नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व : गोल्छा भए अध्यक्ष, ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी

नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व : गोल्छा भए अध्यक्ष, ढकाल वरिष्ठ उपाध्यक्षमा विजयी
युरोपनेपाली खबर २०७७ मंसीर १५, 30-11-2020


कोरोना संक्रमणका कारण झन्डै आठ महिना ढिलो भएको निर्वाचनले नेपाल उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व छनोट गरेको छ । वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा आगामी कार्यकालका लागि स्वतः अध्यक्ष भएका छन् ।

चुनावी प्रतिस्पर्धामार्फत महासंघको वरिष्ठ उपाध्यक्षमा चद्रप्रसाद ढकाल निर्वाचित भएका छन् । शनिबार मध्यराति भएको मतगणनाअनुसार ढकालले कुल मतको ५४ दशमलव २६ प्रतिशत अंक प्राप्त गरे । उनका प्रतिद्वन्द्वी किशोर प्रधानले ४५ दशमलव ७४ प्रतिशत मत मात्रै पाएको निर्वाचन समितिले जनाएको छ ।

समितिका अनुसार ढकालले वस्तुगततर्फ ५९, जिल्ला नगरतर्फ ५२ र एसोसिएटतर्फ ५ सय २२ मत प्राप्त गरेका छन् । प्रधानले वस्तुगततर्फ ३९, जिल्ला नगरतर्फ ५३ र एसोसिएट्सतर्फ ३ सय ७५ मत प्राप्त गरेका थिए । आइतबार साँझ एक कार्यक्रम आयोजना गरी पद हस्तान्तरण गरिसकिएको छ ।

पद हस्तान्तरण कार्यक्रममा निवर्तमान अध्यक्ष भवानी राणाले कोरोना संक्रमणका कारण साधारणसभा गर्न ढिलाइ भएको बताइन् । ‘झन्डै साढे तीन वर्षअघि मैले उद्योग वाणिज्य महासंघको ५० वर्षको इतिहासमा महिला भएर नेतृत्व लिन अगाडि बढेकी थिएँ, त्यो दिन मेरा लागि ऐतिहासिक थियो,’ उनले भनिन्, ‘आज कोरोना महामारीको परिस्थितिमा पनि साधारणसभालाई समयमा गर्न सकिएन, अहिले सरकारसँग सहकार्य गरेर स्वास्थ्य मापदण्ड अपनाई कोरोनापछि सबैभन्दा ठूलो सञ्जाल भएको महासंघको साधारणसभा राम्रोसँग सम्पन्न गर्न सफल भयौं ।’ देशको अर्थतन्त्रलाई चलायमान बनाउन चुनौतीलाई सामना गर्दै अघि बढ्न उद्योगी व्यवसायीलाई उनले आह्वानसमेत गरिन् ।

सबैभन्दा बढी मतदाता रहेको एसोसिएट्सतर्फको उपाध्यक्षमा ढकाल प्यानलका रामचन्द्र संघाई विजयी भएका छन् । उनले कुल ४ सय ५५ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी सौरभ ज्योतिले ४ सय ३४ मत प्राप्त गरे । एसोसिएटतर्फबाट महासंघको कार्यकारिणी सदस्यमा १९ जना निर्वाचित भएका छन् । एसोसिएटतर्फ सदस्यहरूमा अम्बिकाप्रसाद पौडेल, ज्योत्सना श्रेष्ठ, गोपाल खनाल, भरतराज आचार्य, प्रबलजंग पाण्डे, साहिल अग्रवाल, शैलेन्द्र गुरागार्इं, विजयसिंह वैद्य, राजेशकुमार अग्रवाल र शक्तिकुमार बेगानी निर्वाचित भएका छन् ।

त्यस्तै हेमन्त गोल्छा, सञ्जय पुरी, आनन्दकुमार अग्रवाल बगडिया, देशबन्धु बस्नेत (अजित), अविनाश बोहरा, सुशील थापा, कृष्णलाल महर्जन र रञ्जितराज आचार्य एसोसिएट सदस्यमा निर्वाचित भएका छन् । थप एक सदस्यका लागि भने दुई उम्मेदवारको मत बराबरी आएको थियो । मंगेशलाल श्रेष्ठ र विराट थापाले बराबर ४ सय ५७ प्राप्त गरेका थिए । निर्वाचन समितिका निर्वाचन अधिकृत लीलामणि पौडेलका अनुसार बराबरी मत प्राप्त भएपछि दुवैले आधाआधा कार्यकाल काम गर्ने निर्णय भएको छ । एसोसिएटतर्फका १९ पदका लागि ३१ जनाको उम्मेदवारी परेको थियो ।

महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ विजयी भए । प्रधान समूहबाट उम्मेदवारी दिएका उनले ५८ मत प्राप्त गरे । प्रतिद्वन्द्वी गुणनिधि तिवारीले ४७ मत प्राप्त गरेका छन् । जिल्ला नगरतर्फका सदस्यहरूमा राजन श्रेष्ठ, तारानाथ घिमिरे, कमलकुमार श्रेष्ठ, शोभाकान्त पौडेल, गजेन्द्रकुमार भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, देवकुमार श्रेष्ठ निर्वाचित भए । यसैगरी रामेश्वर मानन्धर, कमानबहादुर खड्का, सुरकृष्ण वैद्य, कुविरकुमार श्रेष्ठ, डीबी बस्नेत, गोपाल केडिया, महेन्द्रकुमार श्रेष्ठ, उमेश डालमिया, किशोरकुमार आचार्य र अमृत भट्टचन निर्वाचित भए । १८ जनाका लागि ३८ जनाको उम्मेदवारी परेको थियो ।

वस्तुगततर्फको उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् । उनले पनि प्रधान समूहबाट उम्मेदवारी दिएका थिए । श्रेष्ठले ६२ मत प्राप्त गरे भने प्रतिद्वन्द्वी उमेशलाल श्रेष्ठले ३७ मत पाए । वस्तुगतर्फका सदस्यहरूमा नरेशलाल श्रेष्ठ, मीनमान श्रेष्ठ, सुमितकुमार केडिया, अरनिको राजभण्डारी, भक्तबहादुर हमाल, मनीषलाल प्रधान, प्रकाशसिंह कार्की, सुकुन्तलाल हिराचन, हेमराज ढकाल, विष्णुप्रसाद गैरे, सन्दीपकुमार अग्रवाल, गोविन्द ढुंगेल, सुबोधकुमार गुप्ता र आकाश अधिकारी निर्वाचित भए । यसमा १४ पदका लागि २८ जनाको उम्मेदवारी परेको थियो ।

यसैबीच महासंघको कार्यकारिणी सदस्यमा प्रदेश १ बाट मोरङ उद्योग वाणिज्य संघका राजेन्द्र राउतको मात्र उम्मेदवारी परेकाले निर्विरोध निर्वाचित भइसकेका छन् । प्रदेश २ बाट विजयकुमार शाह, वाग्मती प्रदेशबाट सहनलाल प्रधान, गण्डकी प्रदेशबाट बाबुराम गिरी, लुम्बिनी प्रदेशबाट जमशेर मियाँ, कर्णाली प्रदेशबाट लालीमान बुढा, सुदूरपश्चिम प्रदेशबाट पुष्पराज कुँवर र संस्थापक समूहबाट दामु अधिकारी निर्वाचित भए । त्यस्तै महासंघको द्विराष्ट्रियतर्फको कार्यकारिणी सदस्यमा नेपाल–इन्डोनेसिया चेम्बर अफ कमर्सका सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भइसकेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित