एनआरएनए पोर्चुगलद्वारा नेपाली राजदूतावासको माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र

एनआरएनए पोर्चुगलद्वारा नेपाली राजदूतावासको माग गर्दै प्रधानमन्त्री प्रचण्डलाई  ज्ञापनपत्र
www.europenepalikhabar.com २०८० जेठ २२ गते सोमतबार, 5-06-2023


काठमाडौ । गैरआवासीय नेपाली संघ (NRNA, Portugal) पोर्चुगलले नेपाली राजदूतावासको माग गर्दै प्रधानमन्त्री  प्रचण्डलाई  ज्ञापनपत्र बुझाएको छ ।

एनआरएनए पोर्चुगलबाट प्रतिनिधित्व गर्नु हुने आइसिसी सदस्य भिमसेन थापाको माध्यमद्वारा पोर्चुगलमा नेपाली राजदूतावासको माग गर्दै सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" लाई ज्ञापनपत्र बुझाइएको हो । उक्त अवसरमा गैरआवासीय नेपाली संघ (NRNA) का उपाध्यक्ष आरके शर्मा, संस्थापक भीम उदास, टिवी कार्की (पूर्व उपाध्यक्ष), गोविन्दप्रसाद गौतम (सचिव), अब्दुल वासिद (युवा संयोजक), लोक तिवारी (युएसए) , भिमसेन थापा (आइसिसी सदस्य, पोर्चुगल), वन्दना शर्मा (कतार), रुद्र शर्मा(दक्षिण कोरिया), सरोज दाहाल र रविकिरण अधिकारी (प्रमुख कार्यकारी अधिकृत), पत्रकार रामजी बगाले लगायतको उपस्थिति रहेको थियो ।

ज्ञापनपत्र जस्ताको तस्तै :

मिति : २०८० जेठ २२ गते (०५-०६-२०२३)

सम्माननीय प्रधानमन्त्रीज्यू,

प्रधानमन्त्रीको कार्यालय, 

सिंहदरबार, काठमाडौ ।

बिषय : पोर्चुगलमा नेपालको राजदूतावास स्थापना गरियोस् भन्ने सम्बन्धमा ।

सम्माननीय प्रधानमन्त्रीज्यू, 

नेपाल र पोर्चुगलको द्विपक्षीय सम्बन्ध स्थापना भएको ४७ बर्ष पुगिसकेको छ । १९७६ सेप्टेम्बर १ तारिख सुरु भएको दौत्य  सम्बन्धको झन्डै आधा शताब्दी लामो यो अवधि पार गर्दै गर्दा यतिबेला युरोप आएका नेपालीहरुको प्रमुख गन्तव्य पोर्चुगल बनेको छ । हाल पोर्चुगलमा ५०-६० हजार नेपाली रहेको अनुमान गरिएको छ । युरोपमा नै पोर्चुगल आप्रवासीका लागि अरु देशभन्दा उदार रहेकोले अहिले नेपालीहरुको संख्या पनि दिनहुँ बढ्दै गएको हो । संख्यात्मक रूपमा बृहत उपस्थितिले पोर्चुगलबाट नेपालमा ठूलो रकम रेमिटान्सको रूपमा भित्रिरहेको तथ्यहरुले देखाउँछ । संख्याको वृद्धिसंगै समस्याहरु पनि बढेका छन् । ठूलो  मात्रामा नेपालीको बसोबास भएर पनि पोर्चुगलमा नेपाल सरकारको कुनैपनि सरकारी निकाय वा नियोग नहुँदा ज्यादै  कठिनाई उत्पन्न भएको छ । 

पोर्चुगल नेपाली समुदायको ठूलो उपस्थिति भएसंगै एउटा प्रमुख माग पोर्चुगलमा नेपाली राजदूतावास वा नियोग स्थापना होस् भन्ने रहेको छ । गैरआवासीय नेपाली संघ युरोपको क्षेत्रीय बैठक (५-७ मे २०२३) को अवसरमा पनि गैरआवासीय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद पोर्चुगल (NRNA, Portugal) को तर्फबाट  पोर्चुगलमा नेपाली राजदूतावास स्थापना होस् भन्ने माग सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा पाल्नु भएका भएका नेपाल सरकारका परराष्ट्र मन्त्री मा. एनपी सावदज्यूसंग पनि राखेका छौं । आजको यो महत्त्वपूर्ण अवसरमा सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष विनम्रतापूर्वक यो मागलाई दोहोर्‍याउन चाहन्छौं । 

पोर्चुगलका नेपालीहरुले भोगिरहेको राहदानीको समस्यालाई सम्बोधन गर्दै केही समय अघि नेपाल सरकार परराष्ट्र मन्त्रालय र सम्बन्धित निकायले पोर्चुगलमा झन्डै एकमहिना लामो (२९ मार्चदेखि २५ अप्रिलसम्म) राहदानी शिविर संचालन गरेकोमा यस अवसरमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । 

रविन अधिकारी 

अध्यक्ष 

राजकुमार थापा

महासचिव  

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगल(NRNA, Portugal)

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित