शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?

शरीरको कुन बिन्दुमा दबाउँदा कुन समस्या निको हुन्छ ?
www.europenepalikhabar.com २०७९ पुष २६ गते मंगलबार, 10-01-2023


चिनियाँ पूर्वीय चिकित्सामा प्रचलित विभिन्न विधिमध्ये अकुप्रेसर, अकुपञ्चर र रिफेक्सलोजी पनि हो । योग चिकित्सामा विभिन्न नाडीहरू भने जस्तै चिनियाँ पूर्वीय  चिकित्साअनुसार विभिन्न मेरिडियन शरीरमा यत्रतत्र बगिरहेका हुन्छन् ।

त्यस अवस्थामा हाम्रो शरीरमा विभिन्न गाँठाहरु उत्पन्न भएका हुन्छन् । शरीरमा सकारात्मक र नकारात्मक ऊर्जा बगिरहेको अवस्थामा हामीले कुनै बिन्दुमा थिच्दा धेरै प्रकारका स्वास्थ्यलाभ मिल्छ ।

अकुप्रेसरमा विभिन्न खालमा पोइन्टहरु हुन्छन् । जसको रिफ्लेक्स पोइन्ट, आसी पोइन्ट, मोट पोइन्ट जस्ता नाम छन् । रिफ्लेक्स पोइन्ट हात, खुट्टा र कानमा हुन्छ । शरीरको बनोट जस्तो त्यस्तो बनावट हाम्रो हात–खुट्टामा पनि हुन्छ ।

अकुप्रेसर एउटा सरल चिकित्सा पद्धति हो । यसलाई घरमै प्राथमिक उपचारको रूपमा गर्न सकिन्छ । शरीरको विभिन्न अंगमा रहेका पोइन्टहरुलाई दबाएर विभिन्न स्वास्थ्यलाभ लिन सकिन्छ ।

टाउको दुखाइ :

हाम्रो टाउकोलाई देखाउने पोइन्टलाई हामीले दबायौं भने टाउको दुख्ने समस्याबाट छुटकारा मिल्छ । हातलाई बन्द गर्दा उठेको भागमा एउटा पोइन्ट हुन्छ । त्यसलाई बुढी औंलाले बिस्तारै दबायौं भने टाउको दुखाइबाट राहत मिल्छ र आनन्द महसुस हुन्छ । शरीर आलस्य हुँदा वा शरीरको अन्य भाग दुख्दा पनि त्यो हातको उठेको भागलाई दबाउँदा दुखाइ कम हुन्छ ।

हाम्रो टाउकोमाथि दुईवटा हातलाई ताज लगाएको जसरी वा हेयरब्याण्ड लगाएको जसरी राख्यौं भने निधारको बीच भागको सिधा पर्छ त्यो पोइन्टलाई बिस्तारै दबाउँदा पनि टाउको दुखाइ कम हुन्छ । यसरी यी दुईवटा पोइन्टलाई दबाउँदा पनि राहत भएन भने के कारण टाउको दुखेको हो पत्ता लगाएर त्यसको उपचार गर्नुपर्छ ।

गाडीमा लामो यात्रा गर्दा रिंगटा लागेमा :

कसैलाई गाडीमा लामो यात्रा गर्दा टाउको घुमेको जस्तो हुने, रिंगटा लाग्ने, बान्ता होला जस्तो हुने समस्या देखिन्छन् । यस्तो अवस्थामा तत्काल केही उपाय अपनाएर यो समस्याबाट छुटकारा पाउन सकिन्छ । हातको नाडीमा तीनवटा औंला राखेर छोड्दा जुन पोइन्ट भेटिन्छ, त्यसलाई आधार मानेर त्यसलाई एक छिन दबाउँदा रिंगटा लाग्न नदिन र बान्ता हुन नदिन महत्त्वपूर्ण भूमिका खेल्छ ।

पिनास :

नाकको नजिकैका हड्डीभित्र नरम हावाको रिक्त स्थान हो, जसलाई साइनस भन्छन् । साइनसमा पातलो झिल्लीको तह हुन्छ । जब कुनै व्यक्तिलाई रुघा तथा एलर्जी हुन्छ साइनसमा सिंगान भरिन्छ र सुन्निन्छ भारी महसुस हुन्छ । त्यस्तो अवस्थामा त्यो सिंगान साइनसमा नभरियोस्, बाहिर निस्कियोस् भन्न केही पोइन्टमा दबाउन सकिन्छ । नाकको छेउमा दुईवटा पोइन्ट हुन्छ, त्यो पाइन्टलाई दबाउँदा दुखाइ कम हुन्छ ।

निधारको भाग र आँखामाथि दुखेको छ वा भारी महसुस भएको छ भने आँखीभौंको पुच्छरमा दबाउँदा राहत महसुस हुन्छ । साथै आँखीभौंको बीचको भागमा दबाउँदा पनि दुखाइ कम हुन्छ र आनन्द महसुस हुन्छ ।

एलर्जी :

कहिलेकाहीं एलर्जीको कारण पनि नाक जम्ने समस्या भइरहेको हुन्छ । त्यस्तो अवस्थामा हातको बीच भागमा एउटा पोइन्ट हुन्छ, त्यो एन्टिएलर्जी पोइन्ट हो । त्यो पाइन्टलाई दबाउँदा एलर्जीको समस्या पनि कम हुन्छ ।

ग्यास्ट्रिक :

ग्यास्ट्रिकको मुख्य कारण खानपान नै हो । हामीले खाने खानाको प्रकार र समयले ग्यास्ट्रिको समस्या निम्त्याउनमा भूमिका खेल्छ । ग्यास्ट्रिक हुँदा पेट फुल्ने, अमिलो डकार आउने हुन्छ । त्यस्तो समस्या कम गर्न हातलाई दोबार्दा कुइनाको माथि एउटा क्रिज हुन्छ, त्यो पोइन्टलाई दबाउँदा पेटमा आनन्द महसुस हुन्छ । घुँडाको तलपट्टि घुँडाको हड्डी सकिने ठाउँको दायाँपट्टि भागमा दबाउँदा ग्यास्ट्रिकको समस्या कम गर्न सकिन्छ ।

कब्जियत :

खानामा फाइबरको कमी हुँदा कब्जियतको समस्या हुन्छ । फाइबर भएको रेसादार खाना कम खाने र जंकफुड धेरै खाने व्यक्तिलाई यो समस्या देखिन्छ । यस्तो अवस्थामा पेटलाई सक्रिय बनाउन ग्यास्ट्रिकको जस्तै हातको बीच भागको क्रिज र घुँडाको क्रिजमा दबाउन सकिन्छ ।

अनिद्रा :

तनाव, चिन्ता बढ्दा अनिद्राले सताउँछ । धेरै कुरा सोच्न व्यक्तिलाई पनि अनिद्राको समस्या हुन्छ । त्यसैले अनिद्राको समस्याबाट छुटकारा पाउन तनाव मुक्त बनाउने वा कम गर्ने पोइन्ट दबाउनुपर्छ । टाउको दुख्दा निधारको सिधामाथिको पोइन्टलाई दबाउने प्रक्रिया यसमा पनि गर्नुपर्छ । त्यो पोइन्टको एक बुढी औंला वरपर चारैतिर चारवटा पोइन्ट हुन्छ । त्यसलाई दबाउँदा तनाव कम भएर निद्रा लाग्छ ।

कति समय दबाउने ?

हातखुट्टा तथा शरीरको विभिन्न भागमा रहेका पोइन्टहरु कसरी, कति समय दबाउनुपर्छ भन्ने जान्नुपर्छ । धेरैबेर हात नै रातो हुने गरी दबाउन भने हुँदैन । सही पोइन्ट पत्ता लगाएर हल्का हातले दबाउँदा दुखेको ठाउँमा राहत महसुस हुन्छ । त्यो अकुप्रेसर पोइन्टमा दबाउँदा जबसम्म दुखाइ कम हुँदैन त्यसबेलासम्म दबाउनुपर्छ ।

(प्राकृतिक चिकित्सक डा. पाण्डेसँग गरेको कुराकानीमा आधारित)


FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित