जन्डिस भएमा के कुरा खान हुन्छ, के खानेकुरा बार्नुपर्छ ?

जन्डिस भएमा के कुरा खान हुन्छ, के खानेकुरा बार्नुपर्छ ?
www.europenepalikhabar.com २०७९ फागुन ४ गते बिहीबार, 16-02-2023


डा. अखिलेश कश्यप

अनुहार, आँखा, हातमा पहेंलो देखिएमा जन्डिस भएको शंका गरिन्छ । तर जण्डिस भए नभएको प्रमाणित नै नभई पहेंलो रंगका खानेकुरा बार्ने प्रवृत्ति समाजमा व्याप्त छ । त्यति मात्र होइन, धेरैलाई  जन्डिस किन हुन्छ ? कहाँ हुन्छ ? के कारणले हुन्छ भन्नेबारे जानकारी नहुँदा सामान्य बन्ने जन्डिस पनि जटिल बन्दै जान्छ ।

शरीरमा बिलुरुविनको मात्रा २.५ भन्दा बढी भयो भने आँखादेखि शरीरका विभिन्न भाग पहेंलो हुनु जन्डिस हो । जन्डिस एउटा रोग नभएर विभिन्न रोगले शरीरको विभिन्न भागमा देखाउने एक संकेत मात्र हो ।

रगतमा भएको हेमोग्लोबिनमा कुनै कारण अवरोध आएपछि कलेजोमा पुगेर बिलिरुबीन बन्छ । बिलिरुबीन कलेजोले छानेपछि शरीरबाट बाहिर निस्कन्छ तर कुनै कारणले रगतबाट  कलेजोमा प्रवेश नगर्दा वा कलेजोले छान्ने नगर्दा शरीरमा यसको मात्रा बढ्छ । जसले जन्डिस निम्त्याउँछ । प्रायः व्यक्तिमा हेपाटाइटिसका कारण जन्डिस देखिन्छ । हेपाटाइटिस ए, बी, सी, डी र ईमध्ये हेपाटाइटिस ए र ई प्रदूषित खाना र दूषित पानीले सर्छ भने बी, सी र डी रगतको संक्रमणबाट सर्छ । जाँडरक्सी खानेहरुमा कलेजो बिग्रिएर पनि जन्डिस हुन सक्छ ।

त्यस्तै, नवजात शिशुमा पनि जन्डिस देखिन सक्छ । शिशुमा देखिने जन्डिसमा आँखा पहेंलो हुन्छ तर धेरै असर गर्दैन । बिस्तारै आफैं हराएर जान्छ । कलेजोमा हुने क्यान्सर र लिभर सिरोसिस हुँदा जन्डिस हुन्छ । पित्तथैलीमा पत्थरी वा पित्तक्यान्सर र आमाशयमा पनि बिलुरुबिनको मात्रा बढ्यो भने जन्डिस देखिन्छ ।

लक्षण

रोगअनुसारको लक्षण देखिन्छ । हेपाटाइटिस ए र ई भएमा जीउ दुख्ने, ज्वरो आउने हुन्छ । क्यान्सर भएका जन्डिस भएका बिरामीमा तौल घट्ने, वाकवाकी लाग्नेजस्ता लक्षण देखिन्छ । त्यसबाहेक खाना नरुच्ने, शरीर कमजोर हुँदै जाने, पेट दुख्ने, पिसाबमा पहेंलो देखिनु, आँखाको सेतो भाग पहेंलो हुने जन्डिसका लक्षण हुन् ।

यसको कारण पत्ता लगाउन सुरुमा लिभर फङ्क्सन र रगत परीक्षण गरिन्छ । त्यसबाट भएन भने अल्ट्रा साउण्ड  र एमआरआई पनि गरिन्छ । हेपाटाइटिसको शंका भएमा त्यसको पनि परीक्षण गरेर पत्ता लगाउन सकिन्छ । यसको कारण पत्ता लगाएर मात्र उपचार गर्नुपर्छ । खाना बार्ने, विना जाँच औषधि खाएर झनै जन्डिस बिग्रिन सक्छ ।

जन्डिसको विशेष उपचार हुँदैन । यद्यपि घरेलु उपचार विधिबाट परीक्षण नै नगराई उपचार गराउन भने हुँदैन । चिकित्सकबाट यसको कारण पत्ता लगाई त्यसको उपचार गरेपछि स्वतः जन्डिस ठीक हुन्छ । हेपाटाइटिस ए र ई भएकाहरुमा पोषणयुक्त खानेकुरा खाने र आराम गरेमा एक महिनामा ९८ प्रतिशत आफैं ठीक हुन्छ । तर त्यो अवधिमा खानेकुरा बार्ने भन्दै केही नखाँदा जटिलता बढ्छ । हेपाटाइटिस बी र सी भएमा अस्पतालमा उपचारसँगै चिकित्सकको निर्देशनअनुसार औषधि खाएर मात्र निको हुन्छ । हेपाटाइटिस बी देखिएकामा दुई वर्षसम्म र सी भएमा दुई महिनाको अवधिमा ठीक हुन्छ । पत्थरी भएकाहरुमा त्यसको उपचार गरेपछि मात्रै जन्डिस ठीक हुन्छ ।

खानेकुरा बार्नु आवश्यक छैन 

आँखामा पहेंलो देखिएपछि धेरैजसोले पहेंलो खानेकुरा खान छाड्छन्, जुन गलत हो । जन्डिसमा पहेलो रंगको खानेकुरा खान नहुने भन्ने कुनै वैज्ञानिक तथ्य छैन । जति खानेकुरा छाडिन्छ त्यति नै शरीर कमजोर हुँदै थप स्वास्थ्य अवस्था बिग्रिन्छ  । खानेकुरामा दाल, भात, तरकारी, फलफूल अमिलो, पिरो, चिल्लो, नुन, तेल, बेसार र मसला सबै थोक ठीक मात्रामा खान सकिन्छ ।

हेपाटाइटिस बी र सी भएकाहरुमा जन्डिस भयो र उपचार नभएमा जटिलताको रुपमा लिभर सिरोसिस हुन्छ । गर्भवती हुँदा महिलामा दूषित पानीले सर्ने हेपाटाइटिस ई छ भने स्वास्थ्यमा जोखिम हुन सक्छ । जुन चिकित्सकको कडा निगरानीसहितको उपचारमा ठीक हुन्छ ।

(डा. कश्यपले भारतको मणिपाल विश्वविद्यालयबाट मेडिसिनमा एमडी, एम्सबाट ग्यास्ट्रोइन्ट्रोलोजीमा फेलोसिप र न्याम्सबाट ग्यास्ट्रोइन्ट्रोलोजी डीएम गरेका छन् ।)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित