पोर्चुगल । गृहमन्त्री रमेश लेखकसंग एनआरएनए केन्द्रीय अध्यक्ष डा. बद्री केसीको नेतृत्वको एक प्रतिनिधि मण्डलले भेट गरेको छ । भेटका अवसरमा गृहमन्त्री लेखकले संविधानमा व्यवस्था भैसकेको गैरआवासीय नेपालीहरूको अधिकार नखोसिने बताएका छन्।
लेखकले गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीसँग बिहीबार साँझ भएको भेटमा १० वर्षे भिसाको व्यवस्था अस्थायी रहेको र आगामी हिउँदे अधिवेशनमा गैरआवासीय नागरिकता लिएका ब्यक्तिले संविधानमा ऊल्लेख भए बमोजिमको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाऊनेगरी प्रतिस्थापन विधेयक आउने प्रतिबद्धता जनाएका छन् ।
अध्यक्ष डा. केसीले आफ्नै नागरिकलाई स्वदेश प्रवेश गर्दा भिसा लिनु पर्ने विरोधाभाषपूर्ण अध्यादेशले समस्त गैरआवासीय नेपालीहरूलाई निराश तुल्याएको जानकारी मन्त्री लेखकलाई दिएका थिए । १० बर्षे भिसा प्रावधान संविधानको भावना प्रतिकुल रहेको बताएका थिए ।
लेखकसँग गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनको विषय र हालै सरकारले जारी गरेको अध्यादेशको विषयमा गम्भीर छलफल भएको थियो। सो भेटमा एनआरएनए उपाध्यक्ष रोजिना प्रधान राईको पनि उपस्थिति थियो ।
भेटमा गृहमन्त्री लेखकले गैरआवासीय नागरिकता लिएका व्यक्तिहरूलाई संविधानमा उल्लेख भएअनुसारको आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रयोग गर्न पाउने गरी आगामी हिउँदे अधिवेशनमा कानूनी प्रबन्ध गरिने प्रतिबद्धता गरे।
मन्त्री लेखकले अहिलेको अध्यादेश प्रतिस्थापन गर्ने कानूनी व्यवस्था गर्दा गैरआवासीय नेपालीहरूलाई नेपालमा आवतजावत गर्दा र बसोबास गर्दा भिसा नचाहिने कानूनी व्यवस्था बन्ने प्रतिबद्धता जनाएका छन्, डा. केसीले जानकारी दिए।
FOUNDER/CHIEF EDITOR :