गैरआवासीय नेपालीहरुसँग सम्बन्धित विषयमा नेपाल सरकार, परराष्ट्र मन्त्रालयले तालुकदार मन्त्रालयको रुपमा भूमिका निर्वाह गरिरहेको व्यहोरा सर्वविदितै छ । सोही हैसियतमा मन्त्रालयले गैर आवासीय नेपाली संघको आवधिक रुपमा हुने विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको आयोजनामा आवश्यक सहयोग तथा सहजीकरण गर्दै आइरहेको छ ।
“नेपालीका लागि नेपाली” भन्ने मूल नाराका साथ सन् २००३ मा सुरु भएको गैरआवासीय नेपाली अभियान विश्वभर रहेका नेपालीहरुलाई एकैसुत्रमा बाँध्ने उद्देश्यका साथ अघि बढिरहेको छ। यस संस्थाले परिवर्तित समय र सन्दर्भमा आफूलाई पनि परिष्कृत गर्दै लैजाने चुनौती स्वीकार्दै आफूलाई मातृभूमि नेपालको सच्चा साझेदारको रूपमा उभ्याउन सक्षम भएको छ । विभिन्न मुलुकमा छरिएर रहेका नेपालीहरुले विदेशमा आर्जन गरेको ज्ञान, सिप, पुँजी र प्रविधिलाई नेपालको सामाजिक तथा आर्थिक विकासमा सदुपयोग गर्ने ध्येयका साथ स्थापित गैरआवासीय नेपाली संघ स्वदेश तथा विदेशमा बस्ने नेपालीको आशा र भरोसाको केन्द्र बनेको छ ।
संघको १० औँ र ११ औँ महाधिवेशनपछिको कालखण्डमा संस्थाभित्र देखिएका संगठनात्मक जटिलताहरूलाई आत्मसमीक्षा, संवाद र सहकार्यको बलमा चरणबद्ध रूपमा सम्बोधन गर्दै अन्ततः सन् २०२५ नोभेम्बर ३० मा सम्माननीय प्रधानमन्त्री सुशिला कार्कीज्यूको रोहबरमा परराष्ट्र मन्त्रालयका प्रतिनिधि सहितको उपस्थितिमा गैरआवासीय नेपाली संघभित्र ऐतिहासिक तथा बृहत् एकता सम्पन्न भएको तथ्य विदितै छ। यो उपलब्धिले संघको एकता, स्थायित्व र भावी यात्राप्रतिको सामूहिक प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ ।
यसै सन्दर्भमा, यही २०८२ साल फाल्गुण महिनाको ३० गते देखि चैत महिनाको २ गतेसम्म (१४–१६ मार्च २०२६) काठमाडौंमा “Our Unity, Base for Prosperity” को नाराकासाथ १२ औँ गैरआवासीय नेपाली विश्व सम्मेलन तथा बृहत अन्तर्राष्ट्रिय महाधिवेशन आयोजना हुने कार्यक्रम तय भएको छ । उक्त सम्मेलन आयोजनाका लागि नेपाल सरकार, मा. परराष्ट्र मन्त्रीज्यूको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समिति गठन भइसकेको छ । उक्त उच्चस्तरीय आयोजक समितिको सचिवालयका रूपमा संघको सचिवालयले नै कार्य गर्नेछ ।
सम्मेलन तथा महाधिवेशन सम्बन्धी तयारीका कामहरू क्रमश: अघि बढिरहेका छन् । सम्मेलनमा गैरआवासीय नेपाली सम्बन्धी ऐन, गैरआवासीय नेपाली नागरिकले पाउने संविधान प्रदत्त आर्थिक, सामाजिक र साँस्कृतिक अघिकार, गैरआवासीय नेपालीको संयुक्त लगानी, पर्यटन, स्वास्थ्य, ज्ञान, सिप र प्रविधि हस्तान्तरण, महिला, युवा तथा दोस्रो पुस्ता लगायत विविध सत्रमा छलफल हुनेछ । नेपाल सरकारका प्रतिनिधिहरू, विभिन्न राष्ट्रिय समन्वय परिषद्का गैरआवासीय नेपाली प्रतिनिधिहरू, एनआरएनका अभियन्ताहरू र स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वहरुको उक्त सम्मेलनमा सहभागिता रहनेछ।
गैरआवासीय नेपाली संघको आगामी १२ औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय महाधिवेशनमा सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई उत्साहपूर्ण सहभागिताका लागि हार्दिक अपिल गरिएको छ । यसका साथै, सम्पूर्ण सञ्चारकर्मीहरूलाई पनि उक्त सम्मेलन सफल बनाउन महत्वपूर्ण सहयोगको लागि विशेष अनुरोध गरिएको छ ।
परराष्ट्र मन्त्रालय
सिंहदरवार, काठमाडौं ।
२०८२ माघ १९
FOUNDER/CHIEF EDITOR :