एकादशी बजारको हराएको संस्कृति र स्मृतिको राजनीति : मनकामना मेला, लोकलय र स्थानीय पहिचान

एकादशी बजारको हराएको संस्कृति र स्मृतिको राजनीति : मनकामना मेला, लोकलय र स्थानीय पहिचान
लेखक थापा
www.europenepalikhabar.com २०८३ मंसीर ४ गते, शुक्र बार, 20-11-2026


• राजेन्द्र थापा, खाँदबारी (लेखक खोज त्तथा अनुसन्धानकर्ता हुन्। )

उत्सवलाई कलाकारको प्रदर्शनमा सीमित गर्ने कि मौलिक परम्पराको पुनर्जीवन गर्ने?

एकादशी बजार  एउटा मेला  मात्रै होइन थिएन । यो अरुण उपत्यकाको धार्मिक आस्था, स्थानीय लोकसंस्कृति, नदीपारिको सामाजिक सम्बन्ध, चेलीमाइतीको भेटघाट र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सामूहिक सांस्कृतिक स्मृतिसँग जोडिएको एउटा ऐतिहासिक स्थल पनि थियो ,हो। तर पछिल्ला वर्षमा यस मेलाको स्वरूप र उद्देश्यमा आएको परिवर्तनले एउटा गम्भीर प्रश्न उठाएको छ– हामीले आफ्नो संस्कृति जोगाइरहेका छौँ कि संस्कृतिको नाममा नयाँ प्रकारको मनोरञ्जन कार्यक्रम स्थापित गरिरहेका छौँ?


स्वर्गीय खेमराज गुरुङको लोकप्रिय गीत ‘एकादशी बजारैमा, फन्के रोटी थालमा’ ले यस मेलालाई राष्ट्रिय स्तरमा चिनाउन महत्त्वपूर्ण भूमिका खेलेको छ। तर गीत लोकप्रिय बनाउने कलाकारको योगदान र त्यो गीतको लय जन्माएको स्थानीय समाजको सांस्कृतिक इतिहास एउटै कुरा हो कि होइन।?? यी दुई पक्षलाई छुट्याएर हेर्नु आवश्यक छ।

मंसिर ३ गते राति सम्पन्न यस वर्षको एकादशी मेलामा पनि सांस्कृतिक कार्यक्रमका नाममा राजेशपायल राईलगायत राष्ट्रिय कलाकारलाई आमन्त्रण गरिएको छ। अर्कोतर्फ, चिचिला गाउँपालिकामा पनि यस्तै प्रकृतिको कार्यक्रम आयोजना हुन लागेको सन्दर्भले अरुण उपत्यकाका स्थानीय सरकारको सांस्कृतिक प्राथमिकताबारे बहस गर्नुपर्ने अवस्था सिर्जना गरेको छ।

१. गीतको लोकप्रियता र लोकलयको वास्तविक इतिहास

‘वारि जमुना, पारि जमुना, जमुनाको फेदैमा मनकामना’ भन्ने गीतको लोकप्रियतासँगै तुम्लिङटारको मनकामना धाम पनि व्यापक रूपमा परिचित भयो। खेमराज गुरुङले वि.सं. २०५७ मा यो गीत गाएर रेकर्ड गराएको र त्यसले मनकामनालाई चिनाउन ठूलो भूमिका खेलेको तथ्य विभिन्न श्रोतमा प्रकाशित छन। तर गीतको मूल लोकलय भने त्यसअघि नै पूर्वी पहाडका बूढापाकाले मादल बजाउँदै गाउने गरेको स्थानीय भाका थियो भन्ने कुरा गोरखापत्रको हालैको समाचारले समेत उल्लेख गरेको छ। 

यसले एउटा महत्त्वपूर्ण सांस्कृतिक तथ्यतर्फ संकेत गर्छ। खेमराज गुरुङ यस गीतका गायक, सङ्कलक, गीतकार तथा सङ्गीतकारका रूपमा सम्मानित छन्। उनले स्थानीय लोकभाकालाई व्यापक श्रोतासम्म पुर्‍याए। यो उनको विशिष्ट योगदान हो। तर लोकलयको सामाजिक उत्पत्ति र त्यसलाई लोकप्रिय बनाउने आधुनिक कलाकारको योगदानलाई एउटै मान्न मिल्दैन।

‘एकादशी बजारैमा, फन्के रोटी थालमा, कसको छोरा कसको छोरी पर्‍यौ माया जालमा’ भन्ने बोल कुनै एक व्यक्तिको सिर्जनाभन्दा पनि सामूहिक लोकस्मृतिबाट विकसित भएको हुन सक्ने आधार देखिन्छ। गोरखा मनकामना क्षेत्र र चितवनतिर पनि यससँग मिल्दोजुल्दो भाका सुनिने गरेको मौखिक दाबीलाई थप अनुसन्धानको विषय बनाउन सकिन्छ। लोकगीतको इतिहासमा एउटा भाका विभिन्न ठाउँमा फरक शब्द, लय र सन्दर्भसहित जीवित रहन सक्छ।

त्यसैले यस विषयमा उचित दृष्टिकोण यस्तो हुनुपर्छ– खेमराज गुरुङको योगदानको सम्मान गरौँ, तर लोकभाकाको सामूहिक स्वामित्व र त्यसलाई जन्माउने स्थानीय समुदायको इतिहास पनि सुरक्षित राखौँ।

२. एकादशी मेला : धार्मिक तीर्थभन्दा परको सामाजिक संसार

तुम्लिङटारको मनकामना मेला अरुण नदीको किनारमा लाग्ने पुरानो धार्मिक तथा सामाजिक मेला हो। विभिन्न पुस्तक र श्रोतमा प्रकाशित विवरणअनुसार वि.सं. १९८२ देखि यसको निरन्तरता रहेको बताइन्छ। यसको ऐतिहासिकता र निरन्तरताबारे स्थानीय अभिलेख तथा पुराना मौखिक स्रोतबाट थप पुष्टि गर्नु र अनुसन्धान हुनुआवश्यक छ। 

यस मेलाको विशेषता अरुण नदीको भौगोलिक अवस्थासँग पनि जोडिएको थियो। एकातिर सङ्खुवासभाको तुम्लिङटार र अर्कोतिर भोजपुर। सतीघाट आसपासबाट डुङ्गा चढेर नदी पार गर्दै भोजपुरतिरका मानिस मेलामा सहभागी हुन आउने गरेको पुरानो स्मृति छ। अहिले पुल बनेपछि आवागमन सहज भएको छ, तर पहिले नदी आफैँ एउटा सामाजिक दूरी र सम्बन्धको माध्यम पनि थियो।

यस मेलाको सबैभन्दा संवेदनशील सांस्कृतिक पक्ष चेलीमाइतीको सम्बन्ध थियो। तिहारमा भाइटीका लगाउन नपाएका चेली र माइतीले एकादशीको रात मनकामना परिसरमा भेटेर फूलमाला लगाउने, जाग्राम बस्ने र बिहान नदीमा स्नान गरेर फर्कने परम्परा रहेको कुरा हालैको गोरखापत्रको विवरणमा समेत आएको छ। अपरिचित युवायुवतीबीच नाता गाँसेर टीका र माला आदानप्रदान गर्ने अभ्यास पनि यस मेलाको सामाजिक विशेषता थियो। 

त्यसैले यो मेला  देवीको दर्शन, पूजा र व्यापारको अवसरमात्रै पनि  थिएन। यो नदीपारिका समुदायबीच सम्बन्ध जोड्ने, चेलीमाइतीको भावनात्मक रिक्तता पूरा गर्ने, युवायुवतीबीच परिचय र प्रेमको सम्बन्ध विकास गर्ने तथा सामूहिक मनोरञ्जन गर्ने सामाजिक संस्था पनि थियो। यहाँ भएका 

पुराना बरपिपलका रूखमुनि मादल बज्थे। मारुनी, भजन, बालन, कीर्तन, दोहोरी र स्थानीय झ्याउरे गाथाहरू प्रस्तुत हुन्थे। पाँमा र हेलुवातिरका राई,खाँदबारी क्षेत्र का  मगर, गुरुङ , खाँदबारी ,तुम्लिङटार , सिभुवा तिरका नेवार समुदायका मौलिक गीत र नाचले मेलालाई बहुजातीय सांस्कृतिक उत्सव बनाउँथे। ठूला मादलको आवाज, फूलमाला लगाएका चेलीमाइती र रातभर जाग्राम बस्ने युवायुवतीले अरुण किनारलाई एउटा जीवन्त सांस्कृतिक थलो बनाउँथे। तर 

माओवादी द्वन्द्वकालदेखि सामाजिक असुरक्षा, बसाइँसराइ, पुस्तान्तरणमा आएको अवरोध र मनोरञ्जनका नयाँ माध्यमको प्रभावले यी अभ्यास क्रमशः कमजोर हुँदै गएको स्थानीय स्मृति छ। आज मेला लाग्छ, भीड पनि जम्मा हुन्छ, तर पहिलेको जस्तो सामूहिक लोकसांस्कृतिक वातावरण हराउँदै गएको अनुभूति धेरै पुराना पुस्ताले गरेका छन्।

यही नै अहिलेको मुख्य चिन्ताको विषय हो।

३. मनकामना मन्दिरको इतिहास : किंवदन्तीभन्दा अभिलेखको खोजी

तुम्लिङटारको मनकामना मन्दिरको उत्पत्तिबारे पनि गम्भीर ऐतिहासिक अध्ययन आवश्यक छ। जमुना वा क्यामुना नामले चिनिने रूखको फेदमा देवीको मूर्ति वा प्रतीक भेटिएको र त्यहीँबाट मनकामना देवीको पूजा सुरु भएको भन्ने स्थानीय कथनपनि  छ। यो कथाले धार्मिक स्थलको उत्पत्तिसम्बन्धी स्थानीय स्मृति बोकेको छ।

यसलाई गोरखाको प्रसिद्ध मनकामना मन्दिरकै अर्को रूप मान्ने र पृथ्वीनारायण शाहका सेनाले स्थापना गरेको भन्ने जनश्रुति पनि सुनिन्छ। तर यस्ता दाबीलाई पुष्टि गर्ने ऐतिहासिक प्रमाण प्रस्तुत नगरी स्थापित इतिहासका रूपमा स्वीकार गर्न मिल्दैन।

अर्कोतर्फ, स्थानीय कुमाल समुदायले पानीसँग सम्बन्धित स्थानीय देवताको पूजा गर्ने गरेको र त्यही पुरानो धार्मिक अभ्यास क्रमशः मनकामना भगवतीको हिन्दू स्वरूपमा समाहित भएको हुन सक्ने मौखिक धारणा पनि छ। यसलाई पनि प्रमाणित इतिहास नभई अनुसन्धान गर्नुपर्ने सांस्कृतिक परिकल्पनाका रूपमा लिनुपर्छ।

मन्दिरको पूजा परम्परा, विभिन्न समुदायका पुजारीको संलग्नता, गुठी जग्गा र चैनपुरको सिद्धकाली मन्दिरसँग देखिने सम्भावित सम्बन्धका विषयमा अभिलेखको अध्ययन महत्त्वपूर्ण हुन्छ ,छ । यसमा मातृका तिम्सिनाको अरुण किनारकी मनकामना नामक पुस्तक श्रोत महत्त्वपूर्ण छ । राजेन्द्र थापाको खाँदबारीको अध्ययन   नामक अध्ययन प्रतिवेदन पनि महत्त्वपूर्ण सामाग्री हो ।  अन्य उपलब्ध भनिएका गुठी कागजात, जग्गासम्बन्धी लिखत, पुजारी नियुक्तिका प्रमाण र पुराना धार्मिक दस्तावेजको अध्ययनबाट यसको इतिहास स्पष्ट पार्न सकिन्छ।

विशेषतः वि.सं. २०२२ को बाढीले पुरानो गुठी खेतको ठूलो भाग बगरमा परिणत गरेको भन्ने स्थानीय ऐतिहासिक स्मृतिलाई पनि नक्सा, जग्गाधनी अभिलेख र पुराना साक्षीका आधारमा अध्ययन गर्नुपर्छ। अहिले मेला लाग्ने जमिनको ऐतिहासिक र धार्मिक स्वामित्व बुझ्न यो महत्त्वपूर्ण पक्ष हो।

धार्मिक स्थलको इतिहास लेख्दा प्रचलित किंवदन्तीलाई हटाउनु हुँदैन, तर किंवदन्तीलाई नै प्रमाणित इतिहास पनि बनाउनु हुँदैन। जनश्रुति, अभिलेख र पुरातात्त्विक वा भौतिक प्रमाणलाई छुट्टाछुट्टै पहिचान गरी प्रस्तुत गर्नु नै उचित हुन्छ।

४. धार्मिक अभ्यासको परिवर्तन र स्थानीय सांस्कृतिक पहिचान

मनकामना मन्दिर र अरुण नदीको धार्मिक अभ्यास पनि बहुआयामिक रहेको देखिन्छ । अरुण नदीमा पञ्चबली दिने परम्परा, नदीकिनारमा गरिने पूजा, मन्दिरमा बलि चढाउने चलन र स्थानीय समुदायका आआफ्नै धार्मिक विधि यस क्षेत्रको धार्मिक संस्कृतिका महत्त्वपूर्ण पक्ष हुन्।

अहिले मुख्य मन्दिरभित्र बलि नदिई तलतिर छुट्टै मौलो गाडेर पूजा गर्ने अभ्यास रहेको छ । यसले प्राचीन इतिहास ,उत्पत्ति र अभ्यासलाई ओझेल पारेर मन्दिरमा वैदिक हिन्दू विधिअनुसार पूजा, आरती र अन्य कर्मकाण्डको प्रभाव बढेको देखिन्छ।

यसमा कुनै धार्मिक विधि उचित वा अनुचित भन्ने प्रश्नभन्दा पनि धार्मिक परम्पराको ऐतिहासिक विकास र त्यसमा विभिन्न समुदायको योगदान कसरी अभिलेखित गर्ने भन्ने प्रश्न महत्त्वपूर्ण रहन पुगेकोछ।

कुनै धार्मिक स्थलको पहिचान एउटा मात्र सम्प्रदाय वा एउटा मात्र पूजापद्धतिमा सीमित हुँदैन। स्थानीय समुदायले लामो समयदेखि गर्दै आएका पूजा, बलि, नदी आराधना, भजन, जाग्राम र मौलिक अनुष्ठान पनि त्यसको सम्पदाका अङ्ग हुन्। नयाँ धार्मिक अभ्यास विकसित हुँदैमा पुराना अभ्यासको इतिहास मेटिनु हुँदैन।

मनकामना धामको संरक्षण गर्दा यस क्षेत्रमा रहेका सबै समुदायको धार्मिक स्मृति र सांस्कृतिक योगदानलाई समान महत्त्व दिनुपर्छ।

५. खेमराज गुरुङको सम्मान र एकादशी बजारको पहिचान :

खेमराज गुरुङ नेपाली लोकसङ्गीतका महत्त्वपूर्ण प्रतिभा हुन्। उनको असामयिक निधन नेपाली सङ्गीत क्षेत्रका लागि क्षति हो। उनले स्थानीय लोकभाकालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रोतासम्म पुर्‍याउन खेलेको भूमिका सम्मानयोग्य छ। उनको स्मृतिमा कार्यक्रम आयोजना गर्नु पनि अनुचित होइन।

तर एउटा प्रश्न छ– के एकादशी बजारको पहिचानलाई अब खेमराज गुरुङको स्मृति साँझमा मात्र सीमित गरिनु उचित हुन्छ?

एकादशी बजार खेमराज गुरुङभन्दा धेरै पुरानो सांस्कृतिक परम्परा हो। उनको गीतले मेलालाई चिनायो, तर उनले मेला स्थापना गरेका होइनन्। मेलाको जन्म, विकास र निरन्तरतामा स्थानीय समुदायका अनेक पुस्ताको योगदान छ।

अहिले मेलाको मूल पहिचानभन्दा कलाकारको प्रस्तुतिलाई बढी प्राथमिकता दिइन थालेको देखिन्छ। यस वर्ष मंसिर ३ गते राति आयोजित कार्यक्रममा राजेशपायल राईलगायत कलाकारको प्रस्तुति भयो। गोरखापत्रले पनि यसलाई स्व. खेमराज गुरुङ स्मृति सांगीतिक साँझका रूपमा उल्लेख गरेको छ। त्यही समाचारमा खाँदबारी नगरपालिकाका प्रमुखले खेमराज गुरुङको अर्धकदको सालिक र खेमराज पार्क निर्माणको शिलान्यास गरेको विवरणसमेत छ। 

यहाँ मेरो प्रश्न खेमराज गुरुङको सालिक बनाउनु हुँदैन भन्ने होइन। प्रश्न यसको स्थान, सन्दर्भ र ऐतिहासिक सन्देशको हो।

यदि एकादशी बजार परिसरमै उनको प्रतिमा स्थापना गरिन्छ भने भविष्यमा यो बजार उनकै नामबाट सुरु भएको वा उनकै योगदानले स्थापित भएको जस्तो ऐतिहासिक भ्रम उत्पन्न हुन सक्छ। त्यसैले प्रतिमा स्थापना गर्ने निर्णयअघि स्थानीय सांस्कृतिक इतिहास, मेलाको उत्पत्ति र सामूहिक लोकपरम्पराको पहिचानलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा सार्वजनिक छलफल हुनुपर्छ।  

खेमराज गुरुङको सम्मानका लागि उपयुक्त स्थानमा स्मृति उद्यान, सङ्गीत अध्ययन केन्द्र वा लोकसङ्गीत सङ्ग्रहालय स्थापना गर्न सकिन्छ। मेलामा उनको सांगीतिक योगदानलाई स्मरण गर्ने कार्यक्रम पनि राख्न सकिन्छ। तर मेलाको मूल सांस्कृतिक स्वरूपलाई विस्थापित गरेर स्मृति साँझलाई नै यसको मुख्य पहिचान बनाउनु उचित देखिँदैन।

६. चिचिला महोत्सव र स्थानीय सरकारको सांस्कृतिक प्राथमिकता

यही सन्दर्भमा अर्कोतिर  चिचिला गाउँपालिकाले मंसिर ५ देखि ८ गतेसम्म मत्स्यपोखरीमा आयोजना गर्न लागेको चिचिला महोत्सवलाई पनि हेर्न सकिन्छ। समाचार मा 

प्रकाशित विवरणअनुसार महोत्सवमा स्थानीय उत्पादनको बजारीकरण, पर्यटन प्रवर्द्धन, जातजातिका मौलिक कला तथा संस्कृतिको संरक्षण र साहित्यिक गतिविधिलाई प्राथमिकता दिने उद्देश्य राखिएको छ। ३० वटा प्रदर्शनी तथा बिक्री कक्ष, खाद्य उत्सव, साहित्यिक कार्यक्रम र १२.५ किलोमिटरको पदमार्ग दौडसमेत कार्यक्रमको हिस्सा छन्। 

चिचिला महोत्सवको उद्देश्यमा स्थानीय उत्पादन, साहित्य र संस्कृतिको प्रवर्द्धन समेटिनु सकारात्मक पक्ष हो। तर त्यहाँ पनि एउटा प्रश्न उठ्छ– स्थानीय संस्कृति संरक्षण गर्ने नाममा राष्ट्रिय कलाकारको प्रस्तुति र महँगो मनोरञ्जनलाई मुख्य आकर्षण बनाउने हो कि स्थानीय सांस्कृतिक सम्पदालाई नै उत्सवको केन्द्रमा राख्ने हो?

स्थानीय सरकारको काम कलाकार बोलाएर भीड जम्मा गर्नु मात्र होइन। स्थानीय समुदायका हराउँदै गएका गीत, नाच, बाजा, भाषा, धार्मिक अभ्यास र ऐतिहासिक स्मृतिको संरक्षण गर्नु पनि हो।

खाँदबारी र चिचिलाका यी दुई कार्यक्रमलाई प्रतिस्पर्धाका रूपमा होइन, अरुण उपत्यकाको सांस्कृतिक विकासको साझा बहसका रूपमा लिनुपर्छ।

७. जनताको करबाट उत्सव : खर्च र प्रतिफलको प्रश्न

स्थानीय सरकारले सांस्कृतिक कार्यक्रम आयोजना गर्न बजेट खर्च गर्नु आफैँमा गलत होइन। कला, संस्कृति र पर्यटन प्रवर्द्धनमा सार्वजनिक लगानी आवश्यक हुन्छ। तर त्यस्तो लगानीको प्राथमिकता र प्रतिफल स्पष्ट हुनुपर्छ।

राष्ट्रिय कलाकारलाई आमन्त्रण गर्दा लाग्ने पारिश्रमिक, आवास, यातायात, मञ्च व्यवस्थापन र अन्य खर्च कति हो? त्यो रकम आयोजक क्लबले व्यहोरेको हो कि पालिकाले? पालिकाको बजेटबाट खर्च भएको हो भने कुन शीर्षकबाट कति रकम विनियोजन गरिएको छ? यी प्रश्नको पारदर्शी जवाफ जनताले पाउनुपर्छ।

 वर्षको कार्यक्रमको वास्तविक खर्च र कलाकारको पारिश्रमिक सार्वजनिक प्रमाणबिना निश्चित रकम उल्लेख गर्नु उचित हुँदैन। तर सार्वजनिक रकम खर्च भएको भए त्यसको विवरण सार्वजनिक गर्नु स्थानीय सरकारको दायित्व हो।

जनताको करबाट आयोजित कार्यक्रमको मूल्याङ्कन ,कति दर्शक आए, कति जना नाचे र कति चर्चित कलाकार आए भन्ने आधारमा हुनु हुँदैन। त्यसले स्थानीय अर्थतन्त्र, पर्यटन, संस्कृति र सामुदायिक पहिचानमा कस्तो योगदान गर्‍यो भन्ने आधारमा हुनुपर्छ।

यदि लाखौँ रुपैयाँ खर्च गरेर एक रात मनोरञ्जन गराइन्छ, तर स्थानीय लोकसंस्कृति अभिलेख गर्न, पुराना गीत सङ्कलन गर्न, मादल वादकलाई प्रोत्साहन गर्न, परम्परागत नाचको प्रशिक्षण दिन र मन्दिरको इतिहास लेख्न बजेट पुग्दैन भने त्यो विकासको सन्तुलित प्राथमिकता होइन।

सार्वजनिक खर्चको औचित्य, पारदर्शिता र प्रतिफलको प्रश्न उठाउनु भ्रष्टाचारको आरोप लगाउनु होइन। यो नागरिकको स्वाभाविक लोकतान्त्रिक अधिकार हो। तर उद्देश्य र उपलब्धि नहेरी हरेक सांस्कृतिक खर्चलाई भ्रष्टाचार भन्नु पनि उचित हुँदैन।

८. अब के गर्नुपर्छ? : उत्सव होइन, सांस्कृतिक पुनर्जीवनको अभियान

एकादशी बजारलाई पुनःस्थापित गर्ने हो भने यसको मौलिक सांस्कृतिक स्वरूपलाई केन्द्रमा राख्नुपर्छ। यसका लागि केही काम तत्काल सुरु गर्न सकिन्छ।

पहिलो, लोकसङ्गीतको पुनःस्थापना। स्थानीय राई, मगर, गुरुङ तथा अन्य समुदायका पुराना मारुनी, झ्याउरे, बालन, भजन, दोहोरी र एकादशीका गीत सङ्कलन गर्नुपर्छ। पुराना मादल वादक, गायक र नर्तकलाई खोजेर उनीहरूका प्रस्तुति अभिलेख गर्नुपर्छ। ‘एकादशी बजारैमा’ को पुरानो लय, ताल, मादल वादन र गायन शैलीलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने व्यवस्था गर्नुपर्छ।

दोस्रो, चेलीमाइती परम्पराको संरक्षण। एकादशीको रात फूलमाला लगाउने, टीका आदानप्रदान गर्ने, नाता गाँस्ने र जाग्राम बस्ने अभ्यासको ऐतिहासिक महत्त्वलाई पुनःस्थापित गर्नुपर्छ। यो परम्परा कसैलाई बाध्य पार्ने होइन, स्वेच्छिक सामाजिक र सांस्कृतिक सहभागिताका रूपमा पुनर्जीवित गर्न सकिन्छ।

तेस्रो, मनकामना मन्दिरको प्रामाणिक इतिहास तयार गर्ने। मन्दिरको उत्पत्ति, जमुना वा क्यामुना रूखको किंवदन्ती, पुराना पुजारी, गुठी जग्गा, सिद्धकाली मन्दिरसँगको सम्भावित सम्बन्ध, कुमाल समुदायको धार्मिक अभ्यास र पूजापद्धतिको इतिहास अभिलेख गर्नुपर्छ। स्थानीय वृद्धवृद्धा, पुजारी, गुठियार र विभिन्न समुदायका जानकार व्यक्तिको मौखिक इतिहास सङ्कलन गर्नुपर्छ। उपलब्ध लिखत र अभिलेखको अध्ययन गरेर आगन्तुकका लागि जानकारीमूलक पुस्तिका र सूचना पाटी तयार गर्नुपर्छ।

चौथो, धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण। मनकामना मन्दिर, अरुण नदी, सतीघाट, पुरानो गुठी क्षेत्र र नदीकिनारका ऐतिहासिक स्थललाई जोडेर धार्मिक तथा सांस्कृतिक पर्यटनको योजना बनाउनुपर्छ। नदीको पवित्रता, घाटको सरसफाइ, पुराना बरपिपलको संरक्षण र तीर्थयात्रीका लागि आधारभूत सुविधा निर्माणमा लगानी गर्नुपर्छ।

पाँचौँ, सबै समुदायको सांस्कृतिक प्रतिनिधित्व। मनकामना मेलाको कार्यक्रम कुनै एउटा जाति, धर्म वा सम्प्रदायको मात्र नहोस्। यहाँको इतिहास निर्माणमा सहभागी राई, मगर, गुरुङ, कुमाल, ब्राह्मण, क्षेत्री तथा अन्य समुदायका मौलिक अभ्यासलाई उचित स्थान दिनुपर्छ।  अन्य स्थापित कलाकार ,लेखक ,अनुसन्धानकर्ता , अभियानकर्ता पनि नागरिक र समाजका महत्त्वपूर्ण हिस्सा हुन । सबैको यथोचित सम्मान हुनुपर्छ । पुराना र नयाँ धार्मिक परम्परालाई प्रतिस्पर्धी होइन, ऐतिहासिक अध्ययनका विषयका रूपमा बुझ्नुपर्छ।

छैटौँ, स्थानीय सरकारको बजेट प्राथमिकता परिवर्तन। महँगा कलाकारको प्रस्तुतिमा केन्द्रित कार्यक्रमको सट्टा स्थानीय कलाकार, लोकबाजा, मौलिक नाच, सांस्कृतिक अनुसन्धान, अभिलेखीकरण र पुस्तान्तरणमा लगानी बढाउनुपर्छ। राष्ट्रिय कलाकारलाई आमन्त्रण गर्नै नहुने होइन, तर उनीहरूको प्रस्तुति स्थानीय संस्कृतिको मुख्य कार्यक्रमलाई ओझेल पार्ने गरी हुनु हुँदैन।

निष्कर्ष : एकादशी बजारको आत्मा फर्काउने कि भीड मात्र बढाउने?

एकादशी बजारको वास्तविक सम्पत्ति त्यहाँको मञ्च, बिजुली, ध्वनि प्रणाली वा राष्ट्रिय कलाकार होइनन्। यसको वास्तविक सम्पत्ति अरुण नदी हो, नदीसँग जोडिएको मनकामना देवीको आस्था हो, पुरानो गुठी र धार्मिक इतिहास हो, सतीघाटको स्मृति हो, चेलीमाइतीको सम्बन्ध हो, बरपिपलको छहारीमा गुञ्जिने मादल हो र विभिन्न जातजातिका लोकगीत तथा नृत्य हुन्। 

आज हामीसँग मेला छ, तर मेलाको पुरानो आत्मा क्रमशः कमजोर हुँदै गएको छ। दर्शक छन्, तर पहिलेको जस्तो सामूहिक लोकसांस्कृतिक सहभागिता छैन। मञ्च छ, कलाकार छन्, तर स्थानीय मादल र मौलिक लोकभाकाको स्थान साँघुरिँदै गएको छ।

खेमराज गुरुङलाई सम्मान गरौँ। उनले चिनाएको मनकामना धामलाई अझ व्यापक रूपमा चिनाऔँ। तर उनलाई सम्मान गर्ने नाममा उनलाई जन्माउने लोकसंस्कृति र त्यसको ऐतिहासिक स्रोतलाई बिर्सनु हुँदैन।

चिचिला महोत्सव होस् वा मनकामना एकादशी मेला, स्थानीय सरकारको सफलता महँगा कलाकार ल्याएर भीड जम्मा गर्नुमा होइन, स्थानीय समाजले आफ्नो संस्कृति पहिचान गर्न, त्यसमा गर्व गर्न र नयाँ पुस्तामा हस्तान्तरण गर्न सक्ने वातावरण निर्माण गर्नुमा छ।

हामीले अहिले नै सोच्नुपर्ने प्रश्न यही हो–

हामीलाई एकादशी बजारमा अर्को राजेशपायल राईको प्रस्तुति चाहिएको हो कि हाम्रा पुराना मादल फेरि गुञ्जिएको सुन्न चाहिएको हो?

मलाई लाग्छ, एकादशी बजारको पुनर्जीवनका लागि अब स्थानीय मादलको आवाज फर्काउनु आवश्यक छ। त्यो आवाजमा अरुणको इतिहास छ, चेलीमाइतीको आत्मीयता छ, विभिन्न समुदायको साझा संस्कृति छ र हाम्रो आफ्नै मौलिक पहिचान छ।

एकादशी बजारलाई खेमराज गुरुङको स्मृतिमा मात्र होइन, त्यसलाई जन्माउने सम्पूर्ण स्थानीय समाजको जीवित सांस्कृतिक स्मृतिमा पुनःस्थापित गरौँ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित