संखुवासभा,चन्दनपुरका १०० वर्षे बाको जीवन अनुभव : यस्तो छ लामो आयु बाच्नुको राज !

संखुवासभा,चन्दनपुरका १०० वर्षे बाको जीवन अनुभव  : यस्तो छ लामो आयु बाच्नुको राज !
www.europenepalikhabar.com २०८० बैशाख ३० गते शनिबार, 13-05-2023


विक्रम संवत् २००७ सालमा राणा शासन अन्त्य हुँदा पङ्खबहादुर थापा २७ वर्षका थिए । १ सय ४ वर्षे जहाँनियाँ राणा शासन समाप्त भएको खबर उनीहरूले संखुवासभामा दुई महिनापछि थाहा पाएका रे ! 

अहिले १०० वर्षको उमेरमा हिँडिरहेका थापा त्यस्ता भाग्यमानी हुन्, जसले राणा शासन, पञ्चायत, बहुदलहुँदै लोकतान्त्रिक गणतन्त्र नेपालसम्म नियाल्न पाए ।

९० वर्षको उमेरसम्म उनले निरन्तर मतदान पनि गरे । ‘त्यसपछि भने मतदान गर्न जानुभएको छैन । जीवनको उत्तरार्द्धमा कुनै एक पक्षलाई भोट दिनुभन्दा जसले राम्रो गर्छ, उसलाई शुभाशिष दिने ठानेर उहाँले मतदान नगर्ने निर्णय गर्नुभयो,’ ७१ वर्षे छोरा प्राध्यापक तेजराज थापाले सुनाए । 

लामो राजनीतिक घटना, परिघटना अनि उतारचढाव देखेका पङ्खबहादुर थापा नेताहरूको भाषण र व्यवहारबीचको भिन्नता देखेर छक्क पर्छन् । ‘अहिले मात्र होइन, उहिल्यैदेखि नेताहरूले जनतालाई झुक्याइरहेका छन् । भन्छन् एकातिर, गर्छन् अर्कातिर । अहिलेसम्म त नेताहरू ढँटुवा नै देखिए,' उनले भने । 

पुरानाहरूको अत्याचारकै कारण जनताले जोसजाँगरका साथ आएका नयाँ पुस्तालाई रोजेको लख काट्छन् थापा । भन्छन्, ‘अब नयाँहरूले ढाँट्नु भएन । झुक्याउनु भएन ।’

यद्यपि, उनी देशमा केही नै नभएको कुरामा भने सहमत छैनन् । थापा निश्चित परिवार वा वर्गको हातबाट शासनसत्ता आमजनताको हातमा पुग्नुलाई ठूलो परिवर्तन मान्छन् । विकासका दृष्टिले पनि आफूले ठूलै कायाकल्प देखेको थापाको भनाइ छ । भन्छन्, ‘म त धान, मकैसँग मोहोर साटेको पुस्ता हुँ, राणाहरू झेलेको नागरिक हुँ । गाडी, प्रविधिहीन युगको युवा हुँ । तपाईं (अहिलेका युवा) हरूलाई पछिल्लो परिवर्तन नौलो नलाग्ला तर मेरा लागि त यो कायाकल्प नै हो ।’ 

परिवर्तनको फाइदा जनताभन्दा बढी सीमित नेताले लिइरहेको कुराले चाहिँ उनलाई दुखाउँछ । 'मलाई नै हेर्नुस्, मैले कहिल्यै पार्टी बदलिनँ । अब बदल्ने कुरै भएन । तर, यहाँ अवसरका लागि पार्टी बदल्ने, सत्ता बनाउन गठबन्धन गर्ने गर्छन् । जनताको भोटबाट फाइदा जनतालाई होइन, सीमित नेतालाई मात्रै भइरहेको छ,' उनी भन्छन् ।

२०६८ सालदेखि काठमाडाैं बस्न थालेका थापा संखुवासभामा रहँदा आफ्नो कामका कारण प्रतिष्ठित थिए । उनले स्कुल स्थापनादेखि बाटोघाटो र विमानस्थल निर्माणसम्ममा योगदान दिए । आजभन्दा ६८ वर्षअघि नै गाउँमा स्कुल खोल्ने अगुवाइ गरेका व्यक्ति हुन् उनी । 

चन्दनपुरमा भाषा पाठशाला त थियो तर आसपास गाउँका साना केटाकेटीलाई असाध्यै टाढा हुन्थ्यो । तैपनि संस्कृत मात्रै पढाइन्थ्यो । त्यसैले सबै गाउँलेका छोराछोरीले पढ्न पाऊन् भनेर थापाले १२ कात्तिक २०१२ सालमा आफ्नै अगुवाइमा विद्यालय व्यवस्थापन समिति गठन गरे । कक्षा ३ सम्मको स्कुल बनाउन उनले आफ्नै ढाँडबारी दान दिए । पछि सिरिसेको भदौरेहुँदै पाख्रिन डाँडामा पुर्‍याइएको उक्त स्कुल अहिले जनता उच्च माध्यमिक विद्यालय बनेको छ । थापाको योगदानको सम्मानमा आज पनि विद्यालयमा उनको तस्वीर राखिएको छ । 

गाउँघरमा सरसफाइ अभियानको अगुवाइ गर्थे । ऋण लिन कपाली तमसुक, बन्धकी तमसुक, भरपाई आदि सित्तैँमा लेखिदिन्थे । ‘गाउँमा हुने झैझगडा पनि मिलाइदिनुहुन्थ्यो । अनौठो त के भने, बुवाले भनेपछि दुवै पक्षले चित्त पनि बुझाउँथे,' कान्छा छोरा पूर्वउपसचिव ६२ वर्षे दीपेश्वर थापा सम्झिन्छन् ।

वडा सदस्य चुनिँदा :

२०१५ सालमा पहिलोपल्ट आमनिर्वाचन भयो । नेपाली कांग्रेसले जितेर सरकार बनायो । दुई वर्षलगत्तै २०१७ सालमा राजा महेन्द्रले राजनीतिक दलमाथि प्रतिबन्ध लगाएर पञ्चायती व्यवस्था लागू गरे । त्यसको वर्ष दिनपछि १५ फागुनमा संखुवासभाको चन्दपुर गाउँ पञ्चायत– ४ मा चुनाव भयो । त्यो बेला वडाध्यक्ष नभएर वडा सदस्य चुनिन्थे । अनि अहिलेजस्तो मतपेटिकामा नभएर वडावासीले हात उठाएर मत जाहेर गर्थे । पङ्खबहादुरको पक्षमा बहुमत वडावासीले हात उठाए । त्यसपछि उनी सदस्य भएर काम गर्न थाले । 

त्यो बेला वडा सदस्य शक्तिशाली हुन्थे । प्रधानपञ्चको अनुपस्थितिमा कार्यभार वडा सदस्यकै काँधमा हुन्थ्यो । उनले लामो समय कार्यवाहक प्रधानपञ्चको काम पनि गरेका थिए । सोही पदमा रहेका बेला उनले पञ्चायत क्षेत्रभित्र जनश्रमदानबाट बाटो खन्ने कामको अगुवाइ गरे । राजमार्ग बनाउन चन्दा उठाएर सरकारलाई बुझाए । 'बचत भकारी' भनेर अन्न उठाउने काम गरे । पछि अन्न बेचेर भूमिसुधार कार्यालयमा बुझाए । खाँदबारीमा चौकी भवन बनाउन पनि उनीहरूले चन्दा उठाएका थिए । 

‘२०३६ सालसम्म म लगातार सदस्य भएँ । यस अवधिमा बाटो बनाउनेदेखि तुम्लिङटार विमानस्थल खन्नेसम्ममा श्रमदान गरेँ,' थापाले सुनाए । कार्यवाहक प्रधानपञ्च भएका बेला चेवाखोलाबाट कुलो खनेर स्कुलको खेत दोभानटारमा पुर्‍याएको उनी सम्झिन्छन् । उनी सम्झिन्छन्, 'सचिव रुद्रनाथ चापागाईंको मासिक तलब १ सय रुपैयाँ थियो । पियन छत्रबहादुर खड्काको तलब १५ रुपैयाँ थियो । हामी प्रधापञ्च, उपप्रधानपञ्च र सदस्यहरू कसैले पारिश्रमिक वा भत्ता लिँदैनथ्यौँ ।'

बहुदल आएपछिसमेत जनताले उनलाई गुमाउन चाहेनन् । २०४८ को चुनावमा उनी शीतलपाटी गाउँ विकास समिति- १ को वडाध्यक्ष चुनिए । गाउँमा हुँदा उनी कुनै न कुनै सार्वजनिक जिम्मेवारीमै रहे ।

तेह्रमुखे रुद्राक्षको बदलामा शिक्षा :

गाउँको अगुवा बनेका पङ्खबहादुरले औपचारिक शिक्षाका लागि जीवनमा स्कुल टेक्न पाएनन् । जमानै त्यस्तो थियो, जहाँ हुनेखाने र पहुँचवालाका सन्तानले मात्रै स्कुल छिर्न पाउँथे । विद्यालय पनि जहीँतहीँ कहाँ थियो र ! राणा दरबारमै सीमित थियो त्यो बेलाको शिक्षा । 

उनका बुवा सनमान थापा सन्तानलाई पढाउनुपर्छ भन्ने मान्यता राख्थे । त्यसैले १९९१ सालमा रुद्राक्ष खोज्दै हिँडेका हिन्दीभाषी एक बाबाजीलाई तेह्रमुखे रुद्राक्षको बदलामा छोरा पङ्खलाई पढाइदिनुपर्ने सर्त राखे । बाबाजी सहमत भएपछि उनले घरकै छेउमा कुटी बनाएर खानेबस्ने व्यवस्था मिलाइदिए । पङ्खबहादुर सम्झिन्छन्, ‘हामी १०/१२ जनाको समूहलाई बाबाजीले सावाँ अक्षर, बाह्रखरी पढाउनुभएको थियो । फलेकमा माटो छिन्केर र औँलाले या सिमलीको डिकले लेख्दै मेट्दै पढाउनुहुन्थ्यो । एक हिउँद पढाए बाबाजी फर्किनुभयो । अनि मैले स्वअध्ययन गरेँ ।’ 

पछि उनले बाँसको कलममा गाजल र गोबर मिसाएर बनाएको मसीले दुई पैसा ताउमा किनेको पहाडे कागजमा तमसुक, चिट्ठी, कपाली तमसुक लेख्न थाले । उनी आफूले गरेका कामलाई कवितामा पनि उतार्थे । 

६१ वर्षअघि २०१९ साल चैत २५ गते आइतबार उनले काँचो कागजमा बाँसको कलमले यस्तो कविता लेखेका रहेछन्ः 

श्री ५ 

चन्दन्पुर ग्राम पञ्चायेत् वडा नं. ४ को स.

पङ्ख बाहादुर थापाक्षत्रीले भाग लिये

को मूलवाटो सीवालये देखि दमै–संम

०१९ साल आश्वीं मैना १२ गते देखी 

४ नं. वडा सदस्येले बाटो खनायेर 

श्री ५ सर्कारको जये मनायेर 

बनीगरी जीबीकागर्ने जनताले मर्मत देखञ्यौ ।।१।।

हामी गरीब जनताले पसिनाको धारा 

बगाएर लाइ रछौं ठाँउ ठाँउ गारा ।। 

यो मूल वाटो खन्दाखेरी कुनै जनताको 

थिचिमिचि हाटखट्टा होला मर्कीराको 

कुनोमुलुक वासभयो हाम्रो कुनै कुनैकुरा थाछै 

न हामीलाई ।।२।।

समानको कंजोडले बाटो काँहीं काँहीं । 

भने जस्तो पार्नलाई सकीएन हई । 

धर्म छाडी धन कमाई भूडी नभरुँ है । 

साँचो सत्ये धर्मगर्न अघीसरु है ।

छ्टी भयो ०१९ साल चैत्र मैना २५ आइतवारमा ।।३।।

९० सालको भुइँचालो 

उनले जीवनमा ठूला दुई भूकम्पको त्रासदी भोगे । १९९० साल र त्यसको ८२ वर्षपछि २०७२ सालमा गएको शक्तिशाली भूकम्पका साक्षी बने उनी । यसबीचमा गएको २०४५ सालको भूकम्पले भने पूर्वमा पहाडभन्दा पनि तराईतिर बढी नोक्सान गरेको थियो ।

१९९० साल माघ १९ गते ८ रेक्टरको भूकम्प जाँदा उनी १० वर्षका थिए । उनलाई याद छ, सिरिसे सदुवाको वरपीपलमा पूजा थियो । प्रसाद खाएर साथीहरूसित हाडेगुडी खेलिरहेका बेला एक्कासि जमिन हल्लिन थाल्यो । उनीहरू सबै भुईंमा लडे । केही बेरपछि अतालिँदै घरतिर हानिए । ‘गाउँमा कोलाहलको अवस्था देख्यौँ, धेरै घरहरू भत्केका थिए । हाम्रो घर पनि बस्नै नमिल्ने गरी चर्किएको थियो । दिउँसोको समय भएकाले धेरै मानिसको ज्यान जोगियो । नत्र गाउँ नै सखाप हुने रहेछ,' उनले भने । 

त्यो बेला देशका अन्य ठाउँका खबर महिनौँपछि मात्रै गाउँमा थाहा हुन्थ्यो । अन्त कति क्षति भयो भन्ने कुरा उनीहरूले डेढ महिनापछि थाहा पाए ।

त्यसपछि २०७२ सालको भूकम्प उनले काठमाडौंमा भोगे । ‘वैशाख १२ गते शनिबार बिहान ११ः५६ बजेको थियो । म र पत्नी सुकेधाराको घरको तेस्रो तल्लामा थियौँ । घर पूरै हल्लियो । हाम्रै घरनजिकै साततले घर ढलेर ४० जना किचिए । मैले ९० सालको भूकम्प सम्झिएँ, जतिबेला म १० वर्षको थिएँ,' थापाले सुनाए । 

रमादेवीसँग लगनगाँठो

त्यो जमानामा पुरुषले दुई वा दुईभन्दा बढी विवाह गर्थे । यसो गर्नेविरुद्ध कुनै कानुन पनि थिएन । तर, पङ्खबहादुरले यसो गरेनन् । १८ वर्षीया रमादेवी भट्टराईलाई १४ फागुन २००० सालमा पङ्खबहादुरले पहिलोपल्ट जग्गेमा देखेका थिए । त्यसयता २०७८ सालसम्म उनीहरू साथै रहे । गाउँबाट शहर (काठमाडाैं) बस्न थालेको १० वर्षपछि ९६ वर्षको उमेरमा रमादेवी परलोक भइन् । ‘काठमाडौं आएर पनि आमालाई साथमा लिएर विभिन्न धार्मिक काममा अगुवाइ गर्ने बुवा त्यसयता विक्षिप्त हुनुभयो । सामाजिक काममा पनि सक्रिय हुन छोड्नुभयो । शरीर पनि कमजोर भएकाले अहिले घरमै बस्नुहुन्छ । आफ्ना अनुभूति कोर्नुहुन्छ,' छोरा दीपेश्वरले भने । 

सन्तानले डाँडाकाँडा ढाकून्

जमानै त्यस्तो थियो, आशीर्वाद दिँदा ‘सन्तानले डाँडाकाँडा ढाकून्’ भन्ने गरिन्थ्यो । पङ्खबहादुर र रमादेवीका ६ छोरा र ४ छोरी जन्मिए । तर, चार भाइ छोरा बालखैमा बिते । २००३ सालमा जन्मेका पहिलो छोरा रणसुर एक वर्षको भएपछि मावल गएको बेला खसे । २००५ सालमा जन्मेका माइला छोरा पिताम्बरको सात वर्षको उमेरमा निधन भयो । २०१८ सालमा जन्मेका काइँलो छोरा भूपध्वज दुई वर्षको उमेरमा, अनि २०२० सालमा जन्मेका सानो कान्छो छोरा टीकाराम पनि दुई वर्षकै उमेरमा बिते ।

जन्मेका ६ छोरामध्ये पङ्खबहादुरसँग २००८ सालमा जन्मेका तेजराज र २०१८ सालमा जन्मेका कान्छा दीपेश्वर मात्रै छन् । पहिला उनी छाेराहरूसँग पालैपालाे बस्थे । तर शारीरिक कमजाेरीका कारण अढाई वर्षयता (श्रीमती बित्नु अघिदेखि) दुवै घरमा पालोपालो गर्न सकेका छैनन् । त्यसैले नाति र नातिनी बुहारीसमेत डाक्टर भएको घरमा बस्छन् ।

छोरीहरू ७० वर्षीया तुलसा, ६८ वर्षीया खड्गकुमारी र ६६ वर्षीया इन्द्रकमला र ५८ वर्षीया कमला छन् । अहिले उनका दुई छोरा र दुई बुहारी, चार छोरी र ज्वाइँहरू, १७ जना नातिनातिनाहरू, ७ जना नातिनी बुहारी, सात जना नातिनी ज्वाइँ र १९ जना पनातिपनातिनीहरू छन् । 

छोरीलाई पढाउन नपाएकोमा पछुतो 

गाउँमा स्थायी स्कुल थिएन । त्यसैले सन्तानलाई पढाउन असाध्यै कठिन थियो । सम्पत्ति हुनेहरूले धरान, विराटनगर र काठमाडौं पठाउँथे । त्यो समय छोरीलाई पढाउने चलन थिएन । ‘समाजको त्यो रुढिवादी मान्यताको प्रभावले छोरीहरूलाई शिक्षा दिन सकिनँ, यसमा मलाई पछुतो लाग्छ,' पङ्खबहादुर भन्छन् ।

उनले दुई छोरालाई जसोतसो पढाए । छोरा तेजबहादुर प्राथमिक विद्यालयको शिक्षकबाट सेवा सुरु गरी क्याम्पस प्रमुख, सहायक डीन हुँदै त्रिभुवन विश्वविद्यालयको सिभिल इन्जिनियरिङ विषयको प्राध्यापकबाट सेवानिवृत्त भए । कान्छो छोरा दीपेेश्वर पनि प्राथमिक विद्यालयको शिक्षकबाट सेवा सुरु गरी भोजपुर, संखुवासभा र काठमाडौंमा विद्यालय निरीक्षक हुँदै शिक्षा मन्त्रालयको उपसचिव भएर अवकाश लिएका छन् । 

छोरीहरूमध्ये सानी कान्छीले चन्दनपुरबाट एसएलसी गरिन्, अनि विराटनगरबाट आईएसम्मको अध्ययन गरिन् । छोरीलाई शिक्षा दिन नपाए पनि नातिनीहरूको शिक्षादीक्षामा कुनै कमी नहोस् भनेर आफूले सधैँ चासो, चिन्ता र खबरदारी गर्ने गरेको पङ्खबहादुर बताउँछन् ।

उनलाई हालै बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० ले ‘ज्येष्ठतम नागरिक’का रूपमा सम्मान गरेको छ ।

 ‘धेरै आयु कसरी बाँच्ने बा ?’ 

कान कम सुन्ने उनले जवाफ दिए, ‘कर्मले ।’ 

‘के खाने ?’

उनले जवाफ दिए, ‘केही कुरा नखाएर पनि आयु लामो बनाउन सकिन्छ ।’ उनको जवाफमा वजन थियो । 

उनी धूमपान, मध्यपान गर्दैनन् । माछामासु खान छोडेको दुई दशकभन्दा बढी भइसकेछ । कुलमा बलि भगवतीको पूजा पनि पशुपन्छीको बलिबिनै गर्दा रहेछन् । ‘मेरो मात्र होइन, सबैको राम्रो होस्, सबै राम्रो होस् भन्ने सोच्नुपर्छ । रिस, डाह नराख्दा पनि आयु बढाउन सकिन्छ । नराम्रो कुरा सोच्नु हुँदैन,' उनले भने । 

'सरकारले के गरिदिए हुन्थ्यो भन्ने लाग्छ ?' 

जवाफमा उनले आफ्नो मात्र नभई आफ्ना उमेरका सबैको हित हुने गरी सरकारले काम गर्नुपर्ने बताए । ‘हामीजस्ता बुढाबुढीलाई दिउँसोभरि भेला भएर अलमलिने, आफ्ना पुराना दिन सम्झिने, बातचित गर्ने अनि अनुभव आदानप्रदान गर्ने थलो बनाइदिए हुन्थ्योजस्तो लाग्छ,' उनले भने । 

'अनि बसाइ कता मजा, गाउँ कि काठमाडौंको ?' 

उनले एकछिन सोचेर जवाफ फर्काए, 'सेवासुविधाले काठमाडौं निको हो । तर, हावापानी त गाउँकै बेस बा । गाउँ भनेको गाउँ हो ।' 

पङ्खबहादुरले आफ्नो सिरिसे गाउँको सम्झना यसरी गरेका छन् :

चन्दनपुर सिरिसे दक्षिण भिरालो परेको, ठूल्ठूला बारीका गह्रा भएको सुन्दर गाउँ थियो । शुक्रबारेनजिक एउटा भाषा पाठशाला थियो । बाहिरबाट आएका ब्राह्मण केटाहरू त्यहीँ बसेर संस्कृत पढ्थे । गाउँमा सिदा माग्न जान्थे । दसैँमा सिरानदेखि मालश्री गाउँदै पच्छारसम्म झर्ने रमाइलो चलन अझै छ ।

बाहुन गाउँ बेग्लै छ । बगाले थापा गाउँ बेग्लै छ । गाउँनजिकै पानीका धारा, धान फल्ने बेँसी खेत र गाईवस्तु, बाख्रा चराउने र दाउरा, घाँसका निमित्त ढाँडेको जङ्गल छ । पर्म लगाएर काम गर्ने चलन छ । शुक्रबारेमा शुक्रबार बजार लाग्थ्यो । पुस माघ फागुनमा बस्तुभाउको गोठालो लाग्नु पर्दैनथ्यो । त्यसबाहेकका महिनामा गाेठालाे जानुपर्थ्याे । वस्तु पस्न नसकून् भनेर बार बारिन्थ्यो । 

हिउँदमा गाइने, कुसुले आउँदा साह्रै रमाइलो हुन्थ्यो । भूतप्रेत भगाउन रातमा जोगीले फेरी लगाउने गर्थे र बिहान सिदा उठाउन आउँथे । खेतीपातीको त्यति काम नहुने र गाईवस्तु पनि गोठालो लाग्नु नपर्ने भएकाले हिउँदमा केही फुर्सद हुन्थ्यो । मकै छर्ने समय वैशाखदेखि भने फेरि गोठालो लाग्नुपर्थ्यो । 

ऊ बेला मुखियालाई तिरो तिर्नुपर्थ्यो । गाउँमा मोटर हुने कुरै थिएन । त्यसैले साँघुरो गोरेटोबाट हिँडेर जान्थ्यौँ । मुखियालाई बुझाउने मोहोर अन्नसँग साट्थ्यौँ । काठमाडौं (नेपाल) को खबर महिनौँपछि थाहा पाइन्थ्यो । रेडियो धेरैपछि आएको हो । काठमाडौं जानुपर्दा धरानसम्म हिँडेर जानुपर्ने, त्यसपछि फाट्टफुट्ट गाडी लाग्थ्यो । काठमाडौंबाट कोही गाउँमा आएपछि मात्र नेपालको खबर गाउँमा फैलिन्थ्यो । 

राणा शासन अन्त्य भएको खबर हामीले धेरैपछि थाहा पाएका थियौँ । त्यो बेला कांग्रेस भन्नासाथ डराउनुपर्थ्यो । मनलाग्दी गर्थे । राणा शासन ढल्यो रे भनेको सुनेपछि गाउँमा कांग्रेसहरूले भोज खाएका थिए । पुरानो जमानाका, गाउँका थुप्रै घटनाहरू इतिहास भइगए । 

२०५३ सालमा पत्नी साह्रै बिरामी भइन् । धरान र भोजपुरबाट छोराहरू आए । उनीहरूले आमालाई खाँदबारी अस्पतालमा दुई हप्ता राखी उपचार गरे । सोही अस्पतालमा २०६५ सालमा नाति डा. अजित आएर दुई वर्ष सेवा गर्‍यो । ऊ खाँदबारीमा हुँदा हामीलाई भेट्‌न आइरहन्थ्यो ।

- नवराज कुँवर 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित