परराष्ट्रका प्रतिनिधि समेत सहभागी एनआरएनए स्टेरिङ कमिटी बैठक : महाधिवेशन र निर्वाचन प्रक्रियाबारे महत्वपूर्ण निर्णय !

परराष्ट्रका प्रतिनिधि समेत सहभागी एनआरएनए स्टेरिङ कमिटी बैठक : महाधिवेशन र निर्वाचन प्रक्रियाबारे महत्वपूर्ण निर्णय !
www.europenepalikhabar.com २०८२ पुष १४ गते सोमबार, 29-12-2025


लिस्बन (पोर्चुगल) । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकतापछि गठित स्टेरिङ कमिटीको चौथो बैठक आइतबार सम्पन्न भएको छ।

श्रम, आप्रवासन तथा नेपाली डायस्पोरा समन्वय महाशाखा प्रमुख पुष्पराज भट्टराई, परराष्ट्र मन्त्रालयका उपसचिव कृष्णकुमार सुबेदी तथा उपसचिव राजाराम दाहाल आमन्त्रित बैठकमा गैरआवासीय नेपाली संघको आगामी बाह्रौँ बृहत् महाधिवेशन, संघको विधान तथा निर्वाचन प्रक्रियासँग सम्बन्धित विषयमा घनिभूत छलफल भएको थियो।

महासचिव बाबुराम (बी.आर.) लामाद्वारा सञ्चालित बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल गर्दै आवश्यक निर्णयहरू गरिएको छ।

बैठकले एनआरएनए विधान, २०२२ लाई पालना गर्दै बाह्रौँ बृहत् महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। बृहत् एकतापछिको विधानगत व्यवस्थामा देखिन सक्ने जटिलताका विषयमा कानुनी विज्ञहरूसँग परामर्श लिने, प्राप्त परामर्श स्टेरिङ कमिटीमा छलफल गर्ने र अन्ततः परराष्ट्र मन्त्रालयसँग आवश्यक पत्राचार गर्ने सहमति भएको छ।

यसैगरी, एनसीसी एकता सहजीकरण समिति तथा सदस्यता व्यवस्थापन समितिमा थप गरिएका सदस्यहरूका विषयमा पनि छलफल भएको छ। दुवै अध्यक्षहरूको सिफारिसअनुसार उक्त समितिहरूमा थप गरिएका सदस्यहरूको नामावली आगामी बैठकसम्म पेश गर्ने निर्णय गरिएको छ।

महासचिवद्धय गौरीराज जोशी र बिआर लामाद्धारा जारी विज्ञप्ति अनुसार स्टेरिङ कमिटी सदस्यहरूको प्रतिबद्धता पत्र हस्ताक्षर कार्यान्वयनका विषयमा छलफल गर्दै, कमिटीका सम्पूर्ण सदस्यहरूले अनिवार्य रूपमा प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुपर्ने र आगामी स्टेरिङ कमिटी बैठकअघि सबै सदस्यहरूले हस्ताक्षर गरिसक्नुपर्ने निर्णय गरिएको छ।

बैठकले बृहत् एकतापछिको संगठनात्मक प्रक्रिया सुदृढ गर्दै पारदर्शी र विधिसम्मत ढंगले महाधिवेशन तथा निर्वाचन प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन फेब्रुअरी २३, २४ र २५ गते काठमाडौँमा हुँदैछ। सो महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरिनेछ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित