएलाई धेरै धेरै धन्यवाद, उहाँहरुले चिताएको सबै पुरा होस् ।’

प्रकाशलाई स्वदेशसम्म ल्याउनका लागि एनआरएनए साउदी अरव तथा एनआरएनएका स्वमसेवकहरुले सहयोग गरेका छन् । प्रकाशको सहयोगमा लाग्ने एनआरएनए तथा अन्य सहयोगीलाई परिवारले मुक्त कण्ठले प्रसंसा गरेको छ ।

एनआरएनएले कोभिड १९ आप्रवासी कामदार : राहत तथा घरफिर्ती कार्यक्रम अन्तर्गत प्रकाशजस्ता २५ हजारभन्दा बढिलाई प्रत्यक्ष सहयोग गरेको छ । एनआरएनए आइसीसी उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा. बद्री केसीले प्रकाशको सहयोग एउटा उदाहरण मात्र भएको बताउँदै कोही पनि नेपाली विदेशमा समस्यामा परेर फस्नु नपरेको दावी गरेका छन् ।

प्रकाशजस्ता विरामी भएर स्वदेश फर्किएकाहरुका लागि अव पुनःएकीकरण र पुनस्थापनाको काम गर्न जरुरी छ । एनआरएनएले अव पुनएकीककरणका क्षेत्रमा काम गर्ने डा केसीको भनाई छ ।

प्रकाशको भविष्यको चिन्ता

प्रकाशका आमाबुवा आफ्नो छोराको भविष्य प्रति चिन्ता ब्यक्त गर्दछन् । छोरो राम्रोसँग बोल्न सकोस् र बाँचुञ्जेल उसका लागि कुनै प्रकारको समस्या नपरोस् भन्ने आमाबुवाको चाहाना छ । .अविवाहित प्रकाशले राम्रोसँग बोल्न सके र कुनैप्रकारको दुःख नपाए बुवाआमा त्यसै खुशी हुने थिए ।


‘हामी त बुढेसकाल भयौ अव छोरालाई कसैले हेरिदियोस् भन्ने मन छ, सरकारले वा अन्य संघसंस्थाले छोरा बाँचुञ्जेल केहि गरिदियोस भन्ने आशा राखेका छौ’ इच्छालालको भने ।

एनआरएनएले प्रकाशजस्ता विदेशमा विरामी तथा समस्यामा परेका नेपाली स्वदेश फर्काउने मात्र नभएर अव उनीहरुको जीवनभरमा सहयोग पु¥याउने कार्यक्रम ल्याउन जरुरी छ तव मात्र स्वदेश फर्किएका प्रकाशहरु जस्ताको आर्शिवाद लाग्नेछ ।

हेर्नुहोस भिडियो


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित