एलिजावेथ डियाज / न्युयोर्क टाइम्स ।
गएको २१ जनवरी, मंगलबार वासिङटन नेसनल क्याथिड्रलमा धर्माेपदेश समारोह सुरु हुँदै थियो । अग्लो क्यान्टरबरी मञ्चमा बिसप मारियन एड्गर बडी उपस्थित भइन् । स्रोतागणमा थिए, राष्ट्रपति ट्रम्प । डायसमा उभिंदा उनी अलिकति डराएकी थिइन्, अलिकति आत्तिएकी थिइन् ।
आध्यात्मिक नेता बडीले यस समारोहका लागि महिनौं तयारी गरेकी थिइन् । एकताका तीन तत्त्व— मर्यादा, इमानदारी र विनम्रता— माथि उपदेश दिने उनको पूर्वयोजना थियो । केवल एक दिनअघि राष्ट्रपति ट्रम्पले उद्घाटन भाषणमा आफ्ना एजेन्डा घोषणा गरेका थिए । अनि, पुरातनपन्थी इसाईहरूले प्रार्थनामार्फत राष्ट्रपतिको अभिषेक गरेका थिए । बडीले यी सारा दृश्य देखिसकेकी थिइन् ।
उनले सोचिन्, ट्रम्प चुनावी अभियान चलाइरहेका थिएनन्, उनी त अब शासन चलाइरहेका थिए । उनको नवजात राष्ट्रपतित्व र कार्यकारी आदेशका झोंक्काले उतिविधि प्रतिरोधको सामना गरेका थिएनन् । बिसप बडीले आफ्नो उपदेशमा अब चौथो तत्त्व थप्नैपर्ने बाध्यता आइलागेको ठानिन् । त्यो थियो, दयाको अपिल । ती सबैका तर्फबाट दयाको अपिल, जो ट्रम्पको सत्ता अभ्यास गर्ने धम्कीपूर्ण शैलीबाट भयभीत छन् ।
‘मैले के महसुस गरें भने मान्छेहरू के भइरहेको छ, हेरिरहेका थिए । उनीहरू कोही किन केही बोलिरहेको छैन भनेर ताज्जुब मानिरहेका थिए,’ सो समारोहपछि राति एक अन्तर्वार्तामा उनले भनिन्, ‘अमेरिका कता जाँदै छ भन्नेबारे कसैले केही बोल्छ कि भनेर मान्छेहरू प्रतीक्षा गरिरहेका थिए ।’
त्यसैले अघिल्लो मंगलबारको समारोहमा डायसमा उभिएपछि उनले एक खेप लामो सास फेरिन् र बोल्न सुरु गरिन् ।
मञ्चबाट सात फिटजति तल र ४० फिटजति दायाँपट्टि बसेका राष्ट्रपति ट्रम्पले उनीसँग आँखा जुधाए । अमेरिकी इसाई धर्मको एक प्रतिनिधि अर्काेसँग बोलिरहेको थियो । र, सेताम्य कपाल फुलेकी महिला बिसपका शब्दहरूले संसारको सबैभन्दा शक्तिशाली मान्छेको ध्यान खिचिरहेको थियो । केही क्षणपछि नै ट्रम्पले अन्यत्र आँखा मोडे ।
उपस्थित सबैका लागि, विस्मयकारी एक पलमा, वासिङटन नेसनल क्याथिड्रलको विस्तीर्णता हठात् एउटा अन्तरङ्गतामा खुम्चेको थियो । र, यो सँगै, केवल राजनीति होइन, नैतिकता स्वयं अस्तित्वको लडाइँमा उत्रिएको थियो । अचानक अमेरिकाको आध्यात्मिक वर्चस्वको युद्ध दुर्लभ सार्वजनिक मुठभेडमा प्रकट भयो ।
यथासम्भव विशाल रंगमञ्चमा क्यान्टरबरी मञ्चले दादागिरी मञ्चको सामना गर्यो ।
करिब एक दशकयता, अमेरिकी इसाई धर्म हुनुसम्म चकनाचूर भएको छ । इसाईहरू विभाजित छन् । लडेको लड्यै छन् । विभिन्न विषयमा कलह र विवाद गरिरहेका छन् । जस्तो कि, महिलाले उपदेश दिन पाउने कि नपाउने ? समलिंगीहरूको स्थान के हुने ? विवादका विषय कति छन् कति ! विवाहको परिभाषा । चर्च र राज्यको पृथक्कीरण । ब्ल्याक लाइभ्ज म्याटर (अफ्रिकी–अमेरिकीहरूको जीवनको मूल्य छ) आन्दोलन । र, यी सारा प्रकरणहरूको केन्द्रमा छ, आधुनिक अमेरिकी चर्चको वास्तविक अगुवाका रूपमा ट्रम्पको उदय । अनि, आफूलाई ‘ईश्वरको सच्चा आवाज’ घोषणा गर्ने दक्षिणपन्थी इसाई शक्तिको उदय ।
अधिकतर यी लडाइँ एक्लाएक्लै र अलगथलग छन् । लड्नेहरू बिरलै संवादमा हुन्छन् । विरोधी दृष्टिकोणधारी क्रिस्चियनहरू एउटै चर्चमा पूजाआजा गर्दैनन् । एकअर्काका धर्माेपदेश र प्रार्थना सुन्दैनन् । मूलधारका प्रोटेस्ट्यान्टलाई आफ्ना आवाजले कुनै पनि खालको प्राधिकार पाउनेमा सन्देह छ । रुढीवादी क्रिस्चियनहरू ट्रम्पको दोस्रो कार्यकालमा अझ बढी शक्ति हासिल गर्ने प्रतीक्षामा छन् । यस्तो हालतमा बिसप बडीले गत मंगलबारको अन्तरधर्म उपासनामा केही भिन्न गर्न खोजिन् ।
तर, ट्रम्प टसका मस भएनन् । धर्माेपदेश सकिएपछि उनले पुरातनपन्थी क्याथोलिक उपराष्ट्रपति जेडी भान्सलाई यसो हेरे । भान्सले मुन्टो हल्लाए र बिसप बडीसँग आफू असहमत भएको स्पष्टतः जाहेर गरे । बुधबार बिहान आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा ट्रम्पले बडीलाई जवाफ फर्काए । ‘तथाकथित बिसप’ र ‘चरम वामपन्थी–कट्टर ट्रम्पद्वेषी’ सँग माफीनामा माग गरे ।
‘उनले आफ्नो चर्चलाई असाध्यै अभद्र तरिकाले राजनीतिको संसारमा घुसाइन्,’ ट्रम्पले तीतो पोखे, ‘उनको रवैया अशोभनीय थियो । उपदेश न सम्मोहक थियो, न ओजपूर्ण ।’
६५ वर्षीय बडी बिसपमा नियुक्त हुने पहिलो महिला हुन् । सन् २०२० मा ट्रम्प र उनको टक्कर परिसकेको थियो । वासिङटनस्थित लफायेट स्क्वायरमा जातीय न्यायको माग राखेर प्रदर्शन गरिरहेका आन्दोलनकारीमाथि प्रहरीले अश्रुग्यास प्रयोग गर्यो । आन्दोलनकारी तितरबितर हुनेबित्तिकै ट्रम्प नजिकै रहेको सेन्ट जोन्स चर्चमा देखा परे र बाइबल समातेर पोज–पोजमा तस्बिर खिचाए । बडीले न्युयोर्क टाइम्समा लेखै प्रकाशित गरेर उनको चर्काे आलोचना गरिन् । ‘बाइबलविरोधी दृष्टिकोण’ को समर्थनमा ट्रम्पले पवित्र प्रतीकहरूलाई प्रयोग गरेको देख्दा आफू ‘आक्रोशित’ र ‘आतंकित’ भएको उल्लेख गरिन् ।
बुधबार जर्जियाका रिपब्लिकन सांसद् माइक कोलिन्सले बडीलाई ‘देशनिकालाको सूचीमा थप्नुपर्छ’ भन्दै ट्वीट गरे । अरूले उनको लिंग स्वयंले आध्यात्मिक प्राधिकारमाथिको कुनै पनि दाबीलाई कमजोर तुल्याउने विचार व्यक्त गरे ।
‘महिला बिसपसँग अरू के पो अपेक्षा गर्नु ?’ क्याथोलिक गर्भपतनविरोधी अभियन्ता क्रिस्टान हकिन्सले ट्वीटरमा लेखिन् ।
तर, प्रगतिशील क्रिस्चियनहरूले भने अन्ततः आफ्ना आस्था र धारणाले यस लडाइँमा आवाज पाएको महसुस गरे । ट्रम्पको पहिलो राष्ट्रपतिकालपश्चात् पूर्वराष्ट्रपति जोसेफ आर. बाइडेन जुनियरले उदार इसाई धर्मको पुनरुद्धारको प्रतिनिधित्व गरे । क्याथोलिकधर्मी बाइडेनले आफ्नो युग समेटेर वासिङटन छोडिसकेका छन् । ओबामा युगमा पोप फ्रान्सिसलाई वासिङटनमा स्वागत गरिएदेखि यता अमेरिकाको क्याथोलिक सत्ता दक्षिणपन्थतर्फ पूर्णतः ढल्किएको छ ।
बडीले उपदेश दिएको चार घण्टाभित्रै उनलाई धन्यवाद ज्ञापन गर्दै १४ हजारभन्दा बढी मानिसले अनलाइन याचिकामा हस्ताक्षर गरे । वासिङटन वरपरका इपिस्कोपालियन (जो रोमन क्याथोलिकभन्दा भिन्न र उदार क्याथोलिक हुन्) हरूले सामाजिक सञ्जालमा उनीप्रति सगर्व कृतज्ञता व्यक्त गरे । बिसप बडी आफूहरूको आध्यात्मिक नेता र इसाई धर्मको प्रतिनिधि भएको अभिव्यक्ति दिए ।
बिसप बडीका हकमा, उनलाई आफ्नो धर्माेपदेशप्रति यत्ति भन्नु छ, ‘मेरो उपदेशको दृष्टिकोणले अहिले सञ्चारमाध्यममा उति ठाउँ पाएका छैनन् । इसाई धर्मको यस दृष्टिकोणलाई सार्वजनिक क्षेत्रमा एक प्रकारले दबाइएको छ ।’
उनी जान्दथिन्, सो सभामा उनीसँग उत्रो प्राधिकार थिएन । ‘किनभने, म राष्ट्रपति र उनको पार्टीलाई घेरिबसेका आध्यात्मिक वृत्तहरूको हिस्सा होइन,’ उनले भनिन् ।
उनले धर्माेपदेश दिएको स्थान अर्थपूर्ण थियो । त्यस गिर्जाघरले उनका शब्दलाई इसाई इतिहासको शक्ति दिएको थियो । वासिङटन नेसनल क्याथिड्रल युगौंदेखि महत्त्वपूर्ण राजनीतिक आन्दोलनहरूको थलो रहिआएको छ । यहाँ युद्धहरूको अन्त्य अंकित गर्न धार्मिक अनुष्ठान भएका छन् । आइजनहावरदेखि कार्टरसम्म, थुप्रै राष्ट्रपतिका राजकीय अन्त्येष्टि सम्पन्न भएका छन् ।
र, क्यान्टरबरी पलपिट (पुरोहितासन) आफैंमा सानदार मञ्च हो । राष्ट्रपतिको सम्बोधन त गौण कुरा थियो, बिसप बडी जान्दथिन् । यस पलपिटको लामो इतिहास छ । इंग्ल्यान्डको क्यान्टरबरी, केन्टस्थित क्यान्टरबरी क्याथिड्रलसँग यसको साइनो छ । यो गिर्जाघर बनाउन राजा विलियम द कंकररले फ्रान्सको काँ नगरबाट चुनढुङ्गा ल्याएका थिए भन्ने विश्वास गरिन्छ । सन् ५९७ मा चर्च अफ क्राइस्टका रूपमा स्थापित यसलाई सन् १०७० र १०७७ का बीचमा पुनर्निर्माण गरिएको थियो । गिर्जाघरको बेल ह्यारी टावर बनाइसकेपछि उब्रिएको चुनढुङ्गा प्रयोग गरेर क्यान्टरबरी पलपिट बनाइएको थियो । सन् १९०७ मा क्यान्टरबरी गिर्जाघरका आर्चबिसपले वासिङटनका बिसपलाई यो पलपिट उपहार दिएका थिए ।
क्यान्टरबरी मञ्च त्यही मञ्च थियो, जहाँबाट डा. मार्टिन लुथर किङ जुनियरले उनको हत्या हुनुअघि केही दिनअघि मात्र आइतबारे धर्माेपदेश दिएका थिए ।
मञ्चको अग्रभागको केन्द्रमा म्याग्ना कार्टामा हस्ताक्षर भएको दिन सम्झाउने कलाकृति खोपिएको छ । महान् बडापत्र भनिने ८ सय ९ वर्ष पुरानो म्याग्ना कार्टाले इंग्ल्यान्डका राजा कानुनभन्दा माथि छैनन् भन्ने सिद्धान्त स्थापित गरेको थियो ।
अघिल्लो मंगलबार बिसप बडीले भव्य मचान ओगटिरहँदा उनीसँग त्यस्तो कुनै असली शक्ति थिएन । शक्तिका नाममा उनीसँग आफ्नो ओहोदाको आध्यात्मिक प्राधिकार मात्रै थियो । र, थियो, १४ मिनेटसम्म निर्विघ्न बोल्ने हैसियत । प्रार्थना अनुष्ठानको रातो–सेतो परिधानमा थिइन् उनी । साथमा, विद्यावारिधिको प्राज्ञिक पोसाक धारण गरेकी थिइन् । अनि, क्याथिड्रलको प्रतीकको बुट्टा भएको कालो गलबन्दी भिरेकी थिइन् ।
आफूले सिधै ईश्वरका खातिर बोलें भन्नेमा बिसप बडीलाई विश्वास छैन । ‘हाम्रा धार्मिक उपदेश र शास्त्रहरूलाई बुझ्न र व्याख्या गर्न मैले मेरा तर्फबाट जे गर्न सक्थें, त्यही गरें,’ उनले भनिन्, ‘पवित्र आत्मा सम्भवतः हामीबाट जे सुन्न चाहन्छन्, मैले त्यही बोलें जस्तो लाग्छ ।’
अमेरिकाको विविधताबीच, उनी आध्यात्मिक प्राधिकारसँग सत्य र असत्यको भेद गर्न सक्ने विवेक हुनुलाई महत्त्वपूर्ण ठान्छिन् । उनले अमेरिकी धर्मशास्त्री हावर्ड थर्म्यानले भन्ने गरेको ‘सच्चा आवाज’ बारे विचार गरिन् ।
‘प्राधिकार किन प्रभावशाली हुन्छ ?,’ उनले भनिन्, ‘किनभने, यसले भनेको कुरा सत्य प्रतीत हुन्छ । यसले हामीले मानिआएका केही मूलभूत सिद्धान्तलाई छोएको हुन्छ ।’
अघिल्ला प्रार्थना सभाहरूको आयोजना त वासिङटन क्याथिड्रल नै गर्थ्यो, तर तजबिज भने राष्ट्रपतीय उद्घाटन–समारोह समितिको हुने गथ्र्याे । अर्थात्, नवनिर्वाचित राष्ट्रपतिले नै सहभागीहरू चयन गर्थे । गत वर्ष यो पद्धति फेरियो । बिसप बडीका अनुसार निर्वाचनअघि नै क्याथिड्रल आफैंले प्रार्थना सभाको सम्पूर्ण योजनाको जिम्मा लियो । यो धार्मिक स्वतन्त्रतातर्फ जाने एउटा प्रयास थियो । यसो गरिंदा प्रार्थना सेवा पक्षधरतापूर्ण हस्तक्षेपबाट मुक्त हुन्थ्यो र यो राज्याभिषेक वा पवित्र अभिषेकजस्तो देखिंदैनथ्यो ।
नोभेम्बरमा ट्रम्पले चुनाव जितेपछि, क्याथिड्रलले उनको टोलीलाई प्रार्थना सेवामा प्रस्तुत गरिने सङ्गीत र पठनको प्रस्तावित योजना दिएको थियो । क्याथिड्रलका एक प्रवक्ताका अनुसार उपदेशक छनोट गर्ने अधिकार भने क्याथिड्रल आफैंले राखेको थियो ।
प्रार्थना सेवा सुरु हुनु केही घण्टाअघिसम्म पनि बडीले आफ्नो धर्माेपदेशमा दयाको अपिलसम्बन्धी अंश तयार गरिसकेकी थिइन् । त्यही अंश, जसले धेरै मान्छेको ध्यान आकृष्ट गर्नेवाला थियो ।
‘राष्ट्रपतिसँग दयाको अपिल गर्नु वास्तवमा विनयपूर्ण कुरा थियो,’ उनले भनिन्, ‘म उनीसँग त्यस्तो केही माग गरिरहेकी थिइनँ । म त बस उनीसँग यही निवेदन गरिरहेकी थिएँ, ‘तपाईं यी मानिसहरूको मानवता देख्न सक्नुहुन्छ ? यस देशका मान्छेहरू भयभीत भएका छन् भन्ने तथ्य स्विकार्न सक्नुहुन्छ कि ?’… उनले अर्थात् राष्ट्रपतिले यसो नगरे अरू कसले गर्ने हो त ?’
उनले आफ्ना शब्दहरूबापत यो तहको आक्रोश र व्यक्तिगत आक्रमण बेहोर्नुपर्ला भन्ने अपेक्षा गरेकी थिइनन् । मान्छेहरू सवाल गरिरहेका छन् । उनको चरित्र, योग्यतादेखि उनको अनादि आत्माको हालसम्म; सबै–सबैमाथि प्रश्न उठाइएका छन् । ‘मेरो मृत्युको कामना गरिएका छन्,’ बडीले भनिन्, ‘मेरो यो देशमा बस्ने हकै छैन भन्नेसम्म खालका टिप्पणी आइरहेका छन् ।’
‘राष्ट्रपतिसँग दयाको याचना गर्ने निधोमा पुग्दा मलाई लागेको थियो, यसलाई अलिक फरक ढंगले लिइन्छ होला,’ बडीले भनिन्, ‘सम्भवतः यो मेरो नादानी थियो । मैले उनको हैसियतको अभिनन्दन गरेकी थिएँ, उनको शक्तिको अभिनन्दन गरेकी थिएँ र उनलाई त्यस स्थानमा पुर्याउने करोडौं मान्छेको अभिनन्दन गरेकी थिएँ ।’
बडीले बेहिसाब निन्दा र आलोचना बेहोरिन् । तर, थुप्रै मान्छेबाट आफूप्रति यतिबिघ्न कृतज्ञता व्यक्त गरिएला भन्ने पनि उनले अपेक्षा गरेकी थिइनन् ।
म सधैंभरि यस्तै–यस्तै कुरा बोलिरहेकी हुन्छु, उनले भनिन्, तर, मान्छेहरूले उति ध्यान दिइरहेका छैनन् ।
मञ्चमा उभिएपछि उनले भनिन्, ‘बोलेका कुराले पछि कस्तो परिणाम निम्त्याउने हुन्, पूर्वानुमान गर्न सकिन्न ।’
अघिल्लो मंगलबार प्रार्थना सभामा बिसप बडीले राष्ट्रपति ट्रम्पलाई दिएको उपदेशका मुख्य केही बुँदा :
—स्वतन्त्र समाजमा मिलेर बस्नका लागि एकता जरुरी छ । एकता मजबुत पत्थर हो, जसको जगमा देश निर्माण गरिन्छ । एकता सहमति होइन । एकअर्कामाथि विजय होइन । यो थकित–गलित विनम्रता होइन । न थकानबाट जन्मिने निष्क्रियता नै हो । एकता विभाजन होइन । एकता त सँगसँगै र साथसाथ रहने शैली हो । यस्तो शैली जसले विभिन्नताहरूलाई स्वीकार्छ, समेट्छ र सम्मान गर्छ । एकताले हामीलाई बहुदृष्टिकोण अँगाल्न लगाउँछ ।
–हाम्रो देशभरि उदाहरणीय मान्छे छन्, जो प्राकृतिक विपद्मा आफ्नो जीवन जोखिममा पारेर अरूलाई सहयोग गर्छन् । उनीहरू आफूले सहयोग गरेकालाई ‘गत चुनावमा कसलाई भोट हाल्नुभएको थियो ?’ भनेर सोध्दैनन् । ‘यो मुद्दामा तपाईंको के धारणा छ ?” भनेर पनि सोध्दैनन् । उनीहरूलाई अनुसरण गर्न सक्यौं भने हामी उत्कृष्ट अवस्थामा हुनेछौं ।
–नाजरथका जिससले हामीलाई आफ्ना छिमेकीलाई मात्र होइन, शत्रुहरूलाई समेत प्रेम गर्न सम्झाउनुभएको छ । हामीमाथि अत्याचार गर्नेका लागि पनि प्रार्थना गर्न आग्रह गर्नुभएको छ । उहाँले हामीलाई दयावान् हुन र अरूलाई क्षमा गर्न अर्ती दिनुभएको छ । जिससले समाजबाट बहिष्कृतहरूलाई सप्रेम अँगाल्नुभएको थियो ।
–यस गिर्जाघरमा उपस्थित हामी सबै राजनीतिका वास्तविकतासँग अपरिचित छैनौं । जब शक्ति, सम्पत्ति र प्रतिस्पर्धी स्वार्थहरू जोखिममा पर्छन्; जब अमेरिका के हुनुपर्छ भन्नेमा दृष्टिकोणहरूको द्वन्द्व चल्छ; भोट खसालेपछि वा सार्वजनिक नीति तय गर्ने निर्णय पारित भएपछि, त्यहाँ जित्ने र हार्नेहरू हुनेछन् । भनिरहनु परेन, लोकतन्त्रमा हरेकका खास–खास आशा र सपना पूरा हुँदैनन् । कुनै एक संसदीय सत्र, कुनै एक राष्ट्रपति काल वा एक पुस्ता बितिसक्दा पनि पूरा हुँदैनन् । न ईश्वरले हरेकका प्रार्थनाको जवाफ नै दिनेछन् । तर, केहीका लागि, आशा र सपना गुमाउनु राजनीतिक पराजयभन्दा अधिक दुःखदायी हुन्छ । उनीहरूले त समानता, आत्मसम्मान र जीविका गुमाइरहेका हुन्छन् ।
–आज हाम्रो देशमा घृणा र तिरस्कारको संस्कृति सामान्य बनिसकेको छ । यसले हामीलाई सिध्याउन सक्छ । हामीमाथि दिनहुँजसो यस्ता सन्देशको बमबारी हुन्छ, जसलाई अचेल समाजशास्त्रीहरू ‘दी आउटरेज इन्डस्ट्रियल कम्प्लेक्स’ भन्छन् । हाम्रा राजनीतिक अभियान र सामाजिक सञ्जाल घृणाको इन्धनले चल्न थालेका छन् र यसबाट फाइदा उठाउने धेरै छन् । तर, देश हाँक्ने यो खतरनाक शैली हो ।
–’राष्ट्रपति महोदय, लाखौंले तपाईंलाई विश्वास गरेका छन् । हिजो (उद्घाटन भाषणका क्रममा) तपाईंले आफूले प्रेममय ईश्वरको पावन हात महसुस गर्नुभएको बताउनुभएको थियो । ईश्वरका नाममा, म तपाईंलाई हाम्रा देशका मानिसहरूमाथि दया राख्न आग्रह गर्दछु, जो हाल भयग्रस्त छन् । डिमोक्रेटिक, रिपब्लिकन र स्वतन्त्र परिवारमा थुप्रै पारलैंगिक सन्तान छन्, जो असाध्यै डराएका छन् ।
र, ती मानिस अपराधी होइनन्, जो हाम्रा अन्नबाली भित्र्याइदिन्छन्; हाम्रा कार्यालय भवन सफा राख्छन्; कुखुरा फार्म र मासु प्याक गर्ने कारखानामा मजदुरी गर्छन्; हाम्रा रेस्टुरेन्टमा भाँडा माझ्छन्; अस्पतालमा रात–रातभर खट्छन् । ती अमेरिकाका नागरिक नहुन सक्छन्, उनीहरूसँग आवश्यक कानुनी कागजात नहुन सक्छ । तर, विशाल संख्यामा रहेका आप्रवासीहरू अपराधी होइनन् । उनीहरू कर तिर्छन् । उनीहरू असल छिमेकी हुन् । हाम्रा चर्च, मस्जिद, सिनेगग, गुरद्वारा र मन्दिरका आस्थावान् सदस्य हुन् ।
—दया गर्नुहोस्, राष्ट्रपति महोदय ! हाम्रा समुदायका ती केटाकेटीमाथि दया गर्नुहोस्, जो आफ्ना आमाबाउलाई अमेरिकाबाट फर्काइएला कि भनेर डराइरहेका छन् । तिनलाई सहयोग गर्नुहोस्, जो युद्ध र उत्पीडनबाट जोगिन यहाँ आएका छन् । उनीहरू यहाँ सहानुभूति र स्वागत पाउन आएका हुन् । हाम्रा ईश्वरले हामीलाई पराईहरूप्रति दयावान् हुन सिकाएका छन् । किनभने, हामी पनि अमेरिकाको धर्तीमा उहिले–उहिले पराई थियौं ।
(–धर्म, राजनीति र नैतिक मूल्यलगायत विषयमा लेख्ने डियाज न्युयोर्क टाइम्सकी नेसनल रिलिजन संवाददाता हुन् ।)
FOUNDER/CHIEF EDITOR :