युरोपनेपाली खबर, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बृहत् एकता पश्चात् गठित स्टेरिङ कमिटीको सातौँ बैठक मिति २०८२ साल माघ २ गते (तदनुसार १६ जनवरी २०२६), शुक्रबार सम्पन्न भएको छ। महासचिव गौरीराज जोशीद्वारा सञ्चालित यस बैठकमा देहायबमोजिमका महत्वपूर्ण छलफल र निर्णयहरू गरिएका छन् ।
मुख्य एजेन्डा र निर्णय
१२ औँ महाधिवेशनको मिति परिवर्तन सम्बन्धमा :
यस बैठकमा १२ औँ महाधिवेशनको मिति परिवर्तन सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ:
यसअघि फेब्रुअरी २३ देखि २५ सम्मका लागि तय गरिएको १२ औँ महाधिवेशनको मिति पुनःनिर्धारण गर्दै बैठकले महाधिवेशनका लागि आगामी मार्च १४-१६, २०२६ लाई नयाँ तथा अन्तिम मितिका रूपमा तय गर्ने।
नयाँ सदस्यता आवेदन अवधि विस्तार, सदस्यता मर्ज तथा भेरिफिकेसन सम्बन्धमा
यस बैठकमा नयाँ सदस्यता आवेदन अवधि विस्तार, सदस्यता मर्ज तथा भेरिफिकेसन सम्बन्धमा छलफल गरी निम्नानुसार निर्णय गरिएको छ :
नयाँ वा छुटेका सदस्यता आवेदनको समयावधि नेपालको समय १२:०० बेलुका, जनवरी २५, २०२६ सम्म विस्तार गर्ने। समानान्तर रूपमा गठन भएका राष्ट्रिय समन्वय परिषद्हरूले अन्य पोर्टलमार्फत बनाएका सदस्यहरूको विवरण पनि नेपालको समय १२:०० बेलुका, जनवरी २५, २०२६ सम्म बुझाइसक्नुपर्ने। त्यसपछि आएका सदस्यता मर्ज तथा नवीकरण नहुने। उक्त सदस्यहरूको विवरण संकलन गर्ने समन्वय महासचिव बी. आर. लामा तथा अध्यक्ष महेश कुमार श्रेष्ठले गर्नुपर्ने।
माथि उल्लेख भए अनुसार प्राप्त सदस्यता र गत मे ३-५, २०२५ मा भएको एकताको महाधिवेशनबाट रजिस्टर भएका एनसीसी सदस्यहरूको विवरण (डेटा) मर्ज गरी, आवश्यक डकुमेन्ट भेरिफिकेसन प्रक्रिया पूरा गर्दै, नेपालको समय अनुसार १२:०० बेलुका, जनवरी ३१, २०२६ भित्र अद्यावधिक गरिने र अन्तिम सदस्यता विवरण सार्वजनिक गर्ने।
१२ औँ महाधिवेशनको स्थल तथा ईभेन्ट म्यानेजमेन्ट छनोट सम्बन्धमा :
यस बैठकमा १२ औँ महाधिवेशनको स्थल तथा ईभेन्ट म्यानेजमेन्ट छनोट सम्बन्धमा छलफल गरि निम्नानुसार निर्णय गरिएको छ:
१२ औँ महाधिवेशनको तयारीका लागि टेन्डर प्रक्रिया पूरा गरी छनोट भएका होटल तथा इभेन्ट म्यानेजमेन्ट कम्पनीहरूलाई नै आगामी मार्च १४,१५ र १६, २०२६ मा सम्पन्न हुने महाधिवेशनका लागि छनोट गर्ने। तदनुसार, काठमाडौंस्थित होटल सोल्टीमा १२ औँ बृहत् महाधिवेशन आयोजना गर्ने तथा सोही महाधिवेशनको इभेन्ट म्यानेजमेन्टका लागि भोग एड एण्ड इभेन्ट म्यानेजमेन्ट (Vogue Ad & Event Management) कम्पनी छनोट गरी, उक्त होटल तथा कम्पनीहरूसँग संघको सचिवालयमार्फत आवश्यक सम्झौता प्रक्रिया अगाडि बढाउने।
अन्य :
समानान्तर एनसीसीहरूसँग स्टेरिङ कमिटीको बैठक आयोजना गरी १२ औँ महाधिवेशनमा सहभागिता तथा एनसीसीहरूको एकताको लागि सहज वातावरण निर्माण गर्ने निर्णय गरिएको छ।
निर्वाचन प्रक्रियाको विषयमा दुवै तर्फको कानूनी सल्लाहकारसहित परराष्ट्र मन्त्रालयसँग थप परामर्श गरी अगाडि बढ्ने।
FOUNDER/CHIEF EDITOR :