मन-मुटुमा सधैं नेपाल सजाउने नेपालीको पहिचान खोइ ?

मन-मुटुमा सधैं नेपाल सजाउने नेपालीको पहिचान खोइ ?
तस्बिर -लेखक रामशरण सिंखडा
www.europenepalikhabar.com २०७९ असोज ५ गते बुधबार, 21-09-2022


 - रामशरण सिम्खडा

प्रसंग केही हप्ताअघि गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रको बैंकक् सम्मेलनको दोस्रो दिनको हो।

सम्मेलन सत्रको करिब उत्तरार्धतिर स्थापित संचारकर्मी तथा कार्यक्रम प्रस्तोता भूषण दाहालले आफ्नो मौलिक शैली र मिश्रित अंग्रेजी नेपाली भाषामा सोध्नुभो- ‘… आई डन्ट वान्ट टु डिरेल दिस सिजन, नाउ आई वान्ट टु लिसन द लेडी हु इज बर्न इन दिस ल्यान्ड एन्ड सी इज नेपाली… ‘ अर्थात् ‘म यो सत्रलाई अन्यत्र मोड्न चाहन्नँ, हामी अब ती किशोरीलाई सुन्नेछौं जो यस भूमिमा जन्मेकी हुन् र उनी नेपाली हुन्।’

बाई डिएनए बहिनी तपाईंलाई नेपाली भन्नाले तपाईंको आत्माले के भन्छ ? नेपाली बोल्न आउँछ? नेपाल जानु भा’छ? बहिनी अर्थात् सञ्जना तिम्सिना जसको परिवार तीन पुस्तादेखि थाइल्याण्डमा बसोबास गर्दै आएका छन् र सम्मेलन सत्रमा आफ्ना भावना साट्न मञ्चमा उपस्थित थिइन्। प्रश्नले उनलाई निकै छोएछ र उनी रुन थालिन्।

लामै समय हलमा सन्नाटा छायो। कुशल कार्यक्रम संचालक भूषणजीको मिठो लवज र हलको तालीको गड्गडाहटमा उनी सम्हालिंदै मधुर शैलीमा भन्दै गइन्, ‘नेपाल मेरो फिलिङ हो, मेरो पहिचान हो, मेरो पुर्खाको विरासत हो, मेरो परम्परा हो, मेरो संस्कार र सभ्यता हो।’

‘युद्धको क्रममा हाम्रा पुर्खाहरूलाई लड्न पठाइयो। कहाँ कहाँ लगियो, कति बेपत्ता भए, मरे। कति अन्जान ठाउँमा हराए, कतिपय जीविकोपार्जनको लागि केही गरी यतै बसे। मानिस भएपछि आफ्नो थातथलो सम्झन्छ। रीतिरिवाज बिर्सन्न। भाषा भुल्दैन। रहनसहन सँगै आउँदो रहेछ। हामी लाखौं लाख खर्चेर हाम्रा अग्रजहरूको पराक्रम र गाथाहरू छाप्दैछौं ताकि यो हराएर नजाओस्।

आगामी पुस्ताले हाम्रो संस्कार र संस्कृति नभुलुन्। म केही समय नेपाली शिक्षा लिन नेपालै गएँ र बसें–पढें। किन हामीलाई विदेशी भन्छन् ? हामी त्यहाँ पढ्न जाँदा तीन महिनाको मात्र भिसा दिइन्छ ? त्यसपछि कि फर्केर आउनुपर्ने हुन्छ कि अवैध रूपमा बस्नुपर्ने हुन्छ। हाम्रै भूमिमा हामीलाई किन यस्तो व्यवहार हुन्छ ? परायालाई जस्तो ?’ उनको कुरा सुनिरहँदा हामी सबैको आँखा रसायो।

‘सोमचाई क्षेत्री’ थाई नाम गरेका कुमार कार्की मुसुक्क हाँस्दै सुवर्णभूमि विमानस्थलमा त्यहाँको चलनचल्तीको खादा हातमा लिंदै अघि बढे। आयोजकले उनलाई हामीलाई स्वागत गर्दै विमानस्थलबाट होटलसम्म पुर्‍याउनका लागि उनलाई पठाएको रहेछ। उनको नेतृत्वमा रहेको टोलीको आतिथ्यता र आत्मीयता साँच्चै मनछुने थियो।

‘खै बुवा, हजुर बुवा चार पुस्ता अघि पूर्व ओखलढुङ्गाबाट आउनुभएको हो रे, हामी त गएका छैनौं’ भन्ने लजालु स्वभावका सोमचाई जब पीएनओ अर्थात् पिपल अफ नेपाली ओरिजिनको कुराले अर्को सत्रमा प्रवेश पायो। भिन्नै मिठासमा साह्रै कम बोल्ने मित्रको आवाज र विषयमा धारा प्रवाह अनुभूति र विचार सुन्न पाइयो। उनी दशौं वर्षदेखि थाइल्याण्ड, म्यानमार, मलेसिया, सिंगापुर र फिजीमा रहेका पीएनओहरूको अधिकारको लागि डटेर लागिपरेका अभियन्ता रहेछन्।

इतिहासका थुप्रै वीर गाथा पढ्दै र सुन्दै हुर्किएर पनि सुन्दर सपनाको परिकल्पना गर्दै परिवारसहित आफैं विदेशिनुपर्ने मानिसको रहरभन्दा बढी बाध्यता हो। मलाई पनि अनुभव छ, देशको मायाले विदेशी भूमिमा कति पोल्छ भनेर।

इतिहासलाई कोट्याउँदा सन् १८१४ मा पञ्जाबको लाहोरमा झण्डै २०० गोर्खा युवाहरू गोर्खा सेनामा भर्ती भएपछि तिनै युवाहरूलाई उनीहरूको गाउँ समाजले लाहोरे र पछि अपभ्रंश भएर लाहुरे भन्न थालियो।

बहिनी अर्थात् सञ्जना तिम्सिना जसको परिवार तीन पुस्तादेखि थाइल्याण्डमा बसोबास गर्दै आएका छन् र सम्मेलन सत्रमा आफ्ना भावना साट्न मञ्चमा उपस्थित थिइन्। प्रश्नले उनलाई निकै छोएछ र उनी रुन थालिन्। लामै समय हलमा सन्नाटा छायो।

लाहुर जानेमा अधिकांश मगर तथा गुरुङ समुदाय भए पनि क्षेत्री, ठकुरी, खत्री, पाण्डे, बस्नेत, खड्का, भण्डारी आदि पनि सामेल भए। सन् १८१५ मा इष्ट इन्डिया कम्पनी सरकार तथा नेपाल सरकारको बीच सुगौली सन्धिपछि लाहुर जाने क्रम झन् बढ्न थाल्यो। त्यहींबाट नेपालीको आप्रवासन सुरु भएको अनुमान गर्न सकिन्छ।

त्यतिबेला इस्टकोट, कम्मरमा खुकुरी, टाउकोमा छड्के टोपी, बूट लगाएर ओठमा चुरोट च्यापेर, अत्तर मगमगाउँदै गाउँ फर्किने लाहुरेको जीवनले धेरैलाई आकर्षित गर्‍यो। ग्रामीण युवाहरू लाहुरे र युवतीहरू लहुरेनीको सपना देख्दै विदेशिन थालेपछि नेपालीको आप्रवासनले अझै तीव्रता पाउन थाल्यो।

देशमा राजनैतिक परिवर्तन त भए तर जनताको जीविकोपार्जनको स्रोतमा कुनै परिवर्तन आएन। सन् ९० को दशकदेखि त युवाहरू उच्च शिक्षाको लागि विदेशिने क्रम पनि निकै बढेर गयो। चाहे सन् १८१४ देखि लाहोर भर्ती भएका युवा हुन् या ९० को दशकदेखि उच्च शिक्षा हासिल गर्न विदेश पलायन भएका युवा हुन्, सरकारसँग न कुनै ठोस तथ्यांक रह्यो न त युवालाई विदेश पलायनबाट रोक्ने योजना रह्यो।

२०४६ सालको व्यवस्था परिवर्तनसँगै देशभित्र विदेशिनेको संख्या दिनहुँ चुलिन थाल्यो भने युवालाई विदेश पठाउने निजी व्यवसाय फस्टाउनुको साथै मानव तस्करी पनि बढ्न थाल्यो। लाखौं युवा विदेशिएपछि सदन र संसदमा रेमिट्यान्सको चर्चा चल्न थाल्यो। तर सन् १८१४ बाट सुरु भएको नेपाली आप्रवासन, विदेशमा जन्मिएका नेपाली मूलका सन्तति र तिनीहरूको भविष्यको चासो र चिन्ता कसैलाई भएन।

नेपाली डायस्पोरा फैलिंदै गएपछि विभिन्न मुलुकमा रहेका नेपालीले आफ्नो एकताका लागि पहल गर्न थाले। नेपालमा माओवादी युद्ध चलिरहेकै बेलामा संसारको विभिन्न मुलुकमा छरिएर रहेका नेपालीलाई जोड्ने र मातृभूमिको भौतिक विकासमा उनीहरूले विदेशमा सिकेका ज्ञान र सीपलाई प्रयोग गर्ने उद्देश्यले गैरआवासीय नेपाली संघको स्थापना सन् २००३ मा भयो।

नेपाली नागरिकताको निरन्तरता, पैतृक सम्पत्तिको सुरक्षा लगायत मुद्दाहरू गैरआवासीय नेपाली संघले उठायो र संविधानमा गैरआवासीय नेपाली नागरिकता ऐन पनि बन्यो।

परिभाषामा विदेशमा रहेका नेपाली मूलका नागरिक

पिपल अफ नेपलिज ओरिजिन भनेका त्यस्ता नेपाली हुन् जसको वंशज नेपाली मूल हो। विश्वयुद्धका दौरानमा होस्, लाहुर जाने क्रममा होस्, विभिन्न अन्य कारणले पनि नेपाली मूलका नेपाली संसारभर छरिएका छन्। इतिहासका पानाहरूमा खोज्ने हो भने पृथ्वीनारायण शाहको नेपाल एकीकरणको अभियानदेखि नै आप्रवासनको क्रम सुरु भएको देखिन्छ।

भारतको बिहार राज्यको मधुवन जिल्लामा करिब अढाइ सय वर्षदेखि पहाडी टोलमा नेपाली मूलको बस्ती छ। ती नेपाली आफूलाई नेपाली भएको चिनाउन आफ्नो थर ‘पहाडी’ लेखाउँछन्। अढाघ सय वर्षदेखि बसोबास गर्दै आए पनि भारतीय नागरिकता लिन उनीहरूलाई मुस्किल छ।

डीएम कार्यालय घेरेर लालपुर्जा पेश गरे पनि उनीहरूले नागरिकता पाएनन्। उनीहरूले आफ्नो नेपाली अनुहार हेरेर पहिचानपत्र मात्र पाएका छन् र उक्त बस्तीका कसैले पनि सरकारी जागिर पाएका छैनन्।

नेपालकै छिमेकी मुलुक भारतमा रहेका नेपाली मूलको समस्या यस्तो छ भने अन्य देशमा छरिएर बसेका नेपाली मूलको कथा पनि यस्तै मार्मिक होला। किनकि नेपाल बाहिरको नेपाल र नेपाललाई मुटुमा बोकेर हिंड्ने नेपाली सन्ततिलाई नेपालको संविधानले अहिलेसम्म सम्बोधन गरेकै छैन।

भारतको बिहार राज्यको मधुवन जिल्लामा करिब अढाइ सय वर्षदेखि पहाडी टोलमा बस्ने नेपाली मूलका बासिन्दाहरूको जस्तो कथा छ, त्यस्तै कथा मलेसिया, थाइल्याण्ड, फिजी, बर्मा र भुटानका नेपाली मूलको पनि छ।

भारतको कलकत्ता हुँदै फिजी पुगेको अनुमान गर्ने फिजीमा रहेका नेपाली मूलका बासिन्दाले नेपाली चाडपर्व, संस्कृति र भाषालाई बचाएर राखेका छन् तर उनीहरूलाई पनि फिजी सरकारको साथ छैन र नेपाल सरकारले पनि खोजखबर गरेको छैन।

नागरिकता सम्बन्धी नयाँ विधेयकले पनि पिपल अफ नेपलिज ओरिजिन समस्याको समाधान खोजेको देखिंदैन। नयाँ विधेयकका अनुसार बाबु र आमा दुवैको नेपाली नागरिकता भएकाहरूले जन्म वा वंशजको आधारमा नागरिकता पाउने भनिएको छ। त्यस्तै आमाले एकल अभिभावकत्वमा हुर्काएको सन्तानले बुबा पहिचान नभएको प्रमाणित गर्न सके उनीहरूले वंशजको नागरिकता पाउने छन्।

त्यस्तै वंशजको आधारमा नागरिकता लिएको व्यक्तिको बुबा विदेशी पुष्टि भएमा उसको वंशजको नागरिकता फिर्ता लिने र अङ्गीकृत नागरिकता दिइने भनिएको छ। बुबा विदेशी भए व्यक्तिले बुबाको देशको नागरिकता नलिएको खण्डमा आमाकै नामबाट अङ्गीकृत नागरिकता दिने व्यवस्था विधेयकले प्रस्ताव गरेको छ।

प्रस्तावित विधेयकको वैवाहिक अङ्गीकृत नागरिकताको हकमा नेपालीसँग विवाह गरेर नेपालमै स्थायी बसोबास गर्ने गरी आएका विदेशी महिलाले तत्काल आफ्नो देशको नागरिकता त्यागेर नेपाली नागरिकता लिन सक्छन्। तर नेपाली नागरिकसँग विवाह गरेर नेपालमै स्थायी बसोबास गर्ने गरी आएका विदेशी पुरुषलाई यो सुविधा छैन।

यसैगरी गैरआवासीय नेपाली नागरिकलाई पनि यो विधेयकले सम्बोधन गरेको छ। गैरआवासीय नेपालीले नागरिकता लिन चाहने व्यक्तिहरूलाई नागरिकता विधेयकले केही शर्तहरू तोकेका छन्ः

(क) निवेदन दिने व्यक्ति वा निजको बाबु वा आमा, बाजे वा बज्यै साविकमा नेपालको नागरिक रहेको प्रमाण

(ख) सम्बन्धित व्यक्तिले साविकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण

(ग) विदेशी मुलुकको नागरिकता भएको प्रमाण

(घ) दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्र बाहेकको देशमा बसोबास गरेको प्रमाण

(ङ) नेपालको संविधान र कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्र

गैरआवासीय नेपाली नागरिकको लागि निवेदन दिंदा पहिले लिएको नेपाली नागरिकताको प्रमाणपत्र समेत पेश गर्नुपर्नेछ। विधेयक अनुसार निवेदन प्राप्त भएपछि सम्बन्धित मन्त्रालयले आवश्यक सबूद प्रमाण बुझी गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न सकिन्छ। तर नागरिकता सम्बन्धी नयाँ विधेयकले पनि पिपल अफ नेपलिज ओरिजिन समस्यालाई सम्बोधन गरेको छैन।

बाबुआमाले सन्तानलाई नागरिकता दिलाउन चाहेन भने वा बाबु–आमा दुवैको मृत्यु भएको छ र काका, ठूलो बुबा, दाजु वा अभिभावकले नागरिकता दिलाउन चाहेन वा वैदेशिक रोजगारीमा गएकी महिलाले विदेशमा बच्चा जन्मेमा उसले नागरिकता कसरी पाउने जस्ता व्यावहारिक पक्षको सम्बोधन नयाँ नागरिकता विधेयकले स्पष्ट रूपमा गर्न सकेको छैन।

पिपल अफ नेपलिज ओरिजिन साँच्चै मनमा नेपाल बोकेर पहिचानको लागि छट्पटाइरहेका छन्। गैरआवासीय नेपाली संघको स्थापनाकालदेखि नै आप्रवासनमा रहेका नेपालीलाई नागरिकताको सवाल जोडदारले उठाउँदै आएको छ।

सुरुवाती दिनमा यो सवाल सुन्न नचाहने राज्य कालान्तरमा संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान राख्न बाध्य भयो। यो पीएनओ धेरैको चासोको विषय थिएन नै। यस बैंकक् सम्मेलनले यस मुद्दालाई प्रमुखताको साथ उठाएको छ। जसको केही अल्पकालीन परिणामहरू समेत देखिन थालिएको छ।

यो सवाल सार्वभौम संसद्मा पहिलोपटक डा. सूर्य पाठकले दर्ज गर्नुभयो। एनआरएनभित्र रहेको नागरिकता निरन्तरता समितिमा पीएनओ संयोजन गर्ने जिम्मा उनै कुमार कार्कीलाई सुम्पिई यो संघको प्राथमिकताको विषय भएको जनाउ दिएको छ।

१९६१ अप्रिल १२ को दिन ऐतिहासिक बन्यो। युरी गागरिन पहिलो सफल अन्तरिक्ष यात्री बने। संसारभर उनको जयजयकार भयो। शीतयुद्धको जमानामा सोभियत संघको लागि यो ठूलो कीर्तिमान थियो। हरेक देशवासीमा राष्ट्रिय गौरव र स्वाभिमान उर्लिएर आयो।

‘अन्तरिक्ष यानबाट पहिलोपटक पृथ्वीलाई हेर्दा तपाईंको मनमा कस्तो भाव आयो ?’ मस्कोमा पत्रकारले उनलाई सोधे। उनले इमानदारी साथ बताए, ‘मलाई क्षमा गर्नुहोला। मैले त आफूलाई सोभियत नागरिक वा रुसी हुँ भन्ने नै बिर्सें। अचानक मेरो मुखबाट निस्क्यो- अहा, मेरो प्यारो पृथ्वी !’

संसारभर अहिले ‘ग्लोबल समाज र ग्लोबल नागरिक’ अवधारणा मूर्त भइरहेका छन्। तर विश्व मानचित्रमा एउटा विन्दु बराबरको यति सानो देशका नागरिक हामी नेपालीले उल्टै अधोमुखी र अधोगामी हुँदै विश्व, राज्य, राष्ट्र, क्षेत्र, धर्म, जाति र त्यसभन्दा पनि संकीर्णतामा कुल र थरमा झरेर आफ्नो पहिचान त खोज्दैछौं।

यूरी गागरिनले आहा मेरो प्यारो पृथ्वी भनेझैं नेपाललाई शिरमा राखेर आहा मेरो नेपाल भन्दै हिंड्ने यिनै सञ्जना तिम्सिना, सोमचाई क्षेत्री र भविन्द्र बस्नेत जस्ता कतिपय नेपाली मुटुमा नेपाल बोक्ने नेपालीहरू पहिचानबाट वञ्चित हुनुपर्ने हो र यिनको मान र सम्मानको खातिर हामी अभियानकर्मी भनिनेहरू तारे होटलमा सभा र सेमिनारमै समय बिताउँदै गर्नुपर्ने हो?

हामी इतिहासको निर्मम कठघरामा उभिएका छौं किनकि हाम्रै घरमा पनि दोस्रो पुस्ता, तेस्रो पुस्ता हुर्किंदै छन् र आज कथा जस्तो लाग्ने सोमचाई र सञ्जनाको मुटुभित्र बचिरहेको नेपाल भोलि हाम्रा सन्ततिले पनि भोग्नेछन्।

(लण्डन निवासी सिम्खडा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपमहासचिव हुन्।)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: [email protected]
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित