एनआरएनएमा घलेको एक्लै हिड्ने रहर, पूर्वअध्यक्षहरु देखि वर्तमान सम्मको एउटै मत, मे मा महाधिवेशन असम्भव

एनआरएनएमा घलेको एक्लै हिड्ने रहर, पूर्वअध्यक्षहरु देखि वर्तमान सम्मको एउटै मत, मे मा महाधिवेशन असम्भव
www.europenepalikhabar.com २०८१ फागुन २७ गते मंगलबार, 11-03-2025


एनसीसीहरुले भने : मे को महाधिवेशन सहभागी हुन सकिदैन् 

युरोपनेपाली खबर, पोर्चुगल – गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष, पूर्व अध्यक्ष लगायतका अभियन्ताहरुले संघमा अहिले देखिएको असहज अवस्थाबाट निकास दिन सहमति र एकताका लागि सहकार्य गर्न आह्वान गरेका छन्। तर पूर्व अध्यक्ष शेष घलेले भने एक्लै हिड्ने रहर गरेका छन् ।

गैर आवासीय नेपाली संघद्वारा सोमबार भर्चुएल माध्यमबाट आयोजित बृहत संवाद कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनएका संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन र संसारभरि रहेका नेपालीहरुबीच भाइचारा बढाउन यो संस्थाको स्थापना गरिएको स्मरण गरे। उनले सबैलाई हठ त्यागेर लाखौं नेपालीलाई एउटै विचारको साथ अगाडी बढ्न आग्रह गरे। उच्चस्तरीय समितिले चुनावको लागि मात्रै चुनाव गराउने नभई वैधानिक कुरा मात्रै नहेरेर छातीमा हात राखेर काम गर्न आग्रह गरे । उनले वास्तविक एकताको महाधिवेशनमा मात्रै आफु सहभागी हुने बताउंदै नेपालको समृद्धिको अभियानमा आफ्नो सधैं साथ हुने बताए ।

एनआरएनएका पूर्व अध्यक्ष जीबा लामिछानेले २०२३-२५ का लागि निर्वाचित डा बद्री केसी नेतृत्वको कार्यसमितिलाई हार्दिक बधाई तथा शुभकामना दिए। उनले गत हप्ता परराष्ट्र मंत्री डा आरजु देउवाले समन्वयकारी भूमिका खेलेको बताउंदै सर्वोच्च अदालतका दुवै फैसलालाई कार्यान्वयन गरेर जानु पर्ने बताए । उनले बद्री केसी नेतृत्वको कार्य समितिलाई अक्टोबर २०२५ सम्म काम गर्न दिन सुझाव दिए । “नेपालमा शान्ति प्रक्रिया ल्याइयो। संसद पुनर्स्थापना गर्ने भन्ने कहीं पनि लेखिएको थिएन , द्वन्द्वरत पक्षलाई संसदमा राख्ने कुरा लेखेको थिएन। तर त्यो सम्भव भयो। त्यस्तै हामीले पनि एकता गरेर अगाडी जान सक्छौं,” उनले भने। उनले संस्थाको गुमेको साख फर्काउन अझै पनि सम्भव रहेको बताए ।

एनआरएनएका पूर्व अध्यक्ष कुमार पन्तले विवेक नगुमाउन सबै साथीहरुलाई आग्रह गरे । उनले उच्चस्तरीय समिति एकताबद्ध बन्यो भने मात्रै सबैको इज्जत हुने बताउंदै प्राविधिक कुरामा मात्रै नअल्झिन आग्रह गरे। ” मनभित्र एकताको भावना राख्ने हो भने समस्या समाधान गर्न सकिन्छ। तपाईंहरु सबैले एउटा सुझाव दिनोस्। उच्चस्तरीय समितिमा निर्वाचन पर सार्न हामीले कुरा राख्छौं। हामीले जुन – जुलाईमा चुनाव गर्छौं भन्यौ भने अदालतले, परराष्ट्रले नगर्नोस् भन्दैन। उच्चस्तरीय समितिले निर्वाचनको काम गर्छ, अहिलेको कार्यसमितिलाई आफ्नो काम गर्न दिनोस्,” उनले भने।

एनआरएनएका पूर्व अध्यक्ष भवन भट्टले संघ अहिले विशेष परिस्थितिमा रहेको बताउंदै आफ्नो व्यक्तिगत हित भन्दा संस्थाको हितलाई माथि राख्न आग्रह गरे। “सम्मानित अदालतलाई हामीले मान्नै पर्छ। परराष्ट्र मंत्रीले दिएको विकल्पमा जाउँ,” उनले भने।

एनआरएनएका संस्थापक सचिव भिम उदासले प्राविधिक कुरा छोडेर भावनात्मक एकतामा जान आग्रह गरे। उनले एकताको संदेश अन्तरवार्तामा हैन, व्यवहारमा देखाउनु पर्ने बताए। त्यस्तै संस्थापक सदस्य इन्द्रा बनले पनि अक्टोबर २०२५ मा अधिवेशन र चुनाव गर्न साथै सबै पक्षसंग संवाद गरेर अगाडी बढ्न सुझाव दिइन्।

एनआरएनएका संस्थापक सदस्य राम प्रताप थापाले संस्थाको एकताको लागि आफुले विगतमा बलिदान गरेको समरण गर्दै संस्थाको हितलाई सर्वोपरी राख्न आग्रह गरे।

एनआरएनएका अध्यक्ष डा बद्री केसीले २००३ मा नेपालको समृद्धिको लागि विदेशमा रहेका नेपालीहरुलाई जोड्ने पवित्र उद्देश्य लिएर संस्था स्थापना गरिएको बताए । उनले एनआरएन नागरिकतादेखि सामाजिक सुरक्षा कोषसम्म सबै संघको उपलब्धि भएको बताए। उनले ११ औं महाधिवेशन सम्पन्न भएर चार महिना काम गरिसके पछि सर्वोच्चको फैसला आएको बताए । “सर्वोच्चको दोश्रो फैसलाले विवेचनामा हरेक अधिवेशन सार्वभौम हुन्छन भन्यो। हामी सधै एकताको लागि लचक छौं। सर्वोच्च अदालतको दुइओटै फैसलाको सम्मान गरेर जाउँ। उच्चस्तरीय समितिले अनुगमन गरोस् हामी तयार छौं। ११ औं कार्य समितिको वैधतामाथि कुनै प्रश्न छैन। निस्पक्ष चुनाव गर्न हामी तयार छौं,” उनले भने।

अध्यक्ष केसीले एनआरएनएभित्रको आन्तरिक विवादले गर्दा मुख्य एजेन्डा ओझेलमा परिरहेको बताए । ” मे २०२५ मा चुनाव गर्न वाध्यकारी अवस्था हैन। सर्वोच्च अदालत नियमावली अनुसार महान्याधिवक्ता मार्फत निवेदन दिएमा ६ महिना थप्न सकिन्छ। यो संरचना नफुटाउन हामी सबै मिलेर निवेदन दिन पाउने वैधानिक व्यवस्था छ। मे मा चुनाव गर्न प्रक्रिया पुगेको छैन, बिगार्नको लागि गरेको हुन्छ। त्यसैले सपार्नको लागि काम गरौँ। एनसीसीका सबै अध्यक्षसंग कुरा गरेको छु। एक जनाको हठले संस्था विघटन हुने स्थिति बन्न दिनु हुदैन। यो संस्था बचाउन हामी सबैको समान जिम्मेवारी हो,” उनले भने।

कार्यक्रममा एनसीसीका अध्यक्षहरुले यही मे महिनामा अधिवेशन गर्न सम्भव नभएको बताए। उनीहरुले आपसी सहमतिले केन्द्रमा महाधिवेशनको मिति पर सारे पनि आफुहरुलाई मान्य हुने बताउंदै उच्चस्तरीय समितिका १३ जना सदस्य एकै ठाउँमा बसेर संवादद्वारा अहिलेको समस्यालाई निकास दिन आग्रह पनि गरे।

चार घण्टा भन्दा बढी चलेको अन्तरक्रियाको संचालन महासचिव गौरीराज जोशी तथा सचिव राधिका गुरुङले गरेका थिए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित