बेल्जियममा नेपाली नयाँ वर्षको अवसरमा नेपाल महोत्सव आयोजना हुने

बेल्जियममा नेपाली नयाँ वर्षको अवसरमा नेपाल महोत्सव आयोजना हुने
www.europenepalikhabar.com २०७९ चैत ८ गते बुधबार, 22-03-2023


युरोप । बेल्जियममा नेपाली कला, संस्कृति, मौलिक खाना, पर्यटन प्रवर्द्धन र नेपाली उत्पादनको प्रचारप्रसार गर्ने उदेश्यले गैरआवासीय नेपाली संघ बेल्जियमले ‘नेपाल महोत्सव २०२३’ आयोजना गर्ने भएको छ ।

महोत्सव नेपाली नयाँ वर्ष २०८० को अवसरमा लुभेन शहरमा आगामी बैशाख २ गते शनिबार तद्अनुसार अप्रिल १५ मा हुने गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष खड्कबहादुर केसीले जानकारी दिनुभयो ।

अध्यक्ष केसीले संघले आफ्नो स्थापना कालदेखि नेपाल महोत्सव आयोजना गर्ने गरेको जानकारी दिँदै यो पटक १४औँ महोत्सवको रुपमा यो महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

अध्यक्ष केसीका अनुसार महोत्सव लुभेन शहरको ट्रेन स्टेशन अगाडि हुने र उक्त स्थानमा नेपाली मौलिक खाना, पर्यटन सूचना केन्द्र, नेपाली हस्तकलालगायत अन्य बस्तुहरूको गरी करिब एक दर्जन स्टल रहने जानकारी दिनुभयो ।

संघले महोत्सवलाई भब्यरूपमा सपन्न गर्न बेल्जियमस्थित सबै नेपाली संघसंस्थाका प्रमुखलाई मुल आयोजक समिति सदस्य बनाइएको छ । त्यसैगरी मुल आयोजक समितिमा संघका पूर्व अध्यक्षहरू, बेल्जियमस्थित संघका केन्द्रीय पदाधिकारी तथा सदस्यहरुलाई पनि मुल आयोजक समितिको सदस्यमा राखिएको छ भने बेल्जियमका लागि नेपाली दूतावास, लुभेन नगरपालिका, मुण्डमुभ्स र एक्टिभ इन्टरकल्चरल फेडेरेशन (एआईएफ) प्रायोजकका रूपमा रहेका छन् ।

त्यसैगरी, संघका उपाध्यक्ष तीर्थ धमलाको अध्यक्षतामा ‘महोत्सव व्यवस्थापन समिति’ गठन गरिएको छ जसमा नेपाली व्यवसायी संघका अध्यक्ष चिरनकुमार खवासलगायत अन्य पदाधिकारीहरू रहेका छन् ।

उपाध्यक्ष धमलाले महोत्सवको व्यापक प्रचारप्रसारका लागि संघसंस्थाहरुलाई पत्राचार गरिएको र बेल्जियमस्थित नेपालीहरूको रेष्टुरेण्टमा प्रचार सामग्री राख्ने र वितरण गर्ने जानकारी दिनुभयो ।

महोत्सवका नेपाल पत्रकार महासंघ युरोप र नेपाल पत्रकार महासंघ बेल्जियमलाई मिडिया पार्टनरका रूपमा राखिएको छ ।

कार्यक्रम बिहान ११ बजेदेखि प्रारम्भ हुने र शुरुवातमा लुभेनको सिटी हाउसबाट विभिन्न जातीय पोसाकसहित नेपाली परम्पराको झाँकी, ग्रोत मार्केट-डिसस्टार्ट हुँदै कार्यक्रमस्थल पुग्ने छ ।

त्यसपछि महोत्सवको औपचारिक समुद्घाटन गरिने छ । कार्यक्रमलाई रोचक र प्रभावकारी बनाउन वरिष्ठ गायक धिरज राई र स्थानीय कलाकार अर्जुन शाही (लाहुरे कान्छा), नारायण धिताललगायतको गायन प्रस्तुति रहने छ ।

त्यसैगरी स्थानीय कलाकार दीपिका केसी, सरिना पौडेल, एडिना केसी, मोनालिसा पोख्रेल, निकिता सापकोटालगायतको नृत्य रहने छ ।

स्थानीय ‘बज्रा व्याण्ड’ले पनि आफ्नो प्रस्तुति दिने छ । यसका अलावा अन्य रोचक प्रस्तुतिहरू समेत रहने व्यवस्थापन समितिका संयोजक तीर्थ धमलाले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागिताका लागि बेल्जियमकी राजकुमारी, प्रधानमन्त्री, परराष्ट्रमन्त्री, उप–प्रधानमन्त्री तथा मन्त्री, बेल्जियमका केही नगरपालिकाका मेयरहरू, युरोपियन युनियनका पदाधिकारी, दक्षिण एसियाका कुटनैतिक नियोगका प्रमुखहरू लगायत संघका केन्द्रीय पदाधिकारीहरूलाई महोत्सवमा आमन्त्रण गरिएको अध्यक्ष केसीले जानकारी दिनुभयो ।

अध्यक्ष केसीले नेपाल महोत्सव प्रवासमा नेपाल र नेपालीलाई चिनाउने एउटा प्रमुख आधार र अभियान भएको हुँदा महोत्सवमा बेल्जियम लगायत छिमेकी देशमा रहनुभएका नेपालीहरूको सहभागिताका लागि आग्रह समेत गर्नु भएको छ ।

महोत्सव बिहान ११ बजे देखि राति १० बजेसम्म चल्ने आयोजकले जानकारी दिएका छन् ।

-सनत आचार्य, बेल्जियम

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित