एनआरएनएको विभाजन रोक्न घले बाहेक सबै पूर्वअध्यक्षहरु र वर्तमान अध्यक्ष एकैठाँउ, अध्यक्ष केसीद्वारा एकताका लागि अपील

एनआरएनएको विभाजन रोक्न घले बाहेक सबै पूर्वअध्यक्षहरु र वर्तमान अध्यक्ष एकैठाँउ, अध्यक्ष केसीद्वारा एकताका लागि अपील
www.europenepalikhabar.com २०८१ फागुन २५ गते आइतबार, 9-03-2025


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो लगायत शेष घले बाहेकका पूर्व अध्यक्षहरु देखि वर्तमान अध्यक्ष डा. बद्री केसी सम्म एकै ठाउँ उभिने भएका छन् । उनीहरूले  विदेशमा रहेका नेपालीहरूसँग संस्थाभित्र ‘बृहत एकता अधिवेशन’ को लागि आह्वान गर्ने भएका छन्।

गैर आवासीय नेपाली संघका अनुसार आगामी मंगलबार, नेपाली समय अनुसार साँझ ५ बजे डा. महतोसहित पूर्व अध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, कुमार पन्त, संस्थापक नेता रामप्रताप थापा, संस्थापक संयोजक भिम उदास लगायतले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने भएका हुन् ।

परराष्ट्र मन्त्री आरजु देउवाले गत शुक्रबार राखेको बैठकमा संघको १२ औं महाधिवेशन आगामी अक्टोबर महिनामा गर्ने विषयमा सहमतिमा पुग्न नसकेपछि उनीहरूले संघका राष्ट्रिय समिति, केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सम्बोधन गर्न लागेका हुन् ।

मन्त्रीसँगको बैठकमा उनीहरूले मे महिनामा महाधिवेशन गरे संस्था पुनः विभाजनतिर जाने भन्दै तत्काल सो अधिवेशन रोक्न आग्रह गरेका थिए।

सो बैठकमा गैर आवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीले १० औं महाधिवेशनको विवादको फैसला ११ औं महाधिवेशन सम्पन्न भए पछि आएको भए पनि दोस्रो फैसलाले एघारौं महाधिवेशनको सार्वभौमिकता र स्वतन्त्रताको स्पष्ट व्याख्या सहित अन्तिम फैसला आइसकेको बताए।

डा. केसीले भने, “गैर आवासीय नेपाली अभियान विदेशमा बस्ने ८० लाख नेपालीहरूको हकहितको संरक्षण गर्ने तथा प्रत्येक विदेशमा बस्ने नेपालीलाई नेपालसँगको अविच्छिन्न जोडी राख्ने अभियान हो। यस महाअभियानमा एकताको लागि सबै पक्ष सकेसम्म लचिलो हुन आवश्यक छ।”

डा. केसीले वैधानिक जटिलताको बाटो खुलाई बृहत एकताको पहल गर्न सम्पूर्ण अग्रजहरू, सहकर्मी तथा अभियन्ताहरूलाई अनुरोध गरेका छन्। सर्वोच्च अदालतको अन्तिम फैसलाअनुसार संघको १२ औं महाधिवेशन आगामी अक्टोबर महिनामा हुने तयारी भइरहेको अवस्थामा, पुरानो फैसलालाई आधार बनाएर संघका पूर्व अध्यक्ष शेष घले समूहले मे महिनामा काठमाण्डौंमा भेलाको आयोजना गरेपछि संस्थाभित्र बृहत एकताको पक्षमा आवाज उठ्न थालेपछि पूर्व अध्यक्षहरूले सक्रियता देखाएका हुन्।

हेर्नुहोस् अध्यक्ष डा. बद्री केसीले गरेको आह्वान :

बृहत एकताको लागि अपिल

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरू, संस्थापक सदस्यज्यूहरू, अभियन्ताहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्व पदाधिकारीज्यूहरू, वर्तमान तथा पूर्व संरक्षक तथा सल्लाहकारज्यूहरू, राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्व पदाधिकारीज्यूहरू तथा सम्पूर्ण पञ्जीकृत सदस्यज्यूहरू,

नमस्कार।

 विगत लामो समयदेखि गैरआवासीय नेपाली संघले अप्ठेरो स्थिति भोग्दै आइरहेको छ । यो अप्ठेरोको सुरुवात धेरै अगाडिदेखि भएको भएपनि दशौं कार्यसमितिको अधिवेशन तथा निर्वाचनपछि वैधानिक जटिलताले प्रवेश पाएको छ । दशौं महाधिवेशनमा असहमतिका कारणले दुई फरक फरक ठाउँमा अधिवेशन भए र समस्याले अदालत प्रवेश गर्यो। सर्वोच्च अदालतले ढिलो गरी भएको न्याय सम्पादनले दशौं महाधिवेशनको विधान संशोधन तथा निर्वाचन बदर गरेको छ । दशौं महाधिवेशनको विवादको पूर्पक्ष एघारौं महाधिवेशन सम्पन्न भइसकेपछि आएको छ, जसले गर्दा केही समय एघारौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको दैनिक कामकाजी कार्यहरूमा रोक लगाइएको थियो र अन्ततः एघारौं महाधिवेशनको सार्वभौमता र स्वतन्त्रताको स्पष्ट व्याख्याअनुसार अन्तिम निर्णय आएको छ ।

सर्वोच्च अदालतको दुई फरक–फरक फैसलाका कारण अब आउने बाह्रौँ महाधिवेशन विवाद रहित सम्पन्न गराउन माननीय परराष्ट्र मन्त्रीज्यूको अध्यक्षतामा ७ मार्च २०२५ मा समन्वयकारी बैठक बसेको थियो । उक्त बैठकको निचोडमा हालको कार्यसमिति वैधानिक ठहर भई यस समितिले अक्टोबर २०२५ सम्म आफ्नो कार्यकाल सम्पन्न गर्ने निर्णय गरेको छ । सर्वोच्चको निर्णय अनुसार आगामी अधिवेशन मे महिनामा गर्ने अथवा अक्टोबरमा गर्ने विषयमा सहमति हुन सकेन ।

यस्तो अप्ठेरो परिस्थितिमा अन्तर्राष्ट्रिय समन्वय परिषद मात्र नभई राष्ट्रिय समन्वय परिषदहरू पनि परेका छन् । गैरआवासीय नेपाली अभियान विदेशमा बस्ने ८० लाख नेपालीहरूको हकहितको संरक्षण गर्ने तथा प्रत्येक विदेशमा बस्ने नेपालीलाई नेपालसँगको अविच्छिन्न जोडी राख्ने अभियान हो । यस महाअभियानमा एकताको लागि सबै पक्ष सकेसम्म लचिलो हुन आवश्यक छ । यसैले यो वैधानिक जटिलताको बाटो खुलाई व्यापक एकताको पहल गर्न म सम्पूर्ण अग्रजहरू, सहकर्मी तथा अभियन्ताहरुलाई अनुरोध गर्दछु । यो व्यापक एकताको बाटोहरू पहिचान गर्न, समस्याको वैधानिक रूपरेखा भित्र रहेर समाधान गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय समन्वय परिषद्को अधिवेशनहरू सम्पन्नका विषयमा संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्व अध्यक्षज्यूहरू, संस्थापक सदस्यज्यूहरू, अभियन्ताहरू, अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्व पदाधिकारीज्यूहरू, वर्तमान तथा पूर्व संरक्षक तथा सल्लाहकारज्यूहरू, राष्ट्रिय समन्वय परिषद्का वर्तमान तथा पूर्व पदाधिकारीज्यूहरू तथा सम्पूर्ण पंजीकृत सदस्यहरू सहितको एक छलफलको कार्यक्रम तय गरिएको छ। उक्त कार्यक्रममा उपस्थित भइ आफ्नो बहुमूल्य सुझाव राखिदिनुहुन् हार्दिक अनुरोध गर्दछु ।

 मिति तथा समयः ११ मार्च २०२५ बेलुका ५ बजे

Topic: Appeal for Greater Unity

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित