बेल्जियममा सोनाम ल्होछार भव्य रूपमा सम्पन्न

बेल्जियममा सोनाम ल्होछार भव्य रूपमा सम्पन्न
www.europenepalikhabar.com २०७९ माघ १६ गते सोमबार, 30-01-2023


इन्दिरा चाम्लिङ, काजब्लांका क्यासेल्लो ।

तामाङ समाज बेल्जियमद्वारा आयोजित २८५९ सोनाम ल्होछार कार्यक्रम बेल्जियमस्थित क्यासेल्लो शहरमा सम्पन्न भयो । हिजो साँझ बुद्द धर्मका गुरुहरूको विशेष उपस्थिति र प्रवचन सहित उक्त कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको हो । बेल्जियमको ब्रुज, ब्रसेल्स, एन्टरपेन, हेरेन्ट र लुभेन सहरका तामाङ समुदाय तथा अन्य नेपालीहरू एकै ठाउँमा भेला भएर सामुहिक रूपमा सोनाम ल्होछार  मनाएका थिए बेनेलक्स र युरोपियन युनियनका लागि राजदूत गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथिले हाम्रा सांस्कृतिक सम्पदालाई संरक्षण, संवर्द्धन गर्न पर्ने कुरामा जोड दिए ।

राजदूतले सांसारिक मोह भन्दापनि सबैले मिलेर सांस्कृतिक जरालाई जोगाउन सक्नुपर्छ भने । ध्वजाहरू अग्लो ठाउँमा टाँगिएको कुरा गर्दै उक्त ध्वँजाहरूमा राम्रो कुराहरू लेखिएको हुने र जति हावाले हल्लाउन थाल्छ त्यति नै ती ध्वँजामा भएका राम्रा कुराहरू धर्तीमा छरिएर , फैलियोस् र सबैलाई सुख, शान्ति समृद्धि मिलोस् भनेर ती ध्वँजाहरू अग्लो ठाउँमा टाँगिएको बताए । ती ध्वँजाहरूमा रहेका राम्रा कुराहरूले सबैलाई सुख, शान्ति र समृद्धि मिलोस् भनी शुभकामना दिए । 

आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष विरमान मगरले तामाङ समुदायलाई मगर पुर्खाहरूले विगतमा गरेको भूलप्रति क्षमा याचना गरे ।

अध्यक्ष मगरले  तामाङ समुदाय तीसौ हजार बर्षबाट नेपालमा बसोवास रहेको कुरा उल्लेख गर्दै नेपालमा उनीहरूको पुरानो इतिहासको चर्चा गरे । 

एनआरएन बेल्जियमका अध्यक्ष खड्ग बहादुर केसीले ल्होछार कार्यक्रममा तामाङ समुदायको संस्कृतिलाई संरक्षण गर्न र नयाँ पीढीलाई सिकाउन पनि सकिने भनेर आयोजकलाई धन्यवादसहित शुभकामना दिए।

कार्यक्रममा खेम्पो तामाङ रिम्पोछे धर्मगुरूले निकै अर्थपूर्ण मन्त्रहरूको व्याख्या गर्दै मानिसहरूले सांसारिक सुख भोगको मोहभन्दा पनि आफ्नो धर्म र संस्कृति जोगाउनमा विशेष ध्यान दिनुपर्ने महत्वपूर्ण संदेश प्रवाह गरे l

आयोजक समितिका अध्यक्ष राम लामाले यस पटक विगतमा भन्दा अलिक फरक ढंगबाट कार्यक्रम गरिएको बताए  ।

अध्यक्ष लामाले मनोरञ्जन मात्र दिलाउने होइन ज्ञान दिलाउने हेतुले , धर्म, संस्कार, संस्कृतिको संरक्षण, सम्बर्दन र जगेर्ना गर्ने , गुरुहरूबाट ज्ञान प्राप्त गर्ने हेतुले यस पटक यस्तो किसिमको कार्यक्रम आयोजना गरेको बताए । 

बेल्जियममा बसोबास गर्ने गैर तामाङ समुदायका नेपालीहरू पनि उत्साहित भएर ल्होछार  मनाउन उपस्थित थिए । उक्त कार्यक्रममा नेपालीहरूले सामुहिक रूपमा शान्तिको दिप बाले र धर्म गुरूबाट वाङ थापेर आशिष लिए । 

समाजका अध्यक्ष राम लामा, राजदूत र धर्म गुरू खेम्पो तामाङ रेम्पोछेले सामुहिक रूपमा द्विप प्रजलन गरी कार्यक्रमको उद्घाटन गरे । अनिता लामा ,कमला तामाङ, लालिङ तामाङले अतिथिहरूलाई खादा लगाएर सम्मान गरे ।  

संस्थाका सचिब महेन्दो वाइवाले सबैलाई स्वागत गरे भने कार्यक्रम संचालन महासचिब चन्द्र ब्लोनले गरेका थिए l दोस्रो चरणको सांस्कृतिक कार्यक्रम लालिङ तामाङले गरिन् lमौलिक, परम्परागत भेषभुषा र गरगहनामा सजिएर तामाङ समुदायका सदस्यहरूले कार्यक्रममा विशेषगरी धादिङ र नुवाकोटमा नाचिने नृत्य मेन्दोमाया, मानेदोरा भाकामा नाचेका थिए । डम्फु तामाङ समुदायमा लोकप्रिय, प्रमुख बाजाको रूपमा प्रयोग किन गरिन्छ भनेर कार्यक्रम सन्चालनको क्रममा लालिङ तामाङले प्रष्ट पारिन्। 

संस्थाका अध्यक्ष राम लामाका अनुसार लोछार ग्रहदशा नलागोस् , रोगव्याधी नलागोस् र अन्नबाली राम्रोसँग फलोस् फुलोस्, भन्ने कामना सहित पुर्खाको सम्झना गर्दै नयाँ बर्षको उपलक्ष्यमा मनाउने गरिन्छ । उनले संस्कार र संस्कृति जोगाउन सके मात्र अस्तित्व जिवन्त रहन्छ भन्ने कुराको आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताए । मनोरन्जन गर्न मात्र नभई तामाङ संस्कार र संस्कृतिलाई संरक्षण गर्न र अन्य समुदायसंग आत्मियता र भाइचाराको सम्बन्धलाई प्रगाढ बनाउन कार्यक्रमको आयोजना गरिएको प्रष्ट्याए । लोछार तामाङ समुदायको मात्र नभएर नेपालकै राष्ट्रिय चाड हो, राष्ट्रिय सम्पदा हो भन्दै यसको संरक्षण र संवर्द्धन गर्न संपूर्ण नेपालीहरूको दायित्व भएको बताए । कार्यक्रममा चन्द्र व्लोन र इन्दिरा चाम्लिङले समय शान्दर्भिक कविता र मुक्तक वाचन गरे । । फूलमाया तामाङ लगायत ब्रुजबाट आएका समूहबाट बौद्ध परम्परा अन्तर्गत टिबेटियन महायानी सूत्रहरू, भगवान् बुद्धको वचनहरू वाचन गरेर मंगल मैत्रीको कामना गरिएको थियो । उनीहरूले टिबेटियन भाषाको मन्त्र पाठ गरी कार्यक्रम शान्त, सभ्य र भव्य बनाई सबैलाई मन्त्रमुग्ध पार्न सफल भए। 

स्वागत मन्तव्यका क्रममा सचिब महेन्दो वाइवाले हामी एक फूलबारीबाट संसारका विभिन्न मुलुकमा पुगेर फुलेका फूलहरू हौं । हामीले हाम्रो कला संस्कृतिलाई बोकेर हिंडेका छौँ । यही नै आफूहरूको विशेष्ता भएको बताए । ल्हो भनेको वर्ष र छार भनेको नयाँ भनेर लोछारको अर्थ नयाँवर्ष हुन्छ भन्ने कुरा खुलाए । 

एनआरएन अध्यक्ष खड्ग केसीले शुकामना मन्तव्यका क्रममा नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले नेपाल धनी भएको भन्दै विदेशमा पनि यस्ता कार्यक्रमको आयोजनाबाट नयाँ पुस्ताले पनि हाम्रो कला,भाषा र संस्कृति के कस्तो छ भन्ने कुरा सिक्ने मौका पाउने बताए । 

तामाङ समाजले आयोजना गरेको उक्त २८५९ सोनाम ल्होछार तावर ल्हो ( बिरालो बर्ग ) कार्यक्रममा सहभागी भई अतिथिहरू लगायत सहभागी नेपालीहरूले खेम्पो तामाङ रिम्पोछे गुरूबाट वाङ लिएका थिए । सो कार्यक्रम विगतका वर्षहरूमा भन्दा अलिक पृथक र सन्देशमुलक रहेको थियो । ईना लामा ,अन्जिता लामा लगायत स्थानीय कलाकारहरूको निकै आकर्षक नृत्य प्रस्तुत गरेका थिए । तामाङ भाषाको गीतमा  युरोपमा जन्मिएका बालबालिका  युवा, युवतीले सुन्दर सामूहिक नृत्य गरेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित